अन्तर्वाता»
भिडियो निस्कनु सामान्य कुरा हो
१६ वर्षअघि बीएल उत्तीर्ण गरेकै वर्ष मीरा ढंुगानाले छोरीले पनि छोरासरह अंश पाउनुपर्ने जिकिरका साथ सर्वोच्च अदालतमा मुद्दा हालिन्। उक्त मुद्दा राष्ट्रिय बहसको विषय मात्र भएन, सर्वोच्च अदालतले छोरासरह छोरीलाई अंश दिलाउन संसद्मा विधेयक बनाउन निर्देशनात्मक आदेश जारी गर्यो। यही एउटा मुद्दाले कानुनी क्षेत्रमा स्थापित भएपछि ढुंगानाले अधिवक्ता सपना प्रधानसँग मिलेर महिला कानुन र विकास मञ्च खडा गरिन्। अधिवक्ता ढुंगाना यही मञ्चमार्फत महिलाको विपक्षमा भएका कानुन परिवर्तन गर्न निरन्तर दबाब दिइरहेकी छिन्। महिलालाई कुनै अप्ठउारो पर्नेबित्तिकै त्यही मञ्चको ढोका ढकढक्याउने आमचलनले पनि ढुंगाना महिला-अधिकारको पर्यायवाची भैसकेकी छिन्। संविधानमा महिला-अधिकारलाई सशक्त बनाउन सभासद्हरूलाई सघाइरहेकी ढुंगाना केही समययता महिला कलाकारको चरित्रमा उठेको प्रश्नको पनि प्रतिकार गरिरहेकी छिन्।
केही समयअघि सर्वोच्च अदालतमा महिला चरित्रको विषयलाई लिएर मुद्दा हाल्नुभएको रहेछ, महिला चरित्र भन्ने कुरा पनि मुद्दा बन्छ र ?
यो मुद्दा हाल्नुका पछाडि गम्भीर कारण छ । केही वर्षअघि एक जना नायिकाले आत्महत्या गरिन् । उनले आत्महत्या गर्नुका पछाडि समाजले उनलाई चरित्रहीन संज्ञा दिनु थियो । समाजले उनलाई बहिष्कृत गरेपछि उनी आत्महत्या गर्न बाध्य भइन् । यसबाट उनको 'राइट टु लाइफ' अर्थात् सम्मानपूर्वक बाँच्ने अधिकार खोसियो । मेरो स्पष्ट धारणा के छ भने कुनै सानो निहुँमा समाजले कुनै महिलालाई अपमानित गरेर उनको बाँच्ने अधिकार खोस्छ भने त्यो गलत वातावरण बनाउने सबै कानुनी रूपमा दोषी हुन् । यस्तो कानुन बनेको खण्डमा महिलाले सानो गल्ती गर्दा उसलाई अपमानित होइन, संरक्षण गर्नेतर्फ समाजको ध्यान जान्छ । यो कानुन नबन्दा धेरै महिलाले अपमानित हुनुपरिरहेको छ ।
तपाईंको अर्थ महिलाले गर्ने गलत कुरालाई माफी दिनुपर्छ भन्ने हो ?
गलत कुरालाई माफी दिने भन्ने अर्थमा यो कुरा भनेकी होइन । गल्ती पुरुषले पनि गर्छ, तर अपमानित महिलाले मात्र हुनुपर्ने किन ? महिला बहिष्कृत हुने धेरैजसो केस सेक्ससँग सम्बन्धित छन् । शारीरिक सम्पर्कमा महिलालाई विभिन्न प्रयोग गर्न बाध्य पार्ने तर त्यसको दोष पुरुषले बोक्नु नपर्ने, जोमार्फत त्यस्ता कुरा बाहिर आयो, त्यसलाई सजाय नहुने प्रचलनका कारण महिलामाथि अन्याय भएको छ ।
तपाईंको इसारा कतातर्फ हो ?
मेरो इसारा अहिले बजारमा आएका विभिन्न सेक्स भिडियोतर्फ हो । महिला र पुरुषबीच हुने शारीरिक सम्पर्क सामान्य कुरा हो । जसरी पुरुषलाई भोक लाग्छ, महिलालाई पनि लाग्छ । सबैलाई थाहा छ, सेक्स सबैको आवश्यकता हो । यस्तो कुरा बाहिर आउनेबित्तिकै किन समाज कुनै महिलाप्रति पूर्वाग्राही हुन्छ ? केही समयअघि दुई व्यक्तिबीच भएको नितान्त व्यक्तिगत भिडियो अरू कसैले बाहिर ल्याइदियो, तर त्यसमा महिलालाई दोषी मान्दै उनको सबै काम खोसियो । पत्रपत्रिकाले पनि ठूलो अपराध गरेझैं समाचार बनाए । कुनै महिलाले कुनै पुरुषसँग सम्पर्क गर्नु अपराध हो ? त्यस्ता कुरा खिच्ने पुरुष अपराधी हो कि होइन ? त्यसलाई बाहिर ल्याएर समाजलाई दूषित बनाउने व्यक्ति चोखो हो ? जसले कुनै गल्ती गरेको छैन, उसलाई समाजले दोषी बनाउने, तर जसले एउटी महिलालाई विभिन्न किसिमले अपमानित गर्छ, उसको अपराध माफी हुने यो कस्तो समाज हो ?
तपाईंको यस्तो विचारले समाजमा उच्छृङ्खलता बढाउँदैन ?
एउटा व्यक्तिले धेरै व्यक्तिसँग सम्पर्क राख्दा त्यसले विकृति ल्याउँछ, तर एक जना महिला र एक जना पुरुषबीच्ा सम्पर्क हुनु अपराध हो र ? तेस्रो व्यक्तिले त्यस्तो कुरालाई मिसयुज गर्छ भने त्यो विकृति होइन, अपराध हो । यहाँ तेस्रो व्यक्ति अपराधी हो । हामीले घटनालाई ठीक ढंगले बुझ्न नसकेर महिलालाई अपमानित गरिरहेका छौं ।
यस्ता कुराले बजार तताउँदा पनि तपाईंहरूका कुरा बाहिर आएनन् नि, तपाईंहरू चुप लागेर बस्नुको कारण के हो ?
शारीरिक सम्पर्क मानिसको जीवनमा हुने समान्य घटना हो, तर यसलाई अतिरञ्जित बनाइयो । जब घटना अतिरञ्जित हुन थाल्यो, हामीले त्यसै बेला बोल्नुपथ्र्यो, हामी त्यसमा चुक्यौं । अहिले तपाईंले यस विषयमा कुरा उठाएपछि बोल्ने मौका पाएँ । म के भन्न चाहन्छु भने हामी पीडित महिलाका साथमा छौं । आफ्नो भिडियो सार्वजनिक भयो भन्दैमा कुना पसेर रुनु पर्दैन । यस्ता कुरालाई दबाएर बस्दा आफैंलाई हानि हुन्छ, अरूले भन्ने मौका पाउँछन् । जीवनमा एकपल्ट गल्ती भयो भन्दैमा सधैं त्यस्तै हुँदैन । यस्ता कुराको डटेर सामना गर्नुपर्छ ।
यस्तो घटनापछि पीडितलाई अघि बढ्न दिँदैन, अभिभावक र नजिकका आफन्तलाई पनि साथ दिन अप्ठयारो पर्छ, कसरी लड्ने ?
हामी पुरुषप्रधान समाजमा बाँचिरहेका छौं । पुरुषले सतित्वको प्रमाण दिनुनपर्ने, उसले जुनसुकै महिलासँग सम्पर्क राख्दा त्यस्ता कुराले अप्ठयारो नपर्ने, महिलाले चाहिँ सतीसावित्री हुनुपर्ने, नभए समाजले बहिष्कार गर्ने । हाम्रो समाजको चित्र यही हो । हिजो हामीले वैवाहिक बलात्कारको कुरा उठाउँदा यस्तै समस्या परेको थियो । श्रीमान्ले आफ्नै श्रीमतीलाई बलात्कार गर्छ भन्दा कतिपयले यसलाई हाँसोमा उडाए । महिला स्व्ायं यसलाई बलात्कार मान्न तयार थिएनन् । जब कानुन बन्यो, धेरै जना महिलाले मसँग भने, 'श्रीमान्ले भनेकै बेला तयार हुनुपर्ने हाम्रो बाध्यता थियो । हामी यसलाई कर्तव्य मान्थ्यौं । कहिले पनि आफूलाई इच्छा नभै सम्पर्क गर्नु बलात्कार हो भन्ने कुरा महसुस भएन । तपाईंले हामीलाई जीवनमा धेरै पटक बलात्कृत भैसकेको महसुस गराउनुभयो ।' अर्थात् हामी कतिपय कुरा समाजबाट निर्दिष्ट छौं, आफू पीडित भएको कुरा बुझिरहेका छैनौं । समाजको यो रीतिलाई परिवर्तन गर्न लड्नैपर्छ ।
तपाईं जता पनि महिला हिंसा देखिरहनुभएको छ, यसको जराचाहिँ कहाँ छ ?
पचास प्रतिशत महिला हिंसा परम्परागत विवाहका कारणले भएको पाएकी छु । विवाह गर्दा महिलाले पुरुषको घर आउनुपर्ने, श्रीमान्को भन्दा घरका अन्य सदस्यलाई खुसी बनाउनुपर्ने, आर्थिक रूपमा श्रीमान्को सम्पत्तिमा भर पर्नुपर्ने, माइतीले छोरीको विवाह गरेर दिएपछि उनीहरूको कर्तव्य सकिने जस्ता वैवाहिक मान्यताका कारण अधिकांश महिला हिंसा भएको छ । बाँकी हिंसा राज्यको विभेदकारी कानुनले बनाएको छ । संविधानमा महिला-पुरुष बराबर भने पनि ९५ वटा कानुनले महिलालाई विभेद गरेका छन् । महिला हिंसा रोक्न वैवाहिक परम्परामा परिवर्तन ल्याउनुपर्छ । त्यसैगरी हाम्रो देशमा विद्यमान ९५ वटा विभेदकारी कानुन परिवर्तन गर्नुपर्छ ।
तपाईंले महिलामाथि हुने अन्यायलाई राम्रोसँग उठाउनुभएको छ, पुरुष अन्यायमा परेको कुरालाई कसले उठाउने ?
हामीलाई 'पुरुष भर्सेज महिला' का रूपमा नबुझ्न आग्रह गर्छु । महिलाले इच्छा गरे मात्र छोडपत्र गर्न पाउने अधिकारले कतिपय पुरुष पीडित भएका छन् । विदेशमा कमाएको पैसा महिलाले दुरुपयोग गर्ने तर छोडपत्र गर्न नपाउने समस्या भएपछि हामीले नै मुद्दा लडेका थियौं । यद्यपि समाज पुरुषप्रधान भएकाले पुरुष पीडित हुने प्रावधान निकै कम छन् । समाजले पनि पीडित पुरुषलाई तुरुन्तै विचरा भन्छ, तर महिलाको हकमा त्यो लागू हुँदैन ।













