समाचार»

राजधानीमा विवाह मेला

शिव मुखिया

राजधानीमा एउटा अनौठो मेला लाग्दैछ । मेलामा पञ्चैबाजा बज्नेछ, दुलहा-दुलहीको गेटअपमा सजिएका युवायुवती भेटिनेछन् र विवाहका लागि आवश्यक  सम्पूर्ण सामग्री त्यहाँ हुनेछ । मंसिरको प्रारम्भतिर लाग्ने यो मेलाले कुनै भव्य विवाह समारोहकै छनक दिनेछ । किनभने मेला विवाहका लागि योग्य तिनै युवा-युवतीका  लागि लक्षित गरिएको हो । मेला आयोजक डाइरेक्सन नेपालका इभेन्ट म्यानेजर रमेश थापा भन्छन्- 'विवाहका बारेमा सम्पूर्ण कुरा एउटै थलोमा उपलब्ध गराउने यो मे लाबाट विवाहको तयारीमा जुटेका सबैले फाइदा लिन सक्नेछन् ।'

डाइरेक्सन नेपालको आयोजनामा हुने 'नारी विडिङ गिफ्ट एक्स्पो' मा विवाहका सामग्रीदेखि आवश्यक सम्पूर्ण परामर्श पाइनेछ । आगामी मंसिर ४ गतेदेखि तीन दिनसम्म  चल्ने मेलाको यो चौथो संस्करण हो । मेलालाई कान्तिपुर पव्लिकेसन्सको नारी मासिकले प्रायोजन गरेको छ । विवाहसम्बन्धी यो मेला त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड  सेन्टरको चौथो तलामा सञ्चालन हुनेछ ।

अर्का इभेन्ट म्यानेजर पशुपति खत्री भन्छन्- 'विवाहका लागि योग्य युवा-युवतीले आफ्नो विवाहका सम्बन्धमा मनोवैज्ञानिक, कानुनी लगायत सबै किसिमका परामर्श  पाउन सक्छन् ।' विवाहको मौसम सुरु हुने क्रममा लाग्ने यो विडिङ एक्स्पोले एउटै छानोमुनि विवाहको सम्पूर्ण सेवा एवं सुविधा उपलब्ध गराउन आयोजक लागिपरेको छ ।

मेलामा बुटिक, ज्वेलरी, ब्युटिपार्लर, फर्निचर, गिफ्ट आइटम, प्रकाश र ध्वनि व्यवस्थाका स्टल रहनेछन् । त्यसैगरी फर्निचर शोरुम, कार डेकोरेटर, टेन्ट तथा क्याटरिङ,  म्युजिक ब्यान्ड पनि मेलामा उपलब्ध हुनेछ । म्यारिज ब्युरो, म्यारिज एजेन्ट, लमी, पण्डित समेत एकै थलोमा सहज रूपमा भेटिनु मेलाको अर्को आकर्षक पक्ष हो । इभेन्ट  म्यानेजर थापा भन्छन्- 'विवाहका तयारीमा जुटेकाले अन्त भौंतारिनु नपरोस् भनेर एकै थलोमा सबै कुरा उपलब्ध गराउने प्रयास गरेका हौं ।'

मेलामा विडिङ कार्ड, म्यारिज भिडियो, फोटोग्राफर, डिजे र म्युजिक सिस्टम पाइने पशुपति खत्री बताउँछन् । 'हनिमुन प्याकेज प्रोभाइडर, ट्राभल एजेन्ट, म्यारिज लोन प्रो भाइडर मेलाको अर्को आकर्षण हो,' खत्री भन्छन् । त्यसो त मेला अवधिभर हुने विवाहसम्बन्धी विभिन्न कार्यक्रमले मेलामा रौनक थप्नेछ । यसबीच विभिन्न बुटिकबीच ' बेहुली श्रृंगार प्रतियोगिता' पनि हुनेछ ।

प्रकाशित अंकहरू