दोहा, भाद्र १४ -
नेपाल प्रवासी आदिवासी जनजाति महासंघले यहाँ आएका एमालेका अध्यक्ष झलनाथ खनाललाई भेट्न नदिएकोमा आपत्ति प्रकट गरेको थियो ।
खनाल नेपाल लोकतन्त्रिक मञ्च कतारको अधिवेशनमा सहभागी हुन २० अगस्टमा आएका थिए । उनी आएका बेला महासंघले विरोधपत्र बुझाउन समय माग गरेको थियो । उनीहरूले 'एमालेजस्तो प्रमुख पार्टीले अहिले जातीय पहिचानसहितको संघीयताको विरोध गर्नु आम आदिवासी जनजातिले एमाले पार्टीमा पुर्याउँदै आएको योगदान, त्याग र बलिदानप्रतिको अवमूल्यन मात्र नभई धोका हो,' भनेको छ । नेपाल लोकतान्त्रिक मञ्चले आफ्नो विचारलाई विधिसम्मत ढंगले राख्नकोे लागि महासंघलाई २० अगस्ट बेलुका ६ देखि ८ बजेसम्म समय उपलब्ध गराएको जनाएको छ । उसले सबै जनजातिका संघसंस्थाहरूलाई अतिथिको रूपमा निमन्त्रणा गरिएको जनाएको छ । 'हामीले बुझेको यथार्थ ११ वटा मातृ संस्थाको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ
हो । महासंघलाई निमन्त्रणा गरिसकेको परिप्रेक्ष्यमा ११ वटै मातृ संस्थाहरूलाई निमन्त्रणा गरेको मञ्चको ठम्याइ छ,' मञ्चका अध्यक्ष दिलकिरण खजुमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'महासंघलाई अतिथिको रूपमा निमन्त्रणा गरी आफ्ना धारणाहरू राख्ने समय उपलब्ध गराइएको थियो । यसले गर्दा मातृ संस्थालाई कार्यक्रममा जान निषेध गरेको भन्ने गलत प्रचार प्रसार गरिएकोमा मञ्च दुःख व्यक्त गर्दछ । अतिथिको रूपमा निमन्त्रणा गरिएको अतिथिले अरूको कार्यक्रममा गएर विरोधपत्र दिनेजस्तो गैरजिम्मेवार र अलोकतान्त्रिक क्रियाकलाप कुनै पनि संघ संस्थाले गर्नु हँुदैन भन्ने कुरामा मञ्चको स्पष्ट धारणा ्ररहेको छ ।'