अध्यक्ष सिरोहियालाई पितृशोक
कान्तिपुर मिडिया गु्रपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाका पिता एवं निर्देशक स्वस्तिका सिरोहियाका ससुरा घासीराम सिरोहियाको गत मंगलबार बिहान ६ बजे जनकपुर नगरपालिका-१ मिल्स एरियास्थित आफ्नै निवासमा निधन भएको छ। सिरोहिया ९८ वर्षको हुनुहुन्थ्यो।
वि.सं. १९७१ मा जन्मिएका स्व.सिरोहिया जनकपुर उद्योग वाणिज्य संघका संस्थापक महासचिवका साथै आयुर्वेद तथा हिन्दु धर्मको ज्ञाता मानिनु हुन्थ्यो। सिरोहियाको निधनबाट जनकपुर क्षेत्रलाई अपूरणीय क्षति भएको छ। सिरोहियाको निधनको समाचार सार्वजनिक भए लगत्तै उहाँको निवासमा आफन्त, शुभेच्छुक, उद्योगी-व्यवसायी एवं स्थानीयवासीको ठूलो भीड लागेको थियो। स्व. सिरोहियाका ३ छोरा तथा ६ छोरी छन्।
सिरोहियाको निधनप्रति विभिन्न संघ-संस्थाहरूले शोक व्यक्त गरेका छन्। मिडिया सोसाइटी, नेपालका अध्यक्ष कैलाश सिरोहियाका पिताको निधनमा सोसाइटी र टेलिभिजन ब्रोडकास्टर्स नेपालले शोक वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। यसैगरी नेपाल पत्रकार महासंघ कान्तिपुर शाखाले पनि शोक वक्तव्य जारी गर्दै गहिरो दुःख प्रकाट गरेको छ। रिपोर्टर्स क्लब नेपालले पनि शोक व्यक्तव्य जारी गर्दै स्व. सिरोहियाको निधनले मर्माहत भएको जनाएको छ। यसबीच मारवाडी सेवा समिति नेपालका अध्यक्ष मुन्ना सर्राफले शोक वक्तव्य जारी गर्दै स्व.सिरोहियाको निधनले आफूले असल अभिभावक गुमाएको बताएका छन्। स्व. सिरोहियाको निधनप्रति नेपाल पत्रकार महासंघ धनुषा तथा मिथिला नाट्यकला परिषद् लगायतका संघ-संस्थाहरूले पनि शोक वक्तव्य जारी गरेर दुःख प्रकट गरेका छन्।
स्व.सिरोहियाको अन्तिम संस्कार गत मंगलबार नै जनकपुरस्थित गंगासागरको दक्षिण डिलस्थित स्वार्गद्वारी घाटमा सम्पन्न भएको छ।
तपाईंको प्रतिकृया