सञ्जय लिम्बू (मेकअप तथा हेयर स्पेसलिस्ट)
सञ्जय लिम्बू राति मस्त निद्रामा थिए। उनले नचिताएको सपना देखे। एक अपरिचित व्यक्तिले कैंची उपहार दियो, तर त्यो व्यक्तिसँग बोलचाल भएन। छक्क पर्दै उनले सोचे, 'किन कैंची उपहार दियो
होला ?' उक्त घटनाले निकै बेर सोच्न बाध्य तुल्यायो। जब उनी निद्राबाट ब्युँझिए, थप सोच्न बाध्य भए। के भएको होला ? उनको दिमागले केही ठम्याउन सकेन। मनमा अलिअलि डर लाग्यो। बाँकी प्रहर उनी निदाउन सके नन्।
हो, त्यही बिहान सञ्जयको होस खुल्यो। उनले ठम्याए, आफ्ना लागि जीवनको सबैभन्दा शक्तिशाली औजार कैंची रहेछ। उनले कैंचीको पूजा गरे। मनमनै प्रतिज्ञा गरे, 'मेरो काम नै पूजा हो।' त्यसअघि उनी कहिल्यै कैंचीको पुजा गर्दैनथे, त्यसको वास्ता गर्दैनथे। पेसाले हेयर स्पेसलिस्ट सञ्जय अहिले हरेक बिहान कैंचीलाई ढोग्छन्, पूजा गर्छन् अनि काम सुरु गर्छन्। 'जीवनमा जतिसुकै ठूलो आँधी, हुरी आओस्। अब म आफ्नो पेसा परिवर्तन गर्न सक्दिनँ,' उनले भने- 'मेरो हैसियत क्षमता, सीप मलाई राम्राेसँग थाहा छ।' सुरुवातका दिनहरूमा उनले घरघरमा गएर केश काट्ने काम गरे। जब उनको दक्षता, सीप बढ्दै गयो। मानिसहरू उनलाई खोज्न थाले, समय माग्न थाले र पर्खिन थाले। हङकङको माया सैलुनमा पाँच वर्ष कामको अनुभव बटुलेका सञ्जय आफ्नो पेसामा सन्तुष्ट छन्।
त्यसो त, सञ्जयले जीवनमा हेयर स्पेसलिस्ट बनौंला भनेर कहिल्यै सोचेका थिएनन्। कुमारीपाटीको ब्लुबर्ड कलेजबाट कमर्स लिएर प्लस टु उत्तीर्ण गरेका सञ्जयको रहर अर्कै थियो, अर्थात् उनी आरजे बन्न चाहन्थे, त्यसैले उद्घोषण सिके। 'कसैले मलाई चिनोस् भन्ने लाग्थ्यो।' उनले सम्झँदै भने, 'सायद त्यो उमेरमा धेरैलाई यस्तै हुन्छ।' डान्स र म्युजिकले पनि उत्तिकै तान्थ्यो। उनले साल्सा डान्स सिके। चाहेर पनि ती कुनै लाई पेसाका रूपमा अघि बढाउन सकेनन्। उनकी सानिमा (कृष्णमाया लिम्बु) ले ब्युटिसियनसम्बन्धी कोर्स सिक्न सल्लाह दिएपछि जीवनको बाटो फेरियो। राजधानीमा ब्युटिसियनसम्बन्धी तीनमहिने कोर्समा सञ्जयले थुप्रै कुरा सिके- केश काट्ने, फेसियल गर्ने, मसाज गर्ने। त्यतिबेला यो कोर्स सिक्ने ४५ जना युवती थिए भने केटाहरू मात्र तीन जना। सञ्जय तीनैमध्येका एक हुन्। ब्युटिसियन पढ्नेहरूलाई सकारात्मक दृष्टिले हेर्ने कमै थिए। धेरैले प्रश्न गर्थे, पुरुषहरूले पनि यो काम गर्छन् र ? अझ कतिसम्म भने यस्तालाई हेर्दा अलच्छिना लाग्छ भन्थे कतिले। सञ्जयको मन धेरै पटक कटक्क भएको छ- जब अरूले बोलेको 'बिहान-बिहान यस्ताको अनुहार हुँदैन' भन्ने वाक्य उनको कानमा ठो क्किन्थ्यो। यद्यपि उनी आफ्नो कर्ममा दत्तचित्त भएर लागिरहे। जसले पहिले उनको पेसा मन पराउँदैनथे, पछि तिनै व्यक्ति उनीकहाँ केश कटाउन आउन थाले। सञ्जय भन्छन्- 'मैले गर्व महसुस गरें।'
सञ्जय, थप ज्ञान, सीप बटुल्न हङकङ पुगे। एक चिनियाँ इन्स्टिच्युटमा दुईवर्षे तालिम लिएपछि उनको दक्षता थप वृद्धि भयो। आफ्नै सानीमा हङकङमा भएकाले काम खोज्दै भौंतारिनुपरेन, तर संघर्षलाई निरन्तरता दिने क्रममा कमी आएन। आफूले सिकेको ज्ञान र सीपलाई उनले माया सैलुनमा प्रयोग गरे। एकपटक उनीकहाँ आइपुगेको जुनसुकै व्यक्ति फेरि फर्केर आउँछ। 'कति राम्रो, कत्ति छिटो काम गर्नुभयो' भनेर उनको प्रशंसा हुन्छ। उनी सबैलाई हँसाइरहन चाहन्छन्, खुसी दिन चाहन्छन्। युवा उमेरमै प्रगतिको फड्को मारेका सञ्जयको मान्यता छ, जीवनमा सपना देख्नुपर्छ, अनि मात्र गन्तव्यमा पुगिन्छ। 'सानीमाले गर्दा नै म यो स्थानमा आइपुगेको छु।' विदेशमा सिकेको ज्ञान, सीप र अनुभव अब उनी आफ्नै भूमिमा लगानी गर्न चाहन्छन्। सञ्जय भन्छन्- 'आफ्नै भूमिमा पसिना बगाउन चाहन्छु। राजधानीमा नयाँ सैलुन खोल्ने तयारीमा लागेका सञ्जय चुनौती सामना गर्न मन पराउँछन्। जीवनमा पैसा कमाएर आरामदायी जीवन बाँच्ने सपना छैन उनको। बरु कमाएको पैसाले दुःखी-गरिबहरूको सेवा गर्ने मन छ। आफ्नो पुख्र्याैली घर धरानमा उनले एक बालिका (खुश्बु) लाई धर्मपुत्रीका रूपमा ग्रहण गरेका छन्। आफन्तको घरमा काम गर्न बसेको व्यक्तिकी छोरीको पढाइ-लेखाइमा सहयोग गर्छन् उनी। सबैभन्दा ठूलो कुरा मन रहेछ। राम्रो सोच्ने व्यक्तिलाई राम्रै फल मिल्दो रहेछ। 'जसले भोकाएको व्यक्तिलाई खान दिन्छ, गरिबलाई सहयोग गर्छ, भगवान्लाई ढोग्नै पर्दैन,' सञ्जय सुनाउँछन्- 'त्यसमै अपार आनन्द छ।'
जीवन सबै चीजको मिश्रण हो। हाँसो, खुसी, पीडा, संघर्ष, दुःख, प्रेम। सञ्जयको जीवनमा ती सबै चीज छन्। जति नै कष्ट भए पनि आफ्नो लक्ष्य भेट्ने कुरामा उनी दृढ छन्। सञ्जय आफ्नो अमूल्य समय बरबाद गरेर खेर फाल्न चाहँदैनन्। सपना देख्न पैसा लाग्दैन। गरिबहरूले पनि सपना देख्न सक्छन्। सपना लिएर सही बाटोमा हिंड्ने हो भने कतै न कतै त अवश्य पुगिन्छ। सञ्जय सुनाउँछन्, 'पीडा, संघर्ष र कठिनाइबिनाको जीवन बाँच्नुको कुनै मज्जा हँुदैन।' एउटा सामान्य परिवारबाट उठेका सञ्जयले सानैमा बुबा गुमाए। आमाले नै उनको लालनपालन गर्नुभयो। 'आफ्नो इज्जत नभुल्नु। पैसाले इज्जत किन्न सकिँदैन।' आमाले भनेको यो वाक्य बारम्बार उनको मस्तिष्कमा आइरहन्छ। आफ्नै संघर्षले स्थापित हुनुमा अर्कै मजा हुँदो रहेछ। सञ्जय यसमै गर्व गर्छन्। 'जीवनमा अघि बढ्न हौसला, खुसी र कसैको प्रेरणा चाहिँदो रहेछ,' उनले भने।
प्रेरणाको स्रोतः सानिमा कृष्णमाया लिम्बू
लक्ष्यः क्लोथ स्टोर खोल्ने
रुचिः म्युजिक सुन्ने, घुम्ने, डान्स गर्ने
मनपर्ने ग्याजेटः एप्पलको आइफोन, म्याक बुक
अविस्मरणीय क्षणः बुबा बितेको क्षण
मन पर्ने परिकारः इटालियन पास्ता, थाइ फुड
अनि दाल-भात, तरकारी।
तपाईंको प्रतिकृया