कुख्यात अपहरणकारी अमर टन्डनको समूहले गरेका करबि तीन दर्जन अपहरणका घटनामा २ करोड ६९ लाख रुपियाँको मात्र हिसाब निकाल्न भ्याएको छ, प्रहरीले। प्रहरीसँग उपलब्ध तथ्यांकले बताउँछ, अपहरणकारीले फिरौती लिएको रकमको १० प्रतिशतभन्दा कम मात्र बरामद या फिर्ता गराइएको छ। अर्थात्, पछिल्लो पाँच वर्षमा अपहरणकारीले विभिन्न व्यक्तिलाई बन्धक बनाएर १६ करोड १२ लाख ६० हजार रुपियाँ असुलेको प्रहरी तथ्यांकले देखाउँछ, जसमध्ये १ करोड ८ लाख ६० हजार रुपियाँ मात्र प्रहरीले बरामद र फिर्ता गराएको छ। यद्यपि, यो तथ्यांक अपहरणका सबै घटनाको कुल हिसाब भने होइन। अधिकांश घटना र त्यस क्रममा असुल गरएिको रकम सम्बन्धमा प्रहरी आफैँ बेखबर छ।
केन्द्रीय अनुसन्धान ब्युरोका एक प्रहरी अधिकारी पनि अपहरणकारी समूहले असुल गरेको रकम फिर्ता ल्याइएको घटना बिरलै रहेको स्वीकार्छन्। अपहरणकारीले ढिलोचाँडो प्रहरी कब्जामा पुगिने डरका कारण आफ्ना साथीभाइ, आफन्त या नजिकका व्यक्तिका नाममा अपहरणपछि असुली गरेको रकम राख्ने गरेको ती प्रहरी अधिकारीको अनुभव छ। भन्छन्, "अझ, पक्राउ परेका अभियुक्तले फरार अभियुक्तले लगेको बयान दिएर प्रहरीलाई अलमलाइदिन्छन्।" यसले गर्दा प्रहरीलाई सहजै असुली रकमका बारे यकिन विवरण पाउन गाह्रो हुन्छ। जस्तो ः अपहरणकारी समूहका सदस्य प्रल्हाद महत पक्राउ परे, उनका साथबाट २५ लाख रुपियाँ बरामद भयो। बाँकी रकममध्ये ५० लाख अर्का फरार अभियुक्त दुर्गा बुढाथोकी र ३५ लाख फरार अभियुक्त सञ्जय बंगुरेले लगेको बयान महतले दिए। आफ्नो जिम्मामा रहेको बाँकी रकम क्यासिनो, डिस्को जाँदा खर्च भएको दाबी महतको छ।
यस्तै, उदय सेट्टीलाई पक्राउ गर्दा प्रहरीले आठ लाख रुपियाँ बरामद गर्यो। तर, सेट्टीको कुरा बेग्लै छ। संकलित रकममध्ये दुई लाख रुपियाँ भारतको तिरुपति मन्दिरलाई दान दिएको र दुई लाख रुपियाँ दरबारमार्गमा सामान खरदि गर्दा खर्च भएको सेट्टीको दाबी छ। नबिल बैंकमा सेट्टीका नाममा रहेको खातामा छ सय रुपियाँ मात्र देखिएको छ। उनले बुटवलमा रहेकी आफ्नी प्रेमिका तारा खड्कालाई ७ लाख ५० हजार रुपियाँ पठाएको प्रमाणचाहिँ प्रहरीले फेला पारेको छ। १८ वर्षको उमेरमै राजधानीमा बैंक लुटेर कुख्याति कमाएका निरञ्जन खनालको योजनामा उद्योगपति महेश शारदाको अपहरण भएको थियो। खनाल र उनका सहयोगी रवि शेरचन ३ चैत ०६६ मा प्रहरी फन्दामा परे पनि शारदाबाट असुलिएको रकमका सम्बन्धमा प्रहरी आफैँ घनचक्करमा परेको छ।
व्यापारी सञ्जय सुरेखाको अपहरणमा संयुक्त अरब इमिरेट्सको दुबईमा दुई लाख अमेरकिी डलर -करबि डेढ करोड रुपियाँ) बुझाइएको थियो। राजवीर सिंह नामका भारतीय नागरकिको समूहले गरेको फिरौती असुली रकम प्रहरीले फिर्ता ल्याउन सकेन। यस्तै, ख्याति श्रेष्ठको अपहरण र क्रूर हत्यामा संलग्न वीरेन प्रधानले ख्यातिको परविारबाट १० लाख रुपियाँ फिरौती असुलेका थिए। उक्त रकम प्रहरीको फन्दामा पर्नुअघि नै क्यासिनो जाने क्रममा लागेको ऋण तिरेर प्रधानले सकेका थिए। टन्डनको निर्देशनमा भएका अपहरण र फिरौती असुलीबाट उठेको करबि २ करोड ६९ लाख रुपियाँ लाओस, बैंकक हुँदै बेल्जियम पुर्याएका छन्। टन्डन आफैँले प्रहरीलाई दिएको बयानमा उक्त रकम तीन लाख डलरभन्दा बढी भएको बताएका छन्। टन्डनले बेल्जियम पुर्याएको उक्त रकम फिर्ता ल्याउन प्रहरीले इन्टरपोलमार्फत प्रक्रिया अघि बढाएको छ। तर, त्यसमा रहेका कानुनी र कूटनीतिक अड्चनका कारण सहजै नेपाल फर्काउन सम्भव नभएको प्रहरी अधिकारीहरू स्वीकार्छन्।
फिरौती असुलीबाट अपहरणकारी समूहले लिएको अरू सबै रकम प्रहरीको जानकारीबाहिर नै छ। फिरौती रकमको 'ट्रेस' गर्न समय लाग्छ, यसै पनि प्रहरीको प्रयासमा अपहरणमुक्त गराइएका घटना कम नै छन्। अपहरण भएको थाहा पाए पनि सम्बन्धित परविारका लागि पहिलो प्राथमिकतामा अपहृतको सकुशल रहिाइ हुन्छ। जब पीडित पक्षले फिरौती बुझाउँछ र अपहृत व्यक्ति मुक्त हुन्छ, त्यसपछि मात्र प्रहरीको अनुसन्धान सुरु हुन्छ। त्यसका लागि कमभन्दा कम रकममा अपहृतलाई छुटाउने प्रयास प्रहरीको हुने गर्छ। महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकृतका अनुसार अधिकांश अपहरणका घटनामा जुन परविारले प्रहरीलाई तत्काल खबर गरे र सहयोग गरे, उनीहरूले फिरौती रकम बुझाउनुपरेको छैन। जसले सहयोग गरेनन्, तिनीहरूले रकम बुझाएको देखिन्छ। थोरै घटनामा मात्र प्रहरीलाई सहयोग गर्दागर्दै पनि फिरौती बुझाउनुपरेको छ। कुरा त्यस्तो मात्र छैन, प्रहरीलाई झुक्याउन अपहरणकारीले अपनाउने योजना पनि यसमा बाधक हुने गर्छ।
अपहरणका घटनामा आपराधिक फिरौतीको कार्यविधि फरक-फरक अपनाइएको देखिन्छ। जस्तो ः अमर टन्डन समूहले फिरौती रकम हुन्डीमार्फत बुझ्थ्यो। महेश मुरारकाकै घटनामा टन्डन समूहले सिंगापुरबाट फिरौती असुली गरे, बेल्जियम रकम पुर्याउन सुरुमा हुन्डी र त्यसपछि वैध रूपमा बैंकको सहारा लिएका थिए। भक्तमान श्रेष्ठका अपहरणकारी रोहित पालिवाल अग्रवाल र भीमसेन पण्डितले माओवादीको शैली अपनाए भने इन्टरनेट फोन भीओआईपी प्रयोग गरेर प्रहरीलाई अनुसन्धान गर्न हम्मेहम्मे पारििदए। भक्तमानको गतिविधि र सम्पत्तिका बारेमा सूचना लिन यो समूहले चितवन मेडिकल कलेजकै चालक बद्री ढुंगानाको सहयोग लिएका थिए। भारतको कानपुरमा रकम नभई सुन भुक्तानी लियो यो समूहले।
दुई महिनादेखि वैदेशिक रोजगार व्यवसायीको छद्म परचियमा बसेर उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण गरेको थियो, सिद्धार्थ लामा समूहले। विपना थापाका पति आशुतोषसँग बैंकको एटीएम र पिनकोड लिएर ४० लाख रुपियाँ निकालेको थियो यो समूहले। सुरुका दिनमा सीधै पैसा लिने गरेको देखिन्छ, अपहरणकारी समूहले। कतिपयले बैंकमा जम्मा गर्न लगाएको देखिन्छ भने कतिपयले तेस्रो अज्ञात पार्टी खडा गरेर त्यसमार्फत पैसा लिएको देखिन्छ। "जुन मोड सुरक्षित हुन्छ र प्रहरीले ट्रेस गर्न सक्दैन, त्यही मोडमा रकम असुली गरेको देखिन्छ," महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदी भन्छन्, "पैसा लिने क्रममा पनि अनेकौँ हथकण्डा अपनाउने गर्छन्, धेरै रकम वैध बनाउने प्रयास गर्छन्।"
टन्डन समूहले काठमाडौँमा रहेका 'ग्याङ'का सदस्यलाई बैंकको माध्यमबाट पैसा पठाइदिने गरेको थियो। यस्ता आपराधिक समूहले वैध/अवैध मिश्रण गराएर प्रहरीलाई 'ट्रेस' गर्न गाह्रो बनाउने गरेका छन्। रकम प्राप्त गर्न मान्छेहरूका धेरै 'लेयर' संलग्न गराउनेदेखि अर्को व्यक्तिलाई संलग्न गराएर आफू बच्ने तरकिा पनि अवलम्बन गर्छन्। अपहरणकारी र अपहृतबीचका अपवित्र गठबन्धन पनि फेला नपरेका होइनन्। अपहृतले अपहरणकारीलाई अर्को व्यक्तिबाट रकम उठाउन पनि प्रयोग गरेको प्रमाण प्रहरीले फेला पार्ने गरेको छ।
ऐनको प्रतीक्षा
अपहरण र फिरौती असुली गर्ने संगठित अपराध मुलुकमा उद्योगकै रूपमा फस्टाएको ०६२/६३ को परविर्तनपछि हो। त्यसअघि अपहरण र फिरौती असुलीका घटना देशमै कम थिए। ०६४ सालमा जतिबेला प्रहरीले यसलाई संगठित अपराधका रूपमा 'टेकओभर' गर्यो, त्यतिबेला दैनिक छ/सातवटा अपहरणका घटना भइरहेका थिए। प्रहरीका अनुसार त्यस समयमा फिरौती असुलीका तीन प्रकार थिए। पहिलो ः डुबेको रकम उठाउन आपराधिक पृष्ठभूमिका स्थानीय युवामार्फत गरनिे अपहरण, दोस्रो ः वैदेशिक रोजगारमा ठगी गरेका स्थानीय म्यानपावर सञ्चालकलाई अपहरण गर्ने र तेस्रो ः डुबेको रकम उठाउने तथा अपहरणपछि फिरौती असुली गर्ने। त्यसमा पनि तेस्रो प्रकारको अपराधको शृंखलाको पारो ह्वात्तै बढ्यो। "यस्तो प्रकृतिको संगठित अपराधको नियन्त्रण सामान्य पुलिसिङ्ले गर्न सक्दैन," महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देेवेन्द्र सुवेदी भन्छन्, "मान्छेलाई बन्धक बनाएर फिरौती असुली गर्ने अपराध बढ्नु भनेको राज्य असफलताको बाटोतिर लम्किइरहेको संकेत मानिन्छ।"
कानुन नभएको फाइदा उठाएर आपराधिक समूहले अपहरण र फिरौती असुलीको धन्दालाई उद्योगकै रूपमा सञ्चालन गररिहेका थिए। "जब, ०६४ मा मुलुकी ऐनको १२औँ संशोधनले शरीर बन्धकसम्बन्धी अपराधमा सजायको व्यवस्था गर्यो, त्यसयता त्यस्ता अपराध नियन्त्रणका लागि प्रहरीलाई मार्ग प्रशस्त गर्यो," पूर्वप्रहरी नायब महानिरीक्षक -डीआईजी) भरत जीसी भन्छन्, "त्यसअघि सार्वजनिक अपराध ऐन अनुसार हुने कारबाही कमजोर हुन्थ्यो तर अझै पनि प्रभावकारी कानुनको अभाव कायमै छ।" जस्तो : संगठित अपराधसम्बन्धी ऐन आउन बाँकी नै छ, जुन, मुद्रा निर्मलीकरण ऐनसाथसाथ आउनुपथ्र्यो। उक्त ऐनले अपराध गर्नुअघि नै शंकाका आधारमा पक्राउ गर्न पाउने अधिकार प्रहरीलाई दिन्छ, जसले संगठित अपराधका धेरै घटना रोक्न कोसेढुंगाको काम गर्न सक्छ।
तपाईंको प्रतिकृया