मुख्य समाचार»
झरनाको रिइन्ट्री
नायिका झरना बज्राचार्यको नाम नेपाली चलचित्रका दर्शकले झन्डै बिर्सिन लागेका थिए । नयाँ पुस्तालाई त उनको नाम पनि थाहा छैन होला । एकताका उनलाई नेपाली चलचित्रको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय जगत्मा जान योग्य नायिकाका रूपमा लिइन्थ्यो । । स्वच्छन्द विचारकी झरना एकताका नेपाली चलचित्रमा निकै छाइन् । बलिउडमा पनि अवसरको खोजी गरिन् । एक वर्षअघि निमा रुम्बाले निर्माण गरेको चलचित्र 'रंगीन मनसाय'मा उनी नायिका हुने टुंगो लागिसकेको थियो । छायांकन पनि थालियो, तर उनको अमेरिका भ्रमणले गर्दा उक्त चलचित्रमा उनी नायिका भइनन्, एक बेलायती युवकसँग विवाह गर्न लागेकी झरना फेरि नेपाली चलचित्रमा प्रवेश गरेकी छिन् । उनका हितैषी मित्र आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र 'कोही मेरो'मा झरना नायिका छिन् । अन्तिम अवस्थामा उनको 'मुड चेन्ज' होला वा त्यो चलचित्रमा पनि उनले अभिनय नगर्ने निर्णय गर्लिन् भन्ने शंका अब गर्न मिल्दैन । आलोकको यो चलचित्रमा उनी नै नायिका रहनेछिन् भन्ने ठोकुवा पनि गर्न सकिने अवस्था छ, किनभने चलचित्रको छायांकन नै सकिएको छ । भनेपछि केही समयपछि नेपाली रजतपटमा झरनाको 'रिइन्ट्री' हुने पक्का छ ।













