खेलकुद»
कुस्तीको मज्जा
यस क्षेत्रकै प्रख्यात कुस्तीबाज बाबा केशव दासले भारत बिहार बक्सरका ठूला जीउ-डालका कुस्तीबाज धर्मेन्द्र झालाई खेल सुरु भएको एक मिनेट पनि नबित्दै चित पारेपछि कुस्तीको अखडा वरिपरि झुम्मिएका करिब १ हजार कुस्तीप्रेमी दर्शकदीर्घाबाट ताली र स्याबासीको लामो गडगडाहट गुन्जियो । सबैका पि्रय केशवदासलाई केही बेर दर्शकबाट स्याबासीबापतको रकम संकलन गर्न भ्याई-नभ्याई भयो ।
उनलाई चुनौती दिएका झालाई कुस्तीमा खप्पिस बाबा केशवदासले भिड्न सुरु गरेको एक मिनेट नबित्दै आश्चर्यजनक रूपमा चित पारे, तर दर्शकलाई चाहिएको थियो अझै मज्जा । केशव दासले खेल जितिसके पनि दर्शकहरू भने हुटिङ गर्न थाले अझै केही बेर लडनुपर्यो भन्दै । हारेका झा र जितेका केशवदास दुवैले दर्शकको मज्जाका लागि पुनः खेले र नतिजा फेरि पनि उही रह्यो । केशवदासले एक मिनेटमै खेल जितिहाले ।
जनसेवा युवा महावीर क्लब ईनर्वा वीरगन्जले छठ पर्वको अवसरमा आयोजना गरेको दुईदिने कुस्ती प्रतियोगिताको अन्तिम दिन सोमबार वीरगन्जको ईनर्वामा यस्ता थुपै्र दृश्य देख्न पाइयो । आइतबार सुरु भएको कुस्ती प्रतियोगिताको अन्तिम दिन सोमबार दर्शकहरू व्यग्रतापूर्वक नेपालका अन्तर्राष्ट्रिय कुस्तीबाज ब्रह्मदेव यादवको कुस्ती हेर्ने प्रतीक्षामा थिए । दर्शकलाई बाँधेर राख्नका लागि आयोजकले पनि अन्तिम खेलाडीका रूपमा यादवलाई अखडामा ओरालेका थिए ।
अग्लो र बडेमानको ज्यान भएका यादवलाई चुनौती दिएका भारत बनारसका राजेन्द्र पहलवानलाई यादवले करिब एक मिनेटमै पछारेर पाखा लगाए । अनि पालो आयो भारत पन्जाब हरियाणाका भुरा पहलवानको । जीउभरि पहेंलो माटो दलेर झन्डै महिषासूरजस्तै देखिने भुरा पहलवानलाई ब्रह्मदेवसँग लड्न आयोजकले १५ मिनेटको समय दिएका थिए । खेलकौशलमा खप्पिस र अनुभवी भएकाले दुवैले एक अर्कालाई पछार्न सकेनन् । खेल अनिणिर्त रह्यो ।
मर्दको खेल भनेर चिनिने परम्परागत खेल कुस्ती भनेपछि तराईवासी हुरुक्कै हुन्छन् । तराईमा चाडपर्व, मेला आदिमा तराईको सबैभन्दा परम्परागत खेल कुस्ती खेलेर मज्जा लिने परम्परा रहिआएको छ । आइतबार र सोमबार गरी दुई दिन वीरगन्जमा आयोजना गरिएको कुस्ती खेल हेर्न पर्सा र बाराका मात्र नभै सीमावर्ती भारतीय गाउँहरूबाट समेत कुस्तीप्रेमी दर्शकहरू आइपुगेका थिए । कुस्तीको मज्जा लिनेमा सात-आठ वषर्ीय बालकदेखि लट्ठी टेकेर आउने ८०-९० वषर् का दर्शकहरू पनि थिए । निःशुल्क खेल हेर्न पाएका दर्शकले थुपै्र पैसा पहलवानहरूलाई बक्सिस दिनमा खर्च गरेका थिए । दुई दिनको कुस्तीमा नेपाल र भारतका गरी झन्डै १ सय कुस्तीबाज लडेका थिए । भारतको बिहार, युपी, पन्जाबसम्मका यो भिडन्तमा सहभागी थिए ।
कुस्ती खेल हेर्न आएका दर्शकहरूमध्ये केही जोसमै आएर अखडामा ओर्लिने गरेका छन् । एक पहलवानले दिएको चुनौती अर्कोले स्वीकार गर्छन् । केहीको चुनौती स्वीकार गर्न कोही पनि तयार हुदैनन् । कारण हुन्छ हारिन्छ भन्ने डर । लगौंटी र कच्छा लगाएर पहलवानहरू भिडेको दृश्य अत्यन्त रोचक हुन्छ । अखडा पनि पहेंलो माटोले तयार पारिएको हुन्छ । धेरै पटक पहलवानहरूले एक-अर्काको शरीरमा यस्तो माटो दलेर आफूलाई लडन सजिलो पारिरहेका हुन्छन् ।













