‘मेरो गोरुको बाह्रै टक्का’ ले मुलुक बर्बादी हुन्छः देउवा
काठमाडौ, भाद्र २ - कांग्रेस नेता शेरबहादुर देउवा ले वर्तमान राजनीति थप जटिल बन्दै गएको अवस्थामा मुलुकलाई सङ्कटबाट मुक्त गर्न सबै राजनीतिक दलहरुले आ–आफ्ना हठ त्यागेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
‘मेरो गोरुको बाह्रै टक्का’ भनेर अगाडि बढ्न हो भने मुलुक झन् बर्बादीतर्फ जान्छ, अहिले दलहरुका बीचमा पनि विश्वासको वातावरण बनिरहेको छैन,’ उनले भने, ‘पार्टीभित्र पनि आन्तरिक विवादलाई मिलाएर अगाडि बढ्न सक्नुपर्छ ।’
नेपाल प्रजातन्त्रवादी इन्जिनियर्स एसोसिएसनको शनिबार प्रथम अधिवेशनको उद्घाटन गर्दै नेता देउवाले भने, ‘पार्टीभित्रकै विवाद मिलाउन नसक्नेहरुले मुलुकलाई कसरी चलाउँछन् ।’
उनले संविधानको संशोधन नगरी चुनाव असम्भव भएकाले केही समयका लागि संविधानसभा पुनःस्थापना गरेर भए पनि राजनीतिक सहमति कायम गरी चुनावको अर्को मिति तोक्नुपर्छ भन्दै सहमतिका लागि एमाओवादी, मधेसी मोर्चा, नेपाली कांग्रेस र नेकपा (एमाले)ले पनि आफ्ना हठ त्याग्नुपर्ने बताए ।
राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकास असम्भव भएकाले पहिला स्थिर राजनीति कायम गर्न सहमति आवश्यक छ वरिष्ठ नेता देउवाले भने, ‘सुरक्षाको प्रत्याभूति र लगानीको ग्यारेन्टी गरेर वैदेशिक लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ।’
यस्तै कांग्रेसका नेता प्रकाशशरण महतले लोकतन्त्रवादीहरुको कमजोरीका कारण अहिले मुलुकमा एमाओवादी आफ्नो हैकम जमाउन उद्दत भएको आरोप लगाउँदै अधिनायकवादी चरित्रलाई कसैले पनि व्यवहारमा उतार्न नहुनेमा जोड दिए ।
एमाओवादीले विधि र विधानभन्दा पनि बलको राजनीतिलाई अवलम्बन गरिरहेकाले त्यसलाई रोक्न पनि सबै प्रजातन्त्रवादी एकजुट हुनुपर्ने बताए ।
प्रकाशित मिति: २०६९ भाद्र २ ०५:१४










तपाईंको प्रतिकृया