विसं १९९२ मा पूर्वी पहाडको एउटा अनकन्टार गाउँमा जन्मिए पनि केदारप्रसाद न्यौपानेले किशोरकाल टेकेपछि त्यसबखतको नेपाल अर्थात् काठमाडाँैमा पढ्न पाए । उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेको खबर पनि पुग्यो, संखुवासभा जिल्लाको वाना गाउँमा । तर, आफूलाई जन्म दिने आमाको मृत्युपछि बुबाले सौतेनी आमा ल्याएको सुनेका केदारले भने खुत्रुक्क वीरगन्ज झरेर रक्सौलबाट कलकत्ताको रेल समाए ।
ऊबेलाको कलकत्ता सहरमा बाहुन हुँ भन्दा खुद्रामसिना कामै नपाइने । त्यही भएर थर फेरे । सकेसम्म सुरो गोर्खाली हुन खोजे । यही क्रममा एउटा बेलायती निर्यात कम्पनीमा काम पाए । त्यस कम्पनीको १० वर्षे सेवाकालमा उनले पानीजहाजसँगै हल्लिँदैहल्लिँदै सात समुद्र चहारे । तर, बन्दरगाहबाट अलि परतिर गएर कुनै देश हेर्ने अवसर कहिल्यै पाएनन् । धत्, यस्तो जागिर के खानु ? पोकापन्तुरा बोकेर उनी पहाड फिरे, हाकिमसँग बिदै नमागी ।
वाना गाउँमा उनका बुबा र सानिआमा हराएको छोराको प्रतीक्षामा थिए । छोरा फर्केको हर्षमा न्यौपाने दम्पतीले मादी मूलखर्ककी कन्या कमला दाहाललाई बुहारी बनाएर भित्र्याए । तर, यस्तो करबलमा पनि हुन्छ कुनै विवाह ? नवदुलाहा केदारप्रसाद कसैलाई थाहै नदिई फेर िहानिए उही कलकत्ता । यो ०१८ सालको हिउँदको कुरा हो । भन्छन्, "त्यसबेला म अलि भिन्न स्वभावको रहेछु, मनमा केही लाग्यो कि जुरुक्क उठेर हिँडिहाल्थेँ ।"
कलकत्ता फिरेपछि केदारप्रसाद खुरुखुरु गएर पहिला काम गरेकै कम्पनीमा लम्पसार परे । कम्पनीले पनि उनीजस्तो फुर्तिलो र इमानदारलाई काम नदिने प्रश्नै थिएन । तर, दोस्रोपटक चार वर्ष काम गरेपछि कम्पनीको स्वामित्व भारतीयहरूले लिए । त्यसपछि विस्तारै तनखामा गडबड हुन थाल्यो । "आ, यस्तो किचकिचमा पनि कोही काम गर्छ ?" केदारप्रसादले कम्पनी नै त्यागिदिए ।
यसरी छँदाखाँदाको जागिर छाडेर हिँडेका केदारप्रसादले त्यसपछि त्यस महानगरका सडकहरूमा ५२ खालका काम गर्दै ५३ ठक्कर खाए । उनलाई फेर िगाउँघरको सम्झनाले सताउन थाल्यो । "होइन, यस्तो पराया ठाउँमा पनि कोही किन दुःख गरबिस्छ, हँ ?" ०३२ सालमा उनले फेर िवानाको बाटो समाए । तर, उनलाई मधेस बसाइँ झरेका आफन्तहरूले सातथरी कुराले अल्मलाएर विराटनगरमै रोके । रोकेनन् मात्र, मोरङ गछियाकी शान्ति नामक कन्यासँग विवाह नै गराइदिए । विवाहपछि शान्तिलाई घुमाउन फेर िकलकत्ता फर्किएका केदारप्रसादले नयाँ कम्पनीमा लेखापालको जागिर पाए ।
यसरी अड्केका उनी कलकत्तामै दुई छोरी र एक छोराका बाबु भए । बुढ्यौली लागेको महसुस गरेपछि विराटनगर फर्केर एक बिघा जग्गा किनेर घर बनाए । एक छोरी अस्टे्रलिया उडिन्, अर्की नर्स बनिन् । कलकत्तामै व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको छोरा काम पाएर साउदी अरब उड्यो । यसरी विराटनगरमा आरामको अवकाश जीवन बिताइरहेका केदारप्रसाद एक दिन कसोकसो धनकुटाको विश्रान्ति मन्दिर पुगे । त्यसपछि साता-दस दिनमा नै त्यहाँ नपुगी मनै नमान्ने भयो, उनको । पटक- पटक विश्रान्ति पुग्दा उनलाई एक किसिमको अपराधबोधले सताउँथ्यो । ०३२ सालमा विराटनगरमा आफन्तहरूले लगाएको झूटो कुराको सम्झना हुन्थ्यो । ती आफन्तले कमलाका बारेमा झूटा कुरा भनेर उनको दोस्रो विवाह गराएका थिए । तर, कसरी बोल्नु ? तैपनि, उनको मन्दिर बसाइँ बढेरै गयो । भनौँ, उनी त्यहीँ बसिसकेका थिए । ०६४ सालको एक दिन विश्रान्तिका कर्मचारी थमि्रन्द्र रौलाले वृद्धभत्ता फारम भर्नलाई नागरकिताको प्रमाणपत्र मागेपछि भने उनको पूरै भण्डाफोर भयो ।
उनको नागरकिता हेरेपछि मन्दिरकी कमला दिदीका लागि रत्तिो आकाशमा चट्याङ् परेझैँ भयो । उनी नराम्ररी झस्िकइन् । ओहो, यी त तिनै ब्राह्मण पो रहेछन्, जसलाई उनले जीवनभर पर्खेर बसेकी थिइन् । तिनै दुलाहा पो रहेछन्, जसले उनलाई विवाह भएको चार दिनमै छाडेर बेपत्ता भएका थिए । फर्कीफर्की मन्दिरमा आउने तर आफूसँग बोल्न धक मान्ने त तिनै निष्ठुरी पो रहेछन् । कमला दिदीको स्मृतिमा जीवनका रलि फनन घुमे ।
त्यसबेला उनी भर्खरै १४ वर्ष पुगेकी थिइन् । मादी मूलखर्कमा दिनभर निस्िफक्री गाईबाख्रा चराउँथिन् । एक साँझ घर फकर्ंदा दुई जना अपरििचत पाहुना भएर सिकुवामा बसेका थिए । भोलिपल्ट उनलाई वन जान दिएनन्, बाबुआमाले । आमाले पराय घरमा कसरी शिलस्वभाव देखाउनुपर्छ भनेर पढाउन थालिन् । रुँदारुँदै विवाह पनि भइहाल्यो । विवाहलगत्तै छाडेर हिँडेका पतिका सासू-ससुराको सेवा गर्दै १६ वर्ष बिताइन्, कमलाले ।
जन्म दिने आमाबाबु साह्रै वृद्ध भएपछि माइतीघर पुगिन् । ०४२ सालमा सन्न्यास लिएका बुबालाई पुर्याउन विश्रान्ति मन्दिर आएकी उनले पनि वृद्धवृद्धाको हेरचाहमा जीवन अर्पण गरेर यहीँ बस्ने निधो गरनि् । पछिल्लो समयमा विराटनगरबाट आउने न्यौपाने बाजेको व्यवहार उनलाई अलि अनौठो नै लागेको थियो । यी बाजेले आफ्ना तीन छोराछोरीलाई पनि चाडबाडमा विश्रान्ति ल्याएर कमलाको हातको टीका लगाउँथे । "ओहो, यो त विवाह भएको ३३ वर्षपछिको पुनःमिलन पो रहेछ Û" भन्छिन्, "त्यो मान्छे जिउँदो त पाउँदिनँ होला तर मरेको अँगार भेटँे भने टीका लगाउँछु भन्नेचाहिँ सोचेकी थिएँ ।"
कमलालाई केदारप्रसादको अर्को घरबारबारे सुनेर दुःख लागेन । छोराछोरी मन परे । भन्छिन्, "उबेला उहाँको बुद्धि जति थियो, त्यति गर्नुभयो, छोराछोरीले राम्रो गरून् ।" उता केदारप्रसाद कमलाले आफूलाई नै पर्खेर बसेको थाहा पाएको दिनदेखि ठूलो पछुतोमा परेको बताउँछन् । भन्छन्, "त्यही भएर बाँकी जिन्दगी कमलासँग बिताउन यहाँ आएँ ।"
कमलालाई पनि केदारप्रसादले बाँकी जीवन विश्रान्ति मन्दिरमै बिताइदिए सेवा गर्नुहुन्थ्यो जस्तो लाग्छ तर अब त सन्केर नहिँड्लान् नि केदारबाजे ?
























