सम्पादकीय»

संकटको संकेत

मौसमको प्रतिकूलताका कारण यो वर्ष नेपालमा धानलगायतका बर्खे बालीको उब्जनीमा उल्लेखनीय र्‍हास आउने घोषणा कृषिविज्ञहरूले गरिसकेका छन् । यस्तो परिस्थितिमा यो वर्ष नेपालमा ठूलै खाद्यसंकट देखिन सक्ने संकेत छ ।  अहिलेसम्म आन्तरिक उत्पादनले नेपालको खाद्यान्नको मागलाई ८० देखि ९० प्रतिशतसम्म परिपूर्ति गर्दै आएको छ । बढ्दो जनसंख्याका कारण विगतका वर्षहरूमा अनुमान गरेअनुरूपकै कृषि उत्पादन हुँदै आए पनि नेपालले खाद्यआपूतिर् लाई सुलभ बनाउन खाद्यान्न आयात गर्दै आएको छ । यस्तो स्थितिमा सरकारले समयमै खाद्यान्न आपूर्तिका लागि तात्कालिक र दीर्घकालीन रणनीति तर्जुमा गरेर खाद्यसुरक्षाको अवधारणा लागू नगर्ने हो भने निकट भविष्यमै नेपालमा  खाद्यसंकट देखा पर्ने छ । ग्लोबल वार्मिङका कारण यो वर्ष विश्वव्यापी रूपमै खाद्यान्न उत्पादनमा कमी आउन सक्ने संकेत विश्व खाद्य संगठनले दिइसकेकाले विगतमा खाद्यान्न निर्यात गर्दै आएका कतिपय मुलुकले खाद्यान्न निर्यातमाथि  प्रतिबन्ध लगाइसकेका छन् । यस्तो प्रतिबन्धका कारण विश्व खाद्यबजार साँघुरिँदै गएको छ । खाद्यान्न आपूर्तिको यस्तो विश्वव्यापी प्रवृत्तिका कारण अहिले खाद्यान्नको मूल्य चुलिँदै गएको छ । यस्तो अवस्थामा समयमै खाद्यान्न बचत गर्ने  विषयमा ठोस रणनीति नबनाउने हो भने नेपालले विगतमा कहिल्यै नभोगेको खाद्यसंकट बेहोर्नुपर्नेछ ।

नेपालमा सम्भावित खाद्यसंकटको संकेतका रूपमा यो वर्ष मध्यपश्चिम तथा सुदूर पश्चिमका पहाडहरूमा भोकमरी देखिइसकेको छ । विश्व खाद्य संगठन र अरू दातृ निकायहरूले ँकामका लागि खाद्यान्न’ को अवधारणामा खाद्यान्न वितरण  गर्न थालेपछि नेपालका पश्चिमी पहाडहरूमा हुँदै आएको परम्परागत खेतिमा निकै ठूलो र्‍हास आइसकेको छ । यस्तो स्थितिमा तराई तथा भित्री मधेसका फाँटहरूको उब्जनीले मुलुकको खाद्यान्न मागलाई धान्दै आएको थियो । यो वर्ष देखा  परेको प्रतिकूल मौसमका कारण तराई तथा भित्री मधेसको खाद्यान्न उत्पादनमा व्यापक कमी देखिनुले नेपालले आगामी वर्ष ठूलै खाद्यसंकट बेहोर्नुपर्ने हुन्छ । मुलुकमा देखा पर्न सक्ने सम्भावित खाद्यसंकटका विषयमा सरकारको नीति तथा  कार्यक्रम र बजेटसमेतले कुनै ठोस योजनाका बारेमा संकेत नगरेकाले स्थिति थप भयावह देखिएको छ, तसर्थ अबका दिनमा सम्भावित खाद्य संकटसँग जुध्न ठूलै कसरत गर्नुपर्ने देखिन्छ । के यो विषयमा सरकार र सरोकारवालाहरू सचेत  छन् ?

प्रकाशित अंकहरू