थप लेखहरु शारदा शर्मा

साहित्य»

'लिम्बूवान’भित्रको नेपाल


शारदा शर्मा

२०६६ सालको दसैँ ताप्लेजुङको पाथीभरामा मनाउने कार्यक्रम बन्यो अन्ततः । केही वर्षअघिदेखि त्यहाँ जाने योजना बनाइरहे पनि सञ्जोग मिलिरहेको थिएन, यसपल्ट भने जाने निधो गर्यौं । धेरै कुराहरू मिलिसकेका थिएनन् तर जे त पर्ला भनेर चतुर्थीको दिन बिहानै काठमाडौँबाट आफ्नै सानो मोटरमा हिँड्यौँ हामी झापातर्फ । टोलीमा नरहर िआचार्य, रामचन्द्र घिमिरे, मंगल मेन्याङ्बो र म थियौँ । नेविसंघका केन्द्रीय सदस्य ताप्लेजुङका भाइ मंगल यात्रामा हाम्रा पथनिर्देशक पनि बने यसपल्ट । चितवनमा दिउँसो डा विजयराज आचार्यकहाँ पसेर बहिनी देवीले पकाएको भात खाएर बाटो लाग्दा १ बजिसकेको थियो ।

आफ्नो पूरा ल्याकतमा एक्सप्रेसजस्तो गरी कुदिरहेथ्यो हाम्रो सानो गाडी । लाहानमा पुगेर नास्ता गर्दा ६ बजेको थियो साँझको । रामचन्द्रबाबु बाटाछेउका माइलस्टोनमा किलोमिटर गन्दै हुनुहुन्थ्यो निरन्तर, चिन्तित भएर भन्नुभयो, "अझ दुई सय किलोमिटर छ बिर्तामोड ।" सप्तरी सकिने बेलामा साँझको घुर्मैलो उज्यालोमा सक्कली पुरानो बाजेको पेडा पसलका थुप्रै साइनबोर्ड बाटाछेउ देख्ता रमाइलो लाग्यो मलाई । धेरै वर्षअघि बुबा राजविराज बस्नुहुँदा हामी कोसी ब्यारेजतर्फ घुम्न जाँदा पेडा किन्थ्यौँ सधैँ, एउटा मात्रै बाजेको पसल थियो जस्तो लाग्छ त्यतिखेर, खुब मीठो पेडा हुन्थ्यो, यतिखेर भने 'बाजेको पेडा पसल'को ट्रेडमार्कमाथि सबैले धावा बोलेको अवस्था रहेछ । पछि यही बाटो र्फकंदा यस्तै साइनबोर्ड भएको कुनै पसलमा किनेको पेडा पहिला खाएजस्तो थिएन, चिनी र पीठोको मात्रा निकै बढी थियो ।

कोसीले विध्वंस मच्चाएको ठाउँमा राती पुग्यौँ, त्यसैले राम्ररी देख्न सकिएन । कोसी ब्यारेज भने जस्ताको तस्तै रहेछ । अघि बढ्दै जाँदा बाटामा गाडीहरू भेटिने क्रम घट्दै गयो । बाटाका खाल्टाहरूमा बारम्बार जोल्टिङ् खाइरहेथ्यो हाम्रो फुच्चे अल्टो । ड्राइभर हरलिाई निन्द्रा लाग्यो कि भनेर घरीघरी म बोलाउँदै गर्थें । पछि त गाडीहरू ठ्याम्मै भेटिएनन् बाटामा । पूर्वपश्चिम राजमार्गमा घना जंगलबीचको बाटो शान्त थियो राती, आफ्नै गाडीको आवाजदेखिबाहेक केही सुनिन्नथ्यो । एकप्रकारको डरको पनि अनुभव हुँदोरहेछ यस्तो अवस्थामा । जति हिँडे पनि टुंगो नआइपुगेको देख्ता मलाई नेपाल निकै ठूलो पो रहेछ कि जस्तो लागिरहेथ्यो त्यतिखेर । बिर्तामोडको होटेल ड्यानियलमा राती साढे ९ बजे पुग्यौँ, खाना खाइवरी सुत्दा ११ बज्यो ।

लल

बिहानै स्थानीय मित्र जेपी शर्मा र पोखराका बासिन्दा पुलिस इन्स्पेक्टर प्रेम थापा होटलमा आउनुभयो । हाम्रो गाडी प्रहरी चौकीमै छाड्यौँ । शर्माजीकै व्यवस्थापनमा स्थानीय रुटको महीन्द्रा जीप चढेर साढे ७ बजे इलामतर्फ लागियो । वातावरण रमाइलो थियो, दायाँबायाँ धानका हरयिा फाँट र विस्तारै उचाइ लिँदै गरेको सफा पीच बाटो । उत्तर लाग्दै गर्दा एक ठाउँ ड्राइभरले 'हाफ पाइन्ट चोक' आएको बताए । कुनै ठिटीले कुनै जमानामा यहाँ हाफ पाइन्ट लगाएर बस्ने गरेकाले अनौठो मानी सो नाम राखिएको थियो रे ! एकछिन यो प्रसंग चर्चामा रह्यो । हाफ पाइन्ट लगाउने केटीलाई त्यतिखेर कति हैरान पारे होलान् मान्छेले भनेर आश्चर्य लागिरहेथ्यो मलाई । जति माथि लाग्यो उति हरयिाली, साज, बडाबडा पात भएको हात्तीपाइले, उत्तीस, साल, भलातो, बाँस आदिको बाक्लिँदो जंगल । अझ माथि जाँदै गर्दा अमि्रसो र अलैँचीका बोट पाखै छोप्ने गरी देखिन थाले । इस्कुसका झ्याङ्ले घरबस्ती मात्रै होइन, जंगलै छोपेको थियो । एउटा झ्याङ् इस्कुसले छ महिनाको खर्च चल्छ भन्दै थिए मंगल । भीरपाखैमा आलु, मुला, अदुवाको खेती पनि थियो । फिक्कल, कन्याम चिया बगान, पूर्वको श्रीअन्तु डाँडो, करफोक, बीचबीचमा आउने सल्लाका वन र चिसो लेकाली बतास, आउँदै र जाँदै गरेका कुहिरोका चिसा पर्दाले वातावरणलाई मनोरम बनाइरहेथे । थुप्रै ठाउँमा साना च्यान्टे घोडाहरू दुईतर्फ बडाबडा दूधका भाँडा झुन्ड्याएर हिँडिरहेका भेटिए । यतातिर दूध प्रशस्त हुन्छ भने पनि खान खोज्दा राम्रो दूध कहीँ भेटिएन । फिक्कल बजारमा छुर्पीका लौरा बाक्लै झुन्ड्याएका देखिन्थे । धूलोले भरएिको उराठलाग्दो तातो झापाबाट उत्तरतर्फ लाग्दा कलिलो बिहानमा मन बौरएिझैँ भएको थियो । काठ र जस्ताले बनाएका चिटिक्क परेका रंगीन घर र तिनमा सजाइएका फूलहरूमा मेरो मन अल्भिmरहेथ्यो । मैले नरहरजिीलाई मलाई काठमाडौँमा यस्तै चिटिक्क परेको सानो घर बनाइदिन भनेँ, हुन्छ भन्नुभयो उहाँले ।

दिउँसोको करबि १२ बजेको थियो इलाम बजार पुग्दा । नेपाली कांग्रेसका रतन चौधरी उकालैमा भेट हुनुभयो, हामी सँगै मास्ितर लाग्यौँ । चोकैमा स्िथत उहाँको कपडा पसलमा बसेर मीठो चिया खायौँ, पार्टी अफिसमा कांग्रेसका साथीहरूसँग भेटघाट भयो । तरुण दलका नगराध्यक्ष ईश्वर चिपालुको होटलमा भात खाएर मंगलकी साथी कला सुब्बालाई पनि लिएर पाँचथरको फिदिमतर्फ लागियो त्यसपछि । गनिनसक्नुका घुम्ती आएथे । पछि कसैले लिम्बू भाषामा इलाम भनेकै घुम्ती हो भनेको सम्झँे । घुम्तीलाई यता गोलाइ भन्ने चलन रहेछ । बाटामा आएको खरेल डाँडामा लिम्बू लिपि सिकाउने ठाउँ देखाइन् कलाले । पुवाखोलामा प्लाइउड उद्योग र दूध डेरी रहेछन् । कतिपय घरमा लिम्बू राज्यका झन्डा फहराइरहेका देखिन्थे । बाटैबाट मंगलले हामीलाई बैरागी काइँलाको पौवासारताप गाविस देखाए । झलनाथ खनाल पनि यतैका हुनुहुँदो रहेछ साखेजुङ् रहेछ उहाँको गाउँ । कुनै कार्यक्रममा साथै बेलायत गएका बखत झलनाथजीले चियाका बारेमा दिएको प्रवचनलाई त्यहाँका छापाले प्राथमिकता दिएर छापेको प्रसंग निकाल्नुभयो नरहरजिीले ।

बाघखोर बजारमा दूध चिस्याउने ठाउँ रहेछ । राँके बजारमा भेट भएका असई मानबहादुरले हामी आउँदै गरेको खबर फिदिममा दिए । हुस्सु र कुहिराले अग्ला डाँडाका टुप्पा ड्यामडुम छेकिएका थिए । घरीघरी बाटै पनि देख्न गाह्रो हुन्थ्यो । रानीघर गाविसको ८ हजार २ सय फिट उचाइको पौवा भञ्ज्याङ् बजार यो भेगको सबैभन्दा उचाइमा पिच भएको ठाउँ रहेछ । चिसो अनुभव गरेर हामीले स्वेटर-ज्याकेटहरू लगायौँ । तल फेदीमा हरयिो कञ्चन निबुखोला बगिरहेथ्यो । फिदिमको सुम्निमा टोलमा काँचो कागज बनाउने कारखाना पनि रहेछ । जंगलमा हामीले प्रशस्त लोक्ताका झाडी देखेथ्यौँ, कागज बनाउने कच्चा पदार्थ यही थियो । अर्घेली भन्ने अर्को वृक्ष पनि प्रशस्त थियो जंगलमा, जापानी नोटको कागज यही बिरुवाको बनाउँछन् रे, संकलन गरेर जापान लैजाने प्रबन्ध पनि छ भन्थे साथीहरू ।

साम्दिनको सैनिक ब्यारेक देखियो माथिबाटै । पाँचथरको सदरमुकाम फिदिम बजार भने फेदीमा रहेछ, खोँचजस्तोमा । स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा मन्त्री भएपछि पहिलोचोटि जिल्ला आउनुभएकाले उहाँको स्वागतमा जुट्दै रहेछन् जिल्लाबासी । शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा हामी पनि सरकि भयौँ । बेलुका जिविसको गेस्टहाउसमा बास बसियो । त्यहीँ सञ्चारकर्मी तथा कांग्रेस पार्टीका स्थानीय साथीहरूसँग कुराकानी गर्नुभयो नरहरजिीले । स्थानीय लिम्बूहरूले लिम्बूवान राज्य घोषणा गरेका रहेछन् यो भेकका केही जिल्लालाई । यता चल्ने सबै गाडीमा लिम्बूवान राज्य भनेर लेखेको देखेकी थिएँ मैले । यद्यपि, खुसीको कुरा, मधेसको जस्तो हिंसात्मक भने रहेनछ यताको आन्दोलन । सरल, विनम्र जाति रहेछ लिम्बू ।

कांग्रेसलाई माया गर्ने लिम्बू भाइहरूले जातीय संवेदनशीलताका कुरा गरे । एमाले र माओवादीहरूले लिम्बूवानलाई मान्यता दिइसके, कांग्रेस मात्रै किन चूप लागेर बसेको छ भन्ने गुनासो गर्थे । यसो गर्दा कांग्रेसले लिम्बूहरूको समर्थन गुमाउँदै गएकामा ती चिन्तित थिए । ती भाइहरूको कुरा सुन्दा मलाई भने राजनीतिक पार्टीहरू किन वस्तुनिष्ठ भएर सोच्दैनन् र बारम्बार जनतालाई झुक्याइरहन्छन् भन्ने लागिरहेथ्यो । स्िथतिको राम्रो विश्लेषणै नगरी तात्कालिक राजनीतिक फाइदाका लागि ती जे जस्ता प्रस्ताव पनि सहजै स्वीकार गर्छन् । ती बेलामा काम गर्दैनन् र ढिलो भइसकेपछि दबाबका भरमा जे पनि गर्छन् भन्ने कुरा मधेस मुद्दाकै विभिन्न अवसरमा देखिइसकेकै हो । यहाँ पनि एमाले र माओवादी आफैँ प्रस्तावित लिम्बूवान राज्यका प्रमुख मागकर्ता भएर बसेका छन् भन्थे साथीहरू । कांग्रेसको आधिकारकि धारणा आउन बाँकी भए पनि कांग्रेसका मन्त्रीले पनि लिम्बूवान राज्यको माग पत्रमा त सही गरेकै थिए ।

प्रश्नहरूको उत्तर नरहरजिी दिइरहनुभएको थियो तर उठेका प्रसंगले मभित्र थप प्रश्न पैदा भइरहेका थिए, यो प्रदेशलाई लिम्बूवान राज्य घोषणा गरेपछि यहाँ बस्ने अन्य नेपाली जातजाति भाषाभाषीहरूको हैसियत के हुनेछ ? तिनले लिम्बूसरह नै अधिकार पाउलान् ? पाउँदैनन् भने लिम्बूलाई बढी अधिकार दिनुपर्ने र तिनलाई थोरै अधिकार दिए पनि हुने कारण राज्यले कसरी व्याख्या गर्छ ? ती अन्य जातजातिलाई पनि आफ्नो जाति/भाषा अनुसार प्रदेशलाई नामकरण गर्न मन लाग्यो भने के गर्ने ? तथ्यांकै हेर्दा लिम्बूवान भनिएका यी जिल्लाहरूको जनसंख्यामा लिम्बूहरू साढे तीन लाख थिए भने बाहुन/क्षेत्रीको संख्या करबि सात लाख पुग्थ्यो । त्यसदेखि बाहेक अन्य जातजातिको संख्या पनि प्रशस्त थियो । माग गरएिझैँ लिम्बूलाई राजनीतिक अग्राधिकार दिएको अवस्थामा गैरलिम्बूहरू सबै मिलेर लिम्बूका विरुद्ध जुटे भने के हुने हो ? लिम्बूवानमा नबसेर नेपालको कुनै अर्को प्रदेशमा बस्न चाहने लिम्बूलाई त्यहाँ पनि आफ्नो नागरकि हक चाहिन्छ नै । लिम्बूको कुरा मात्रै नभएर तमूवान, मधेसी, खम्बूवान राज्यको माग गर्नेहरूले पनि यी कुरा गम्भीरतापूर्वक सोचेकै हुनुपर्ने हो । करबि ९२ भाषा बोल्ने १ सय ३ वटा जातजाति भएको नेपालमा कुनै जातिविशेष मात्रको बसाइ कुनै ठाउँमा पनि देखिन्न । मिश्रति जनसंख्या छ जताततै । परविारहरू पनि क्रमशः मिश्रति जातका बन्दैछन् । जातिविशेषको घनत्व हेर्दा पनि ५० प्रतिशतभन्दा बढी एउटै जाति जनजातिको जनसंख्या भएका १४ जिल्ला मात्रै रहेछन्, जसमा गुरुङहरू मनाङमा, तामाङ रसुवामा, नेवार भक्तपुरमा, थारू बर्दियामा र मगर पाल्पामा बसोबास गर्छन् । यसदेखिबाहेक पश्चिम नेपालका नौ जिल्लामा क्षेत्रीको बसोबास ५० प्रतिशतभन्दा बढी रहेछ । यसो भन्दैमा यी जातिहरू आफूलाई इच्छा लागेको नेपालको कुनै अर्को ठाउँमा बस्न पाउँदैनन् वा अन्य ठाउँमा बस्ता तिनको नागरकि अधिकारको सुरक्षा गर्नुपर्दैन भनेर राज्यले कहाँ भन्न मिल्छ र ? राज्यले दीर्घकालीन महत्त्वका नीति निर्णय भावनामा बगेर गर्ने कुरा होइन । पछि आइपर्नसक्ने चुनौतीहरूमाथि बेलैमा ध्यान पुर्‍याइएन भने समस्या घट्नुको साटो बढेर जानेछन् । राजनीतिले त मुलुकका समस्याको समाधान गर्ने पो हो, बल्झाउने होइन ।

नेपाल राज्यको केन्द्रीकृत र सामन्ती परपिाटीले यो मुलुकका धेरै नागरकि लामो समय थिचिमिचो र अन्यायमा परेको कुरा सही हो, यतिखेर राज्यका सामु तिनलाई मूलधारमा ल्याउने ठूलो चुनौती छ । यसै निम्ति पनि प्रदेश बन्नु आवश्यक छ । तर, मुलुकको पुनःसंरचना निश्चित निर्धारति वस्तुगत वैज्ञानिक आधारमा टेकेर मात्रै हुनुपर्छ, त्यहीँ बस्ने मान्छेको परामर्श र सहभागितामा समेत बन्नुपर्छ यो आधार । प्रदेश बनाउने मात्रै होइन, त्यसलाई राम्ररी चलाउनु पनि त पर्छ । यो क्रममा कमजोरलाई माथि उठ्न मद्दत गर्नाका लागि योजनाहरू बन्नु जरुरी छ, प्रदेश विशेषका विशेषताको संरक्षण र प्रवर्द्धन पनि गर्नुपर्छ । तर, इतिहासका कुरा कोट्याएर गरनिे प्रतिशोधले चाहिँ हामी सबैलाई एकैमुष्ठ डुबाउनेछ । यति सरल कुरा पनि मान्छेहरू किन बुझिरहेका छैनन् ? यो मैले नै नबुझेकी हुँ कि ?

राज्यको पुनःसंरचनाकै सन्दर्भमा मैले देखेको अर्को पक्ष के पनि हो भने सामान्यतः हामीले ठान्ने गरेझैँ मधेसी र जनजातिहरू सबै कमजोर छैनन्, न सबै बाहुन/क्षेत्रीहरू सम्पन्न छन् । ४८ प्रतिशत क्षेत्री र थुप्रै संख्यामा बाहुन पनि अझै गरबिीको रेखामुन्तिरै छन् भन्दा धेरैलाई अनौठो लाग्ला । कणर्ाली र सुदूरपश्चिमका कतिपय क्षेत्रमा बस्ने खसको अवस्था निम्नभन्दा निम्न तहको नागरकिभन्दा गएगुज्रेको देखेकी छु मैले । राज्यले बाटो बन्द गर्न र हल्ला गर्न सक्नेको मात्रै अधिकारको चिन्ता गर्न नमिल्नुपर्ने हो, अहिले त्यस्तै देखिएको छ । धेरै थकाली र नेवार परविार जनजाति भएर पनि निकै शिक्षित र सम्पन्न छन् तर तीमध्येकै केहीले जातीय मुद्दा मात्रै उछालिरहेको पनि मैले बुझेकी छैन । मधेसमा मधेसीको सबैभन्दा बढी शोषण गर्ने जमिनदार मधेसी नै पनि छन् । यतिखेर विखण्डनका उग्र मुद्दा बोक्ने कतिपय मधेसी नेता यसअघि पनि सत्तामै थिए, सुविधाभोगी नै थिए, अहिले पनि छन् । दलित भनिने जातिभित्र आफैँमा रहेका विभेद अनौठा छन् । पञ्चायतीकालदेखि राज्य संयन्त्रमा हर्ताकर्ता भएर बसेका प्रशस्त मधेसी, दलित र जनजातिका मान्छेले आफ्नो मात्रै विकास गरे, आफ्नो समुदायलाई कहिल्यै माथि उठाउन खोजेनन् । यतिखेरै पनि पछाडि पारएिको भनिएका जाति/जनजातिको संख्या नेपाल सरकारको शासन सत्ताका महत्त्वपूर्ण ठाउँहरूमा छँदैछ । समस्या जातिको मात्रै को कि तिनका अवस्थाको पनि हो, यो पनि ध्यान दिनैपर्ने होला ।

शोषणको मूल आधार जातिसँग भन्दा पनि शक्ति र सत्तासँगको निकटता र त्यसको प्रयोगमा हुन्छ । अतः नेपालका सबै नागरकिलाई शक्तिशाली बनाउने उद्देश्यले शक्तिको सही बाँडफाँटतर्फ हाम्रा प्रयत्न केन्दि्रत हुनु जरुरी छ यतिखेर । सत्ता र शक्तिको दुरूपयोग गरी नागरकिहरूका बीच असमानताको खाडल पैदा गर्ने र अनावश्यक रूपमा जातीय सद्भाव बिथोल्न खोज्नेहरू भने जोसुकै जाति र वर्गका भए पनि तीसँग सतर्क हुनैपर्छ ।

प्रकाशित अंकहरू