Kantipur-qatar

Kantipur

मिति | सोमबार, २०७० जेष्ठ ६     Login | Register | Issue No. 221
राजनीति»

कांग्रेसले हतारिएर उम्मेदवार नछान्ने

काठमाडौ, श्रावण ११ -
एमालेले कांग्रेसलाई प्रधानमन्त्रीका लागि उम्मेदवार तय गर्न दबाब दिइरहेका बेला कांग्रेसमा भने तीन शीर्ष नेतामध्ये को हुने भन्ने अन्योल कायमै छ । प्रधानमन्त्रीका लागि सभापति सुशील कोइरालाको नाम सबैभन्दा अघि आए पनि वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलसमेत दौडमा छन् ।

यसअघि कहिल्यै शासकीय पदमा मोह नदेखाएका कोइरालाले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिने यसपटक इच्छा प्रकट गरेका छन् । तर, उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति परिपक्क नहुँदासम्म औपचारिक रूपमा मुख खोलेका छैनन् । कोइरालालाई प्रधानमन्त्री बनाउन महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका संस्थापन पक्षका नेताहरू लागिपरेका छन् । खासगरी महामन्त्री सिटौलाले कोइराला र भारतबीचको सम्बन्ध सुधार गर्ने दिशामा लागेको स्रोतले बतायो । संविधानसभाको विघटन भारतलाई लक्षित गरी विदेशको हात रहेको भनेर सार्वजनिक रूपमा गरेको टिप्पणी र वीरगन्जका कन्सुलर अशोक मेहताले मधेसमा आन्दोलन चर्काउन स्थानीय नेताहरूलाई उचालेको घटनाविरुद्ध सबैभन्दा अघि बढेर गरेको विरोधका कारण कोइराला र भारतबीचको सम्बन्ध चिसिँदै आएको थियो ।

तर, महामन्त्री सिटौला मार्फत चिसिएको सम्बन्ध सुधार गर्ने काम यसबीचमा भएको कांग्रेसका एक उच्च नेता बताउँछन् । प्रधानमन्त्रीका लागि आफू अघि नसर्दा देउवा र पौडेलबीच विवाद चर्कने र त्यसले कांग्रेसले नेतृत्व पाउने अवसर गुमाउन सक्ने भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले कोइरालालाई प्रधानमन्त्रीका लागि दबाब दिंदै आएका छन् । 'प्रधानमन्त्रीको लागि विवाद बढ्दा पार्टीले अवसर नै गुमाउने अवस्था आउँछ,' कोइराला निकट केन्द्रीय सदस्य दीपक गिरी भन्छन्, 'त्यसैले पनि सभापति सुशील दाइनै प्रधानमन्त्रीका लागि अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।'

स्रोतका अनुसार कोइरालाले सबैभन्दा पहिला देउवा र पौडेललाई सहमति कायम गरेर एकजना सर्वसम्मत रूपमा आउन आग्रह गर्नेछन् । तर, दुईले एकअर्कालाई छाड्न सक्ने अवस्था नभएकाले कोइरालाले देउवालाई पौडेल र पौडेललाई देउवा देखाएर आफू अघि बढ्ने योजनामा छन् । कोइरालालाई प्रधानमन्त्री बनाउन माओवादी र एमालेको चाहनासमेत देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोइरालालाई सहयोग गर्ने वचन दिइसकेका छन् । जसका कारण कोइरालाले पनि माओवादी नेतृत्वको वर्तमान सरकारविरुद्ध नरम शैलीको विरोध अपनाएका छन् । सरकारविरुद्ध गर्ने भनिएको आन्दोलनसमेत कोइरालाले यसैकारण अघि बढाउन चाहेनन् ।

कांग्रेस महामन्त्री सिटौलाले अहिलेको राजनीतिक अन्योलको निकास कांग्रेसले दिएपछि मात्रै उम्मेदवार चयन हुने बताउँछन् । 'पहिला त कांग्रेसले संविधान कुन प्रक्रियाद्वारा जारी हुन्छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ । निर्वाचनमै जाने भए पनि संसद्को जाने या संविधानसभाको निर्वाचन गर्ने भन्नेबारे प्रस्ट हुनुपर्नेछ,' जुन दिन कांग्रेसले भावी राजनीतिको रोडम्याप स्पष्ट पार्छ त्यस दिनदेखि नै कांग्रेस नेतृत्वमा सरकार बन्छ । उम्मेदवार हामी तत्काल छनोट गर्छौं ।'

एमालेले कांग्रेसलाई उम्मेदवार दिन धेरै अघिदेखि दबाब दिइरहेको छ । तर, कांग्रेस नेताहरूले त्यसको उद्देश्य बाबुरामलाई हटाएर कांग्रेसलाई नेतृत्वमा सहयोग गर्ने नभएर आफ्नै नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन सकिन्छ कि भन्ने प्रयासस्वरूप आएको कांग्रेस नेताहरूको बुझाइ छ । 'उम्मेदवारको विषयमा छलफल भएपछि कांग्रेस विवादमा पर्छ । उम्मेदवार दिन सक्दैन, त्यही मौकामा केपीलाई अघि बढाउन सकिन्छ कि भन्ने प्रयास एमालेको हो,' कांग्रेसका एक नेताले भने, 'हामी अहिल्यै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जोकर बनाउन चाहँदैनौं । जुन दिनमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति कायम हुन्छ । त्यसको एक दिनमा उम्मेदवार छनोट गर्छौ ।'

कांग्रेस केन्द्रीय समितिमा सभापति कोइरालाको सहज बहुमत छ । यसअघि पौडेललाई साथ दिएका केन्द्रीय सदस्यहरूसमेत कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिएका छन् । सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय केन्द्रीय समितिले निर्णय गर्ने परम्परा रहेकाले सर्वसम्मत हुन नसके पनि कोइराला उम्मेदवार हुनेमा निश्चित प्रायः छ । आफू सर्वसम्मत उम्मेदवार हुन कोइराला देउवा र पौडेल दुवैलाई फकाउने योजनामा छन् । देउवाले प्रधानमन्त्रीमा जाने भए कार्यबाहक सभापति आफूलाई दिनुपर्ने माग राखेका छन् । त्यस्तै माग उपसभापति पौडेलको पनि छ । यी दुई नेतालाई मिलाएर सर्वसम्मत उम्मेदवार हुनेमा भने कोइरालाका लागि फलामको हड्डी सावित भएको छ ।

 

प्रकाशित मिति: २०७० जेष्ठ ६ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

डनज्यू त अपिसाँ नि हुनुहुन्न रे, सा’प !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication