महामन्त्रीका प्रत्यासीहरूबारे

नेपाली कांग्रेसको १२औँ महाधिवेशनको पूर्वसन्ध्यामा सानेपास्िथत केन्द्रीय कार्यालय देशभरबिाट आएका नेता-कार्यकर्ताले भरएिको छ। त्यस भीडमा महाधिवेशनमा उम्मेदवार बन्नेहरूको संख्या पनि उल्लेख्य देख्न सकिन्छ। खासमा पहिलोपटक महत्त्वाकांक्षी युवाहरूले कांग्रेसमा उत्साहपूर्वक उम्मेदवार हुने आँट देखाएका छन्। यो शुभसंकेत हो। अन्यथा कांग्रेसका युवाहरू सधैँ अँध्यारो कोठामा बसेर बूढाहरूले निर्णयपश्चात् दिने सूचीमा ल्याप्चे लगाउने काममा सीमित हुन्थे। यो पहिलोपटक हो कि युवा ऊर्जा प्रस्फुटन भएको छ।

महत्त्वाकांक्षी युवाहरूका बीचबाट कांग्रेस महामन्त्रीमा तीन जनाले उम्मेदवारी दिँदैछन्। तुलनात्मक रूपमा सुस्त र शालीन सभापतिहरूभन्दा महामन्त्रीका उम्मेदवारहरू स्वप्नशील र महत्त्वाकांक्षी देखिन्छन्। महामन्त्रीका उम्मेदवारहरू कस्ता छन् ? तिनको पृष्ठभूमि के हो ? र, तिनबाट कांग्रेसले के आशा र भरोसा गर्नसक्छ भन्ने जिज्ञासा महाधिवेशन प्रतिनिधिहरूको मात्र चासोको विषय रहेन, यससँग कांग्रेसको भविष्यसमेत गाँसिएको छ। त्यसैले तीनै उम्मेदवारको संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुन्छ।



प्रकाशमान सिंह

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने पुरानो भनाइ हो। कांग्रेस महाधिवेशनमा बनेको समीकरणलाई यसको उदाहरण मान्न सकिन्छ। यसै क्रममा कार्यवाहक सभापति सुशील कोइरालाले गणेशमान सिंहपुत्र प्रकाशमानलाई महामन्त्रीमा अगाडि सारेका छन्। यसबाट कांग्रेसको संस्थापन पक्ष र प्रजातान्त्रिक पक्षको मिलन गर्न सुशील सफल भएको चित्रण गरँिदैछ। समाजशास्त्री डोरबहादुर विष्टको समाज विज्ञानबाट अर्थ लगाउने हो भने यो समीकरणलाई 'कास्ट इज क्लास' -जाति नै वर्ग) पनि मान्न सकिन्छ। अर्थात्, कांग्रेसमा कोइराला परविार र गणेशमान परविारको विशिष्ठ पहिचान भएकाले पुनःमिलन भएको पनि हुनसक्छ। त्यसैले होला, कुनै बेला कांग्रेसका चे ग्वेभारा भनिने भूविक्रम नेम्वाङ आफू कोइराला परविार वा गणेशमान परविारको नभएर पनि कांग्रेस हुन पुगेकामा खिन्नता प्रकट गर्थे।

प्रकाशमानको सुशील समूहबाट उम्मेदवारीलाई समावेशी लोकतन्त्रको आवश्यकतासँग पनि जोडेर हेर्ने गरएिको छ। जनजाति वा मधेसी समुदायबाट लिनुपर्दा सुशील समूहसँग महामन्त्रीमा प्रकाशमानको विकल्प देखिँदैन पनि। तर, उनी जनजाति वा मधेसीको विकल्पमा कत्तिको खरो उत्रिन सक्छन्, परीक्षण हुन अब साता दिन पनि कुर्नुपर्दैन।

भनिन्छ, कांग्रेसको उपत्यका संगठन प्रकाशमानको कब्जामा छ। अझ गणेशमानको भावना र पार्टी एकताको सन्देशवाहक प्रकाशमान हुन् भनेर चर्चा चलाउनेको पनि कमी छैन। तर, यसपटक काठमाडाँै जिल्ला अधिवेशनमा प्रकाशमान समूहको हार भएको छ। त्यस्तै, संविधानसभा निर्वाचनमा उनी आफ्नो पुस्तैनी क्षेत्रमा चुनाव जित्न नसकेर धोबीखोलापारकिो निर्वाचन क्षेत्रबाट चुनाव लड्न बाध्य भए। यस्ता घटनाका कारण प्रकाशमानमाथि चुनौती थपिएको छ। तसर्थ, सुशीललाई चुनावी तालमेल मिलाउन प्रकाशमानको आवश्यकता भएको हो कि कांग्रेस पार्टीको पुनःजीवनसँग प्रकाशमानको उम्मेदवारी हो ?

पार्टीको पुनःजीवनसँग महामन्त्रीको उम्मेदवारका रूपमा प्रकाशमानको चयन भएको हो भने उनका अगाडि चुनौतीका पहाड छन्। पहिलो, कांग्रेसलाई पारविारकि र जातीय तालमेल मात्रले अगाडि बढाउन सम्भव छैन। यसको वैचारकि प्रवाह शून्य छ। लोकतन्त्र सबैका लागि साझा कर्म भएको छ, कांग्रेसले यसभन्दा अगाडिको कार्यसूचीमा नेपाली समाजलाई नेतृत्व दिन सकिरहेको छैन।

दोस्रो, प्रकाशमानको काठमाडौँ कांग्रेस संगठनमा पकडसँगै पार्टीका पुराना, त्यागी र निष्ठावान् कार्यकर्ताहरू पाखा लागेका छन्। सबैलाई समेटेर पार्टीलाई सबै विचार र समूहको साझा फूलबारी बनाउने चुनौती उनका अगाडि छ। तर, उनीसँग नेपाली समाजमा आएको नवीन चेतना बुझी तदनुरूप पार्टीलाई अगाडि बढाउने सोच र दृष्टिकोण देखिँदैन।

तेस्रो, गणेशमान कुनै जाति र क्षेत्र विशेषका मात्र 'रोल मोडल' होइनन्, सम्पूर्ण कांग्रेसको संघर्ष र निष्ठाका प्रतिमूर्ति हुन्, उनबाट प्रेरणा लिएर थुप्रै युवाहरूले यौवन र जीवन देश, लोकतन्त्र र कांग्रेसमा समर्पण गरे। नेपाली राजनीतिमा खास स्थान बनाएका नेताहरूले आफ्ना सन्तानको नाम प्रकाश राखे पनि ती नेपाली समाजमा अन्धकारझैँ भएका छन्। तसर्थ, प्रकाशमान पिता गणेशमानको मात्र प्रतिनिधि पात्र होइनन्, युवा धुकधुकी पनि हुन् भनेर प्रमाणित गर्न सायद धेरै अबेर भइसकेको छ।



विमलेन्द्र निधि

तीन दशकभन्दा पहिलेको कुरा हो, नेपाल विद्यार्थी संघको महाधिवेशन जनकपुरमा हुँदै थियो। त्यतिखेर नेविसंघका अध्यक्ष शेरबहादुर देउवा थिए। उनीपछि बेनुपराज प्रसाईंलाई बहुमत विद्यार्थीहरूको समर्थन देखिन्थ्यो। तर, बीपी कोइराला जनमतसंग्रहमा बहुदलको पक्षमा प्रभाव पार्न तराई मूलका नेतालाई संघको अध्यक्षमा ल्याउन चाहन्थे। बीपीको 'भिटो' काम लाग्यो र शेरबहादुरपछि विमलेन्द्र अध्यक्ष भए। विमलेन्द्रको राष्ट्रिय परचिय पनि यहीँबाट सुरु भयो।

तराईलाई कांग्रेसको गढ मानिन्थ्यो। त्यो राष्ट्रिय कांग्रेससँग नेपाली कांग्रेसको नाम र काम मिलेर मात्र भएको होइन। तराई महेन्द्रनारायण निधिजस्ता गान्धीवादी नेताको कर्मथलो थियो। तिनताका तराईमा कैयन्पटक जातीय र भाषिक आन्दोलनले टाउको उठायो तर कांग्रेसमा समर्पित यस्तै सभ्य, सुशील र सुसंस्कृत गान्धीवादी नेताहरूको अगुवाइमा सामाजिक सौहार्द्रता र सहिष्णुतालाई कायम राख्ने काम भयो। त्यस्तै अखण्ड नेपालको पक्षमा पनि तिनले कहिले विचलन आउन दिएनन्। विमलेन्द्रसँग यी सबै पक्षको पारविारकि विरासत छ। तर, उनी कांग्रेसको महामन्त्री हुँदा तराईमा सामाजिक सौहार्द्रता कायम भएन, अझ उनी त्यसतर्फ उदासीन रहेको भन्दै धेरैले शंका गरे। उनकै गृहनगर जनकपुरबाट पहाडी समुदायका मानिसहरू पलायन हुन बाध्य हुँदासमेत त्यसलाई रोक्न उनको भूमिका नदेखिनु राष्ट्रिय व्यक्तित्व सुहाउँदो कुरो होइन।

तसर्थ, उनलाई शेरबहादुर समूहबाट जातिगत भोटका लागि मात्र उम्मेदवारीमा प्रस्तुत नगरएिको हो भने अगाडिका चुनौती चानचुने छैनन्। प्रथम, कांग्रेसलाई उनले तराईमा विश्वास र भरोसाको पार्टी बनाउनुपर्नेछ। त्यस्तै विभिन्न जातिगत समूहमा मोर्चाबन्दी हुँदै गएको तराईमा सबै जातिले शान्तिपूर्वक सह-अस्ितत्वको भाइचारा निर्माण गरी बस्नयोग्य वातावरण निर्माण पनि गर्नुपर्नेछ।

दोस्रो, तराईको विभेद र असमान अवस्थालाई राज्य र पहाडी समुदायको मात्र जिम्मेवारी नठानेर मधेसी समाजको बनोट र सांस्कृतिक पक्षको कमजोरीलाई हटाउन पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ। तराईमा सांस्कृतिक सामाजिक आन्दोलनको मोर्चा अहिलेको टड्कारो आवश्यकता हो। त्यहाँको गुनासो छ- मधेसी समुदायले राजधानी जाने नेता मात्र बनाए, मधेस हेर्ने र रूपान्तरण गर्ने नेतृत्व छैन भन्ने त्यहाँका युवालाई कसले सम्बोधन गर्ने ?

तेस्रो, विमलेन्द्रसामु पार्टी एकताप्रति उदारभाव राख्न नसकेको आरोप लाग्दै आएको छ। उनको सम्पूर्ण गतिविधि तत्कालीन प्रजातान्त्रिक कांग्रेस बढाउन र संरक्षण दिने खालको मानिन्छ। जिल्ला राजनीतिमा गर्ने उनको हस्तक्षेपले पनि थुप्रै कांग्रेसजनले उनबाट पीडा भोगेका छन्। त्यसैले महामन्त्रीको उम्मेदवारीसँगै उनीबाट उदात्तभावको चरत्रि प्रदर्शनको अपेक्षा गर्नु सबै कांग्रेसजनको स्वाभाविक चासो हुन गएको छ। 



नरहरि आचार्य

कांग्रेस र वाममोर्चाको कार्यगत एकताको आन्दोलन ०४६ सालमा कमजोर पर्दैर् थियो। आन्दोलनले गति लिन नसकिरहेका बेला राजनीतिक पार्टीका नेता र कार्यकर्तामा निराशा र भयको देशव्यापी सन्त्रास थियो। यतिसम्म कि भारतले आर्थिक नाकाबन्दी हटाउने हल्ला पनि चलिरहेको थियो। यस्तै निराशाबीच कीर्तिपुरको अडिटोरयिम हलमा बहुदलीय व्यवस्थाका पक्षधर बुद्धिजीवीहरूले सभा बोलाएका थिए। सभास्थलमा प्रहरीको प्रवेशले धरपकड सुरु हुँदाकै बीचबाट नरहर िआचार्यले उपस्िथत सबैलाई जोसिलो भाषणबाट तताए। यो घटनालाई देश-विदेशका सञ्चारमाध्यमले ठूलो महत्त्व दिए। आन्दोलनले गति लियो, नरहर िआचार्य रातारात नेपाली लोकतन्त्रको अगुवा नेताको लहरमा पुगे।

भीमबहादुर तामाङ समूह वा तेस्रो धारबाट महामन्त्रीमा उम्मेदवारी दिएका नरहरकिो राष्ट्रिय राजनीतिमा धमाकेदार प्रस्तुति भए पनि शालीन, बौद्धिक र तार्किक नेताको छवि छ उनको। ०४६ सालपछि कांग्रेसभित्र चलेको वैचारकि र नैतिक आन्दोलनमा उनी उदाहरण नै मानिन्छन्। कांग्रेस विचारशून्य पार्टी भयो भन्ने आरोपलाई कडा रूपमा खण्डन गर्ने हैसियत कांग्रेसमा उनीबाहेक कसैको देखिँदैन।

उनको उम्मेदवारीसँग कांग्रेसको भविष्य यस अर्थमा पनि जोडिएको छ कि उनी नयाँ नेपालको कार्यसूचीका भाष्यकार हुन्। ०६२/६३ को जनआन्दोलन अगाडि बढिरहँदा 'नेता कांग्रेसको नीति माओवादीको' भन्ने सन्देश प्रवाहित भएको थियो। नरहरलिगायत केही गणराज्यपक्षीय कांग्रेसजन मात्र संघीयता, समावेशी र गणतन्त्रको कार्यसूची बोकी देशदेशाटन पुगेे। कांग्रेसका लागि यही नै पुँजी हुनसक्थ्यो र हुनसक्छ, जनताबीच जानका लागि। अन्यथा, पञ्चहरूको पार्टीले प्रजातन्त्रको कुरा गर्दा नेपाली जनताले पत्याएनन्, त्यसैले त्यो पार्टी खुम्चने क्रम रोकिएको छैन। त्यस्तै कांग्रेसमा भएका राजावादी, संघीयताविरोधी, समावेशी संरचना नचाहनेहरू मुलुक गणतन्त्रमा रूपान्तरण भएपछि नकच्चरो ढंगबाट प्रस्तुत भए। यसबाट कांग्रेसलाई क्षति पुगेको छ। यसर्थ, पार्टीको पुनःजीवनका लागि र नेपाली समाजसँग कांग्रेसको विश्वास र भरोसा जगाउन नरहरकिो उम्मेदवारीलाई अवसरका रूपमा हेरनिुपर्छ। किनभने, उनीसँग गणतन्त्र, संविधानसभा र संघीयता कांग्रेसको हो भन्ने नैतिक ताकत छ।

भीमबहादुर तामाङ र नरहर िआचार्यले बुझेको कांग्रेस सरल र सिद्धान्तवादी देखिन्छ। राजनीति उनीहरूले सोचेजस्तो सरल रेखामा हिँड्ला ? नरहरलिे कांग्रेसमा परम्परा तोडेका छन्, जनजातिको पछिपछि बाहुन हिँड्न तयार छ भन्ने समावेशी सन्देश दिएका छन्।

सारमा, महाधिवेशनमा उम्मेदवारी दिने सबै कांग्रेस लोकतन्त्रका पुँजी हुन्। प्रकाशमान, विमलेन्द्र र नरहर िसबैका आ-आफ्ना क्षमता र ताकत छन्। तर, कांग्रेसलाई पुनःभाषित गर्ने र यथास्िथतिवादीको आरोपबाट मुक्त गर्ने कार्यमा नरहरकिो पहल प्रभावकारी हुनसक्ला भन्ने धेरैको विश्वास छ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

अर्थ  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar