सेवासँगै बिहे

  • अविवाहित रहेर सामाजिक क्षेत्रमा क्रियाशील महिला

जवान छोरीलाई बिहे गर्न परिवारको करकाप हुने भइहाल्यो। त्यसमाथि उमेरमा ह्यान्डसम, शिक्षित र प्रतिष्ठित पतिको चाहना नगर्ने को होला ? अझ कतिपय त असल पतिका निम्ति शिवजीको व्रत नै बस्छन्। चितवनका केही महिलाले भने बिहेका लागि आएका अनेक प्रस्ताव लत्याए। परिवारको दबाब झेले। समाजको खिसिट्युरी सहे।

यी शिक्षित महिलाले सामाजिक सेवालाई नै जीवनसाथी रोजे। बिहे नगरेकामा दुःखमनाउ गर्ने तिनै परिवार अहिले छोरीको प्रगतिमा गौरव गर्छन्। उनीहरूलाई परिवारको मनग्य सहयोग छ।

चितवनमा अविवाहित रहेर विभिन्न क्षेत्रमा क्रियाशील महिलाको संख्या दुई दर्जनभन्दा बढी छ। यिनैमध्येकी अगुवा हुन्, मीना खरेल, ४०। भर्खर साडी लगाएर क्याम्पस पसेका बेला उनले चितवन, गंगानगरमा बारा माइती भएकी एक महिलाको दाइजो नल्याएको निहुँमा हत्या भएको खबर पाइन्। "ती पीडित महिलाको आवाज सुन्ने कोही भएन," मीना भन्छिन्, "सामाजिक संस्था नभएकाले माइतीले गुनासो गर्ने ठाउँ भेटेन।" जिल्लामा नारी जागरण समिति भन्ने एक्लो संस्था थियो, महिलाका आवाज उठाउने।

क्याम्पसका २१ सहपाठी छात्रा अनाहकमा महिलाको हत्या भएको देखेर संगठित भए। नारी आदर्श क्लबमा लागेयता उनलाई व्यक्तिगत जीवनको समीक्षा गर्ने फुर्सद मिलेको छैन। दिनचर्या पारिवारिक र सामाजिक हिंसापीडित महिलाका कथाव्यथा सुनेरै बित्छ। "चुलबुले उमेरमा छुट्टै संसारको कल्पना हुन्थ्यो," उनी सम्भिmन्छन्, "गंगानगर घटनापछि बिहेप्रतिको धारणा नै फेरियो।"

हुन पनि उनको संस्थामा बिहेप्रति खुसी व्यक्त गर्ने कोही आएनन्। बरू पीडा र गुनासो लिएर आए। भरतपुर-५ की मीनाका नौ दिदीबहिनी छन्, दुई दाजुभाइ। उनलाई अहिले पनि 'बिहे गर्ने होइन ?' भनेर सोध्ने थुप्रै छन्। भन्छिन्, "बिहे मेरो लक्ष्य होइन, समाज हो।"

मीनाले हिंसापीडित दिदीबहिनी र उनीहरूका आश्रति बालबालिकाका लागि आदर्श गृह सञ्चालन गरेकी छन्। तीन वर्षअघि स्थापना भएको गृहले ९६ महिला र २४ बालबाबालिकाको उद्धार गरसिकेको छ। आदर्श गृहमा महिला तथा वालबालिकाले १८ महिनासम्म बस्ने अवसर पाउँछन्। बसुन्जेल सिलाइबुनाइ तालिम दिएकाले महिला आत्मनिर्भरसमेत बनेका छन्। कतिपय पुनः परिवारमा फर्किएका छन्। गृहमा अहिले १० हिंसापीडित महिला र आठ बालबालिका छन्।

उनकै अगुवाइमा आदर्श महिला बचत तथा ऋण सहकारी संस्था र आदर्श नारी क्लिनिक पनि स्थापना भएका छन्। संस्था महिलाहरूले तयार पारेका ढाकाका सामग्री, प्लास्टिकका सामान बिक्री गरेर चलेको छ। महिला पुनःस्थापना कोषमा अहिले १ लाख ७५ हजार रुपियाँ जम्मा भएको छ। नेदरल्यान्ड्सबाट आएकी एक महिलाले दिदी फाउन्डेसन स्थापना गरी ४५ लाख रुपियाँ सहयोग गरेको उनी बताउँछिन्।

घरेलु हिंसा झेलेका महिलाका गुनासा सुनेर होला, उनलाई कसैको वैवाहिक जीवन सुखी भएजस्तो लाग्दैन। "जन्मदिन मनाउने क्रममा उमेर पत्तो पाउँछु," उनी भन्छिन्, "जन्मदिनमा बूढी भएजस्तो लाग्छ।" बिहे नगरेर ठीक गरसि् भन्ने साथी पनि धेरै भेट्छिन्रे ! सुनाउँछिन्, "बिहे गरेको भए कुशल गृहिणी बन्थेँ कि बन्थिनँ तर अहिले धेरैको जीवन सुखी बनाएकी छु, यसमै सन्तुष्ट छु।"

ब्युटिसियन हेमा पौडेल, ३५, पश्चिम चितवनको पटिहानीमा जन्मेकी हुन्। १६ वर्षमै रेयुकाई नेपालमा लागेर आशाको तारा पदवी पाइन्। शिबुचो पद हासिल गरनि्। एम्नेस्टी इन्टरनेसनल हुँदै लायन्स क्लब प्रवेश गरनि्। स्नातक उत्तीर्ण गरेपछि पकेटमनीका लागि ब्युटिसियन काम थालिन्।

केही समय पार्क एन्ड पिपल प्रोजेक्टमा पनि काम गरनि्उनले । सामाजिक अभियानमा लागेकाले होला, धेरै प्रस्ताव उनका सामु कमजोर भइदिए। "छोरीले बिहे नगर्दा बुबाआमा दुःखी हुनु सामान्य हो," उनी भन्छिन्, "अहिले सामाजिक क्षेत्रमा ख्याति पाएको देखेर सन्तुष्ट छन्।" हेमा लायन्स क्लब अफ चितवन, नारायणगढकी अध्यक्ष हुन्। उनले विपन्न बस्तीमा क्लबमार्फत सेवालाई निरन्तरता दिइरहेकी छन्। उनले बेस्ट सेक्रेटरी अवार्डसमेत पाइसकेकी छन्।

भरतपुर-१० की शर्मिला हमाल, ४४, कृषि विकास बैंककी कर्मचारी हुन्। ठकुरी परिवारमा हुर्केकी उनलाई अभाव कहिल्यै भएन। पाँच वर्ष चितवन बोर्डिङ् स्कुलमा पढाइन्। कृषि विकास बैंकमा सात वर्ष करारमा काम गरेपछि स्थायी भइन्। उनलाई बिहेका प्रस्ताव धेरै आए। कतिसम्म भने काठमाडौँको टिचिङ् अस्पतालमा आमालाई भर्ना गरेर राख्दा पनि बिहेका प्रस्ताव आउन छाडेनन्। "मुमाको निधनपछि निकै डिप्रेस भएँ," उनी भन्छिन्, "मेरो बिहेको कुराले मुमाको हर्ट एट्याक भएजस्तो लाग्यो।"

शर्मिलाले दिदीबहिनी कोष बनाएकी छन्। उनी ठकुरी समाजकी सञ्चालक सदस्य र दर्शन सहकारी संस्थाकी कोषाध्यक्ष हुन्। भन्छिन्, "बिहे नगर्दा पारविारकि झमेला हुँदैन, धेरै समय सामाजिक काममा बिताउन सकिन्छ।"

भरतपुर आँखा अस्पतालकी एसिस्टेन्ट म्यानेजर हुन्, छायाँ श्रेष्ठ, ४८। छायाँ नेत्रज्योति संघकी आजीवन सदस्य र रोटरी क्लब अफ मिड टाउनको भाइस प्रेसिडेन्ट हुन्। कुशल व्यवस्थापन गरेबापत नेत्रज्योति सम्मान पाउने उनी पहिली महिला हुन्। ०३६ सालमा राइनो क्लब नारायणगढको सदस्य भएर सहर सफाइमा लागेकी छायाँ जेठा भाइको २५ वर्षकै उमेरमा हृदयघातबाट निधन भएपछि झस्किन्।

पहिले बिहे गर्ने सोच पनि थियो उनको। परिवारले पनि दबाब दियो। "बिहे गरनिँ भन्ने पछुतो छैन, थला परेँ भने पनि सघाउने मान्छे छन्," उनी भन्छिन्, "सहयोगी हात कमाउनु ठूलो रहेछ।"

सरतिा केसी, ३७, त्यागी र लडाकू महिलाका रूपमा परिचित छिन्। तरुण दलकी केन्द्रीय सदस्य केसी आधा दर्जन स्वयंसेवी संघसंस्थामा आबद्ध छिन्। भन्छिन्, "म समाजसेवामा लाग्दा राजनीतिलाई जोड दिन्नँ। समाजसेवाको काम गर्दा म समाजसेवी, राजनीतिमा लाग्दा राजनीतिज्ञ।"

उनी आदर्श नारी बचत सहकारी संस्थाको संस्थापक सदस्य हुन्। आधा उमेर राजनीति र समाजसेवामा बिताएकी उनले विवाहका बारेमा कहिल्यै सोचिनन्। उनका लागि विवाह बन्धन हो। भन्छिन्, "स्वतन्त्र जीवनबाट बन्धनमा पर्न चाहिनँ। एक्लो जीवनमा रम्दाको मजा बेग्लै छ।"





'आध्यात्मिक शक्ति'

यी अग्रणी महिलाहरू अध्यात्मप्रतिको विश्वास, व्यस्तता र सेवाका निष्ठाले यौन आकर्षणलाई जितेको बताउँछन्। जागिर र सामाजिक कर्मबाट उब्रेको समय उनीहरू पूजापाठ र पुस्तक पढेर बिताउने गर्छन्। आफूलाई जति व्यस्त राख्न सकियो, उति काम, क्रोध र वासनाबाट मुक्त तुल्याउन सकिने विश्वास उनीहरूमा छ।

मीना बिहान उठेदेखि रातीसम्म काममै व्यस्त हुने गरेको बताउँछिन्। अद्वैत संस्थामा आबद्ध छिन्। ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा जान्छिन्। माछा, मासु, लसुन, प्याज खाँदिनन्। भन्छिन्, "दिमाग व्यस्त हुन्छ, मनमा कल्पना गर्दिनँ।" गीता पाठ गर्दा क्रोध र वासनाको भावनामा जित हासिल गर्न सकिने उनको भनाइ छ।

शर्मिला र हेमा पनि मीनाको कुरामा सहमत छन्। उनीहरू दिमागलाई खाली हुन दिँदैनन्। पुस्तक पढ्छन्। शर्मिला नित्य पूजापाठ गर्छिन्। हेमा सोमबारको व्रत बस्छिन्। तर, पतिका लागि नभई स्वास्थ्यका लागि। भन्छिन्, "भगवान् नै मेरा ब्वाइप|mेन्ड हुन्।" समाजसेवा गर्दा कहिल्यै एक्लो महसुस गर्दिनन् रे ! व्यस्त जीवनमा विपरीत लिंगीप्रतिको आकर्षण पैदा नहुने जिकिर उनीहरूको छ।



सबैकी आमा मैयादेवी

अविवाहित रहेर समाजसेवा र राजनीतिमा होमिएकी व्यक्तित्व हुन्, मैयादेवी श्रेष्ठ, ८४। पर्साको ठोरीमा डिट्ठा रहेका बुबा बीरबहादुर श्रेष्ठको निधन भएपछि उनमा जीवनप्रतिको मोह हट्यो। अनि, अविवाहित रहने निधोसहित घर त्यागी देवघाट पुगिन्। जीवनका धेरै पल देवघाटमै बिते।

उनलाई आमाले बिहे नगर्ने भए गंगाजी (नारायणी)मा हाम फाल्न भनिन्रे ! भन्छिन्, "सानैदेखि रामायण पढ्थँे। लव र कुशलाई रामको जिम्मा लगाएर सीता धर्तीमा अलप भइन् भन्ने पाठ पढेपछि भगवान् प्रकट भए पनि बिहे गर्दिनँ भन्ने अठोट गरेँ।"

तनहुँको बन्दीपुर बजारमा सम्पन्न परिवारमा जन्मिएकी श्रेष्ठ दानमा पनि कहलिएकी छन्। विद्यालय, धार्मिक मठमन्दिर, बाटोघाटो मात्र होइन, प्रहरी अक्षयकोष र नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन निर्माणलगायत थुप्रै काममा उनकोे सहयोग छ।

भारत गएर एसएलसीसम्म पढेकी श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट सांसद पनि भइन्। तर, उनलाई धेरैले नेताभन्दा समाजसेवीका रूपमा चिन्छन्। उनले पैत्रिक सम्पत्तिबाटै समाजसेवा गर्दै आएकी छन्। भन्छिन्, "पहिला नारायणगढ क्षेत्र नै हाम्रो थियो, बाघ, भालु र घोडा त कति थिए कति !" उनी देवघाटस्थित आफ्नै नाममा स्थापना भएको मैयादेवी ट्रस्टमा बस्दै आएकी छन्।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

दीपेन्द्र बडुवालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar