महिलालाई केन्द्रविन्दुमा राखेर व्यावसायिक पत्रकारिता सुरु गरेको आज आठ वर्ष पूरा भएको छ । यस अर्थमा नारी मासिकको प्रकाशन आफैमा एउटा क्रान्तिकारी कदम सावित भएको छ । आठ वर्षमा नेपाली महिलाका जे-जति विचार, रुचि एवं जीवनशैली बाहिर आए, त्यसले नेपाली नारीको मात्र होइन, केही अंशमा विश्वका सम्पूर्ण नारीलाई प्रतिनिधित्व गरेको छ । यस्तो काम गर्ने अवसर पाएकोमा नारी समूह गर्व महसुस गर्छ ।
नारी प्रकाशन हुनुपूर्व केही महिला मासिक पत्रिका बजारमा नआएका होइनन् । तर ती पत्रिका लामो समय टिक्न सकेनन् । पाठकको रुचिलाई ध्यानमा राखेर पत्रिका निकाल्ने हो भने आफ्नो खुट्टामा उभिन सकिन्छ भन्ने उदाहरण बन्न नारी सफल भएको छ । वर्तमान अवस्थामा व्यावसायिक पत्रकारिताको विकल्प छैन भन्ने दृष्टान्त पनि यसले दिएको छ । यो सफलता पाठक, विज्ञापनदाता, वितरक एवं शुभचिन्तकहरूको सहयोगले मात्र सम्भव भएको हो । सबैभन्दा महत्त्वपूर्ण कुरा व्यावसायिक पत्रकारिताको सिद्धान्त बोकेको कान्तिपुर पब्लिकेसन्सको नेतृत्व नारी मासिकलाई यहाँसम्म ल्याउन सफल भएको हो ।
आधा आकाश ढाकेका महिलाको आशा, रुचि, विचार एवं चाहना समेट्न एक्लो नारीको वशमा छैन । तैपनि हामीले नारीभित्रको सानो संसारलाई नारीका विविध पाटाको चित्रण गर्ने थलो बनाउन सक्दो प्रयास गरिरहेकै छौं । हाम्रो उद्देश्य पाठकले आशा गरेका सामग्री यही पत्रिकामा समावेश गर्न सकियोस् भन्ने छ । यही चिन्ताकै कारण हामीले प्रत्येक पटक नयाँ सामग्री थप्दै जाने नीति लिएका छौं । विभिन्न समयमा थपिँदै गएका नयाँ स्तम्भ यसैका उदाहरण हुन् । यसपटकदेखि हामीले किशोरीहरूको चाहनालाई पनि मध्यनजर गर्दै केही पृष्ठ थप्ने निधो गरेका छौं भने स्वास्थ्यसम्बन्धी छुट्टै प्याकेज पनि ल्याएका छौं । यसबाट पाठकका केही चाहना अवश्य पूरा हुनेछन् ।
ग्रामीण महिलाका रुचि, विचार एवं गुनासालाई हामीले कसरी समावेश गर्न सकिन्छ भनेर निरन्तर चिन्तन गरिरहेका छौं । गाउँ-गाउँमा काम गरिरहेका महिलाहरूको मूल्यांकन गरी बेला-बेलामा हामीले प्राथमिकता दिने नीतिलाई निरन्तरता दिएका छौं । हामी त्यस्ता कर्मजीवीलाई नारीरूपी मञ्चमा आउन कुनै व्यवधान नभएको जानकारी गराउँछौं । वितेका सात वर्षमा भएका कतिपय कमी-कमजोरीलाई आत्मसात् गर्दै सकारात्मक सोंचका साथ अघि बढ्ने हाम्रो प्रयासलाई सबैले साथ दिनुहुनेछ भन्ने आशा पनि राखेका छौं ।
नारीलाई निरन्तर परिमार्जित गर्दै जाने क्रममा यसपटकदेखि हामीले यसलाई १ सय २० पृष्ठको बनाएका छौं । पृष्ठ वृद्धिसँगै मूल्य समायोजन गर्न यसको मूल्य रु.४० पुर्याएका छौं । आदरणीय पाठकहरूले जसरी नारीलाई विगतमा स्वागत गर्नुभयो यो परिवर्तनलाई पनि हार्दिकताका साथ स्वीकार गर्नु हुनेछ भन्ने हाम्रो आशा छ ।
अन्त्यमा हामीलाई सहयोग गर्ने तमाम शुभचिन्तकहरूप्रति धन्यवाद ज्ञापन गर्दछौं ।