Untitled Document
Kathmandu, Sunday, Dec 25, 2005 (Poush 10, 2062)
Untitled Document
  नेपाल
  सम्पादकीय
  सोझै
  आँखीझ्याल
  पाठकको पत्र
  अलगधार
  आउट अफ प|mेम
  विचार
  प्रहरी
  छोटकरी
  आवरण
  अर्थ/वाणिज्य
  महिला
  लुटपाट
  खेलकुद
  जीवनशैली
  पुस्तक
  समय रेखा
  साहित्य
  कला
  इन्द्रेणी
  नोटबुक
 
   साहित्य

कथा

कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन


रोशन थापा ँनीरव’

उपर्युक्त वाक्यांशको जालोमा ऊ यतिबेला परिरहेको थियो । निर्णय गर्न सक्यो वा सकेन, यो पछिको कुरा । यतिबेला केवल सोच्नु र पूरा गर्नुको अर्थले रुघाले पार्ने ग्रस्तझैँ ऊ भएको थियो ।

अगाडि लथालिङ्ग कपडाहरू थिए, जसले घर अभ्यस्त र बिग्रेको सङ्केत गर्दथे भने काखमा चारमहिने छोरी उँउँ गर्दै गुनासो गरेर सम्भवतः भोक लागेको वा अप्ठ्यारो परेको सङ्केतध्वनि उमार्दै थिई । यसबाट ऊ पूरापूर पारिवारिक हुनुको अर्थ निष्पत्ति हुन्थ्यो ।

यतिसम्म त ठीकै हो । फेरि माथिको द्विविधाको अर्थ के हो त मित्रवर ? प्रश्नसँगै उसको अनुहार हेरौँ । अनुहारमा दारी सानोतिनो जङ्गलको सम्झना वा सोसरहको विम्ब उमार्ने खालको देखिन्थ्यो । ओठ कृष्णभीरको सुक्खा माटोजस्तो थियो । आँखाको उपमा खोज्न कहाँ जाने ? कथाकार असमञ्जसमा छ किनभने आँखा सुकेको पोखरी त नभनौँ, पोखरीको डीलजस्तो बाँझो थियो तर मुटु भने...?

पूरापूर आँधी आउने सङ्केतको भान पर्दै थियो  । यहाँ पनि प्रश्नको धरहरा उभिन सक्छ । किन त ? उत्तरमा दृश्यहरू उभिएका देखिए ।

दृश्य १ ः उसले प्रजातन्त्र आएको समयमा नोकरी खाएको थियो ।

उपदृश्य ः त्यहीबेला उसको प्रेम भएको थियो  । यो २०४६ को उत्तरार्धको कुरा हो ।

दृश्य २ ः हुन त ऊ काममा जति इमानदार र लगनशील थियो, त्यति उसले काम गर्ने कार्यालय सुशासनमा थिएन । दुष्ट, रुष्ट, भ्रष्ट र कष्ट वा सोसरहका अनेक नष्टकारीहरूको षड्यन्त्रले ग्रस्त थियो ।

उपदृश्य ः जसरी देश प्रजातन्त्रमा धरमर देखियो, त्यसरी नै प्रेमिका पनि प्रेममा होइन, धनमा डगमग र चञ्चल देखा परी ।

दृश्य ३ ः प्रजातन्त्रको मध्यमा देश जसरी बिगि्रयो, त्यसको कुख्यात छाप सरुवा रोगझैँ उसको कार्यालयमा पनि सर्‍यो र आफूलाई प्रख्यात प्रजातन्त्रवादी भन्नेले उसको इमानमा गुणस्तर छाप होइन, लान्छनाको स्ट्याम्प लगायो । फलतः ऊ मर्माहत बन्न बाध्य भयो ।

उपदृश्य ः प्रेमिका पनि किन हो, टाढा भइन्  । भेट हुन छोड्यो ।

दृश्य ४ ः कार्यालय जातीयवादले ओतप्रोत खोर बन्यो । ऊ त्यसमा निरीह र निहत्था भएर खेलाडीका हातको भलिबल बन्यो । कहिले एउटाले हान्ने, कहिले अर्काले हान्ने गरेर थङ्थिलो भयो । हान्नेको अर्थ यहाँ उसको इमानमा लान्छना लगाइएको हो भन्ने ठानियोस् ।

उपदृश्य ः प्रेमिकाको कुनै धनाढ्य वृद्धसँग बिहे भएको कुरा बाजाको ध्वनि फैलिएसरि फैलिएर वा गुन्जिएर उसको कानसम आइपुग्यो ।

दृश्य ५ ः प्रजातन्त्रको उत्तरार्धमा केही कार्यालयीय षड्यन्त्रकारीको डोरीमा उसको इमान कसियो भने ऊ नोकरीबाट निकालियो । ऊ नोकरीमुक्त भयो ।

उपदृश्य ः अन्ततः ऊ प्रेमबाट पनि मुक्त भयो  ।

पूर्ण दृश्य ः प्रेमको त होइन । नोकरी छोडेको दिनमा ऊ निकै हलुको भयो । ठूलो भारी, ठूलो झन्झटबाट मुक्त भएसरि  । दोस्रो दिन सामान्य रह्यो तर तेस्रो दिन त्रसित हुन थाल्यो  । कारण, बढ्दो उमेर र बेरोजगारी । चौथो दिन घरको भित्ताले पनि धपाउन थाल्यो । ऊ प्रेमिका बिर्सेर नोकरी खोज्न जोडतोडका साथ अग्रसर देखियो ।

यसरी प्रेमबिछोडचाहिँ उसको विगतको कुरा भयो भने बेरोजगारीचाहिँ वर्तमानकै कुरा बनिरह्यो अर्थात् ऊ रोजगारहीन थियो । त्यतिबेलासम्म अर्थात् नोकरी र प्रेमबाट बिछोड भएर हिँडेको ऊ बहुला त होइन, बेरोजगारीचाहिँ भइरह्यो । अनि, यस्तो अवस्थामा पनि नोकरी त पाइएन, पाइएन- बरु उसको बिहेको कुरा भने जोडतोडले प्राप्त हुने गरी चलिरह्यो । अन्ततः उसले पनि बिहे गर्‍यो किनभने नोकरी नपाउनेले बिहे गर्न पाइँदैन भन्ने कुनै कानुन यद्यपि छैन तर उसको त्यो बिहेपूर्ण जीवनचाहिँ एक महिनासम्म मात्रै सरस देखियो  । दोस्रो महिनामा निरस बन्न थाल्यो । तेस्रो महिनामा त पूरै तिक्त भयो । कारण, अरू होइन, आमनेपालीको निम्नमध्यम पारिवारिक स्थितिजस्तै भएर घरमा कलहकी बीउ उमि्रनाले ।

पारिवारिक हुनुको यथार्थ र तिक्तता बोक्ताबोक्तै ऊ एउटी छोरीको पिता पनि बन्यो तर पनि रोजगारीयुक्त नागरिकचाहिँ हुन सकेन ।

आश्वासन र सल्लाहको खात त नववर्षको शुभकामनापत्रजस्तै प्राप्त थियो तर काम भने.. ?

ऊ निरास यद्यपि थिएन ।

सङ्घर्ष नै जीवन हो ! कसैको महान् वाणी बोकेर ऊ दौडन्थ्यो सङ्घर्ष गर्न अर्थात् नोकरी खोज्न ।

कथा, कविता लेख्थ्यो । आफूलाई साहित्यिक भन्थ्यो र साहित्यिक हुनुको फल वा पीडा पनि भोग्दै थियो बेकारी भएर तर पनि साहित्य लेखेर धेरै त होइन, दुई-चार रुपियाँ हात लाग्थ्यो  । त्यसैबाट ऊ खल्तीखर्च चलाउँथ्यो । घर भने परिवार र श्रीमतीले चलाउँदै थिए, देशको सत्ता अनेक दलले चलाउँदा जस्तो भयो देश, त्यस्तै थियो उसको घर पनि । गर्ने के ?

यहीँनिर आउँछ मोड, निर्णयको ।

रातदिनको कलहले घरमा डेरा जमाउन थालेको थियो  । यो कलह आर्थिक अभावले मात्र होइन, अहम्ले पनि उत्पत्ति भएको हो, यो उसको सोचाइ थियो ।

त्यसै त आफू बेरोजगार, त्यसमाथि घर झन् अरिङ्गालको होइन, कचिङ्गलको गोला । मथिङ्गल खिइनलाई यति नै पर्याप्त छ । ऊ तैपनि बीचमा थियो, न परिवार छोड्न सक्थ्यो, न श्रीमती छोड्न मिल्ने । बीचमा भर्खरकी छोरी जुन थिई, त्यसले बाँच्ने प्रेरणा त प्राप्त हुन्थ्यो । अन्यथा के छ र देशमा ? प्रश्न गर्दै कमजोर कतिपय आत्मा आत्महत्या गर्दथे भने कतिपयचाहिँ भाँडा माझ्न विदेश भाग्दथे । यस्तो दृश्य देशमा सुपरहिटका साथै चल्दै थियो भने सुपरफ्लपका साथ घरमा पारिवारिक द्वन्द्वात्मक भौतिकवाद चल्दै थियो ।

यस स्थितिमा उसलाई पनि लाग्दथ्यो- जाऊँ साले, यस्तो घृणित नश्वर संसार त्यागेर ब्रह्ममा लीन हुन अर्थात् आत्महत्या गर्न मन लाग्थ्यो । पढेलेखेको शिक्षित थियो ऊ । आत्महत्यामा हत्यालाई पन्छाएर आत्मलाई चाहिँ सान्त्वना दिन्थ्यो । त्यसका लागि थुप्रै दर्शनवादी चिन्तकहरूका महान् चिन्तनहरू थुपारेर बोक्तथ्यो । सान्त्वनाको लेपन दल्न । यद्यपि, यसमा मूल अर्थतात्विक दर्शन भने कतैनकतै मानिसभित्र एउटा कमजोर मानिसले बास बसेको हुन्छ र त्यसले जहिले पनि डर फैलाएर जित्छ । हो, त्यही मानिसले जितेर नै हो उसले आत्महत्या गर्न नसकेको । अर्को रमाइलो पक्ष्ा के पनि थियो भने जबजब ऊ आत्महत्या गर्ने मुड बनाउँथ्यो वा इच्छा उमाथ्र्यो, तबतब परिवार आँधीपछिको सामुदि्रक शान्त लहरझैँ एकदमसँग मिलेर बसेको देखिन्थ्यो । परिवार भन्नाले श्रीमती र आमाबाउ, भाइबहिनीको समूह हो । श्रीमती एकातिर, आमाबाउ, भाइबहिनी अर्कोतिर  । बीचमा ऊ । एउटा दुःखी आत्मा बोकेको पात्र । द्वन्द्व- श्रीमती अलि एकलकाँटे, कसैलाई नमान्ने र अहम्को घ्याम्पो भएर बढी हो भने अर्को समूहचाहिँ सधैँ गुनासोबद्ध र कति सहेर बस्ने भन्ने प्रश्न लिएर बस्नाले हो ।

यस्तो पारिवारिक-सामाजिक चलचित्रको नायक ऊ बनेको थियो भने अर्को स्थितिमा अनायकचाहिँ ऊ बेरोजगार भएर देखिन्थ्यो  । जीवन सोचेजस्तो होइन- देश, परिवार र नियतिले ग्रसित भएर चलिरहेको थियो ।

यी दुई पाटामा पिस्तापिस्ता उसले धेरै निर्णय लियो ।

निर्णय १ ः घर छोडेर भाग्ने ।

निर्णय २ ः भागेर विदेश जाने वा जोगी बन्ने  ।

निर्णय ३ ः जोगी बन्नु उपयुक्त थियो किनभने विदेश जान भिसा चाहिन्थ्यो भने भिसा लिन रुपियाँ ।

निर्णय ४ ः माथिका निर्णय केही पूरा नभएपछि भिसाको सट्टा घरमै बसेर आफ्नी छोरीको दिसा पखाल्न थाल्यो भने रुपियाँको सट्टा उपियाँले टोक्न थाल्यो ।

निर्णय ५ ः अन्ततः यसबाट पनि पार नलागेपछि फेरिफेरिको प्रयास पुनरावृत्ति गरेर आत्महत्या गर्ने मन गर्‍यो र सुसाइट नोट अर्थात् आत्महत्याको कागते पृष्ठ लेख्न थाल्यो  ।

पूर्ण निर्णय ः यो निर्णय यस कठोर, निर्दयी देशमा आफू बेकारी, बिग्रेको पारिवारिक सम्बन्ध र निरीह एवम् निहत्था भएर गरिएको हो ।

यस्तो सुसाइट नोट लेखेपछि उसले विश्वव्यापी चेतनालाई सम्झन थाल्यो । आफ्ना कथालाई सम्झन थाल्यो । आफ्ना पात्रलाई सम्झन थाल्यो । आफ्नी प्र्रेमिकालाई सम्झन थाल्यो । आफ्नो देशलाई सम्झन थाल्यो । धेरैलाई सम्झन थाल्यो । बिर्सेको कुरालाई सम्झन थाल्यो । यी सबै सम्झना लिन ऊ बिहानै घरबाट निस्केको थियो । घुम्दा-घुम्दै ऊ एउटा ठाउँमा पुग्यो, जहाँ ऊ बाल्यकालदेखि नै जान चाहन्थ्यो अर्थात् ऊ यस्तो ठाउँमा गएर मर्न चाहन्थ्यो, जहाँ ऊ कहिल्यै गएको नहोस् र जहाँ जीवनमा एकपल्ट मात्र पुगेको होस् । जीवनको अन्तिम चरणमा नै भनौँ, मर्नलाई । देश त के गथ्र्यो कुन्नि, साथीभाइ उसको यस्तो कुरामा ठट्टा गरेर रमाइलो मान्थे  । ऊ सोच्थ्यो- सालेहरूलाई परेको भए पो थाहा लाग्थ्यो, मान्छे किन आत्महत्या गर्न तम्सन्छन् ?

त्यो अन्तिम चरण भनेको आजैको दिन जस्तो अर्थात् आत्महत्या गर्न हिँडेको दिन र त्यो ठाउँ भनेको पहाडको चुचुरो, जहाँ बादलैबादल घेरिएको होस् ।

त्यस्तो ठाउँमा ऊ आज पुग्यो, एक्लै । उसले त्यस ठाउँमा पुगेर आफ्नो सुसाइट नोटमा यो वाक्यांश पनि थप्यो- संसार क्ष्ाणभङ्गुर होइन, मान्छेको जीवन क्षणभङ्गुर हो । मान्छे प्रकृतिको देन हो भने एक दिन ऊ प्रकृतिमै विलीन हुनैपर्छ, जस्तो आज म हुँदैछु । दोष कसैलाई नदिइयोस्- न देशलाई, न कार्यालयका षड्यन्त्रकारीहरूलाई, न दुष्ट र रुष्ट भएका मित्रहरूलाई, न परिवारलाई, न प्रेमिकालाई, न प्राप्त सान्त्वना मात्रलाई, न बेकारी स्थितिलाई  ।

यसपछि खल्तीबाट दुइटा वस्तु निकालेर अगाडि राख्यो । एउटा धारिलो चक्कु, अर्को कलम । अनि, ती दुवै वस्तुलाई उसले कम्तीमा पनि एक घण्टाका दरले हेरिरह्यो । कहिले जित्ने हो ? निर्णय गर्न नसकेर उसले आँखा चिम्लियो । आँखा चिम्लेरै विस्तारै हात बढायो, ती दुई वस्तुमध्ये एकलाई समात्न र समात्यो एउटा वस्तु । आँखा खोलेर हेर्‍यो । अनि दङ्ग पर्‍यो किनभने त्यस हातमा कलम परेको थियो । उसको मनमा कता हो कता एउटा झन्झट, एउटा बोझ हटेझैँ अनुभव भयो । यहाँ पनि मर्नुको डरले जित्यो । बाँच्नुको प्रेरणाले बचायो । अनि, एकक्षण पनि खर्च नगरेर त्यो कलमले आफ्नो सुसाइट नोटमा अर्को वाक्यांश थप्न थाल्यो- मान्छेले कतिपय निर्णय चाहेर पनि लिन वा गर्न सक्तैन । त्यस्ता कतिपय निर्णय नै यस्ता हुन्छन्, जुन गर्नै सकिँदैन । त्यस्तोमा म परँे । मैले मृत्युलाई जितेँ । कारण, म आत्महत्याको विम्बमा पुग्न खोज्दा मैले आफ्नी सानी छोरीको अबोध मुस्कानले छेकेको पाएँ र त्यो नै मेरो यथार्थमा बोधिसत्त्व सावित भयो । यसैले म फर्केर आएँ र यस घृणित संसारमा अझै सङ्घर्ष गर्न तयार छु ।

यति लेखेर ऊ घर फर्कियो । हतारले नै भनौँ । हिँड्दा बाटोमा एउटा निर्णयचाहिँ उसले गर्‍यो, त्यो के भने आफ्नो त्यो सुसाइट नोटलाई कथा बनाएर छाप्नेछ तर महोदय, त्यो कथा यो होइन, भविष्यमा कुनै अन्य तरिकारले छापिनेछ । यो निर्णयचाहिँ पक्का भयो । ल

जन्म ः २०२४ असोज ४, ज्ञानेश्वर, कालोपुल

शिक्षा ः एमए

प्रकाशित कृति ः दुई

सिर्जनाको प्रमुख विधा ः कथा

पुरस्कृत ः राष्ट्रिय कविता महोत्सव, नवकविता सम्मान, मैनाली स्मृति कथा प्रतियोगिता
   

कविता

स्ट्याचु अफ लिबर्टी र म


गोपाल पराजुली

जन्म ः २००४ पुस, कोटेश्वर, काठमाडौँ
शिक्षा ः एमएसम्म
सम्मान/पुरस्कार ः साझा पुरस्कार, गोपालप्रसाद रिमालसम्मान, आईएनएलएफ बेस्ट बुक एवार्ड, वासिङ्टन डीसी, अमेरिका
प्रकाशित कृति ः दुई कथा, दुई नाटक, छ काव्य
सिर्जनाका प्रमुख विधा ः काव्य, कथा र नाटक

मेरो आस्थाको बन्दी तिमीलाई

सुरक्षा क्यामरामा राख्न

प्रत्यक्ष रूपमा जिम्मेवार म

तिमीप्रति समर्पित स्मारक

भत्काऊँ कि

अनावरण गरूँ

अहिले धर्मसङ्कटमा छु

युद्धको क्रूरतम निणर्ायक भूमिअगाडि

शान्तिका प्रज्वलित अनन्त ज्योतिअगाडि

तिमीलाई हेर्ने मेरो इच्छा

जारी राखौँ कि

यो स्वार्थीहरूको संसारलाई

छिन्नभिन्न पारेर

यो संसारबाट

बाहिर निस्कौँ

अनिर्णयको बन्दी भएको छु

यस बेला

तिमीले हेर्ने गरेको काठमाडौँ

वासिङ्टन

र स्ट्याचु अफ लिबर्टी मैले लिएको छु

अगाडि आउनेहरू यो निर्णयको विरोधमा छन्

तिम्रो विचारको सुरक्षा गरिरहेको मलाई

तनाउमा तीव्रता आएको

हेर्न गाह्रो परिरहेको छ

युद्ध माग्नेहरू

संसारको जानकारी बदल्न खोजिरहेका छन्

म पनि यो संसार

बदल्न खोजिरहेछु

र, ठूलो परिवर्तनलाई पर्खेर

अज्ञात व्यक्ति दृश्यमा आउनेछन् भनेर

हेरिरहेको छु

संसार झूटो बोलिरहेको छ

सत्य कुन हो भन्ने कुराको

एउटै जवाफ कुनैसित छैन

मैले जाहेर गरेको प्रतिवेदन

जस्तोसुकै भए पनि

मिसिसिपी र गण्डकीका छालहरू

छातीमा उठाएर

तिम्रो र मेरो मैत्रीको सर्त स्वीकृत गर्न

र, तिमी र म

स्वतन्त्र भएको कुरा घोषणा गर्न

संसारको सबभन्दा ठूलो

प्रजातान्त्रिक देशमा आएर

तिम्रो अगाडि उभिएको छु

यस बेला

तिमीलाई र मलाई विभाजित गर्ने विषय

मान्छे हुन सक्तैन

जसले यो समाचार छाप्न रोक लगाए पनि

तिमीलाई एउटा असाधारण अवसर प्राप्त छ

मलाई पनि

तिमी एक्काइसौँ शताब्दीको सन्देश प्रसारण गर

म तिमीप्रतिको मेरो सम्बन्धमा

कुनै परिवर्तन नहुने

घोषणा गर्छु ।

-प्रस्तुत कविता पराजुलीद्वारा हालै न्युयोर्कमा नेपाली कार्यक्रममा वाचन गरिएको थियो ।)
   


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Kantipur Online