| समीक्षा
ईश्वरी ज्ञवाली

शाश्वत मूल्यको कृति
कृति ः महापुरुष -उपन्यासिका)
स्रष्टा ः बालकृष्ण सुवेदी
प्रकाशक ः आराधना पि्रन्टर्स एन्ड पब्लिसर्स कम्पनी प्रालि
पृष्ठ ः ११०
मूल्य ः १०० रुपियाँ
विधाजस्तै प्रयोग गरी रचना गरिएको कृति हो,
महापुरुष । लेखकले यसको विधा उपन्यासिका राखेका छन् । नवीन छ
विधा, उस्तै छ विषयवस्तु पनि । अनेक विषय प्रसङ्गलाई समेटेर
प्रयोग गर्न खोजिएको छ, जसमा लेखक एकहदसम्म सफल पनि छन् ।
सामान्यतः यो उपन्यासिका पढ्ने पाठक कृतिभित्र रुमल्लिएजस्तो
भान हुन्छ । उपन्यासिका 'क' देखि 'प' सम्मका २१ शीर्षकमा विभाजित
छ । त्यसैभित्र नित्सेदेखि कामुसम्मका विचार समेटिएका छन् ।
अनेक चिट्ठीलाई स्थान दिइएको छ । त्यसैले पनि होला, पाठक कृतिबाट
बाहिर निस्कन खोज्छ तर विषयवस्तुले त्यसलाई यसरी बाँधेर राख्छ,
चाहना हुँदाहुँदै पनि त्यो बाहिर निस्कन सक्दैन । यही हो, यस
उपन्यासिकाको गुढ पक्ष ।
कृतिभित्र जिन्दगीका अनेकन विसङ्गत पक्षलाई खोतलिएको छ । तिनैलाई
पुष्टि गर्न विभिन्न दार्शनिक चिन्तकका विचार र धर्मोपदेशका
उद्गारलाई प्रस्तुत गरिएको छ । सन्दर्भ सिलसिलेवार अगाडि बढेको
छैन । यसो भनौँ, विषयवस्तु छर्न कृतिकार सफल छन् ।
पेसाले डाक्टर कवि बालकृष्ण सुवेदीको प्रयोगवादी यो कृति १६
वर्षअघि लेखिएको भए पनि शाश्वत मूल्यका हिसावले आज पनि उत्तिकै
सान्दर्भिक छ । हेरौँ एउटा सन्दर्भ ः
"बिहे ः एउटा सर्वमान्य धारणा, गृहस्थी जीवन बिताउनुको
।
बिहे ः मनोमालिन्य र पारिवारिक झन्झटको सुरुवात ।
बिहे ः समाजको आँखाअगाडि यौनको प्रथम सर्वमान्य स्वीकृति ।
बिहे ः सामाजिक मर्यादाका खातिर पनि ।
बिहे ः जैविक निरन्तरताका लागि ।"
भाषा सरल छ तर त्यसको प्रयोगमा विविधता देखाएका छन् । कतै अङ्ग्रेजी,
कतै संस्कृत त कतै नेपाली । तर पनि, पाठक अल्मलिने अवस्था भने
छैन । कृतिभित्र चित्र कोरिएको छ । यसो भनौं विविधताभित्र पनि
विविधता पस्किने प्रयास गरिएको छ ।

कोमलता र पीडाको सङ्गम
कृति ः मलाई अध्यारो नै चाहिन्छ -कविता सङ्ग्रह)
स्रष्टा ः गीता कार्की
प्रकाशक ः वाणी प्रकाशन, विराटनगर, नेपाल
पृष्ठ ः ६६
मूल्य ः ७५ रुपियाँ
नारी सञ्चेतनाको मूल मर्मलाई आत्मसात गरेर गीता कार्कीको मलाई
अँध्यारो नै चाहिन्छ कवितासङ्ग्रह प्रकाशित भएको छ । स्थानीय
रङ भनौँ वा आञ्चलिकतामा कविता लेख्न रुचाउने कार्कीले आफ्ना
कवितामा दैहिक र भावात्मक आयामलाई गति दिएकी छन् । तिनैमा कार्कीका
कविता फुलेका र फक्रिएका छन् ।
केही पूर्वप्रकाशित, केही सिर्जनापत्रमा संलग्न र केही पहिले
लेखिएका तर परिष्कारको अभावमा त्यसै थन्किरहेका कवितालाई परिमार्जन
गरी उनको यो सङ्ग्रह प्रकाशित भएको छ, जसमा ३५ वटा कविता सङ्ग्रहित
छन् । उत्तर आधुनिक चेतबाट प्रभावित कार्कीको यो पहिलो कवितासङ्ग्रह
हो ।
पृथक् पहिचान र प्रयत्न देखाउने प्रयासमा उनले आफ्ना कवितामा
भावनात्मक आयामको खोजी गरेकी छन् । उनका कविता विगत, वर्तमान
र आगतमा प्रवाहित जीवनको विशेषता बोक्दै रचना भएका छन् । संक्षेपमा,
कोमलता र पीडाको सङ्गम निर्माण गर्न कार्कीका कविता सफल छन्
।
नेपालको प्राकृतिक मनोरम, जनजीवन र संस्कृतिलाई
आधार बनाएर कविता रचना गरेकी कार्कीका कवितामा नयाँ दृष्टि छ,
नयाँ धारणा र संवेदनशीलता छ । आफ्ना कवितामा अनुभूतिलाई बोधगम्य
तुल्याउन उनी सफल बनेकी छन् ।
|