निरर्थक निर्वाचन
शाही सरकारले आगामी माघ २६ गते नगरपालिकाहरूको
निर्वाचन गर्ने घोषणा गरेको छ । र, अहिले सरकारी सञ्चार माध्यममा
चुनावी माहोल सिर्जना गर्ने हास्यास्पद विज्ञापनहरू प्रदर्शन
गरिएका छन् । प्रमुख निर्वाचन आयुक्त र केही सदावहार प्रतिगामीहरूले
देशमा चुनावै हुने हो कि झैँ अनेक हाउभाउ र अर्ती-उपदेश दिइरहेका
छन् । उनीहरू अचानक मताधिकारका प्रेमी र प्रजातन्त्रका मसिहा
बनेर तीन बित्ता उप|mेर पार्टीहरूलाई भन्दैछन्, "ल है,
चुनावमा भाग नलिनेहरू जनताबाट तिरस्कृत र बहिष्कृत हुनेछन् ।"
राजाका खेताला मन्त्रीहरूको तामझाम र फाइँफुट्टी पनि हेर्नलायक
छ । उनीहरू दलहरूलाई धम्कीको भाषामा ललकार्दै छन्, चुनावमा भाग
नलिने प्रजातन्त्रविरोधी हुन्, बहिष्कारको गफ गर्न त छुट छ तर
बहिष्कारै गर्न-गराउन खोजे भने सरकारले छाड्दै छाड्दैन । बहिष्कारका
कुरा माओवादीको लहैलहैमा लागेर गरिएको हो आदि, इत्यादि ।
यता
सडकमा आन्दोलनरत सात संसद्वादी दलहरू निर्वाचन आयोगमा दल दर्ता
गर्नसम्म पनि गएनन् । दलै दर्ता गर्दा पनि राष्ट्रिय प्रजातन्त्र
पार्टी र राष्ट्रिय जनशक्ति पार्टीले चुनावमा भाग लिने निर्णय
गरिसकेका छैनन् । विघटित संसद्का सबभन्दा ठूला पार्टीहरू नेपाली
काङ्ग्रेस र नेकपा एमालेसमेत जनमोर्चा, सद्भावना, नेमकिपा र
प्रजातान्त्रिक काङ्ग्रेसले समेत बहिष्कार गर्ने मात्रै होइन,
निर्वाचन बिथोल्ने धम्की दिएका छन् । माओवादीसँग सात दलले गरेको
१२ बुँदे सहमतिमा पनि नगरपालिका निर्वाचन हुनै नदिने उल्लेख
छ । माओवादीहरूले त निर्वाचन बिथोल्न जस्तोसुकै ध्वंस गर्ने
बताइसकेका छन् ।
निर्वाचन बहिष्कार गर्ने दलहरूको घोषणाका पछि
केही महत्त्वपूर्ण तर्कहरू छन् । अहिले देशमा ०४७ सालको संविधानको
अवधारणाअनुरूपको राजनीतिक प्रणाली विद्यमान छैन । सरकार राजाको
नियन्त्रणमा छ । पार्टीहरू सडकमा लघारिएका छन् । माओवादीकै एकपक्षीय
युद्धविरामले केही समययता हत्या-हिंसामा कमी आएको भए तापनि त्यो
सशस्त्र विद्राेह सरकारले भनेजस्तो कमजोर नबनेको मात्रै होइन,
राष्ट्रिय सङ्कट र बाह्य तटस्थताजस्तो अनुकूल परिस्थितिमा ठूलो
जवाफी कारबाही गर्ने तयारीसमेत भइरहेका सङ्केतहरू पाइएका छन्
। यसरी मुलुकमा शान्ति पनि कायम नभएको, दलहरूको सरकार नरहेको
तथा राजा, दल र माओवादीबीचका राजनीतिक द्वन्द्वहरू क्रमशः दुईपक्षीय
बन्दै गइरहेका बेला निर्वाचनको कुरा आफैँमा असान्दर्भिक मात्र
होइन, यो त सरासर मुलुकलाई सीधै युद्धस्थलतिर घिसार्ने चालबाजी
पनि हो ।
अर्को कुरा, आजको नेपाली समाजले बेहोरेका राजनीतिक
वा संवैधानिक सङ्कटको समाधान नगरपालिकाजस्ता स्थानीय विकासे
संस्थाको चुनावले दिने पनि होइन । यसका लागि त कम्तीमा संसदीय
निर्वाचन हुनैपर्छ । तर, विद्यमान राजनीतिक शक्ति सन्तुलनको
विशिष्ट स्थितिमा मुख्य राजनीतिक द्वन्द्वहरूको समाधान नगरी
संसद्को निर्वाचन पनि सम्भव छैन । त्यसरी सम्भवै भए पनि त्यसले
समस्या बल्झाउनेबाहेक केही गर्दैन । त्यसैले मुलुकलाई नगर निर्वाचनको
होइन, संविधानसभाको निर्वाचनतिर लैजानु आवश्यक छ । निर्वाचनका
नाममा आयोजना गरिने मण्डले नाचगानको कुनै औचित्य छैन ।
शान्ति
र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता |
|