भट्टराई गुटमा उपगुटै उपगुट


कामचलाउ सरकारप्रमुखका रूपमा आफ्नो आयु लम्ब्याउँदै गर्दा पार्टीपंक्तिभित्र भने प्रधानमन्त्री बाबुराम भट्टराईको स्थिति एकपछि अर्को गरी कमजोर बन्दै गएको छ। लामो समयदेखि गुट-उपगुटको संक्रमणले गाँजेको एकीकृत नेकपा माओवादीमा सबैभन्दा बढी गुट प्रधानमन्त्री भट्टराईको विचार समूहमा नै भएका छन्। यतिबेला भट्टराई विचार समूह चारवटा उप-समूहमा विभाजित छ। स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्य तथा प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल, पोलिटब्युरो सदस्य हिसिला यमी, केन्द्रीय सदस्य गंगा श्रेष्ठ, भक्ति पाण्डेलगायत सानो समूहको नेतृत्व भट्टराई स्वयंले गररिहेका छन्।

कुनै बेला भट्टराईका निकटतम सहयोगी पोलिटब्युरो सदस्य राम कार्की अहिले उनको क्याम्पबाट 'न्युट्रल' छन्। केही समयअघिसम्म भट्टराई क्याम्पमै रहेका तर पछिल्लो समयमा भट्टराईको कार्यशैली र व्यवहारसँग असन्तुष्ट युवा समूहलाई लिएर कार्की फरक खाले संगठन विस्तारमा लागेका छन्। उनलाई लिम्बुवान राज्य समितिका केन्द्रीय सदस्य श्री जवेगु, पूर्वराज्यमन्त्री देवी खड्का, सोनामसिंह स्याङतोन, विशाल खड्का, राजेन्द्र बस्नेत, सरस्वती चौधरीलगायत नेता-कार्यकर्ताले साथ दिएका छन्। त्यसो त उनलाई भट्टराईका सहयोगीहरू देवेन्द्र पौडेल र गंगा श्रेष्ठले पनि 'तपाईंमाथि अन्याय भएको छ, हामी तपाइर्ंलाई नै साथ दिन्छाँै' भन्न छाडेका छैनन्।

तराई मधेसबाट भट्टराईलाई साथ दिँदै आएका प्रभु साहले पनि भट्टराईलाई त्यागिसकेका छन्। साह कार्कीको समूहतिर लागौँ वा मधेसवादी दलसँग भन्ने धरमरमा छन्। त्यसैगरी भट्टराई समूहमै रहेका दीनानाथ शर्मा पनि छुट्टै समूह बनाएर बसेका छन्। शर्मालाई पछिल्लोपटक एकीकृत माओवादीसँग एकता गर्न पुगेका डिलाराम आचार्य, गिरधिारीलाल न्यौपानेले साथ दिएका छन्। शर्मा प्रचण्डसँग रहौँ वा भट्टराईसँग भन्ने दोधारमा छन्।

त्यसैगरी एकता प्रक्रियाबाट एकीकृत माओवादीमा पुगेका पोलिटब्युरो सदस्यहरू नवराज सुवेदी, लीलाबहादुर थापा, भीमप्रसाद गौतमले पनि पालुङटार अन्तरसंघर्षपछि भट्टराईलाई साथ दिँदै आएका थिए। अहिले सुवेदी र थापा पनि भट्टराईसँग रुष्ट छन्। आफूसँगै एकता प्रक्रियामा आएका केही नेता-कार्यकर्तालाई साथमा लिएर सुवेदीको समूह अघि बढिरहेको छ। थापालाई माओवादी पंक्तिभित्र टोपबहादुर रायमाझीले सम्हालेको मन्त्रालयका 'डमी' मन्त्री भन्न थालिएको छ। भट्टराई गुटका यी उपगुटै उपगुटले उनलाई कता डोर्‍याउने हुन्, भन्न कठिन छ ।

- माधव बस्नेत





गच्छदारको सल्लाह यादवलाई

आफ्नो घरझगडा मिलाउन नसकेपछि छिमेकीको घरमा शरण पर्नु कुनै नौलो कुरा भएन। तर, राजनीतिमा आफ्नो घरझगडा मिलाउन नसकेपछि अरूको घरमा जानु अनौठो नै हो। यस्तै अनौठो काम गरेका छन्, मधेसी जनअधिकार फोरम -गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष राजकिशोर यादवले। रमाइलो त के भने हालै मात्र पार्टी फुटेको पीडा खेपिरहेका मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारकहाँ सञ्चारमन्त्रीसमेत रहेका यादव पनि पार्टी फुटकै दुःख पोख्न पुगेका थिए।

प्रसंग हो, १७ असारको। पार्टीका २२ मध्ये १२ केन्द्रीय सदस्यले कार्यवाहक अध्यक्षलाई कारबाही गर्दै पदमुक्त गरेको घोषणा गरेकै साँझ सञ्चारमन्त्री यादव दुःखको पोको बिसाउन गच्छदारको सरकारी निवास पुल्चोक पुगेका हुन्। झन्डै एक घन्टा लामो बसाइमा सञ्चारमन्त्री यादवले पार्टी फुटपछि हुन सक्ने सम्भावित जोखिमबाट बच्न के-के गर्न सकिन्छ भनेर सल्लाह लिएका थिए।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका पार्टी अध्यक्ष जयप्रकाश गुप्ता सजायमुक्त हुने दिन नजिकिँदै गर्दा मन्त्री यादवलाई पार्टीबाट निष्कासन गरएिको र नन्दन दत्तलाई कार्यवाहकको जिम्मेवारी दिइएको घोषणा १२ केन्द्रीय सदस्यहरूले गरेका हुन्। उनीहरूले मुख्य पार्टी आफैँसँग रहेको दाबी मात्र गरेका छैनन्, यादवलाई सञ्चारमन्त्रीबाट हटाउन पनि माग गरेका छन्। तर, उनीहरूको समूह विधानसम्मत रूपमा विभाजित भएको नदेखिएकाले त्यसले वैधानिकता पाउने सम्भावना कम रहेको यादव पक्षको दाबी छ। त्यसैले सजायमुक्त भएपछि गुप्ताबाट आफूमाथि हुन सक्ने सम्भावित कारबाहीबाट जोगिन यादव गच्छदारकहाँ पुगेको स्रोतको भनाइ छ। हालै मात्र पार्टी विभाजनको चोट खेपेका गच्छदार पनि के कम? अलग पार्टीमा रहे पनि आखिर उनी पनि त गुप्ताकै प्रतिस्पर्धी हुन् ! त्यही कारण गच्छदारले यादवलाई सकेसम्म क्षति कम हुने उपाय सुझाएका छन्। उनको सुझाव यादवलाई काम लाग्यो कि लागेन, त्योचाहिँ आगामी दिनले बताउनेछन्।

- उपहारजंग शाह





सिंहदरबारमा शिवलिंग आतंक

बजेटमा आफ्ना कार्यक्रमहरू पार्न सिंहदरबारभित्रका मन्त्रालयहरूमा दौडधूप गर्नेहरूको घुइँचो छ, अचेल। सडक, पुलपुलेसा र राहतदेखि विभिन्न संस्थाका नाममा अनुसन्धान, संरक्षण, मर्मत तथा सुधार गर्ने उद्देश्य राखेर फाइल पेस गर्नेहरूको कुनै कमी छैन। तर, भर्खरै मात्र संघीय मामिलाबाट अलग भएर नागरकि उड्डयन तथा पर्यटनमा गाभिएर बनेको नागरकि उड्डयन तथा पर्यटन र संस्कृति मन्त्रालयमा भने त्यस्ता कार्यक्रम र प्रस्ताव लिएर जानेहरूको भीड अन्यत्रभन्दा बाक्लै छ।

कोही चारधाम त कोही देवल बनाउने/सुधार्ने प्रस्तावका साथ मन्त्रालय धाइरहेका छन्। तिनैमध्ये एउटा यस्तो अनौठो प्रस्ताव छ, जसले धरानमा संसारकै सबैभन्दा ठूलो शिवलिंग बनाउने परकिल्पना गर्छ। शिव माउन्ट एभरेस्ट टेम्पल संस्थाले पेस गरेको त्यो प्रस्तावमा धरान-४ स्थित विष्णु चोक, सोलिङमा २ हजार १ सय मिटर उचाइ र ८० फिट व्यासको शिवलिंग बनाउने उल्लेख छ। उक्त शिवलिंग सुन, तामा, पित्तल, फलाम, चाँदी मिश्रति हुनेछ, जसमा सुन र चाँदी मात्र एक-एक सय टन चाहिनेछ। सरकारकै वाषिर्क बजेट चार खर्बको हाराहारीमा रहेका बेला एउटा मन्त्रालयमा ९९ खर्बभन्दा बढी खर्च लाग्ने शिवलिंग निर्माणको प्रस्ताव आउँदा कर्मचारीहरू नै आतंकित छन्। नहून् पनि कसरी? किनभने, पर्यटकहरूका लागि अन्तर्राष्ट्रिय विमानस्थल, पाँच हजारवटा कोठा, पौडी पोखरी, सुरुङ मार्ग, केवलकार, संग्रहालय, नारायणगढदेखि ब्रह्मपुत्रसम्म जोड्ने आधुनिक नहरजस्ता योजना पनि त्यस प्रस्तावमा छन्। उक्त प्रस्तावमा सरकारका तर्फबाट केही र थप रकम विश्वका २ सय ९ राष्ट्रबाट जुटाइदिन पनि सरकारलाई अनुरोध गरएिको छ।

यो फाइल नपुगेको कहाँ छ र? करबि चार वर्षअघि तयार गरएिको उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म पुगिसकेको छ। हुँदाहुँदा केही नलागेर पेरसिडाँडासम्म पुर्‍याएको संस्थाका अध्यक्ष ग्लोब मानव बताउँछन्।

बिचरा मन्त्रालयका कर्मचारीको के कुरा, उक्त प्रस्तावले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सातो लिइसकेको छ। मन्त्रालयका कर्मचारी भने गत वर्ष पनि मानवको यो प्रस्तावले आतंकित पारेको सम्झन्छन्। नेपालको ३० वर्षको वाषिर्क बजेट बराबरको खर्च जुटाउनुपर्ने कार्यक्रमको फाइल अगाडि बढाउने हिम्मत कसको? त्यही भएर होला कर्मचारीहरू पनि सकभर उक्त फाइल छुनै र त्यससम्बन्धी कुरै गर्न नपरे हुन्थ्यो जस्तो गररिहेका भेटिन्छन्। आफ्नो प्रस्तावका लागि मन्त्रालयबाट केही नहुने देखेपछि मानव आफूले फाइल लग्न पाउनुपर्छ भन्दै बबालमै उत्रिए। तर, मन्त्रालयका कर्मचारीहरूले भने एकपटक दर्ता भइसकेको फाइल अनुमतिबिना लग्न नपाइने भन्दै अड्डी नै कसेका थिए। तर, उनी पनि के कम ! वादविवाद गर्दै मन्त्रालयमा दर्ता भएको फाइल बोकेर कुलेलम ठोके।

केही कर्मचारी त ९९ खर्बको आतंकबाट यस वर्ष छुटकारा पाइयो भन्दै दंग देखिन्थे। वषर्ान्तमा त्यसै पनि कामको चाप हुने बेला सम्बन्धित व्यक्ति आफँैले फाइल लगेपछि एक किसिमको हाइसन्चो नै भएको छ मन्त्रालयका कर्मचारीलाई। तर, एक अधिकारी भन्दै थिए, "के गर्नु अर्को वर्ष फेर िउही आतंक हो।"

- सुरेशराज न्यौपाने

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar