के हो परिवर्तनको कारक ?
राजनीतिक दलका सभा-आन्दोलनबाहेक यति धेरै महिला एकैपटक एक ठाउँमा बिरलै देखिन्छन्। विभिन्न जिल्लाका करिब १५ सयभन्दा बढी महिला एकै ठाउँमा भेला भए छन् महिला सशक्तिकरणका लागि। बालविकास समाजद्वारा २० वर्षदेखि संचालित स्वरोजगार शिक्षा नामक नितान्त भिन्न प्रकृतिको अभियानसँग जोडिएका ८ जिल्लाका ८० समूहका महिला गत महिना राजधानीमा भेला भएका थिए। सोही अवसरमा नारीले विभिन्न जिल्लाबाट आएका परिवर्तनका ती संवाहकहरूसँग महिलाको शैक्षिक, आर्थिक एवं सामाजिक सशक्तिकरणका लागि कारक तत्व के-के रहेछन् ? भनेर जिज्ञासा राखेको थियो।
प्रस्तुति- लक्ष्मी भण्डारी थापा
सीमा गुरुङ
गाईखुर- २ कालोमाटा, गोरखा
महिला परिवर्तनको प्रमुख जड भनेको शिक्षा रहेछ त्यसपछि आयआर्जन। स्वरोजगार शिक्षा लिनुअघि कसैका अगाडि आफ्नो नाम भन्नुपर्यो भने पनि थरर्र काम छुट्ने, छोराछोरी कुटेरै तह लाग्छन् जस्तो लाग्ने, सासू-श्रीमान् वा घरका अन्य सदस्यसँग पनि रिसले झर्को-फर्को गर्ने, कसैले केही सोध्यो भने मुख लुकाएर भाग्ने काम हुन्थ्यो, छोराछोरीलाई होमवर्क गर्न पढेलेखेका मानिसकहाँ पढाइन्थ्यो। तर जब यो शिक्षामार्फत नाम लेख्न सक्ने भएँ तब विस्तारै आत्मविश्वास बढेको अनुभूति हुन थाल्यो। अहिले महिला दिदी-बहिनी मिलेर खसी पालन, केरा खेती आदि गरेर आफ्ना लागि खर्च र मासिक बचत गर्ने पैसा निकालिरहेका छौं। दुई-चार जना मानिसका अगाडि बोल्न सक्ने र दुई-चार पैसा आम्दानी गर्न सक्ने भएपछि समाज र परिवारले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ।
लक्ष्मी गोले थाक्रे महादेववेसी, धादिङ
म क पनि नपढेकी एकल महिला थिएँ। मेरा तीन सन्तान छन्। श्रीमान्को मृत्युपछि छोराछोरीको जिम्मेवारी आफ्नै काँधमा आइलाग्यो। अत्तालिएँ, रोएँ, कराएँ, अनेकौं हन्डर खाएँ। यत्तिकैमा गुजाराका लागि सानो पसल थापें। हिसाब-किताब नजान्ने हुँदा पसल बढ्ला भन्दाभन्दै घट्दै गयो। यसबीच स्वरोजगार शिक्षा ग्रहण गरिसकेपछि मेरो व्यवसाय फस्टाएको छ। अहिले त सबै अक्षर चिन्छु, हिसाब-किताब पनि आफैं गर्छु। हाम्रो उज्ज्वल भविष्य समूहमा २१ जना महिला दिदी-बहिनी छौं। मासिक बचत त छँदैछ अन्य आयमूलक तथा सामाजिक काममा पनि दायित्व बढेको छ। पहिले हेप्नेहरू अहिले नमस्कार गर्छन्। यसरी मेरा लागि समय बदलिएको छ। हाम्रो समूहले आयआर्जनका लागि बंगुरपालन सुरु गरेको छ। चारैतिरको कामले गर्दा व्यस्तता पनि बढ्दो छ। सामाजिक सम्मान मिल्दै गएको छ। महिला सशक्तिकरणका लागि शिक्षा, आँट, अर्थ सबैले समान भूमिका खेल्छन् भन्ने मेरो ठम्याइ छ।
विमला लामा
रामहिटी बौद्ध, काठमाडौं
छोराछोरी अशिक्षित र अज्ञानी हुनुमा आमाको अशिक्षा जड हो भन्ने कुरा बुझेर म स्वरोजगार शिक्षा अभियानमा लागें। यसले मलाई साक्षर हुन मात्र सघाएन, सीपमूलक तालिममार्फत सीप विकास गरी स्वरोजगार हुन ठूलो मद्दत पुर्यायो। म ४ वर्षदेखि यो शिक्षा व्यवस्थापन समितिको सदस्यका रूपमा क्रियाशील छु। पहिले कार्पेट फ्याक्ट्रीमा न्यून ज्यालामा काम गथर्ंे अहिले आफ्नै फ्याक्ट्रीमा २५ जनालाई रोजगारी दिएकी छु। हिजो आफ्नो नाम लेख्नु त परको कुरा भन्न पनि नसक्ने म आफू विभिन्न संचार माध्यममा धक फुकाएर विषयभित्र रहेर बोल्न सक्छु, हजारौं महिलाको भीडलाई आफ्ना विचारले प्रभावित तुल्याउन सक्छु। म आफ्नो अनुभवका आधारमा भन्छु-'हरेक महिलाभित्र कुनै न कुनै क्षमता हुन्छ जसलाई शिक्षाको ज्योतिले बाहिर ल्याउँछ।' त्यसैले नेपाली नारीको अवस्था बदल्नु छ भने सर्वप्रथम शिक्षामा जोड दिनुपर्छ, त्यसपछि मात्र अन्य सबै ढोका खुल्छन्।
तारा परियार र रजिना थापा
गाईखुर-२, गोरखा
पहिले-पहिले जानी नजानी कति दुव्र्यवहार सहियो। अरूलाई पनि दुव्र्यवहार गरियो होला। छोराछोरीलाई गाली गरियो, कुटपिट गरियो, त्यसै गरे उनीहरू ठूलो मान्छे हुन्छन् भन्ने लाग्थ्यो। तर होइन रहेछ उनीहरूलाई त माया गरेर सम्झाई-बुझाई फकाउनुपर्दो रहेछ जुन कुरा अहिले आएर महसुस भएको छ। मेलापात, गोठ-भकारो, घाँस, दाउरा एवं सोत्तरमा मात्र हाम्रो जिन्दगी बितेको थियो। हाम्रो संसार यति नै होला भन्ने लाग्थ्यो। केही गर्न सकिँदैन भनेर हार खाइन्थ्यो। जब हामी स्वरोजगार शिक्षामा पस्यौं तब हाम्रो जीवनमा धेरै परिवर्तन आएको छ। अहिले समूह मिलेर काममा जान्छौं जसबाट राम्रो कमाइ भएको छ। नेपाली नारीको परिवर्तनका लागि शिक्षाद्वारा अज्ञानता हटाउनु जरुरी छ।
शोभा तामाङ, रामेश्वरी बर्मा,
रामदेवी श्रेष्ठ तथा गोपिनी श्रेष्ठ
बाडेगाउँ गाविस-५ आँपचौर सिन्धुपाल्चोक
स्वरोजगार शिक्षा अभियानमा साक्षरतालगायत तालिम, गोष्ठी, आयमूलक कार्यक्रम आदिमा समेत भाग लिन अनिवार्य छ। एक अक्षर नचिनेका हामी अहिले परिवारकै नाम लेख्न सक्छौं। त्यति मात्र नभएर आज आउँदा बानेश्वर, माइतीघर, दरबार मार्ग लेखिएका बोर्ड पनि पढ्दै आइयो। हामी अत्यन्तै दुर्गम क्षेत्रका महिला हौं। सधैं चुल्हो, गाईगोठ, बनजंगल गरिरहेका हामीले आज यस्तो भेलामा आएर यसरी बोलिएला भन्ने कल्पनासम्म गरेका थिएनौं। अहिले कमलामाई बचत समूह तथा कालिकादेवी बचत समूह गरी हामी दुई समूहका प्रतिनिधि छौं। हामीले आर्थिक आम्दानीका लागि बाख्रा-कुखुरापालन गरेका छौं। यो शिक्षा पढ्न थाल्दा निकै गोता खाइयो। गाउँका सबैले बूढीहरू क्याम्पस गएर आए भनेर खिसी गर्थे। मर्ने बेलामा हरियो काँक्रो भनेर हेप्थे। अहिले तिनै मानिसहरू हाम्रो प्रगति र कमाइ देखेर लोभिएका छन्। पुरुषवादी सोच र चिन्तनका कारण महिलाहरू अगाडि बढ्न सकेका छैनन्। पुरुषले प्रेरणा दिने हो भने महिलामा केही गर्ने आँट आउँछ। त्यसका अतिरिक्त महिला सबल हुन शिक्षा, आत्मविश्वास एवं आर्थिक सशक्तिकरण चाहिँदो रहेछ।
माइली तामाङ
तलाखु गाविस-३, नुवाकोट
दुई वर्षअघिसम्म पनि मलाई आफ्ना लागि केही गर्नुपर्छ भन्ने थाहा थिएन। बोल्न डर लाग्ने, कुर्ता-सुरुवाल लगाउन लाज लाग्ने, कार्यक्रम हुँदा आफ्नो नाम भन्ने पालो आयो कि मुटु ढुक्क फुलेर आउने, थरथर काम छुट्ने, पसिना आउने, घरमा श्रीमान्लगायत परिवारका अन्य सदस्यसँग समेत आफू बिरामी नै परे पनि भन्न डर लाग्थ्यो। जब मैले यो शिक्षासँगै सोही कोर्सअन्तर्गतका विभिन्न तालिम लिएँ तब आत्मविश्वास बढ्न थाल्यो। हाम्रो चौतारी कृषक महिला समूहले हालसम्म १ लाख ११ हजार नगद बचत गरिसकेको छ। जसलाई आपत् पर्छ सुलभ ब्याजदरमा उसलाई ऋण उपलब्ध गराउँछौं ।
मञ्जु के.सी. र कमु सुनार
नल्लु गा.वि.स., ललितपुर
जब हामी अक्षर चिन्न सक्ने भयौं तब धेरै कुरामा परिवर्तन आएको छ। चुल्होचौका र गोठमा सीमित हामी स्वरोजगार शैक्षिक तालिमपछि धेरै कुरा बुझ्ने र बुझेका कुरा भन्न सक्ने भएका छौं। पहिले घरमा पाहुना आउँदा वा छोराछोरीको विद्यालय जाँदा सर-मिसलाई नमस्कार भन्न लाज लाग्थ्यो। हाम्री एउटी साथी त सरलाई नमस्कार गर्नुपर्छ भन्दा बरु सबै कुरा गर्न तयार छु नमस्कार गर्न सक्दिन भनेर भागेकी थिइन्। आज तिनै साथी अरूलाई ज्ञानका कुरा सिकाउने भएकी छिन्। हाम्रो समूहमा २१ जना महिला छौं। मासिक बचत, ऋण प्रवाहसँगै टमाटर खेती, मासु तथा अण्डा व्यवसाय गरिरहेका छौं। आम्दानी राम्रै छ। उहिले बुढेसकालमा पढेर के हुन्छ भन्ने श्रीमान् आज मसँगै यही कार्यक्रममा आउनुभएको छ। काम छल्नलाई पढ्न जान्छु भन्छे भन्ने सासू पनि बुहारीले राम्रो काम गरेकी छे भनेर
दङ्ग हुनुहुन्छ।
युवराज रोक्का
कार्यक्रम संयोजक, बालविकास समाज
संस्थापक डा. हेमाङ्ग दीक्षितद्वारा २० वर्षअघि सुरु भएको बालविकास समाजअन्तर्गतको यो कार्यक्रम ४ वर्षदेखि संचालित छ। ८ वटा समूहबाट सुरु भएको स्वरोजगार शिक्षा आज ८ जिल्लाका ८० महिला समूहसम्म पुगेको छ। शिक्षा, स्वास्थ्य एवं जनचेतनामा केन्दि्रत यो कार्यक्रमले थुप्रै महिलालाई आत्मनिर्भर बनाएको छ। यो नेपाल सरकारको साक्षरता अभियानभन्दा अझ एड्भान्स छ। किनभने त्यसमा अक्षर चिनाउने काम मात्र हुन्छ भने हामी पहिलो ६ महिना अक्षर चिनाउने, पढ्न-लेख्न सक्ने बनाउने र पछिल्लो ६ महिना तालिम, गोष्ठी, कार्यशाला, सेमिनार, सीपमूलक कार्यक्रम र तालिम आदिमा अनिवार्य सहभागी गराउँछौं। हामीले हाल कार्यक्रम संचालन गरिरहेका जिल्लाहरू श्रमिक-मजदुर बढी भएको ठाउँ भएकाले पनि हामीले ती जिल्लालाई लक्षित गरेका हौं। यसको परिणाम अत्यन्तै सकारात्मक र फलदायी देखिएकाले अब हाम्रो अभियान छिट्टै मुलुकका ७५ जिल्लामा पुग्नेछ। यसले शिक्षा सँगै आय-आर्जन र व्यवसाय वा पैसाको रोलिङ गर्न सिकाउनुका साथै बजार पहिचान र व्यवस्थापन पनि गर्छ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
तटीय मस्तीका लागि गोवा
समुद्री छालमा लुकामारी खेल्नुको आनन्द कस्तो हुन्छ ? हामी धेरैलाई... पूरा लेख »










तपाईंको प्रतिकृया