जुले चीनलाई दिलाइन् स्वर्ण

(1 Vote)
olympic
स्वर्णपदकसाथ सोमबार रुसकी जिम्न्यास्टिक खेलाडी एलिया मुस्ताफिना । तस्बिर: एएफपी

लन्डन (रोयटर्स), श्रावण २३ - चिनियाँ जु लिजियाले सेलिङको वुमेन्स लेजर राडियल स्पर्धामा सोमबार स्वर्ण हात पारेकी छन् । योसँगै चीनले अमेरिकालाई तीन स्वर्णले पछि पार्दै बेलुकीसम्म शीर्ष स्थानमा पकड बलियो बनाएको छ । चीनको ३१ स्वर्ण पुगेको छ ।

वल्र्ड च्याम्पियनसिपको रजतपदक विजेता तथा बेइजिङ ओलम्पिकमा कांस्य हात पारेकी उनले तीन ल्यापमा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पारेकी थिइन् । 'यो क्षण मेरो जीवनकै सबैभन्दा सुखद हो,' उनले भनिन् ।

उनले ३५ अंक जोडेकी थिइन् । दुई अंकले पछि परेकी नेदरल्यान्ड्सकी मेरिट बोउमिस्टरले रजतपदक हात पारिन् । हजारौं दर्शकअघि बेल्जियमकी एभी भान एकरले कांस्य प्राप्त गरिन् । उनले ४४ अंक जोडेकी थिइन् । एक अंकले पछि परेकाले आयरल्यान्डकी अनालिसे मर्फी पदकबाट वञ्चित भइन् ।

ब्राजिललाई पहिलो स्वर्ण

आर्थर नाबारेट जेनेट्टीले ओलम्पिक जिम्न्यास्टिकमा ब्राजिललाई पहिलो स्वर्ण दिलाएका छन् । रिङ्सको फाइनलमा बेइजिङ ओलम्पिक च्याम्पियन चेन यिबिङको कठिन चुनौती पन्छाउँदै उनले सोमबार स्वर्ण जितेका हुन् । २२ वर्षीय आर्थरले वल्र्ड च्याम्पियनसमेत रहेका चेनलाई शून्य दशमलव १ अंकले पराजित गरेर स्वर्ण जितेका हुन् । उनले कुल १५ दशमलव ९०० अंक प्राप्त गरेका थिए । इटालीका माटेओ मोरान्डीले कांस्यपदक हात पारे ।

तउफिक कारबाहीमा

पदकका दाबेदार अल्जेरियन ताउफिक माखलोउफी ८ सय मिटर दौडको हिटमा क्षमताअनुसार प्रदर्शन गर्न नचाहेको आरोपमा इन्टरनेसनल एसोसिएसन अफ एथलेटिक्स फेडेरेसन्सले कारबाही गर्दै ओलम्पिकबाट बाहिर्‍याइएको छ ।

ताउफिक १५ सय मिटरको फाइनल चरणमा छनोट भइसकेका थिए । सोमबार भएको ८ सय मिटरको हिटमा भने उनी असफल भएका थिए । 'उनले दौड नै पूरा गरेनन् । रेफ्रीका अनुसार उनले दौड टुंग्याउने प्रयास नै गरेनन् । त्यसैले नियमानुसार उनलाई सबै स्पर्धामा सहभागी हुन वञ्चित गरिएको छ,' आईएएफले जनाएको छ ।

सुटिङ

इटालीका निकोको क्याम्पि्रयानीले मेन्स ५० मिटर राइफल थ्री पोजिसनमा ओलम्पिक रेकर्डसहित स्वर्ण जितेका छन् ।

इन्जिनियरिङका विद्यार्थी उनले दक्षिण कोरियाका किम जोङ-ह्युनलाई उछिन्दै स्वर्ण हात पारेका हुन् । रोयल आर्टिलरी ब्यारेकमा उनले १ हजार १ सय ८० स्कोर गरेका थिए । उनले १० मिटर राइफलमा रजतसमेत जितेका थिए । अमेरिकी म्याथ्यु एमोन्सले कांस्यपदक प्राप्त गरे ।

मुस्ताफिनालाई उपाधि इन्डिभ्युजल अलराउन्ड स्पर्धाको प्रदर्शन विर्सँदै रुसकी एलिया मुस्ताफिनाले जिम्न्यास्टिकको वुमेन्स अनइभन बारमा स्वर्ण जितिन् ।

बक्सिङ

पाँचपल्टकी वल्र्ड च्याम्पियन भारतीय बक्सर म्यारी कोमले लन्डन ओलम्पिकमा कम्तीमा कांस्यपदक हात पार्ने सोमबार निश्चित गरेकी छन् ।

 

प्रकाशित मिति: २०६९ श्रावण २३ ०९:५६


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication