खेलकुद»
सफलताको पर्खाइमा
लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबलमा खोजी भैरहेको सफलता यसपल्ट एएफसी यू-१९ च्याम्पिनसिप छनौटमा पनि हात परेन । फेरि एकपल्ट नेपाली फुटबलप्रेमी निराश हुन बाध्य भए । यस्तोमा नेपाली फुटबल किन असफल हुन्छ भन्ने खोजीनिती सुरु गर्ने समय आएको पनि धेरैले महसुस गरे ।
यू-१६ ले बेहोरेका सर्वाधिक ठूलो असफलताको पृष्ठभूमिमा नेपालले यू-१९ खेलेको थियो । सम्भवतः यू-१९ को प्रदर्शनलाई दुई कसीमा राखेर दाँज्न मिल्छ, पहिलो यू-१६ को प्रदर्शनका आधारमा । दोस्रो समग्र नेपाली फुटबललाई आधार मानेर । यू-१६ मा नेपालले कुनै खेल मात्र जितेन, बराबरी पनि गर्न सकेन । कुनै गोल पनि गर्न सकेन ।
'यू-१६ को खराब प्रदर्शनले निश्चित रूपमा हाम्रा खेलाडीलाई मानसिक रूपमा दबाबमा राख्यो,' यू-१९ प्रशिक्षक राजु शाक्यले भने । नभन्दै नेपालले यमनविरुद्धको पहिलो खेलमा ३-० को नमीठो हार बेहोर्यो । यस्तोमा शंका उत्पन्न भएको थियो, कतै यू-१९ पनि यू-१६ को बाटोमा त छैन ? यू-१९ ले कम्तीमा त्यस्तो प्रदर्शन गरेन ।
नेपाली किशोर खेलाडीले आपmनो दोस्रो खेलमा किर्गिस्तानमाथि १ का विरुद्ध २ गोलले जित रच्यो । निराजन मल्ल र शिव श्रेष्ठले सुन्दर गोल ठोके । त्यसयताका दुई खे लमध्ये ताजाकिस्तानसँग १ का विरुद्ध २ गोल र जोर्डनसँग २ का विरुद्ध ३ गोलले हार सामना गर्नुपर्यो । जोर्डनसँगको खेलसँगै नेपालको चुनौती समाप्त भयो । अन्तिम खेलमा समेत नेपाल प्यालेस्टाइनद्वारा १ का विरुद्ध ४ गोलले पराजित भयो ।
नीराजनले ताजाकिस्तान र जोर्डनविरुद्ध पनि गोल गरे । जोर्डनविरुद्धको अर्को गोल शिवको नाममा रह्यो । दुवै खेलमा नेपालले सुधारिएको प्रदर्शन मात्र गरेन, प्रतिद्वन्द्वीहरू जितका लागि संघर्ष गर्न पनि बाध्य भए । ताजाकिस्तानविरुद्ध नेपालले अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।
ताजाक प्रशिक्षक गुफुरोभ सालाकिदिनले खेलपछि भने, 'नेपाली प्रदर्शनको प्रशंसा गर्नैपर्छ । नेपालले बलियो चुनौती पेस गर्नेमा हामी सचेत थियौं ।' अर्कातर्फ जोर्डनविरु द्धको खेलमा नेपालले दुईपल्ट एक गोलले पछाडि रहेको स्थितिलाई बराबरीमा ल्याएको थियो । दुर्भाग्यले नेपालले नौ खेलाडीमा सीमित जोर्डनलाई कम्तीमा बराबरीमा रो क्न सकेन ।
यद्यपि त्यसमा नेपाली खेलाडीले आक्रामक फुटबल खेल्ने जुझारुपन पनि प्रशस्तै देखायो । भलै यो प्रदर्शन नेपाली दर्शकको खराब व्यवहारले केही ओझेलमा पर्यो । जोडर् नले अन्तिम समयसम्म पनि कडा मेहेनत गरेको थियो । त्यो जित उनीहरूका लागि यति महत्त्वपूर्ण रह्यो कि छनौट भएजस्तै सबै खेलाडीले मैदानमा उत्तेजित खुसीयाली मनाए ।
जोर्डनविरुद्धको खेलपछि यू-१९ मा नेपालको प्रदर्शनका सम्बन्धमा विश्लेषण गर्दै प्रशिक्षक शाक्यले भने, 'हाम्रा खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु । उनीहरूले आफूले सक्दो खेले ।' यू-१९ को प्रदर्शन यू-१६ को खेललाई बिर्साउन लायक थियो । यसपल्ट नेपालले छनौटमा अंक, जित र गोल सबै बटुल्यो र दर्शकको मन छुने खेल खेल्यो, तर पनि नेपाल छनौट भने हुन सकेन । नेपाल असफल हुनुको पछाडिका कारण के छन् त ? कम्तीमा उमेर समूहमा नेपाल पछाडि पर्नुको कारण प्रशिक्षक शाक्यले विश्ले षण गरेका छन् । 'नेपाली फुटबलले अझै धेरै सिक्नु छ । दबाबमा खेल्न नसक्ने नेपाली फुटबलको पुरानो रोग हो । अहिलेसम्म पनि यो कायम छ,' उनले भने ।
उनको भनाइ थियो, 'उमेर समूहको फुटबलमा हाम्रा खेलाडी शारीरिक रूपमा निकै मसिना देखिन्छन्, उचाइ र जीउडाल सबैमा सानो । नेपाली खेलाडी चाँडै थाकेका पनि देखिए । प्रतिस्पर्धात्मक खेलका लागि चाहिने दम उनीहरूमा देखिएन ।' सम्भवतः नेपाली फुटबलले खेलाडी छनौट र उनीहरूको आहारमा पनि प्रशस्त ध्यान दिनु आवश्यक छ । धेरै कुरामा गृहकार्य गर्न बाँकी छ ।













