कोरस गायनबाट नेपाली संगीतमा प्रवेश गरेकी दुर्गा खरेललाई सांगीतिक कार्यक्रम 'नेपाली तारा' बाट पहिचानको बाटो खुल्यो । उक्त प्रतियोगितामा उनी छैंठौं स्थानसम्म पुगेकी थिइन् । भर्सटायल गायन हुँदाहुँदै पनि भोटिङका आधारमा दुर्गा कार्यक्रमबाट बाहिरिंदा निर्णायकहरू समेत दुःखी भएका थिए । नेपाली तारा प्रतियोगितापछिको यात्राले भने उनलाई सुखद् परिणाम दिएको छ । पाश्र्वगायनमा दुर्गाले देखाएको प्रगति अरूका लागि पनि प्रेरणादायी छ ।
दुर्गाको स्थायी ठेगाना झापाको भद्रपुर हो । उनी विद्यालयमा हुने सांगीतिक प्रतियोगिताहरूमा सधै भाग लिन्थिन् । त्यो समयमा उनले कहिल्यै दोस्रो हुनुपरेन । जिल्लामा हुने सांगीतिक कार्यक्रममा लता मंगेसकर, आशा भोसले, अरुणा लामा, तारादेवी, रीमा गुरुङका गीत गाएर पाएका ट्रफीहरू उनको कोठाभरि छन् । यिनै ट्रफी तथा घर-परिवारको स्यावासीले उचालिएर दुर्गा व्यावसायिक गायनमा प्रवेश गरेकी हुन् ।
गायनमा करियर बनाउन २०५९ सालमा काठमाडौं छिरेकी दुर्गालाई शास्त्रीय संगीतको ज्ञान थिएन । शास्त्रीय संगीतप्रतिको अनुरागलाई उनले पुतलीसडकस्थित अनुराग संगीत विद्यालयमा गएर पूरा गरिन् । त्यही विद्यालयमा अध्ययन गर्दागर्दै उनले 'संगीत प्रभाकर' पूरा गरिन् । अहिले उनी अनुराग संगीत विद्यालयमा नयाँ विद्यार्थीलाई संगीत शिक्षा दिन्छिन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सत्यस्वरूप ट्यालेन्ट कार्यक्रममा भाग लिएकी दुर्गा सत्यस्वरूपको संगीतप्रतिको रुचिबाट आफूले प्रेरणा लिएको बताउँछिन् ।
यतिखेर दुर्गाले आफ्नो पहिलो सोलो एल्बम 'दिल' बजारमा ल्याएकी छिन् । दिलमा रोमान्टिक, सेमी क्लासिकल, आधुनिक, पप, लोक-आधुनिक तथा आइटम गीतहरू समावेश गरिएको छ । आफूलाई भर्सटायल गायिकाका रूपमा चिनाउन यो एल्बमले भूमिका खेल्ने विश्वास दुर्गाको छ । 'किन किन उनीलाई...' गीतको चर्चासँगै उनी गायिकाका रूपमा स्थापित भएकी छन् । उक्त म्युजिक भिडियो टेलिभिजनका लोकपि्रय कार्यक्रमहरूमा दर्शकले अनुरोध गरिरहनुले पनि उनी लोकपि्रय हुन थालेको देखिन्छ । टेक्नो विट र हच्कीले यो गीतलाई नयाँपनमा ढालेको दुर्गाको धारणा छ ।
राजु सिंहको संगीत र कालीप्रसाद रिजालको रचनामा 'घरमा पनि एक्लै म त वनमा पनि एक्लै, आफ्नो भन्नु कोही छैन मनमा पनि एक्लै' गीत उनको पहिलो रेकर्डिङ भएको गीत हो । यो गीत उनी आफ्नो दोस्रो एल्बममा समावेश गर्ने सोचमा छिन् । थुप्रै कलेक्सन एल्बमहरूमा पनि दुर्गाको स्वर सुन्न सकिन्छ । आफ्नो मान्छे आफ्नै हुन्छ, कवज, तिमी मात्र तिमी, बाटोमुनिको फूल' आदि चलचित्रमा समेत गीत गाइसकेकी दुर्गालाई निरन्तर पाश्र्वगायनको अफर आइरहेको छ ।
दुर्गालाई रिमिक्स गीत गाउनु पुराना स्रष्टाको मानमर्दन गर्नु हो भन्ने लाग्छ । त्यसैले उनले अहिलेसम्म रिमिक्स गीत गाउने अफरलाई स्वीकार गरेकी छैनन् । 'म आफ्नै गीतबाट पहिचान बनाउन चाहन्छु ।' दुर्गाले नारीसँग भनिन्, 'सबै कलाकर्मीले आफ्नो पहिचान बनाउन भिन्न नीति लिनुपर्छ, रिमिक्स गीत नगाउने मेरो निर्णय यस्तै नीतिभित्र पर्छ ।'