थप लेखहरु श्रीकृष्ण अनिरुद्ध गौतम

गणराज्य-संवाद»

कांग्रेसका दुई विकल्प


श्रीकृष्ण अनिरुद्ध गौतम

नेपाली कांग्रेसमा नेतृत्व र नेतृत्वको चाहना राख्ने दुवैथरीबीच मनोमालिन्य चुलिएको छ । यसैबखत, आगामी महाधिवेशनको तयारीका लागि यसको महासमिति बैठक हुँदैछ । कांगे्रसको भावी दशादिशाबारे कांग्रेसजनका साथै, बित्थामै सही, अरूलाई पनि चिन्ता छ । कांग्रेसजन त पक्कै चिन्ताग्रस्त हुने नै भए, शुभेच्छुकहरू अधिकै चिन्तित छन् । 

साँच्चै भन्ने हो भने आज वैचारकि, सांगठनिक र नेतृत्व सबै दृष्टिले कांग्रेस जीवन र मृत्युको दोसाँधमा छ । यसको आन्तरकि शक्ति क्षीण भएको छ । अनेकन रोगले एकैसाथ आक्रान्त छ । सबैभन्दा दुःखदायी कुरा, यसको कार्यकर्तापंक्तिमा कुनै स्वप्न छैन । कांग्रेसमा सदस्यता विस्तार गर्नेभन्दा पनि भएकैलाई कसरी जोगाउने भन्ने संकट छ । सदस्यता खुम्चिँदै गएपछि कुनै पनि संस्था सानो हुँदै जान्छ र सानो पंक्तिका संस्थाको प्रभाव कमजोर हुनु स्वाभाविक हुन्छ । 

कांग्रेसको पछिल्लो महाधिवेशनयता देशले धेरै ठूलो फड्को मार्‍यो । मुलुकमा लोकतन्त्रको स्थापना भयो । यसैबीच, संविधानसभा निर्वाचन तयारीका क्रममा दुई कांग्रेस -अर्थात्, साविकको कांग्रेस र कोष्ठमा प्रजातान्त्रिक राखेको कांग्रेस) एक भए । पछिल्लो महासमिति एकताको महासमिति थियो । त्यो एकताको सन्देश पाउनासाथै मतदाता कांग्रेस नेताहरूलाई भोट हाल्न तँछाडमछाड गर्छन् भन्ने लागेको थियो । सोचेजस्तो बिल्कुलै भएन । अहिले नामको सिरानमा एकीकृत थपिएको अर्थात् त्यतिबेलाको नेपाल कम्युनिस्ट पार्टीले कांगे्रसलाई कताकता उछिन्यो । फलस्वरूप कांग्रेसका सपना सबै चकनाचूर भए ।   

निश्चय नै यसपहिलेको महासमितिले गणतन्त्रको एजेन्डा पारति गर्‍यो तर मतदाताले कांग्रेस गणतन्त्रवादी भइसक्यो भनेर काठमाडौँमा बाहेक अन्यत्र खासै पत्याएनन् । काठमाडौँका १० मध्ये छ स्थानमा कांग्रेसले जितेको थियो । यसको कारण, राजधानीमा कांगे्रसका दुई जना मुख्य गणराज्य अभियन्ता नरहर िआचार्य र गगन थापा अग्रपंक्तिमा अग्रसर थिए । नरहर िक्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ प्रत्यासी थिए एवं गगन कांगे्रसको समानुपातिक सूचीमा परेका थिए । त्यसैगरी, क्षेत्र नम्बर ४ की सुप्रभा घिमिरे र क्षेत्र नम्बर ६ का भीमसेनदास प्रधान पनि  गणराज्य अभियानमै संलग्न थिए । यद्यपि, प्रधान हारे तर नरहर िर सुप्रभा चुनाव जितेर सभासद् हुन पुगेका छन् । गगन समानुपातिकबाट सभासद् हुन पुगे ।

तात्पर्य के भने गणतन्त्रवादी कांग्रेस नेता नरहरकिो उम्मेदवारी र गगनको सक्रियताका कारण काठमाडौँका मतदाताले कांग्रेसलाई पत्याए, फलस्वरूप राजधानीमा कांग्रेसको पक्षमा झन्डै लहरै आएको थियो । संविधानसभा निर्वाचनको प्रसंग यहाँ ल्याउनुको प्रयोजन के हो भने लोकतान्त्रिक अथवा गणतन्त्रवादी हुनलाई निर्णय मात्रै पर्याप्त हुँदैन, निष्ठा झन् अनिवार्य हुन्छ । कांगे्रसको संस्थागत निर्णयलाई यदि देशैभर िलोकतान्त्रिक गणतन्त्रप्रति निष्ठासम्पन्न व्यक्तिले नेतृत्व दिएका हुन्थे भने कांग्रेसको पक्कै पनि लज्जास्पद पराजयका फलस्वरूप यो दुर्गति हुने थिएन ।

वास्तवमा परविर्तित सन्दर्भमा विचारलाई अद्यावधिक गर्नाका साथै कांग्रेसले आफ्नो कार्यशैलीमा व्यापक फेरबदल गर्नु आवश्यक थियो, संगठनलाई जन-जनसम्म विस्तार गर्न दुईथरी सदस्यताको प्रावधान गएको महाधिवेशनमै समाप्त गर्नु अनिवार्य थियो । जनाधारमा आधारति पार्टी भन्ने तर साधारण र क्रियाशील सदस्य दुईथरी सदस्यको प्रावधान राख्नु आफैँमा परस्पर विरोधी व्यवस्था हो । कुनै पनि लोकतान्त्रिक पार्टीमा सदस्यताका श्रेणीहरू राख्नु हुँदैन । पार्टीको सदस्यतामा दज्र्यानी लाउने काम गर्नु हुँदैन किनभने जनाधारति पार्टी सैनिक संगठन होइन, न त राजनीतिक पार्टी प्रशासनिक संयन्त्र नै हो । लोकतन्त्रमा पार्टी, यथार्थमा, नीति तथा विचार र जनताबीचको अनुबन्ध हो ।

हरेक महाधिवेशनमा दलले आफ्नो नीति तथा विचारका आधारमा त्यो अनुबन्धको नवीकरण गर्नुपर्छ । नवीकरण नगर्ने दलहरू खुम्चिँदै जान्छन् । खुम्चिँदै जाने दलहरू प्रकारान्तरमा नेपाल प्रजापरष्िाद् बन्छन् । सायद यो भनिरहनै पर्दैन, दललाई फराकिलो बनाउन सदस्यताको प्रावधान खुकुलो र उदार हुनुपर्छ । वास्तवमा दल जति फराकिलो हुँदै जान्छ, त्यो आफसेआफ लोकतान्त्रिक बन्दै जान्छ । किनभने, यसो हुँदा दलको नीति तथा विचारमाथि व्यापक अन्तरक्रिया सम्भव हुन्छ । अन्तरक्रियाले नै पार्टीमा पारस्परकि अन्तरसम्बन्ध प्रगाढ भएर आउँछ र पद्धति क्रमशः विकसित हुँदै जान्छ ।

कांग्रेसले विशेष गरी यसको कलबलगुडी महाधिवेशन -२०४८) देखि नै बारम्बार आफूलाई फराकिलो बनाउने अवसर गुमाइआएको छ । यसैकारण, यो पार्टी खुम्चिँदाखुम्चिँदै खास पारविारकि पृष्ठभूमि भएका मानिसको निजी पसलजस्तो हुन पुगेको छ । जनतासँग यसको अनुबन्ध टुट्दै गएको छ । फलस्वरूप, ००७ सालदेखि नै यसको सबैभन्दा ठूलो समर्थक पंक्ति रहेको तराई-मधेस यसका विरुद्ध गएको छ । त्यस्तै, चाहे पश्चिम पहाड होस् अथवा पूर्वी, यसको समर्थक पंक्तिमा भयानक ह्रास आएको छ ।

यसका साथै विषम परििस्थति के छ भने वैचारकि रूपान्तरणका हिसाबले- हो, कांग्रेस पनि गणतन्त्रवादी भएको छ तर त्यही गणराज्य नेपालको परयिोजना बनाउनेहरू छायामा परेका छन् । कतिपय कांग्रेसमा टिक्नै नसकेर पाखा लागिसकेका छन् । दुर्भाग्यवश, राजा नभए देशै रहन्न भन्नेहरूकै भरमा पार्टीले गणतन्त्रको कसरत गर्नु पररिाखेको छ । एकातिर, निरन्तर खस्कँदो समर्थकपंक्ति र त्यहीँ अर्कोतिर, गणतन्त्रप्रति सैद्धान्तिक असहमति रहेको नेतृत्व र नेतृत्व दाबी गर्नेहरूको लाम छ । यस्तोमा कांगे्रसले गणराज्य नेपाललाई नेतृत्व दिन्छ भन्नु सुन्दै अनौठो लाग्ने किस्सा हो । तैपनि, यो किस्सा पत्याउनेहरू नभएका होइनन्, छन् ।

निश्चय नै अनौठा किस्साहरू पनि सत्य बन्न सक्छन् तर आफैँ भाग्यका भरमा बन्दैनन् । यस सन्दर्भमा एउटा कथन जोडौँ, महाभारत युद्धको तयारीका बेला केही ज्योतिषीहरूले श्रीकृष्णका सम्मुख गएर समवेत् स्वरमा भनेछन्, "हे कृष्ण ! यो युद्ध रोक्नुहोस्, तपाईंका पक्षको ग्रहस्िथति ठीक छैन ।" ज्योतिषीहरूको चिन्ता सुनेर श्रीकृष्णले यसरी जवाफ दिएछन्, "ज्योतिषीहरू, तपाईंहरू निश्चिन्त भएर घर फर्किनुहोस्, चिन्ता नलिनुहोस् । म ग्रहहरूको दिशा बदल्ने सामथ्र्य राख्छु ।"

यस प्रसंगको तात्पर्य के भने कांग्रेसका अझै दुई विकल्प छन् । सबैतर्फ प्रतिकूल हुँदाहुँदै पनि यदि कांगे्रसलाई लोकतन्त्र र गणराज्यप्रति निष्ठासम्पन्न, प्रकाण्ड रणनीतिज्ञ र संकल्पबलले प्रेरति नेतृत्व प्राप्त भयो भने अनौठो किस्सा सत्य र असम्भव पनि सम्भव हुनसक्छ । अन्यथा, कांग्रेसभित्रका गणतन्त्रवादीहरू विस्तारै सेलाएर, बिलाएर जानेछन् र पार्टी कर्मशून्य भाग्यवादीको सानो समूहमा सीमित हुँदै प्रजापरष्िाद्मा विलय हुनेछ । पहिलो विकल्प कठिन छ । दोस्रोमा कुनै समस्यै छैन, एउटा विज्ञप्ति निकालेर साइनबोर्ड फेरे भइहाल्छ ।

प्रकाशित अंकहरू