Kantipur-qatar

Kantipur

मिति | आईतवार, २०७० जेष्ठ ५     Login | Register | Issue No. 221
स्तम्भ»

नेपाल नोटबुक

काठमाडौ, श्रावण ४ -
अअफगान बन्धक

अधिकांश नेपालीलाई थाहा छ- दक्षिण एसियाली छिमेकी सुरक्षा र द्वन्द्व त्रासका कारण नेपालीका लागि रोजगारीमा प्रतिबन्ध लागेको मुलुक हो । स्वयम् अफगानिस्तान सरकारले पनि २०१२ भित्रमा सबै विदेशी कामदारलाई आफ्नो मुलुकबाट हटाउने भनिसकेको छ । तैपनि किन गोप्य र गैरकानुनी उपायबाटै भए पनि नेपालीहरू काबुल-भूमिमा जान्छन् ? यो प्रश्न आफैंमा विचारणीय छ ।

यस्ता विचारणीय प्रश्न सामुमा छँदाछँदै मानवतस्करको सञ्जालमा परेर अफगानिस्तान पुर्‍याइएका र डेढ महिनादेखि बन्धक रहेका १० नेपाली आइतबार राति मात्रै काठमाडौं आइपुगेका छन्, अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आएओएम) को पहलमा । एउटा एजेन्टले राजधानी काबुलबाट तीन घन्टाको दूरीमा रहेको बाग्राम लगेर एक अफगानीको घरमा अलपत्र छाडेपछि उनीहरू बन्धक रहीआएका

थिए । 'अफगानी घरमालिक इस्लामुद्धिनले हामीलाई बन्दुक र छुरी देखाएर धम्क्याइरहन्थ्यो, कुटपिट गर्ने गथ्र्यो,' बन्धक भएर पनि गोप्य तवरमा नेपालमा सम्पर्क राखेर मुक्त हुन पहल गर्नेका नाइके इलामका लीलबहादुर काफ्ले भने, 'डेढ महिनासम्म जीवन-मृत्युकै दोसाँधमा रह्यौं, आज बाँचेर आफ्नो माटोमा फिर्न पाउँदा बल्ल ज्यान जोगियो भन्ने लागेको छ ।' अफगानिस्तानमा सुरक्षा गार्डको काम दिने भन्दै काठमाडौं, दिल्ली र काबुलस्थित तीनजना दलालको नेटवर्कले बढीमा एक वर्षदेखि अलपत्र पार्दै आएका यी कामदारहरूले जनही घटीमा ४ लाख रुपैयाँ एजेन्टलाई बुझाएका थिए । भारतको दिल्ली विमानस्थल हुँदै अफगानिस्तान पठाउने एजेन्टहरूमा सुमित्रा राई -काठमाडौं), मिलन थापा -दिल्ली) र गोपाल -खेतार) कार्की -काबुल) रहेका छन् । 

 दस नेपाली बन्धक बनेको खबर समाचारमा आएपछि काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, इस्लामाबादस्थित नेपाली दूतावास र आईओएम लगायतका संस्थाले तदारुकता जनाउँदै बन्धक परेका नेपालीसामु गत मंगलबार साँझ मात्रै उपस्थिति जनाउन सकेका थिए । कामदारहरूमध्ये ७ जनाको पासपोर्ट र अन्य कागजात लिएर अफगानी घर मालिक भागेकाले उनीहरूका लागि ट्राभल डकुमेन्टको व्यवस्था गराएर आईएओएमले काठमाडौं ल्याउन पहल गरेको थियो । 'बन्धक' भोगाइ बेहोर्नेहरूमा लीलबहादुरसहित जनक ढकाल -स्याङ्जा), दिनेश तामाङ

-संखुवासभा), रामनन्द राई -भोजपुर), धनबहादुर गुरुङ -तनहुँ), सुवासचन्द्र राई -खोटाङ), राजेन्द्र मिश्र -झापा), जितेन्द्र गुरुङ -तेह्रथुम), चुडामणि राई -मोरङ) र शशांक थापा -ललितपुर) छन् । बन्धक मुक्त भएर घर फिरेका आफन्तलाई लिन भने एकजना लीलबहादुरकी श्रीमती तुलसा मात्रै विमानस्थल पुगेकी थिइन् । सकुशल श्रीमान्लाई भेट्न पाएकोमा श्रीमती तुलसा अवाक बनेकी थिइन् ।

'अब भने यसरी चोर बाटोबाट कहींकतै काममा जान्नँ,' लीलबहादुर भन्दै थिए, 'त्यो बन्दीगृहमा बन्दुकको कुन्दाबाट दिनहुँ पिटाइ खाइरहेका बेला भने यो जिन्दगीको मूल्य मैंले पत्तो पाएको थिएँ ।' तर अफगानिस्तान प्रतिबन्धित भए पनि यसरी चुनौतीपूर्ण होला भन्ने उनले ठानेका रहेछन् । 'मैले जीवनकै सबैभन्दा गतिलो पाठ सिकेकी छु,' उनले भने ।



अम्बरको लोकगीत

डायमण्डशमशेरको 'सेतो बाघ'मा सिलाङेको एउटा प्रसङ्ग छ । झन्डै डेढ शताब्दीअघि पल्टनसितै भारत बृहत् आसामको सिलोङ पुग्ने नेपालीहरू सिलाङेका रूपमा चिनिएका थिए । झन्डै त्यस्तै सिलाङे बनेर लमजुङको टक्सारबाट सिलोङ पुगेका बा पारजित गुरुङको परिवारमा मनप्रसाद -एमपी) जन्मे । दार्जिलिङ माइती भएकी आमा मनकुमारी हारमुनियममा मित्रसेनका गीतहरू गुन्गुनाइरहन्थिन् । संयोग कस्तो पर्‍यो भने एमपी केटाकेटी छँदै एकपटक गायक मित्रसेन सिलोङ आएका रहेछन् जसले गाएछन्-

'कृष्णमुरारी मुरलीधारी

मुरली बजाउने

तिमी कहाँ छौ ?'

यसरी सुनिंदै आएको गायकको प्रभाव र प्रत्यक्ष भेट्दाको अतिप्रभावबाट आकषिर्त बनेर एमपी पनि गानाबजानाको दुनियामा छिरेका रहेछन् । पूर्वोत्तर भारतमा अरूतिर हेरीकन सिलोङमा नेपालीपनाको जागरण अलिक चाँडो आएको रहेछ । सन् १९५५ मैं त्यहाँ नेपाली कलासंगीत परिषद् खुलेको रहेछ जसको निम्तोमा सन् १९५७ मै गायक धर्मराज थापा सिलोङ पुगेका रहेछन् ।

'प्रवासी, घामै लाग्यो घमाइलो

प्रवासी, आफ्नै देश रमाइलो

जाउँ हिंड नेपालमा...'

धर्मराजको यो गायकीले अरूहरूझैं एमपी पनि आनन्दित बनेका रहेछन् । उनी धर्मराजसँगै गारो पहाड र त्यहाँको पुरानो जातजातिबारे खोजीमा निस्केका रहेछन् । यतिका वर्षपछि एमपी आफ्ना 'ती दिनहरू' सम्भ“mदै थिए, हालैको एउटा क्षणमा । 'जुन रूखको बोक्रो हो, त्यसैमा टाँसिनु श्रेयस्कर हुन्छ,' भेटघाटमा एमपीले भनेका रहेछन्, 'हिजो त हामी चरनमा बाहिर निस्केका थियौं, अब भने आफ्नो ठाउँमा फिर्नैपर्ला ।' अब फिर्ने क्रममा आफ्ना तीन छोरा र दुई छोरीका लागि नेपालतिरै पढाइ-जागिरको अवसर खोज्नमा उनी लागेका रहेछन् । एमपी सन् १९६५ तिर नेपाल आएका थिए, राजाको जन्मदिवस निम्तोमा । त्यसबेला भैरव नृत्य दलदेखि नारायण गोपाल, प्रेमध्वज, नातीकाजी, अरुणा लामाहरूसँगको संगतमा उनी रहे । अरुणा लामासँग उनले एउटा गीत रेडियोमा पनि गाए, 'यो उजाड जीवनको सहरमा...।' भारतमा प्रशासनिक सेवामा रहेका कारण गीतसंगीतको दुनियामा उति दौडन नपाए पनि गुवाहटी/सिलोङतिर रहेका संगीतकर्मी सिके रसाइली, गिर्वानबहादुर प्रधान, बिजय रसाइलीहरूको संगत रहेकै हुन्थ्यो । एमपीसहितको समूहले गायक अम्बर गुरुङलाई सन् १९५५ मा नागाल्यान्ड बोलाउनुमा पनि त्यही आफ्नो गीतसंगीतको अपनत्व लुकेको थियो । एमपीका रेडियो नेपाल, गुहावटी र कोहीमा रेडियो गरेर एक दर्जनभन्दा बढी गीतसंगीत रेकर्डेड छन् ।

एमपी कहिले गोर्खाल्यान्डमा लागे । कहिले आफ्नो गीतसंगीतका पछि लागे । कहिले प्रशासन त कहिले मौन बनेर बसिरहे । पछिल्लो समयमा भने गोर्खा र नेपालीबीचको अन्तरलाई बुझ्न नसकेर उनी मौन बसेका हुन् । 'भादगाउँले टोपी लगाउनेलाई गोर्खाली र ढाका टोपी लगाउनेलाई नेपाली भन्न थालेका छन्,' उनलाई लागेको छ, 'नेपाली भनेको नेपाली हो, गोर्खाली र नेपाली भनेको एउटै सिक्काको दुई पाटा हो ।' धेरै अघि सन् ६० को दशकमा दार्जिलिङमा अम्बर गुरुङले 'नौलाखे तारा उदाए' गीत गाएर यही नेपालीपनाको पहिलो चस्का सबैतिर फैलाउन खोजेको उनको मूल्यांकन छ । 'त्यो गीत मनमा बिझ्ने नेपालीपनाको एउटा मीठो राजनीति हो,' उनी भन्छन् ।

नेपालीपना र आफ्नो स्वादको कुरा जति गरे पनि सिलोङतिर अहिले मौलिकताको खडेरी पर्दै गएको उनको बुझाइ छ । 'एउटै तबल्ची छैन, एउटै वादक छैन । एउटा बंगालीलाई भन्यो, ऊ आउँछ यसो बाजा ठोकठाक गर्छ । बाजा त छ तर भावना छैन,' उनी

भन्छन् । संगीतको औपचारिक शिक्षा नलिएका एमपीले सिलोङ र कोहिमा छँदा एक मुस्लिम गुरुसँग केही समय रागरागिनी सिकेका रहेछन् । उनका बुझाइमा उनका बाबुबाजेहरू आफ्नो बलबुताका कारण आफ्नो माटो छाडेर बाहिरिएका थिए । तर अब बुद्धि लिन र सेवा गर्नका लागि पनि नेपाल फिर्नैपर्ने दिन आएको छ । 'नेपाल सम्झनासाथ मलाई त्यो बडो सुरक्षित ठाउँ हो भन्ने लाग्छ, अपनत्वले भरिएको आफ्नो ठाउँ हो भन्ने लाग्छ,' उनको बुझाइ थियो । 

एमपीले सन् १९६५ पहिलोपटक जागिर खाएका थिए । सरकारी जागिरको पहिलो तलवले किनेको हार्मोनियम उनले अझै पनि संगालेर राखेका छन् । 'पहिलेको गानाले मुटु हल्लाउँथ्यो, अहिलेको गानाले शरीर मात्रै हल्लाउँछ,' आफ्नो पछौटे कारणबारे उनी भन्छन्, 'अम्बर गुरुङजस्तो लागिरहन सक्ने धैर्य कहिल्यै रहेन ।' उनी अम्बरलाई नेपाली संगीतको 'वन-मेन आर्मी' भनेर सम्बोधन गर्न चाहन्छन् । साथमा अम्बरसँग जोडिएका अनेक स्वादिला किस्सा पनि सुनाइरहेका हुन्छन् । के तपाईले अम्बर गुरुङले लोकगीत गाएको सुन्नुभएको छ ? छैन भने लौ सुन्नुहोस्-

'हे माछालाई

ताल पनि जाल पनि

म दुःखीलाई

आउँदैन काल पनि

यो जूनीमा भेट हुन सकेन

अर्को जून ख्वै छ-छैन ।।।'

प्रकाशित मिति: २०७० जेष्ठ ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication