तीन यात्रुको लोभमा बस हुँइक्याउँदा...
१३ को मृत्यु, घाइते ३१ मध्ये ७ को स्थिति गम्भीर
गुल्मी, भाद्र २५ - अगाडि गुडिरहेको ट्रकमा चढेका तीन यात्रुलाई झारेर आफ्नो बसमा हाल्ने भन्दै चालकले अनियन्त्रित रूपमा बस हुँइक्याउँदा भएको दुर्घटना मा आइतबार १३ जनाको मृत्यु भएको छ । १६ घाइते भएका छन् ।
सदरमुकाम तम्घासबाट काठमाडौं जाँदै गरेको लु१ख ५५८३ नम्बरको बस हर्दिनेटा-६ मथुरामा बिहान पौने ७ बजे सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।
मृत्यु हुनेमा पाल्पा अर्खले-७ का टेमलाल पाण्डे, राजन गौतम, तम्घासका विष्णु पन्थी, छमकला कुँवर, उनका छोरा निरज, जैसीथोककी लक्ष्मी खड्का, दुविचौर-९ का श्री थापा, पीपलधारा-७ की लक्ष्मी खनाल, दरबारदेवीस्थान-३ की ९० वर्षीया हरिकला अर्याल, वीरबास-८ का देवबहादुर सोमरे छन् । यस्तै अर्घाखाँचीका मरेङ-५ का गणबहादुर छेत्री, वाङ्ला-८ का चन्दा भुसाल र भगवती-५ का लालकुमार श्रेष्ठले पनि ज्यान गुमाएका छन् । चालक दिनेश खनाल गम्भीर घाइते छन् ।
प्रहरी निरीक्षक जितेन्द्र बस्नेतका अनुसार एघार जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मृतकमध्ये टेमलाल जिल्ला हुलाक र लालकुमार मालपोत कार्यालय गुल्मीमा कार्यरत सरकारी कर्मचारी हुन् । टेमलाल सालीको उपचारका लागि र लालकुमार तालिममा भाग लिन पाल्पा जान हिँडेको कार्यालयले जनाएको छ ।
बिहान ५ बजे छुट्ने बस तम्घासबाट बाहिर जाने पहिलो सवारी हो । बिहानै चिठीपत्रसमेत लिएर छुट्ने 'डाँक बस' निश्चित समयमा तोकिएको स्थानमा पुग्ने सर्वसाधारणको भरपर्दो सवारी साधन बनेको थियो । २०५१ बाट जिल्लामा सञ्चालित डाँक सेवाको यो पहिलो दुर्घटना हो ।
घाइते र प्रत्यक्षदर्शीका अनुसार हर्दिनेटाकै लुम्छाबजारमा अगाडि गएको लु१ख ६८१७ नम्बरको ट्रकले तीन यात्रु चढाएपछि त्यसलाई भेटाएर ती यात्रु झारी बसमा चढाउने भन्दै चालकले गति बढाएका थिए ।
बजारभन्दा झन्डै एक किलोमिटर अगाडि गएपछि घुम्तीमा बसले मिनीट्रकलाई उछिनेको थियो । तीव्र गतिमा देखेपछि मिनीट्रक अगाडिको एक पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले रोकेरै बसलाई साइड दिएको थियो । यात्रु चढाउने ट्रक ट्यांकरभन्दा अगाडि थियो ।
मिनीट्रक र ट्यांकरलाई एकैसाथ ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आएको मोटरसाइकललाई जोगाउन खोज्दा बस अनियन्त्रित भएर सडकछेउका चारवटा पिल्लर फुटाउँदै खसेको थियो । शव र घाइतेको कालीदत्त गुल्मका
नेपाली सेना, प्रहरी तथा स्थानीयवासीले उद्धार गरेको घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताए ।
आँखै अगाडि बस खसेको देखेका लु१ख ६१८२ नम्बरका मिनीट्रक चालक लालमणि खनालले दुर्घटना का बेला बस प्रतिघन्टा ३० देखि ४० किलोमिटरको गतिमा रहेको बताए । 'एकोहोरो हर्न बजाउँदै आएपछि मैले
साइड दिएँ,' उनले भने, 'अगाडिको ट्यांकरले घुम्ती भए पनि रोकेर साइड दियो, त्यतिबेलै अगाडिबाट मोटरसाइकल आएपछि त्यसलाई जोगाउन खोज्दा स्पिडमा रहेको बस पिल्लरमा ठोक्किँदै तल खस्यो ।' बस खस्दा यात्रु राखेर अगाडि गएको भनिएको ट्रक पनि झन्डै २ सय मिटर फरकमा भएको उनले बताए ।
मोटरसाइकल चालक पुण्य पौडेलले आफू जोगिन खोज्ने क्रममा दुर्घटना भएकै पत्तो नपाएको बताए । 'मैले त ट्रक चालकले बस खस्यो भनेपछि मात्रै बल्ल थाहा पाएँ,' उनले भने ।
दुर्घटना मा शोक मनाउँदै उद्योग वाणिज्य संघले आइतबार दिनभर बजार बन्द गर्यो । त्यस्तै कर्मचारीको मृत्यु भएको शोकमा मालपोत र हुलाक कार्यालयले पनि सूचना जारी गरी कार्यालयको काम बन्द गरेका थिए ।
सातजना गम्भीर पाल्पा संवाददाताका अनुसार दुर्घटना मा घाइतेमध्ये २९ जनालाई उपचारका लागि पाल्पा ल्याएको छ । दुई घाइतेको गुल्मीकै शृङ्गामा उपचार भएको छ । पाल्पा ल्याइएकामध्ये १७ जनाको मिसन अस्पतालमा र १२ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार जारी छ । मिसनमा उपचाररतमध्ये सातजना गुल्मी तम्घासकी देवकला आचार्य, करुणा खत्री, भगवती अर्घाखाँचीका खिमलाल पाण्डेय, गुल्मी वीरशासका खड्गबहादुर सोमरे, गोरखाका शेरबहादुर श्रेष्ठ र ठेगाना नखुलेका प्रकाश भन्नेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचार गराइरहेका १२ को अवस्था भने सामान्य छ ।
यसैबीच मिसन अस्पतालमा घाइतेको भिडियो र फोटो लिन गएका पत्रकारलाई विदेशीमूलका चिकित्सकले अभद्र व्यवहार गरेका छन् । उनीहरूले अस्पतालमा फोटो खिचिरहेका बेला धकेल्दै 'गो-गो' भन्दै बाहिर निकालेको पत्रकार टेकनारायण भट्टराईले बताए । सबै पत्रकारलाई गेटबाट भित्र पस्नसमेत नदिन सुरक्षागार्डलाई आग्रह गरेका थिए । अस्पताल व्यवस्थापक भूवनेश्वर देवकोटाले नियमअनुसार नै डाक्टरले पत्रकारलाई बाहिर निकालेको बताए । 'काम गर्न डाक्टरलाई असहज भयो होला,' उनले भने, 'त्यसैले निकाल्नु परेको हो ।'
'उपचार गर्न नपाई बुवा गुमाएँ'
५० वर्षीय बुवा गणबहादुर बिरामी हुनुहुन्थ्यो । काठमाडौं जाने र उपचार गराउने भनेर शनिबार तम्घासमा बसेर डाँक बसको टिकट लिएका थियौं । हाम्रो सिट बसको ए साइडको ७ र ८
थियो । बस तम्घासमै ढिला भएकाले तीव्र गतिमा हुँइकिएको थियो । यसअघि पनि म डाँक बसमै हिँड्ने गरेकाले यसपटक पनि सामान्य लागेको थियो । बसको अघि-अघि दुई ट्रक थिए ।
लुम्छामा आएपछि अगाडिको ट्रकले ३ जना मान्छे राखेछ । मैले देखिनँ, तर ढोकामा उभिएको कन्डक्टरले ट्रकले मान्छे हाल्यो, त्यसलाई ओभरटेक गरेर हामीले हाल्नुपर्छ भन्दै चालकलाई आग्रह गरे । सधैं अलि पातलो ड्राइभरले चलाउने गरेको भए पनि आइतबार भने अलि मोटो मान्छेले चलाएको थियो । खोई को हो थाहा भएन । अलि कति अगाडि गएपछि बसले हामी बसेकैतिर विस्तारै गुडिरहेका दुई ट्रकलाई ओभरटेक गर्यो र एक्कासि ब्रेक लगायो । बुवा छेउतिर भएकाले मैले बाटोमा हेर्न पाइनँ ।
तत्कालै बम पडकएजस्तै गरी आवाज आयो र बस उडेजस्तै लाग्यो । बसले ४/५ बल्डेङ लगाउँदासम्म त थाहा पाएको थिएँ, त्यसपछि केही थाहा पाइनँ । अहिले बल्ल थाहा पाएँ, बुवाको मृत्यु भयो रे । उपचारका लागि काठमाडौं लिएर हिँडेको बुवालाई गुमाएँ । बस तीव्र गतिकै कारण दुर्घटना मा परेको हो । (शृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, गुल्मीमा उपचार गराइरहेका छेत्रीसँग कुराकानीमा आधारित)
प्रकाशित मिति: २०६९ भाद्र २५ ०८:२०











तपाईंको प्रतिकृया