वीर गोर्खाको सामूहिक किरिया गरिने

(3 Votes)


कास्की, भाद्र २५ -  

बेलायती सेनामा ज्यान गुमाएका ६० हजार गोर्खाको आत्म शान्तिका लागि सामूहिक काजकिरिया गरिने भएको छ । स्याङ्जाको फेदीखोला ८ स्थित साल्मेडाँडामा ३ सय रोपनी जग्गामा निर्माण भइरहेको ऐतिहासिक गोर्खा स्मारक क्षेत्रमा पुर्खाको बहादुरीको कदर गर्न एकसाथ सामूहिक किरिया गर्न लागिएको गेसोका अध्यक्ष पदमबहादुर गुरुङले बताए । आइतबार पोखरामा भएको पत्रकार सम्मेलनमा उनले भने, 'यो युद्धमा ज्यान गुमाएका गोर्खाको सम्मान र आदर पनि हो ।' उनका अनुसार गोर्खा सैनिकमा अहिलेसम्म १४ विभिन्न जातिले युद्धमा ज्यान गुमाएको पाइएकाले ती जातिको संस्कार र संस्कृतिअनुसार सामूहिक किरिया कर्म गरिने छ । 

गेसोलाई प्राप्त जानकारीअनुसार गुरुङ, मगर, राई, लिम्बू, तामाङ, शेर्पा, थकाली, नेवार क्षेत्री, बाहुन र दलित जातिले युद्धमा वीरगति प्राप्त गरेकाले तिनीहरूको सामूहिक रूपमा किरिया कर्म गरिने गुरुङले जानकारी दिए । आगामी मंसिर पहिलो साता स्मारक शिलान्यासअघि  १४ वटै जातजातिका प्रतिनिधि युद्धमा ज्यान गुमाएका पुर्खाको सम्झनामा सामूहिक काजकिरिया बस्ने छन् । यसले पछिल्लो क्रममा बढ्दै गएको जातीय विभेदलाई समेत बिर्साउन  १४ जातिले सामूहिक रूपमा किरिया बस्दा जातीय सद्भावसमेत कायम हुने गुरुङको भनाइ छ ।

गोर्खालीहरू विश्वको जहाँजहाँ मारिएका थिए ती देशहरूबाट अस्तुको रूपमा एक मुठी माटोसमेत ल्याएर स्मारकमा राखिने छ । स्मारको पिँधमा त्यो माटो राखेर आ-आफनो संस्कारअनुसार जातीय पुरोहितले पितृहरूको चिर शान्तिका लागि पूजा गर्न लगाउने छन् । बीस वर्षको गेसोको आन्दोलनका क्रममा अहिले सुरु भएको यो दोस्रो चरणको आन्दोलनअनुसार विश्वकै ध्यान केन्दि्रत गर्ने उद्देश्यसहित तीन अर्बको लगानीमा गोर्खालीको गौरवगाथा झल्कने निर्माणाधीन गोर्खा स्मारक अहिले शिलान्यासको तयारीमा छ । नेपाल सरकारले समेत यतिका गोर्खालीले ज्यान गुमाउँदा कुनै अभिलेख नराखी गोर्खालीमाथि अन्याय गरेको गेसो अध्यक्ष गुरुङको दुखेसो छ । तिनै ज्यान गुमाएका गोर्खालीको सम्झनामा अहिले भूपू लाहुरेको चन्दा संकलनमा यतिको ठूलो योजना बन्न लागेको हो । पाँच वर्षमा पूरा हुने स्मारकमा गोर्खा समाधि, तीन सय जनाको क्षमता हुने नेपालकै अग्लो टावर, संग्रहालय, १४ जातिको संस्कार र संस्कृृति, पाँच डिब्बाको रेललगायतका पूर्वाधार बन्ने छन् । गेसोलाई प्राप्त जानकारीअनुसार युद्धमा गुरुङ, मगर, राई लिम्बू, तामाङ, शेर्पा, थकाली, नेवार, क्षेत्री, बाहुन र दलित जाति मारिएका थिए । तिनीहरूको सांस्कृतिक ग्रामसमेत स्मारकमा राखिने छ । 

प्रकाशित मिति: २०६९ भाद्र २५ ०९:४९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication