कथा
कति निर्णय यस्ता हुन्छन्,
जुन गर्न सकिँदैन

रोशन थापा ँनीरव’
उपर्युक्त वाक्यांशको जालोमा ऊ यतिबेला परिरहेको
थियो । निर्णय गर्न सक्यो वा सकेन, यो पछिको कुरा । यतिबेला
केवल सोच्नु र पूरा गर्नुको अर्थले रुघाले पार्ने ग्रस्तझैँ
ऊ भएको थियो ।
अगाडि लथालिङ्ग कपडाहरू थिए, जसले घर अभ्यस्त
र बिग्रेको सङ्केत गर्दथे भने काखमा चारमहिने छोरी उँउँ गर्दै
गुनासो गरेर सम्भवतः भोक लागेको वा अप्ठ्यारो परेको सङ्केतध्वनि
उमार्दै थिई । यसबाट ऊ पूरापूर पारिवारिक हुनुको अर्थ निष्पत्ति
हुन्थ्यो ।
यतिसम्म त ठीकै हो । फेरि माथिको द्विविधाको
अर्थ के हो त मित्रवर ? प्रश्नसँगै उसको अनुहार हेरौँ । अनुहारमा
दारी सानोतिनो जङ्गलको सम्झना वा सोसरहको विम्ब उमार्ने खालको
देखिन्थ्यो । ओठ कृष्णभीरको सुक्खा माटोजस्तो थियो । आँखाको
उपमा खोज्न कहाँ जाने ? कथाकार असमञ्जसमा छ किनभने आँखा सुकेको
पोखरी त नभनौँ, पोखरीको डीलजस्तो बाँझो थियो तर मुटु भने...?
पूरापूर आँधी आउने सङ्केतको भान पर्दै थियो
। यहाँ पनि प्रश्नको धरहरा उभिन सक्छ । किन त ? उत्तरमा दृश्यहरू
उभिएका देखिए ।
दृश्य १ ः उसले प्रजातन्त्र आएको समयमा नोकरी
खाएको थियो ।
उपदृश्य ः त्यहीबेला उसको प्रेम भएको थियो
। यो २०४६ को उत्तरार्धको कुरा हो ।
दृश्य २ ः हुन त ऊ काममा जति इमानदार र लगनशील
थियो, त्यति उसले काम गर्ने कार्यालय सुशासनमा थिएन । दुष्ट,
रुष्ट, भ्रष्ट र कष्ट वा सोसरहका अनेक नष्टकारीहरूको षड्यन्त्रले
ग्रस्त थियो ।
उपदृश्य ः जसरी देश प्रजातन्त्रमा धरमर देखियो,
त्यसरी नै प्रेमिका पनि प्रेममा होइन, धनमा डगमग र चञ्चल देखा
परी ।
दृश्य ३ ः प्रजातन्त्रको मध्यमा देश जसरी बिगि्रयो,
त्यसको कुख्यात छाप सरुवा रोगझैँ उसको कार्यालयमा पनि सर्यो
र आफूलाई प्रख्यात प्रजातन्त्रवादी भन्नेले उसको इमानमा गुणस्तर
छाप होइन, लान्छनाको स्ट्याम्प लगायो । फलतः ऊ मर्माहत बन्न
बाध्य भयो ।
उपदृश्य ः प्रेमिका पनि किन हो, टाढा भइन्
। भेट हुन छोड्यो ।
दृश्य
४ ः कार्यालय जातीयवादले ओतप्रोत खोर बन्यो । ऊ त्यसमा निरीह
र निहत्था भएर खेलाडीका हातको भलिबल बन्यो । कहिले एउटाले हान्ने,
कहिले अर्काले हान्ने गरेर थङ्थिलो भयो । हान्नेको अर्थ यहाँ
उसको इमानमा लान्छना लगाइएको हो भन्ने ठानियोस् ।
उपदृश्य ः प्रेमिकाको कुनै धनाढ्य वृद्धसँग
बिहे भएको कुरा बाजाको ध्वनि फैलिएसरि फैलिएर वा गुन्जिएर उसको
कानसम आइपुग्यो ।
दृश्य ५ ः प्रजातन्त्रको उत्तरार्धमा केही
कार्यालयीय षड्यन्त्रकारीको डोरीमा उसको इमान कसियो भने ऊ नोकरीबाट
निकालियो । ऊ नोकरीमुक्त भयो ।
उपदृश्य ः अन्ततः ऊ प्रेमबाट पनि मुक्त भयो
।
पूर्ण दृश्य ः प्रेमको त होइन । नोकरी छोडेको
दिनमा ऊ निकै हलुको भयो । ठूलो भारी, ठूलो झन्झटबाट मुक्त भएसरि
। दोस्रो दिन सामान्य रह्यो तर तेस्रो दिन त्रसित हुन थाल्यो
। कारण, बढ्दो उमेर र बेरोजगारी । चौथो दिन घरको भित्ताले पनि
धपाउन थाल्यो । ऊ प्रेमिका बिर्सेर नोकरी खोज्न जोडतोडका साथ
अग्रसर देखियो ।
यसरी प्रेमबिछोडचाहिँ उसको विगतको कुरा भयो
भने बेरोजगारीचाहिँ वर्तमानकै कुरा बनिरह्यो अर्थात् ऊ रोजगारहीन
थियो । त्यतिबेलासम्म अर्थात् नोकरी र प्रेमबाट बिछोड भएर हिँडेको
ऊ बहुला त होइन, बेरोजगारीचाहिँ भइरह्यो । अनि, यस्तो अवस्थामा
पनि नोकरी त पाइएन, पाइएन- बरु उसको बिहेको कुरा भने जोडतोडले
प्राप्त हुने गरी चलिरह्यो । अन्ततः उसले पनि बिहे गर्यो किनभने
नोकरी नपाउनेले बिहे गर्न पाइँदैन भन्ने कुनै कानुन यद्यपि छैन
तर उसको त्यो बिहेपूर्ण जीवनचाहिँ एक महिनासम्म मात्रै सरस देखियो
। दोस्रो महिनामा निरस बन्न थाल्यो । तेस्रो महिनामा त पूरै
तिक्त भयो । कारण, अरू होइन, आमनेपालीको निम्नमध्यम पारिवारिक
स्थितिजस्तै भएर घरमा कलहकी बीउ उमि्रनाले ।
पारिवारिक हुनुको यथार्थ र तिक्तता बोक्ताबोक्तै
ऊ एउटी छोरीको पिता पनि बन्यो तर पनि रोजगारीयुक्त नागरिकचाहिँ
हुन सकेन ।
आश्वासन र सल्लाहको खात त नववर्षको शुभकामनापत्रजस्तै
प्राप्त थियो तर काम भने.. ?
ऊ निरास यद्यपि थिएन ।
सङ्घर्ष नै जीवन हो ! कसैको महान् वाणी बोकेर
ऊ दौडन्थ्यो सङ्घर्ष गर्न अर्थात् नोकरी खोज्न ।
कथा, कविता लेख्थ्यो । आफूलाई साहित्यिक भन्थ्यो
र साहित्यिक हुनुको फल वा पीडा पनि भोग्दै थियो बेकारी भएर तर
पनि साहित्य लेखेर धेरै त होइन, दुई-चार रुपियाँ हात लाग्थ्यो
। त्यसैबाट ऊ खल्तीखर्च चलाउँथ्यो । घर भने परिवार र श्रीमतीले
चलाउँदै थिए, देशको सत्ता अनेक दलले चलाउँदा जस्तो भयो देश,
त्यस्तै थियो उसको घर पनि । गर्ने के ?
यहीँनिर आउँछ मोड, निर्णयको ।
रातदिनको कलहले घरमा डेरा जमाउन थालेको थियो
। यो कलह आर्थिक अभावले मात्र होइन, अहम्ले पनि उत्पत्ति भएको
हो, यो उसको सोचाइ थियो ।
त्यसै त आफू बेरोजगार, त्यसमाथि घर झन् अरिङ्गालको
होइन, कचिङ्गलको गोला । मथिङ्गल खिइनलाई यति नै पर्याप्त छ ।
ऊ तैपनि बीचमा थियो, न परिवार छोड्न सक्थ्यो, न श्रीमती छोड्न
मिल्ने । बीचमा भर्खरकी छोरी जुन थिई, त्यसले बाँच्ने प्रेरणा
त प्राप्त हुन्थ्यो । अन्यथा के छ र देशमा ? प्रश्न गर्दै कमजोर
कतिपय आत्मा आत्महत्या गर्दथे भने कतिपयचाहिँ भाँडा माझ्न विदेश
भाग्दथे । यस्तो दृश्य देशमा सुपरहिटका साथै चल्दै थियो भने
सुपरफ्लपका साथ घरमा पारिवारिक द्वन्द्वात्मक भौतिकवाद चल्दै
थियो ।
यस स्थितिमा उसलाई पनि लाग्दथ्यो- जाऊँ साले,
यस्तो घृणित नश्वर संसार त्यागेर ब्रह्ममा लीन हुन अर्थात् आत्महत्या
गर्न मन लाग्थ्यो । पढेलेखेको शिक्षित थियो ऊ । आत्महत्यामा
हत्यालाई पन्छाएर आत्मलाई चाहिँ सान्त्वना दिन्थ्यो । त्यसका
लागि थुप्रै दर्शनवादी चिन्तकहरूका महान् चिन्तनहरू थुपारेर
बोक्तथ्यो । सान्त्वनाको लेपन दल्न । यद्यपि, यसमा मूल अर्थतात्विक
दर्शन भने कतैनकतै मानिसभित्र एउटा कमजोर मानिसले बास बसेको
हुन्छ र त्यसले जहिले पनि डर फैलाएर जित्छ । हो, त्यही मानिसले
जितेर नै हो उसले आत्महत्या गर्न नसकेको । अर्को रमाइलो पक्ष्ा
के पनि थियो भने जबजब ऊ आत्महत्या गर्ने मुड बनाउँथ्यो वा इच्छा
उमाथ्र्यो, तबतब परिवार आँधीपछिको सामुदि्रक शान्त लहरझैँ एकदमसँग
मिलेर बसेको देखिन्थ्यो । परिवार भन्नाले श्रीमती र आमाबाउ,
भाइबहिनीको समूह हो । श्रीमती एकातिर, आमाबाउ, भाइबहिनी अर्कोतिर
। बीचमा ऊ । एउटा दुःखी आत्मा बोकेको पात्र । द्वन्द्व- श्रीमती
अलि एकलकाँटे, कसैलाई नमान्ने र अहम्को घ्याम्पो भएर बढी हो
भने अर्को समूहचाहिँ सधैँ गुनासोबद्ध र कति सहेर बस्ने भन्ने
प्रश्न लिएर बस्नाले हो ।
यस्तो पारिवारिक-सामाजिक चलचित्रको नायक ऊ
बनेको थियो भने अर्को स्थितिमा अनायकचाहिँ ऊ बेरोजगार भएर देखिन्थ्यो
। जीवन सोचेजस्तो होइन- देश, परिवार र नियतिले ग्रसित भएर चलिरहेको
थियो ।
यी दुई पाटामा पिस्तापिस्ता उसले धेरै निर्णय
लियो ।
निर्णय १ ः घर छोडेर भाग्ने ।
निर्णय २ ः भागेर विदेश जाने वा जोगी बन्ने
।
निर्णय ३ ः जोगी बन्नु उपयुक्त थियो किनभने
विदेश जान भिसा चाहिन्थ्यो भने भिसा लिन रुपियाँ ।
निर्णय ४ ः माथिका निर्णय केही पूरा नभएपछि
भिसाको सट्टा घरमै बसेर आफ्नी छोरीको दिसा पखाल्न थाल्यो भने
रुपियाँको सट्टा उपियाँले टोक्न थाल्यो ।
निर्णय ५ ः अन्ततः यसबाट पनि पार नलागेपछि
फेरिफेरिको प्रयास पुनरावृत्ति गरेर आत्महत्या गर्ने मन गर्यो
र सुसाइट नोट अर्थात् आत्महत्याको कागते पृष्ठ लेख्न थाल्यो
।
पूर्ण निर्णय ः यो निर्णय यस कठोर, निर्दयी
देशमा आफू बेकारी, बिग्रेको पारिवारिक सम्बन्ध र निरीह एवम्
निहत्था भएर गरिएको हो ।
यस्तो सुसाइट नोट लेखेपछि उसले विश्वव्यापी
चेतनालाई सम्झन थाल्यो । आफ्ना कथालाई सम्झन थाल्यो । आफ्ना
पात्रलाई सम्झन थाल्यो । आफ्नी प्र्रेमिकालाई सम्झन थाल्यो ।
आफ्नो देशलाई सम्झन थाल्यो । धेरैलाई सम्झन थाल्यो । बिर्सेको
कुरालाई सम्झन थाल्यो । यी सबै सम्झना लिन ऊ बिहानै घरबाट निस्केको
थियो । घुम्दा-घुम्दै ऊ एउटा ठाउँमा पुग्यो, जहाँ ऊ बाल्यकालदेखि
नै जान चाहन्थ्यो अर्थात् ऊ यस्तो ठाउँमा गएर मर्न चाहन्थ्यो,
जहाँ ऊ कहिल्यै गएको नहोस् र जहाँ जीवनमा एकपल्ट मात्र पुगेको
होस् । जीवनको अन्तिम चरणमा नै भनौँ, मर्नलाई । देश त के गथ्र्यो
कुन्नि, साथीभाइ उसको यस्तो कुरामा ठट्टा गरेर रमाइलो मान्थे
। ऊ सोच्थ्यो- सालेहरूलाई परेको भए पो थाहा लाग्थ्यो, मान्छे
किन आत्महत्या गर्न तम्सन्छन् ?
त्यो अन्तिम चरण भनेको आजैको दिन जस्तो अर्थात्
आत्महत्या गर्न हिँडेको दिन र त्यो ठाउँ भनेको पहाडको चुचुरो,
जहाँ बादलैबादल घेरिएको होस् ।
त्यस्तो ठाउँमा ऊ आज पुग्यो, एक्लै । उसले
त्यस ठाउँमा पुगेर आफ्नो सुसाइट नोटमा यो वाक्यांश पनि थप्यो-
संसार क्ष्ाणभङ्गुर होइन, मान्छेको जीवन क्षणभङ्गुर हो । मान्छे
प्रकृतिको देन हो भने एक दिन ऊ प्रकृतिमै विलीन हुनैपर्छ, जस्तो
आज म हुँदैछु । दोष कसैलाई नदिइयोस्- न देशलाई, न कार्यालयका
षड्यन्त्रकारीहरूलाई, न दुष्ट र रुष्ट भएका मित्रहरूलाई, न परिवारलाई,
न प्रेमिकालाई, न प्राप्त सान्त्वना मात्रलाई, न बेकारी स्थितिलाई
।
यसपछि खल्तीबाट दुइटा वस्तु निकालेर अगाडि
राख्यो । एउटा धारिलो चक्कु, अर्को कलम । अनि, ती दुवै वस्तुलाई
उसले कम्तीमा पनि एक घण्टाका दरले हेरिरह्यो । कहिले जित्ने
हो ? निर्णय गर्न नसकेर उसले आँखा चिम्लियो । आँखा चिम्लेरै
विस्तारै हात बढायो, ती दुई वस्तुमध्ये एकलाई समात्न र समात्यो
एउटा वस्तु । आँखा खोलेर हेर्यो । अनि दङ्ग पर्यो किनभने त्यस
हातमा कलम परेको थियो । उसको मनमा कता हो कता एउटा झन्झट, एउटा
बोझ हटेझैँ अनुभव भयो । यहाँ पनि मर्नुको डरले जित्यो । बाँच्नुको
प्रेरणाले बचायो । अनि, एकक्षण पनि खर्च नगरेर त्यो कलमले आफ्नो
सुसाइट नोटमा अर्को वाक्यांश थप्न थाल्यो- मान्छेले कतिपय निर्णय
चाहेर पनि लिन वा गर्न सक्तैन । त्यस्ता कतिपय निर्णय नै यस्ता
हुन्छन्, जुन गर्नै सकिँदैन । त्यस्तोमा म परँे । मैले मृत्युलाई
जितेँ । कारण, म आत्महत्याको विम्बमा पुग्न खोज्दा मैले आफ्नी
सानी छोरीको अबोध मुस्कानले छेकेको पाएँ र त्यो नै मेरो यथार्थमा
बोधिसत्त्व सावित भयो । यसैले म फर्केर आएँ र यस घृणित संसारमा
अझै सङ्घर्ष गर्न तयार छु ।
यति लेखेर ऊ घर फर्कियो । हतारले नै भनौँ ।
हिँड्दा बाटोमा एउटा निर्णयचाहिँ उसले गर्यो, त्यो के भने आफ्नो
त्यो सुसाइट नोटलाई कथा बनाएर छाप्नेछ तर महोदय, त्यो कथा यो
होइन, भविष्यमा कुनै अन्य तरिकारले छापिनेछ । यो निर्णयचाहिँ
पक्का भयो । ल
जन्म ः २०२४ असोज ४, ज्ञानेश्वर, कालोपुल
शिक्षा ः एमए
प्रकाशित कृति ः दुई
सिर्जनाको प्रमुख विधा ः कथा
पुरस्कृत ः राष्ट्रिय कविता महोत्सव, नवकविता
सम्मान, मैनाली स्मृति कथा प्रतियोगिता
|