नेपाल डिभिजन ४ च्याम्पियन, क्रिकेटमा नेपालको ऐतिहासिक सफलता
आईसीसी वर्ल्ड क्रिकेट लिग
मलेसिया, भाद्र २५ - वसन्त रेग्मीको उत्कृष्ट बलिङ र ज्ञानेन्द्र मल्लको अर्धशतकीय इनिङमा नेपालले सोमबार अमेरिकालाई ८ विकेटले हराउँदै आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ को उपाधि जितेको छ ।
'म्यान अफ द म्याच' वसन्तले ५ विकेट लिएपछि किन्रारा मैदानमा पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभर १ बलमा १ सय ४५ रनमा समेटियो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा २ विकेट क्षतिमा १ सय ४७ रन बनायो ।
नेपाललाई अमेरिकामाथि जित निकाल्न कुनै पनि समय गाह्रो भएन । नेपाली टिमको संंकटमा रहेको ब्याटिङ पक्ष यो प्रतियोगितामा कमजोर देखिएन । नेपालले बलिङ, ब्याटिङ र फिल्डिड राम्रो गर्न कुनै कन्जुसाइँ गरेन ।
कप्तान पारस खड्काले अफसाइडमा चौका प्रहार गर्दै नेपालको ऐतिहासिक जित दर्ता गराए । ज्ञानेन्द्र मल्लले आक्रामक ब्याटिङ गर्दै सुरुआतमा धरमराएको नेपाली इनिङलाई सम्हालेका थिए ।
ज्ञानेन्द्रले ६५ बलमा ६६ रन बनाए । उनले ३ छक्का र ७ चौका प्रहार गरे । उनले सुवास खकुरेलसँग मिलेर दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गर्दै टिमको इनिङलाई अघि बढाएका थिए ।
नेपालले पहिलो विकेट ९ रनमा गुमाएको थियो । प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डल
३ रनमै आउट भएका थिए । कप्तान पारस खड्काले नटआउट २५ र सुवास खकुरेलले नटआउट ४० रन बनाए ।
यसअघि वसन्तले ९ ओभर १ बलमा २० रन खर्चे । उनी प्रतियोगिताको सबैभन्दा बढी विकेट लिने खेलाडी भए । उनले प्रतियोगिताको ६ खेलबाट २१ विकेट लिए । उनले अमेरिकाविरुद्धको लिग चरणकै खेलमा ५ विकेट लिएका थिए । यस्तै, शक्ति गौचनले दुई विकेट लिए । सञ्जम रेग्मी, पारस खड्का र विनोद दासको नाममा एक/एक विकेट रह्यो । नेपाली टिमलाई हौसला बढाउन यहाँस्थित नेपाली राजदूत र दूतावासका कर्मचारी पनि आएका थिए । नेपाली टिम मंगलबार दिउँसो स्वदेश फकर्ंदै छ ।
नेपालको ६ जित
लिग चरण
सिंगापुरविरुद्ध ६ विकेट
तान्जानियाविरुद्ध ८ विकेट
मलेसियाविरुद्ध १० विकेट
अमेरिकाविरुद्ध ३२ रन
डेनमार्कविरुद्ध २५ रन
फाइनल
अमेरिकाविरुद्ध ८ विकेट
..................................................................
(लाइभ अपडेट हेर्न समाचारको पुच्छारमा जानुहोस्)
..................................................................
कप्तान पारस खड्काले चौका प्रहार गरेका छन् । नेपाल ८ विकेटले विजयी भएको छ ।
अहिले क्रिजमा कप्तान पारस खड्का र सुवाष खकुरेल छन् । सुवाष ३९ रन र पारस १३ रन बनाउदै खेलिरहेका छन् । नेपालले २ विकेटको क्षतिमा १ सय ३४ रन जोडको छ । अब नेपाललाई जितका लागि १२ रन आवश्यक छ ।
नेपाल जित नजिक पुगेको छ । अब नेपाललाई २५ ओभरमा मात्र २१ रन आवश्यक छ । नेपालले २ विकेटको क्षतिमा १ सय २७ रन जोडेको छ ।
...
कप्तान पारस खड्काले लगातार दुई चौका प्रहार गरेका छन् । उनले अफसाइडमा शानदार चौका हाने । नेपाल अब जित नजिक पुगेको छ । नेपाललाई अब जितका लागि २६ ओभरमा २४ रन आवश्यक छ ।
...
कप्तान पारस खड्का र सुवास खकुरेलले नेपालको इनिङ्लाई सम्हालिरहेका छन् । दुवै ब्याट्सम्यान हतारमा देखिएका छैनन् । नेपालले २३ ओभरको समाप्तीसँगै २ विकेटको क्षतिमा १ सय १० रन जोडेको छ । अब नेपाललाई जितका लागि २७ ओभरमा ३८ रन आवश्यक छ ।
...
नेपालले यस पल्टको मलेसिया यात्रामा गज्जबको क्रिकेट खेलिरहेको छ । नेपालले डिभिजन ४ का लिग चरणका पाँचै खेलमा जित निकाल्यो र अहिले फाइनल जित्ने संघारमा पुगेको छ । नेपाललाई अब जितका लागि २९ ओभरमा ४० रन आवश्यक छ । नेपालले २ विकेटको क्षतिमा १ सय ६ रन जोडेको छ ।
...
नेपालको दोस्रो विकेट गएको छ । ज्ञानेन्द्र मल्ल ६६ रनमा बोल्ड भएको छ । नेपालले १ सय २ रनमा २ विकेट गुमाएको छ । अब नेपाललाई जितका लागि ३० ओभर २ बलमा ४४ रन आवश्यक छ । क्रिजमा कप्तान पारस खड्का पुगेका छन् ।
...
२० औँ ओभरको पहिलो बलमै ज्ञानेन्द्र मल्लले बलरको माथिबाट छक्का प्रहार गरेका छन् । उनी छिटै खेल सकाउने तयारीमा छन् ।
...
नेपाल पहिलो पल्ट डिभिजन ४ को उपाधि जित्ने संघारमा पुगेको छ । अब नेपालले ३१ ओभरमा ५० रन बनाए पहिलो पल्ट ठूलो उपाधि जित्ने छ । यसअघि नेपालले सबैभन्दा ठूलो उपाधि दुई वर्ष अघि डिभिजन ५ को रुपमा जितेको थियो । त्यस बेलापनि नेपालले अमेरिकालाई नै निराश पारेको थियो । दर्शकको समर्थन पाएको नेपालले १९ ओभरको समाप्तीसगै १ विकेटको क्षतिमा ९६ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ६० र सुवाष खकुरेल २३ रनमा खेलिरहेका छन् ।
...
नेपाल जित नजिक पुगेको छ । १८ ओभरको समाप्तीसँगै नेपालले १ विकेटको क्षतिमा ९३ रन जोडेको छ । सुवास खकुरेल २३ र ज्ञानेन्द्र मल्ल ५७ रनमा खेलिरहेका छन् । नेपाललाई अब जितका लागि ३२ ओभरमा ५३ रन आवश्यक छ ।
...
ज्ञानेन्द्र मल्लले अर्धसतक प्रहार गरेका छन् । उने लेग साइडमा एक रन हाल्दै ५० रन पूरा गरेका छन् । उनले अर्धसतक हानेपछि ब्याट उठाए । त्यस लगतै उनले ठिक अघि छक्का प्रहार गरेका छन् । उनी खेल छिटै सकाउने तयारीमा छन् ।
..
नेपालले सन् २०१० को फाइनलमा पनि अमेरिकालाई ५ विकेट हराउँदै डिभिजन ५ को उपाधि काठमाडौंमा उचालेको थियो । आज पनि अमेरिकालाईनै फाइनलमा हराउँदै नेपाल डिभिजन ४ को उपाधि जित्ने तयारीमा छ ।
..
ज्ञानेन्द्र मल्लले लेग साइडमा अर्को शानदार चौका प्रहार गरेका छन् । उनको इनिङ्माग यो छैटौ चौका हो । अमेरिकी बलरलाई उनी निराश पारिरहेका छन् । उनले ४४ रन जोडेका छन् । नेपालले १६ ओभरको समाप्तीसँगै १ विकेटको क्षतिमा ८१ रन जोडेको छ । अब नेपाललाई जितका लागि ३४ ओभरमा ६५ रन आवश्यक छ ।
...
नेपालका दुवै ब्याट्सम्यान क्रिजबाट छिटै नफर्कने सुरुमा देखिएका छन् । दुवै खेलाडी अमेरिकी आक्रमणलाई सहजै सामना गरिरहेका छन् । अमेरिकाले दुवै इन्डबाट स्पिन आक्रमण गरेको छ । नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा ७५ रन जोडेको छ । नेपाललाई अब जितका लागि ७१ रन आवश्यक छ ।
...
नेपालले १४ ओभरको समाप्तीसँगै १ विकेटको क्षतिमा ७० रन जोडेको छ । अब जितका लागि ३६ ओभरमा ७६ रन आवश्यक छ ।
...
आजको खेल जित निकालेपछि नेपालले अन्तर्राष्टिय खेलमा लगातार ६ खेल सफलता हात पार्ने छ । जुन नेपाली क्रिकेट इतिहासकै कीर्तिमान हो ।
...
नेपालले १२ ओभरको समाप्तीसँगै १ विकेटको क्षतिमा १२ रन जोडेको छ । अब नेपाललाई जितका लागि ३८ ओभरमा ८२ रन आवश्यक छ । नेपालसँग ९ विकेट बाँकी छन् ।
...
नेपालको हरेक रनमा यहाँ उपस्थित समर्थकले स्वागत गरिरहेका छन् । ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल दुवै सम्हालेर ब्याटिङ्ग गरिरहेका छन् । ११ ओभरको समाप्तीसँगै नेपालले १ विकेटको क्षतिमा ६१ रन जोडेको छ । ज्ञानेन्द्र ३४ र सुवास १६ रन मा खेलिरहेका छन् । नेपाललाई अब जितका लागि ३९ ओभरमा ८५ रन आवश्यक छ ।
...
ज्ञानेन्द्र आज आक्रामक देखिएका छन् । उनले ५ चौका र एक छक्का प्रहार गरिसके । उनलाई सुवास खकुरेलले १४ रन बनाउँदै साथ दिइरहेका छन् ।
...
ज्ञानेन्द्र मल्लले छक्का प्रहार गरेका छन् । उनले अफ साइडमा आकर्षक छक्का प्रहार गरे । उनको व्यक्तिगत योगफल ३२ पुगेको छ ।
...
ज्ञानेन्द्र मल्लले अर्को चौका हानेका छन् । उनले खेलमा पाँचौ चौका रिभर्स सुइप गर्दै प्रहार गरे । उनको चौकाले यहाँ उपस्थित नेपाली समर्थक उत्साहित भएका छन् । ज्ञानेन्द्रले २३ बलमा २६ रन जोडेका छन् । नेपालले नवौँ ओभरको समाप्तीसगै १ विकेटको क्षतिमा ५० रन जोडेको छ । अब नेपाललाई जितका लागि ४१ ओभरमा ९६ रन चाहिन्छ ।
...
अमेरिकाले स्पिन आक्रमण आठौं ओभरबाट थालेको छ । ज्ञानेन्द्र मल्ल आज आक्रामक देखिएका छन् । उनले ४ चौका प्रहार गरिसके । उनी अघिल्ला दुवै खेलमा अभाग्यशालीको रुपमा आउट भएका थिए । आज भने उनी मौकालाई खेर जान नदिने दाउमा छन् । नेपालले ८ ओभरको समाप्तीसँगै १ विकेटको क्षतिमा ४२ रन बनाएको छ । सुवास १३ र ज्ञानेन्द्र २२ रनमा खेलिरहेका छन् । नेपाललाई अब जितका लागि ४२ ओभरमा १ सय ४ रन आवश्यक छ ।
...
नेपालका सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्हालेर ब्याटिङ्ग गरिरहेका छन् । नेपालले सात ओभरको समाप्तीसँगै १ विकेटको क्षतिमा ४१ रन बनाएको छ । ज्ञानेन्द्र २२ र सुवास १२ रनमा खेलिरहेका छन् । अब नेपाललाई जितका लागि ४३ ओभरमा १ सय ५ रन रन बनाउनु पर्छ ।
...
ज्ञानेन्द्र मल्लले पाँचौ ओभरमा दुई चौका प्रहार गरेका छन् । उनले पहिलो चौका अफ साइडमा र अर्को ठिक अघि प्रहार गरेका छन् । उनी आक्रामक रुपमा खेलिरहेका छन् । पाचौ ओभरको समाप्तीसँगै नेपालले २८ रन बनाएको छ । ज्ञानेन्द्रले १८ रन जोडेका छन् ।
...
ज्ञानेन्द्र मल्लले सुट सटमा लेग साइडमा चौका प्रहार गरेका छन् । नेपालको लागि चौथो ओभर राम्रो रह्यो । ४ ओभरको समाप्तीसँगै नेपालले १ विकेटको क्षतिमा २० रन बनाएको छ । नेपाललाई अब जितका लागि ४६ ओभरमा १ सय ३६ रन आवश्यक छ ।
...
क्रिजमा नयाँ ब्याट्सम्यानका रुपमा ज्ञानेन्द्र मल्ल आएका छन् । अब उनी र सुवास मिलेर नेपालको इनिङ्गलाई सम्हाल्नु पर्ने हुन्छ । नेपालले ३ ओभरमा १ विकेटको क्षतिमा ११ रन जोडेको छ । नेपाललाई जितका लागि ४७ ओभरमा १ सय ३५ रन आवश्यक छ ।
...
नेपालको पहिलो विकेट गएको छ । अघिल्लो खेलमा डेनमार्कविरुद्ध सतक प्रहार गरेका अनिल मन्डल तेस्रो ओभरमा आउट भएको छन् । नेपालले ९ रनमा एक विकेट गुमाएको छ । अनिल ३ रनमा आउट भए ।
...
अमेरिकी कप्तान स्टिभ माहिसा आफ्नो बलर उसमान सुजातलाई सल्लाह दिएका छन् । मैदानमा नेपाली समर्थकले खेलाडीको हौसला बढाइरहेका छन् । नेपालले २ ओभरको समाप्तीसँगै विना विकेटको क्षतिमा ९ रन जोडेको छ । अब नेपाललाई जितका लागि १ सय ३७ रन आवश्यक छ ।
...
नेपालले पहिलो ओभरमा तीन रन जोडेको छ । अनिल मन्डलले २ र सुवाष खकुरेलले १ रन जोडेका छन् । अब नेपाललाई जितका लागि १ सय ४३ रन आवश्यक छ ।
...
नेपालले खाता खोलेको छ । सुवाष खकुरेलले इनिगको पहिलो बललाई लेग साइडमा हाल्दै एक रन लिए ।
नेपालको ब्याटिङ्ग इनिग सुरु भएको छ । अम्पायर र अमेरिकी टिम मैदानममा पुगेका छन् । नेपालको प्रारम्भिक जोडीका रुपमा अनिल मन्डल र सुवास खकुरेल क्रिजमा पुगेका छन् । दुवै ब्याट्सम्यानले यो प्रतियोगितामा सतक प्रहार गरेका छन् । सुवाषले अमेरिका र अनिलले डेनमार्कविरुद्ध सतक प्रहार गरेका हुन् । नेपाललाई जितका लागि १ सय ४६ रनको आवश्यक छ ।
...... LUNCH....
टिमको प्रदर्शनलाई लिएर प्रशिक्षक पुवुदु दासानायके र टिम म्यानेजर वसन्तराज सत्याल पनि खुसी देखिएका छन् । अब नेपालले ४५ मिनेटपछि आफ्नो ब्याटिङ्ग थाल्ने छ । नेपालले जितका लागि ५० ओभरमा १ सय ४६ रन बनाउनु पर्ने हुन्छ । नेपालको ब्याटिङ्ग क्रम र अहिलेसम्मको प्रदर्शनलाई हेर्दा अमेरिकालाई सहजै हराउँदै च्याम्पियन बन्ने छ । हामी ४० मिनेटको ब्रेक पनि फेरि उपस्थित हुने छौं ।
...
नेपाली टिमको प्रदर्शनले किनरारा मैदानमा खेल हेर्न आएका समर्थक उत्साहित छन् । बसन्तले लिगका ५ खेलमा १६ विकेट लिएका थिए । उनले आज ९ ओभर १ बलमा ५ विकेट लिदै २० रन दिए । उनले दुई मेडन गरे । प्रतियोगितामा उनको विकेट सख्या २१ भयो ।
...
बसन्त रेग्मीले ५ विकेट लिएपछि अमेरिका ४८ ओभर १ बलमा १ सय ४५ रनमा समेटिएको छ । अब नेपाललाई जितका लागि १ सय ४६ रन बनाउनु पर्ने हुन्छ । बसन्तले आफ्नो पाँचौ विकेट ४८ ओभर १ बलमा लिए । उनको प्रतियोगितामा विकेट सख्या २१ पुगेको छ । उनी सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन् । शक्ति गौचनले दुई विकेट लिएका छन् । नेपालका लागि अन्य विकेट संजम रेग्मी, विनोद दास र पारस खड्काले दिए ।
...
प्रतियोगिताको बसन्तको विकेट संख्या २० पुगेको छ । उनले आजको खेलमा ४ विकेट लिए । अमेरिकाले ४७ ओभरको समाप्तीसँगै ९ विकेटको क्षतिमा १ सय ४३ रन जोडेको छ ।
...
बसन्त रेग्मीले खेलमा चौथो विकेट लिएका छन् । अमेरिकाको नवौँ विकेटको पतन भएको छ । बसन्तले ४७ ओभरको दोस्रो बलमा विकेट लिएका हुन् । अमेरिकाले ९ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको छ ।
...
अब खेलमा चार ओभर बाँकी छ । अमेरिकाको दुई विकेट बाँकी छ । अमेरिकाले ४६ ओभरमा ८ विकेटको क्षतिमा १ सय ४० रन जोडेको छ ।
...
बसन्त रेग्मीले नेपाललाई फेरि अर्को सफलता दिलाएका छन् । उनको खेलमा आफ्नो तेस्रो र प्रतियोगिता १९ विकेट पुगेको छ । अमेरिकाले ४५ ओभरमा ८ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको छ । उसका भरपर्दा ब्याट्सम्यान ओर्लान्डो वाकर ३९ रनमा बसन्तद्वारा नै क्याच आउट भए ।
...
बसन्त रेग्मीले नेपाललाई सातौँ सफलता दिलाएका छन् । अमेरिकाको सातौँ विकेट गएको छ । उनले ४५ औँ ओभरको ५ चौथो बलमा क्रोन्सलाई ९ रनमा आउट गरेका हुन् । अमेरिकाले १ सय ३७ रनमा ७ विकेट गुमाएको छ ।
...
अर्का स्पिनर संजम रेग्मीको पनि १० ओभर सकिएको छ । उनले १ मेडन राख्दै ४२ रन दिए र महत्पूर्ण स्टिभ टेलरको विकेट लिएका थिए । अमेरिकाले ४३ ओभरको समाप्तीसँगै ६ विकेटको क्षतिमा १ सय २७ रन जोडेको छ ।
...
शक्ति गौचनले आफ्नो १० ओभर पूरा गरेका छन् । उनले २ मेडन राख्दै २३ रन दिए र २ विकेट लिए । अब नेपालको लागि खतराको रुपमा अर्लान्डो बाकर रहेका छन् । उनी क्रिजमा २६ रन बनाउँदै खेलिरहेका छन् । अमेरिकाले ४२ ओभरको समाप्तीसँगै ६ विकेटको क्षतिमा १ सय २१ रन जोडेको छ ।
...
शक्ति गौचनले आफ्नो नवौँ ओभर मेडन दिएका छन् । उनले १८ रन दिएर २ विकेट लिएका छन् । अमेरिकाले ४० ओभरको समाप्तीसँगै ६ विकेटको क्षतिमा १ सय १२ रन जोडेको छ ।
...
नेपाली बलरले अमेरिकी ब्याट्सम्यानलाई दवाबमै राखिरहेका छन् । अमेरिकाका अब भरपर्दा ब्याट्सम्यान एक मात्र छन् । अर्लान्डो वाकर उसका मुख्य ब्याट्सम्यान क्रिजमा बाकी छन् । अब नेपाललाई उनलाई आउट गर्नु पर्ने हुन्छ । अमेरिकाले ३८ ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन जोडेको छ ।
...
नेपाललाई छैटौं सफलता मिलेको छ । शक्ति गौचनले खेलमा दोस्रो विकेट लिएका छन् । एलेन आउट भएका छन् । उनी एलबीडब्यु धरापमा परे । अमेरिकाले ३५ ओभर ५ बलमा ६ विकेट गुमाएको छ । उसले १ सय ४ रन जोडेको छ ।
...
अमेरिकाले अब केही आक्रमक खेल्ने संकेत मिलेको छ । उसले ३४ औं ओभरमा आएर ब्याटिग पावर प्ले लियो । यस बेला तीन फिल्डरमात्र २० यार्ड बक्सको बाहिर बस्न सक्छन् । शक्ति गौचन बलिङ्ग गरिरहेका छन् ।
...
अमेरिकाका अर्लान्डो वाकर र टिमरोय एलेन सम्हालेर खेल्ने कोसिस गरेका छन् । नेपालले अब अमेरिकामा राम्रो ब्याटिङ्ग गर्न सक्ने यी दुई खेलाडीलाई आउट गर्ने हुन्छ । अमेरिकाले ३४ ओभरमा ५ विकेटको क्षतिमा ९६ रन जोडेको छ ।
...
चार नेपाली स्पिनर बलिङ्ग परिवर्तन गर्दै अमेरिकालाई दवाबमा राखिरहेका छन् । कप्तान पारस खड्का, संजम रेग्मी, बसन्त रेग्मी र शक्ति गौचनले अमेरिकी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएका छैनन् । अमेरिकी ब्याट्सम्यानद्धय वाकर र एलेन ब्याकफुलमा खेलिरहेका छन् । ३३ ओभरको समाप्तीसँगै अमेरिकाले ५ विकेटको क्षतिमा ९४ रन जोडेको छ ।
...
अमेरिकी ब्याट्सम्यानद्धय अर्लान्डो वाकर र एलेन दुवै एक एक रन चोन खोजिरहेका छन् । तर दुवै असफल देखिएका छन् । नेपाली बलरले खेललाई पुरै नियन्त्रणमा लिएका छन् । तर अमेरिकाको बाँकी ५ विकेट नेपालले छिटै झानु पर्ने हुन्छ । केन्रारा मैदानको बिचको विचमा आज खेल भइरहेको छ । त्यो पिच साइडका दुई भन्दा फरक छ । त्यहा आज बल बढी टन भइरहेको छ ।
...
नेपाललाई पाँचौ सफलता मिलेको छ । शक्ति गौचनले नेपालका लागि महत्पूर्ण विकेट दिएका छन् । उनले अमेरिकाका मुख्य ब्याट्सम्यान सुसिल नडकर्नीलाई क्याच आउट गरे । अमृत भट्टराईले नडकर्नीको क्याच बाउन्डी लाइनमा दिए । शक्तिको यो खेलमा पहिलो र प्रतियोगितामा नवौं विकेट हो । अमेरिकाले ८३ रनमा ५ विकेट गुमाएको छ ।
...
नेपाली टिम निराश बनेको छ । शक्ति गौचनको बलमा विकेट किपर सुवास खकुरेलले २६ औँ ओभरको पहिलो बलमा अर्लान्डो वाकरलाई क्याच आउटको अपिल गरे पनि अम्पायरले आउट दिएनन् । शक्ति निकै निराश भए । २६ ओभरको समाप्तीसँगै अमेरिकाले ४ विकेटको क्षतिमा ८० रन जोडेको छ ।
...
कप्तान पारस खड्काले बलिङमा अर्को परिवर्तन गरेका छन् । शक्ति गौचन २४ औँ ओभरमा बलिङ्ग गर्न आएका छन् । पारस नडकर्नीको विकेटको खोजीमा छन् । अमेरिकाले २३ ओभरको समाप्तीसँगै ४ विकेटको क्षतिमा ७१ रन जोडेको छ ।
...
अमेरिकी ब्याट्सम्यान सुसिल नडकर्नी नेपालको लागि खतरा बन्दै गइरहेका छन् । उनले ३ चौका र एक छक्काको मदतले ३० रन जोडिसकेका छन् । नेपाललाई उनको विकेट आवश्यक परेको छ । अमेरिकाले २२ ओभरको समाप्तीसँगै ४ विकेटको क्षतिमा ७० रन जोडेको छ ।
...
शक्ति गौचनले बाउन्डी लाइनमा उत्कृष्ट फिल्डिङ्ग गरेका छन् । उनले सुसिल नडकर्नीले अफ साइडमा प्रहार गरेको बल चौका हुनबाट बनाए । अमेरिकाले २० ओभरको समाप्तीसँगै ४ विकेटको क्षतिमा ६४ रन जोडेको छ । क्रिजमा नडकर्नी र अर्लान्डो वाकर छन् । दुवै र्फममा रहेका ब्याट्सम्यान हुन । अब नेपाललाई यी दुई महत्पूर्ण विकेट आवश्यक छ ।
...
नेपाललाई चौथो सफलता मिलेको छ । कप्तान पारस खड्काले स्पिन गर्दै पहिलो विकेट लिएका छन् । १९ औं ओभरमा पहिलो ओभर फाल्न आएका उनले अमेरिकी कप्तान स्टिभ मासिहलाई आउट गरे । खेलमा नेपालको दवाब कायमै छ । अमेरिकाले १९ ओभरको समाप्तीसगै ५७ रनमा ४ विकेट गुमाएको छ ।
...
अमेरिकी कप्तान स्टिभ मसिह क्रिजमा आएका छन् । उनलाई सुसिल नडकर्नीले साथ दिइरहेका छन् । यी दुई खेलाडीलाई नेपालले छिटै आउट गर्न सकेन खेल पुरै नेपालको नियन्त्रणमा हुने छ । १८ ओभरको समाप्तीसगै अमेरिकाले ३ विकेटको क्षतिमा ५६ रन जोडेको छ ।
...
नेपाललाई तेस्रो सफलता मिलेको छ । अमेरिकाका आद्धित्य मिश्रा आउट भएका छन् । बसन्त रेग्मीले विकेट लिए । उनको यो खेलमा पहिलो र प्रतियोगितामा १७ औं विकेट हो । अमेरिकाले ५६ रनमा ३ विकेट गुमाएको छ ।
...
नेपालको लक्ष्य अमेरिकालाई दुई सय भन्दा कम रनका समेट्नु रहेको छ । नेपालले अमेरिकालाई २ सय भन्दा कम रनमा समेटे नेपालले सहज जित निकाल्न सक्छ । प्रतियोगितामा नेपालको ब्याटिङ्ग पनि राम्रो बन्दै गाइरहेको छ । १७ ओभरको समाप्तीसँगै अमेरिकाले २ विकेटको क्षतिमा ५६ रन जोडेको छ ।
...
आद्धिय र नडकर्नीले अमेरिकी इनिङ्गलाई माथि उठाइराखेका छन् । अब नेपाललाई तेस्रो विकेट चाहिएको छ । कप्तान पारस खड्काले विकेट प्राप्त गर्नका लागि विभिन्न तरिकाबाट फिल्डिग सजाइराखेका छन् । अमेरिकाले १५ ओभरमा २ विकेटको क्षतिमा ५१ रन जोडेको । बसन्त रेग्मी १६ औ ओभर गरिरहेका छन् ।
...
आद्धिय र नडकर्नीले अमेरिकी इनिङ्गलाई माथि उठाइराखेका छन् । अब नेपाललाई तेस्रो विकेट चाहिएको छ । कप्तान पारस खड्काले विकेट प्राप्त गर्नका लागि विभिन्न तरिकाबाट फिल्डिग सजाइराखेका छन् । अमेरिकाले १५ ओभरमा २ विकेटको क्षतिमा ५१ रन जोडेको । बसन्त रेग्मी १६ औ ओभर गरिरहेका छन् ।
...
नेपाली कप्तान पारस खड्काले आक्रामक फिल्डिङ्ग सेट गरेका छन् । उनले स्पिल, सट लेग राखेका छन् । बसन्त रेग्मी नेपालको १४ औं ओभर बलिग गर्न आएका छन् । उनको यो पहिलो ओभर हो । उनले प्रतियोगितामा १६ विकेट लिइसकेका छन् । पारस उनीमार्फत विकेट चाहन्छन् । अमेरिकाले १३ ओभरको समाप्तीसँगै २ विकेटको क्षतिमा ४४ रन जोडेको छ ।
...
आद्धिय मिश्रा र सुसिल नडकर्नीले अमेरिकीलाई सम्हाल्ने कोसिस गरिरहेका छन् । अब नेपाललाई विकेट चाहिएको छ । विनोद दासले नेपालको १२ ओभर पूरा गरेको छ । अमेरिकाले २ विकेटको क्षतिमा ४२ रन जोडेको छ ।
...
विनोद दासको बलमा आद्धिय मिश्रा पुरै विट भए र नेपाली खेलाडीले आउट साइड एजको अपिल पनि परे तर अम्पायर खुसी भएनन् । अमेरिकाले १० ओभरमा २ विकेटको क्षतिमा ३४ रन जोडेको छ । नेपाल तेस्रो विकेटको खोजीमा छ ।
...
कप्तान पारस खड्काले सिम बलर अमृत भट्टराईलाई बलिग गर्न सातौँ ओभरमा ल्याए । आफ्नो दोस्रो ओभर अमृतले राम्रो गरे । विनोद दासले नेपालको आठौँ ओभर गरिरहेका छन् । ८ ओभरको समाप्तीसँगै अमेरिका २ विकेटको क्षतिमा २७ रन जोडेको छ । विनोदले ओभरको अन्तिम बलमा छक्का खाएका छन् । उनलाई फर्ममा रहेका सुसिल नडकर्नीले सिधा अघि छक्का प्रहार गरे ।
...
अभिमन्यु आउट भएसँगै अमेरिकाका अर्का मुख्य ब्याट्सम्यान सुशील नडकर्नी क्रिजमा आएका छन् । उनी नेपालका लागि महत्पूर्ण विकेट हुन् । लिग चरणमा उनले नेपालाई अर्धसतक प्रहार गरेका थिए । अमेरिकाले ६ ओभरमा २ विकेटको क्षतिमा १७ रन जोडेको छ ।
...
नेपाललाई अर्को सफलता मिलेको छ । विनोद दासले विकेट लिएका छन् । उत्कृष्ट बलिग गरेका उनले अभिमन्युलाई शुन्य रनमा आउट गरे । अमेरिकाले १७ रनमा दुई विकेट गुमाउको छ ।
...
टेलरलाई आउट गरेका संजमको यो प्रतियोगितामा आठौँ विकेट हो । उनले लिग चरणको खेलमा पनि टेलरलाई आउट गरेका थिए । टेलर आक्रमक ब्याट्सम्यान हुन् । तर अफ स्पिनमा भने उनी सधै चुक्ने गर्छन् । विनोद दासले पनि उत्कृष्ट बलिग गरिरहेका छन् । तर उनले विकेट पाउन सकेका छैनन् ।
...
नेपाल र अमेरिका सन् २०१० मा डिभिजन ५ को फाइनलमा भिड्दा नेपाल ५ विकेटले विजयी भएको थियो । त्यसबेला पनि अमेरिकाले पहिले ब्याटिङ गरेको थियो । अमेरिका ७ ओभर २ बलमा १ सय ७२ रन जोडेको थियो । त्यो खेलमा नेपाली स्पिनर राहुल विकले ७ विकेट लिएका थिए । तर आज उनी टिमको अन्तिम ११ मा परेका छैनन् । त्यो खेलमा अनिलले ४७ रन जोडेपछि नेपालले ४६ ओभर ४ बमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
...
नेपाललाई पहिलो सफलता मिलेको छ । उसका र्फममा रहेका ब्याट्सम्यान स्टिभ टेलर आउट भएका छन् । उनलाई संजम रेग्मीले आउट गरे । अमेरिकाले १६ रनमा एक विकेट गुमाएको छ ।
...
अमेरिकाले तीन ओभरमा विना विकेटको नोक्सानीमा १५ रन जोडेको छ । दुवै ब्याट्सम्यान नेपालको लागि खतरा देखिन थालेका छन् । नेपाललाई अब पहिलो विकेट चाहिएको छ ।
...
नेपालले तेस्रो ओभरमा स्पिनर ल्याएको छ । फर्मका रहेका अमेरिकी ब्याट्सम्यान स्टिभ टेलरको कमजोरी अफ स्पिन हो । त्यसैले कप्तान पारस खड्काले संजयमलाई ल्याएका हुन् । नेपाललाई सुरुआती विकेट चाहिएको छ ।
...
कार्यलयको दिन भएपनि यहा उत्साहपूर्ण नेपाली दर्शक छन् । कोही राष्टिय झन्डा र कोही नेपाल लेखेको ब्यानर लिएर यहा उस्थित भएका छन् ।
...
नेपालको पहिलो ओभर वाया हाते सिम बलर अमृत भट्टराईले गरेका छन् । अमृतलाई पहिलो ओभरको पाँचौ बलमा प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने अमेरिकी ब्याट्सम्यान टेलरले चौका प्रहार गरे । टेलर प्रतियोगितामा सबैभन्दा फर्म रहेका ब्याट्सम्यान हुन् । पहिलो ओभरो समाप्तीसँगै अमलेसियाले विना विकेटको नोक्सानीमा ८ रन जोडेको छ । दोस्रो ओभरमा विनोद दास बलिङ्गमा आएका छन् ।
...
अमेरिकी ब्याटिङ्ग लाइन अप बलियो छ । उसग तीन राम्रो ब्याट्सम्यान र एक अलआउन्डर छन् । कप्तान स्टिभ मासिह, सुसिल नडकर्नी र स्टिभ टेलरको ब्याटिगमा अमेरिकी बलियो छ । साथमा अर्लान्डो बाकर ब्याट्स र बल दुवैमा प्रतियोगितामा चम्किरहेका छन् । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी भन्ने होडमा पहिलो नम्बरमा छन् ।
...
नेपाली टिम: पारस खड्का (कप्तान), प्रदीप ऐरी, अमृत भट्टराई, विनोद दास, शक्ति गौचन, सुवाष खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मन्डल, बसन्त रेग्मी, संजम रेग्मी र शरद भेषावकर ।
...
नेपाली टिममा एक परिवर्तन रहेको छ । डेनमार्कविरुद्ध सिम बलर अमृत भट्टराईको स्थानमा खेलेका पृथु बास्कोटालाई हटाएर फेरि अमृतलाई नै टिममा सामेल गरिएको छ ।
...
अमेरिकाले टस जितेको छ । उसले पहिलो ब्याटिग रोजेको छ । अब नेपालको लक्ष्य अमेरिकालाई कम भन्दा कम स्कोरमा सिमित गर्नु हुनेछ ।
...
खेलमा टस हुन लागेको छ । नेपालका कप्तान पारस खड्का र अमेरिकी कप्तान स्टिभ मासिह टसका लागि क्रिजमा पुगेका छन् ।
...
हिजोको वर्षा र यहाँको पिच पहिले ब्याटिङ्गका लागि उपयुक्त हुन्छ । टस जित्ने टिमले ब्याटिङ्ग रोज्छ । नेपाले आज पनि टस जिते ब्याटिङ्ग नै रोज्ने छ ।
...
भारतका पूर्व चर्चित खेलाडी रविन सिंहले अमेरिकी टिमलाई सम्हालेका छन् । रविन सिंहले पनि पिचको अवलोकन गरिसकेका छन् ।
...
दुवै टिमका खेलाडी अभ्यासमा व्यस्त छन् । सधाझैँ नेपाली प्रशिक्षक पुवुदु दासानायके टिम बसबाट छिर्ने बित्तिकै मैदानमा विच भागमा पुगे र पिचको अवलोकन गरे ।
..........................................
नमस्कार, स्वागत छ, मलेसियाको क्वालालमपुरस्थित केनररा क्रिकेट मैदानबाट । आईसीसी वर्ल्ड क्रिकेट लिगबाट आइतबार डिभिजन ३ मा पुग्न सफल दुई टिम नेपाल र अमेरिका फाइनलमा खेलिरहेका छन् । तापक्रम बढे पनि आज घाम लागेको छैन । नेपाल प्रतियोगितामा अपराजित छ । पहिलो पल्ट डिभिजन ३ पुगेको नेपालले यहा खेलेका पाँचै खेलमा जित निकालेको छ । लिग चरणको खेलमा नेपालले अमेरिकामाथि ३२ रनको जित निकालेको थियो । त्यसैलाई कायमै राख्न चाहन्छ, नेपाल । नेपालले दुई वर्ष अघि काठमाडौंमा भएको डिभिजन ५ को फाइनलमा पनि अमेरिकालाई नै हराएर नेपाली क्रिकेटको सबैभन्दा ठूलो उपाधि उचालेको थियो । यसै मैदानमा नेपालका दुई प्रारम्भिक ब्याट्सम्यान सुवाष खकुरेल र अनिल मन्डलले सतक प्रहार गरिसकेका छन् । सुवाषले १ सय १५ रन अमेरिका र अनिलले १ सय १३ रन डेनमार्कविरुद्ध बनाएका हुन् ।
प्रकाशित मिति: २०६९ भाद्र २५ ०८:३३










तपाईंको प्रतिकृया