मुख्य समाचार»
लगनगाँठो कस्ने तयारीमा ऋचा
नितान्त निजी समारोहका रूपमा आयोजित उक्त टीकाटालो कार्यक्रममा दुई परिवारका निश्चित सदस्य र निकटस्थ केही कलाकार मात्र निम्त्याइएका थिए ।
काली सुन्दरीका रूपमा चर्चित नायिका ऋचा घिमिरले लगनगाँठो गाँस्ने तयारी गरेको कुरा चलचित्र वृत्तमा अहिले चर्चामा छ । गत कागतिहारका दिन अर्थात् असोज ३० गते आयोजित पारिवारिक जमघटका बीचमा नायिका ऋचा घिमिरे तथा निर्देशक शंकर घिमिरेबीच वैवाहिक सम्बन्ध गाँस्ने विषयमा निर्णय भएको बताइन्छ । नितान्त निजी समारोहका रूपमा आयोजित उक्त टीकाटालो कार्यक्रममा दुई परिवारका निश्चित सदस्य र निकटस्थ केही कलाकार मात्र निम्त्याइएका थिए ।
'यो समाचारले चलचित्र वृत्तमा चर्चा पाए पनि बर-वधु दुवैले केही समयलाई यो कुरा गोप्य राख्न चाहेकाले पनि कम हल्ला चलेको हो ।' ऋचा र शंकरको टीकाटालोका बारेमा जानकार एक निकटस्थका अनुसार 'पेसागत काम तथा अन्य प्राविधिक कारणहरूले गर्दा दुवैले यसलाई सार्वजनिक चर्चाको विषय बनाउन नचाहेका हुन् ।' 'खै किन हो, ऋचाको टीकाटालोको कुरा लुकाउन खोजिएको छ' समाचार स्रोत भन्छ- 'पुरोहित बोलाएर साइत हेराई मंसिर २६ गतेका निम्ति साइत निकालिसकेको अवस्थामा पनि कुरा गोप्य राख्न खोज्नु अचम्मकै कुरा हो ।' यद्यपि नितान्त व्यक्तिगत कुरा भएकाले पनि यसलाई चर्चाको विषय नबनाइएको हुनसक्छ तर सार्वजनिक रूपमा नायिकाको राम्रो छवि बनाइसकेकी नायिका तथा चलचित्र निर्देशकबीच विकसित हुन लागेको घरेलु सम्बन्ध लुक्ने विषय पनि होइन ।
ऋचा घिमिरे एक दशकयता निरन्तर नेपाली चलचित्र क्षेत्रसँग आबद्ध नायिका हुन् भने निर्देशक शंकर घिमिरे आधा दशकभन्दा लामो समय चलचित्र क्षेत्रको प्राविधिक पक्षमा काम गर्दै हाल निर्देशकका रूपमा काम गरिरहेका व्यक्ति हुन् । शंकरको निर्देशन रहेको पहिलो चलचित्र 'विष' तथा दास्रो चलचित्र वीरताको चिनोमा ऋचा घिमिरे नै नायिका छिन् ।
'लामो समयको चिनजान र चलचित्र 'विष' मा काम गरेयता घनिष्ठतामा बदलिएको व्यावसायिक सम्बन्धलाई पारिवारिक सम्बन्धको रूप दिने प्रस्ताव भएको हो'- स्रोत भन्छ । ऋचा घिमिरेले आफनो लगानी रहेको निर्माणाधिन चलचित्र ' तुलसी' को निर्देशकको जिम्मेबारी पनि शंकर घिमिरेलाई नै दिएकी छिन् ।
विवाहका बारेमा जानकारी लिन खोज्दा बर शंकर घिमिरे चलचित्र तुलसीको गीत रेकर्डिङका क्रममा मुम्बई पुगेका थिए भने नायिका ऋचा घिमिरेले यो विषयमा केही नबोले पनि पछि केटा पक्ष माग्न आएको तर विवाहको मिति फिक्स नभैसकेको बताइन् । 'इन्गेजमेन्ट भनेको स्वयम्बर हो, त्यसैले मेरो कसैसँग स्वयम्बर भएको छैन' नायिका ऋचाले भनिन्- 'अविवाहित केटीका बारेमा नचाहिँदो अफवाह फैलाएर कसैले खेल खेलिरहेको हुनसक्छ, त्यसले मेरो क्यारियरमा नकारात्मक असर पुग्ने भएकाले म यस विषयमा केही बोल्न चाहन्नू ।'
भनिन्छ कागतिहारको दिन ऋचा र शंकरको बीच टीकाटालो गरिएको थियो । 'टीकाटालोका दिन औंठी साटासाट नगरेकाले इन्गेजमेन्ट नभनिएको होला' जानकार स्रोत भन्छ- 'तर नेपाली परम्परा अनुसारको विवाह मिति तय गर्दै टीकाटालो भएको साँचो हो ।'
विवाहका बारेमा जानकारी दिने क्रममा चितवनमा रहेका निर्देशक घिमिरेका पिता रामप्रसाद घिमिरेले टीकाटालो गर्ने विषयमा छोरो शंकरले जानकारी गराएको बताए । 'भाइबहिनीको विवाह भैसकेको अवस्थामा उसको मात्र विवाह नभएको हुनाले मैले २ वर्षअघि देखि नै विवाह गर्न कर गर्दै आएको थिएँ' पिता घिमिरेले भने- 'छोराले विवाहको निर्णय सुनायो र यो उसको भविष्यको कुरा हो, उसले सही नै निर्णय गरेको होला ।' मंसिर २६ गते दिवालग्नमा शुभसाइत जुरेकाले सोही दिन विवाह गर्न प्रस्ताव गरिए पनि यो डेट सर्न सक्ने सम्भावना रहेको बताइन्छ ।













