विवादास्पद छविका मजिद मनिहारको असोज १९ गते साँझ नेपालगन्जको न्युरोडस्थित लालीगुँरास होटलमा हत्या भयो । होटल कर्मचारीले कोठा नं १०५ मा उनको हत्या गरिएको खबर टेलिफोनबाट पाएका थिए । खबर नगरभित्र नफैलिँदै भारतीय सञ्चारमाध्यमले यस घटनालाई उच्च प्राथमिकता दिएर सार्वजनिक गरिसकेका थिए ।
मनिहारलाई चर्चित भारतीय टेलिभिजन च्यानल आजतकले 'करेन्सी किङ्'को उपाधि दियो भने एनडीटीभीले 'नक्कली नोटको सौदागर' भन्दै समाचार प्रसारण गर्यो । नवभारत टाइम्सले लेख्यो, 'नक्कली नोटको कारोबार गर्ने नेटवर्कका प्रमुख मजिद ग्याङ् वारमा मारियो ।'
मजिदको हत्यामा भारतीय सञ्चारमाध्यम र सुरक्षा अधिकारीहरूले रहस्यमय चासो देखाएका छन् । घटनाको भोलिपल्ट बिहानै भारतीय सञ्चारकर्मीहरूको नेपालगन्जमा ओइरो लागेको थियो । विवादास्पद पूर्वमन्त्री मिर्जा दिल साद बेग र बम्बई अन्डरवल्र्डका 'डन' मानिएका दाउद इब्राहिमसँग सीधा सम्पर्क रहेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले उनको हत्यालाई भारतीय प्रहरीको पक्षमा भएको ठूलो उपलब्धिका रूपमा चर्चा गरेका थिए । हत्यापछि सीमावर्ती रूपैडिहामा स्थानीय सुरक्षा अधिकारीहरूको बैठक पनि बसेको थियो । लगत्तै भारतीय खुफिया एजेन्सी 'र'का उच्च अधिकारीहरू पनि दिल्लीबाट आए ।
भारतीय उच्च सुरक्षा अधिकारीहरूले मजिदको हत्यापछि उनको नेटवर्कसँग जोडिएकाहरूलाई पक्राउ गर्न नेपाल सरकारसँग मद्दत मागेको समाचार भारतीय दैनिक जागरणले प्रकाशन गरेको छ । असोज २९ गते बर्दियाको ठाकुरद्वारामा भएको नेपाल-भारत संयुक्त सीमा बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले मजिद हत्याबारेकोे अनुसन्धानमा सघाउन भारतीय पक्षसँग आग्रह गरेका थिए । तर, भारतीय सुरक्षा अधिकारीले आग्रहको बेवास्ता गर्दै मजिद शंकास्पद व्यक्ति भएकाले त्यसबारे कुरा नउठाउन भनेका थिए ।
दशकअघि विवादास्पद पूर्वमन्त्री मिर्जा दिल साद बेगसँगको सम्बन्धलाई लिएर भारतीय सुरक्षाकर्मीले उनको पिछा गर्दै आएका थिए । मिर्जाको २०५५ असार १५ गते राती काठमाडौँ, सिफलमा हत्या भएको थियो । "कुनै विशेष सम्बन्ध होइन, मिर्जा नेपालगन्ज आउँदा भेट्थे । चिया पिउन घर पस्थे," मजिदका दाजु कमाल अहमद भन्छन्, "भारतीय मिडियाले गरेको प्रचारबाजी गलत हो ।" उनको सम्बन्ध राजावादीहरूसँग थियो । उनी त्यतिबेला राप्रपा समर्थक थिए । त्यसैले मिर्जा मात्र होइन, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले समेत मजिदकहाँ खाना खाएको आफन्तले बताएका छन् । डेढ महिनाअघि मजिदका छोरा २२ वषर्ीय बिक्कीलाई स्पेसल टास्क फोर्सले सीमास्िथत जमुनाहबाट पक्राउ गरेर लगेको थियो । लागूऔषधका दुव्र्यसनी बिक्कीलाई नसामा लठ्याएर लगेको परिवारको दाबी छ । त्यहाँ उनलाई नक्कली नोटसम्बन्धी मुद्दा चलाइएको छ । बिक्कीले नक्कली नोटको कारोबारमा आफ्ना बुबा मजिदलगायतको नेटवर्क सीमावर्ती क्षेत्रमा सक्रिय रहेको बयान दिएको भारतीय सञ्चारमाध्यमले सार्वजनिक गर्दै आएका छन् ।
बिक्कीलाई छुटाइदिने आश्वासन दिँदै स्पेसल अप्रेसन ग्रुपका अधिकारीहरू एक महिनादेखि मजिदसँग नजिकिएका थिए । छोरालाई छुटाउने प्रलोभनमा पठाइएका व्यक्ति भेट्न जाँदा उनको हत्या भएको हो ।
त्यसअघि स्पेसल टास्क फोर्स -एसटीएफ)को लखनउस्थित एक अधिकृत तीन वर्षदेखि मजिदको सम्पर्कमा थिए । सुरुमा ठेकेदार बनेर उनले मजिदसँग सम्बन्ध बढाएको उनका परिवारको भनाइ छ । उनीहरूबीच राम्रै सम्बन्ध बनिसकेको थियो । "आउने-जाने गर्थे, बुबा-आमा भन्थे," नूरजहाँ सुनाउँछिन्, "त्यसैले फसाएर छोरालाई पक्राउ गर्यो, उहाँलाई मार्यो ।" छोरा पक्राउ परेपछि छुटाउने प्रलोभनमा मजिदको सम्बन्ध स्पेसल अप्रेसन ग्रुप -एसओजी)का अधिकारीहरूसँग बढेको थियो ।
मजिदको कन्चटमा गहिरो चोट लागेको थियो । छड वा धारिलो सुइरोले उनको हत्या गरिएको हुनसक्ने प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार बताउँछन् । दुई दिनअघिदेखि नै होटलमा बस्दै आएको शंकास्पद भारतीय समूहलाई भेट्न जाँदा उनको हत्या भएको हो । भारतको लखनउछेउ कन्नोज सहरका उनका साथी मोहम्मद इब्रारको आग्रहमा उनले ती शंकास्पद भारतीयहरूलाई भेटेको पारिवारिक स्रोतले बताएको छ ।
हत्याको बिहान भारतबाट आएका तीनमध्ये एक जनालाई मजिदले घर लगेर चियासमेत ख्वाएका थिए । बिहान उनी १३ वर्षे कान्छो छोरा मुसिम सिद्दिकीसँग होटलमा गएका थिए । "क्याप लगाएको, दुब्लो, हल्का दाह्री पालेको थियो," मजिदपत्नी नूरजहाँ भन्छिन्, "मैले चिया पकाएर ख्वाएँ । दिउँसो उसैसँग मोटरसाइकलमा जानुभएको हो । फर्केर आउनुभएन ।"
भारतीय मात्र होइन, नेपाल प्रहरीले पनि मजिदलाई शंकास्पद दृष्टिले हेर्दै आएको थियो । भारतीय प्रहरीकै आग्रहमा नेपाल प्रहरी र सेनाले डेढ दर्जनभन्दा धेरैपटक उनको घरमा छापा मारेको थियो । तर, कुनै गैरकानुनी सामान बरामद नभएको दाबी पत्नी नूरजहाँ गर्छिन् । संकटकालमा सैनिकहरूले उनका दुई छोरीलाई चिसापानी ब्यारेकमा लगेर दुव्र्यवहार गरेका थिए । सेनाले मजिदलाई पनि चरम यातना दिएको थियो । त्यतिबेलै घर धितो राखेर मजिदले ऋण लिएका थिए ।
"बदनामी आफ्नै देशकाले गरेका छन्," नूरजहाँले रुँदै भनिन् । मजिदविरुद्ध ०६० सालमा अदालतमा खोटा चलन मुद्दा दर्ता गराइयो । सो मुद्दा अझै किनारा लागिसकेको छैन । हत्याकै दिन सर्वोच्च अदालतमा उनको तारिख थियो । आर्थिक अभावले उनी तारिख सारेर बसेका थिए । विवादास्पद छवि भए पनि पछिल्लो दिनमा मजिद सामान्य जीवन बिताउँदै आएको छिमेकीहरू बताउँछन् । उनी सदरलाइनमा पीसीओ चलाएर बस्दै आएका थिए ।
प्रहरीले हत्याको छानबिनमा समेत कुनै चासो नदेखाएको पीडितको गुनासो छ । अनुसन्धान अधिकारीहरूले मजिदका परिवारलाई भेट्न र सोधपुछ गर्नसमेत चासो नदेखाएको उनीहरूको आरोप छ । तर, प्रहरी नायब उपरीक्षक बैदवार भन्छन्, "प्रहरीको अनुसन्धान जारी छ । निष्कर्षमा पुग्न नसकेको मात्र हो ।" हत्यामा भारतीय प्रहरीको संलग्नता पुष्टि नभएको उनले बताए ।
























