अनाथ बालबालिकासँग मिस दाङका सुन्दरीहरू
क्याटवाक र फेसन शोमा मात्र व्यस्त रहने सुन्दरीहरू शुक्रबार अभिभावकविहीन बालबालिकामाझ देखिए। जिल्लामा पहिलो पटक हुन थालेको 'मिस दाङ' का सहभागीहरूले सौडियार-६ पर्सास्थित शान्ति बाल गृहमा पुगेर अनाथ बालबालिकाको अवस्था बुझ्ने प्रयास गरे।
अनाथ बालबालिकासँग केही समय अन्तक्रिर्या गरेपछि मिस दाङका सबै सहभागीले असहाय बालबालिकालाई सहयोग गर्ने इच्छा व्यक्त गरे। 'बालगृह देखेपछि मेरो मन छोयो। उपाधि जिते पनि नजिते पनि बालबालिकालाई सहयोग गर्नेछु,' घोराहीकी दिलिशा पुनले भनिन्- 'म यो कामबाट साह्रै प्रभावित भएकी छु।'
सुन्दरी प्रतियोगितालाई ग्ल्यामरको संसारसँग मात्र जोड्ने प्रवृत्तिलाई हटाउन बालगृह भेटघाट कार्यक्रमले भूमिका खेल्ने मिस दाङका प्रतिस्पधीर् हरूले बताए। 'आज हामीले विल्कुलै नयाँ र फरक अनुभूति गरेका छौं। हाम्रा लागि यो प्रेरणाको कुरा हो,' तुलसीपुरकी सुष्मा श्रेष्ठले भनिन्- 'भाइबहिनीहरूलाई देखेर आँखा रसाए। असहाय बालबालिकालाई सहायता दिनु ठूलो धर्म हो।'
मिस दाङमा २४ प्रतिस्पर्धी छन्। उनीहरूलाई प्रतिस्पर्धाका सम्पूर्ण गतिविधिमा कोरियोग्राफरहरू दिव्या याक्का र प्रज्वलराज शाक्यले सघाइरहेका छन्। प्रतिस्पर्धामा कलेज अध्ययनरत १६ देखि २४ वर्षसम्मका ५ फिटभन्दा अग्ला युवतीहरू सहभागी छन्।
तपाईंको प्रतिकृया