काठमाडौ, श्रावण १८ -
कतार जाँदा एक कामदारले सेवा शुल्कका लागि कति रकम खर्च गर्नुपर्ला ? वैदेशिक रोजगार विभागले २० हजार रुपैयाँँभन्दा बढी तिर्न नपर्ने निमय बनाएको छ । तर अधिकांश कामदारले ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म खर्चिने गरेका छन् ।
कतारी श्रम कानुन अनुसार रोजगारदाता कम्पनीले कामदारलाई भिसा र दुईतर्फी हवाई टीकट निःशुल्क उपलब्ध गराउनुपर्छ । सोही आधारमा विभागले सेवा शुल्कका लागि बढीमा २० हजार रुपैयाँँको मापदण्ड बनाएको हो ।
तर यो मापदण्डको जानकारी कामदारमा पुग्न कामदार ठगिनुको एक कारण बनेको छ । यहाँसम्म कि विभागलाई नै यो नियम कहिलेदेखि लागू भएको हो भन्ने यकिन जानकारी पनि छैन ।
कतारस्थित नेपाली दूतावासले पनि रोजगारदाता कम्पनीले कामदारको रोजगार करारनामा -इम्प्वाइमेन्ट कन्ट्य्राक्ट) मा भिसा र हवाई टिकट निःशुल्क उल्लेख नभएसम्म प्रमाणीकरण गर्दैन । तर रोजगारीको लागि बिदेसिन आतुर युवाहरूबाट म्यानपावर व्यवसायी, एजेन्ट तथा दलालहरूले मनलागी रकम कुम्ल्याउने गरेकाले विभागले तोकेको सीमा र दूतावासले गरेको प्रमाणीकरण लागू हुन सकेको छैन ।
कैयौं म्यानपावर कम्पनीले कतारका लागि कामदार चाहिएको सूचनामा कुल लागत खर्च २० हजार रुपैयाँ उल्लेख गर्छन् । बिल मागे त्यत्तिकै मात्र दिन्छन् तर यथार्थमा चर्को रकम असुल्न छाड्दैनन् । पछिल्लो वर्ष वैदेशिक रोजगारको लागि प्रमुख गन्तव्य मुलक बनेको कतारमा एक वर्षमा एक लाखभन्दा बढी कामदार रोजगारीका लागि बिदेसिएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघले कतारका लागि २० हजार रुपैयाँ हचुवाका भरमा तोकिएको जनाएको छ । 'कतिपय कम्पनीले एकतर्फी टिकटको रुकम दिँदैनन् र २० हजारभन्दा बढी लिनुपर्ने हुन्छ,' संघका अध्यक्ष बलबहादुर तामाङले कान्तिपुरलाई भने, 'यो मापदण्ड हचुवा छ, यदि टिकट र भिसा प|mी हुँदा २० हजार रुपैयाँ पनि लाग्दैन नत्र बढी लिनुपर्ने हुन्छ ।'
म्यानपावर व्यवसायी तथा दलालहरूले बढी रकम लिने गरेको उजुरी आफू कहाँ आउने गरे पनि कैयौंसँग रकम तिरेको प्रमाण नहुने गरेको विभागले जनाएको छ । उता, कतारस्थित नेपाली दूतावासले पनि चर्को रकम लिएर
ठगिमा परेका युवाहरू उद्धारका लागि आउने गरेको तर उनीहरूसँग रकम तिरेको बिल नहुने गरेको कारबाहीलाई लागि समस्या परेको बताउँदै आएको छ ।
एक कामदारको श्रम स्वीकृतिका लागि मेडिकल, ओरिन्टेसन ट्रेनिङ, वैदेशिक रोजगार बिमा र कल्याण कोषका लागि साढे ८ हजार रुपैयाँभन्दा बढी खर्च लाग्दैन । म्यानपावर व्यवसायी र दलालले त्यो खर्चका अलवा भिसा, टिकट र आफ्नो सेवा दस्तुर भन्दै अत्यधिक रकम लिएर पठाउने गरेका कामदार स्वदेशदेखि विदेशसम्म प्रशस्तै भेटिन्छन् ।
'एजेन्टलाई ७५ हजार रुपैयाँ तिरेर आएको हुँ,' दुई साताअघि कतारस्थित नेपाली दूतावासमा भेटिएका मखना-३, धनुषाका ४० वषर्ीय रामसोवित खप्नेले कान्तिपुरसँग गुनासो पोखेका थिए, 'एजेन्टले पैसामात्र खायो, काम पनि फरक पर्यो र घर फर्किने भनेर दूतावास आएको छु ।' कतारको अलरकियास्थित घाँसे मैदानमा एक महिनादेखि कार्यरत रोल्पाका प्रताप घर्तीले ९० हजार रुपैयाँ र विराटनगरका अनिल राजवंशीले म्यानपावर व्यवसायी र एजेन्टलाई ९५ हजार रुपैयाँ तिरेर आएको सुनाए ।
दूतावासले चर्को रकम तिरेर आएका कामदार फेरि कतारमा काम र तलब फरक परेपछि घर फिर्ती वा भने अनुसारको सुविधा दिलाई दिन भन्दै दूतावास आउने गरेको जनाएको छ । समस्यामा परेका दैनिक ५० देखि १ सयसम्म कामदारहरू दूतावास पुग्ने गरेका छन् । 'विभागले तोकेभन्दा बढी रकम तिरेर कामदारहरू आउने क्रम रोकिएको छैन,' दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले भने, 'प्रमाण भए कारबाही गर्छौं तर नभएर समस्या परेको छ ।'
कतारमा भिसा र टिकट रोजगारदाता कम्पनीले बेहोर्ने भए पनि कैयौं व्यवसायी, एजेन्ट र दलालले खरिद-बिक्रीसमेत गर्छन् । उनीहरूले रोजगारदाता कम्पनीका प्रबन्धक -मुदिर) र जन सम्पर्क अधिकृत -मन्दुप) लाई कमिसन दिएर भिसा किन्ने गरेको समेत भेटिएको छ । भिसाको खरिद बिक्री कतारमा गैरकानुनी हो । भिसाको लागि लाग्ने सरकारी दस्तुर र प्रमाणीकरण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने नियम छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कतारमा कामदार लैजान २० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिन पाइँदैन भन्दै बढी लिनेलाई कारबाही गर्ने बताएका छन् । 'जहाँ प|mी भिसा र प|mी टिकट छ, त्यहाँ पठाउन २० हजारभन्दा बढी लिन पाइँदैन,' भट्टराईले कान्तिपुरलाई भने, 'बढी रकम लिएका थुपै्र मुद्दा परेका छन्, हामी कारबाही गर्छौं ।'
नेपाल-कतार श्रम सम्झौता अनुसार कामदारलाई करारनामाको एक प्रति दिनुपर्ने नियम छ, जसमा प|mी भिसा/प|mी टिकट लगायत सेवा सुविधा उल्लेख हुन्छ । कैयौं व्यवसायी र दलालहरूले नक्कली करारनामा भिडाउँदै विमान चढेपछि च्यातिदिनु भनेर कामदारलाई गुमराहमा पार्ने गरेका छन् ।
वैदेशिक रोजगारका समस्याबारे अध्ययन गर्न दुई साताअघि कतार पुगेको श्रम सचिवसहितको टोलीलाई कतारस्थित नेपालीले म्यानपावर कम्पनी र दलालले कामदारसँग चर्को शुल्क उठाउने गरेकोले कारबाही गर्नसमेत माग गरेका छन् ।
प्रकाशित मिति: २०७० जेष्ठ ५ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?