बढुवामा
चलखेल
"पालो आएर पनि झन्डै एक वर्षसम्म बढुवा
हुन नपाउँदा सम्बन्धित प्रहरीहरूमा वितृष्णा त जाग्छ नै यसले
एउटा 'जेनेरेसन ग्याप' पनि हुन्छ ।"
सरोजराज अधिकारी

प्रहरी अतिरिक्त महानिरीक्षक -एआईजीपी) रविकान्त अर्यालले उमेरहदका
कारण अवकाश पाएपछि रिक्त एआईजीपी पदमा नियुक्तिका लागि प्रहरी
नायब महानिरीक्षक -डीआईजीपी) हरूको दौडधुप सुरु भएको छ । प्रहरी
सेवा नियमावली अनुसार ५६ वर्ष उमेर पूरा भएका कारण प्रहरीको
अपराध अनुसन्धान विभाग प्रमुखसमेत रहेका एआईजीपी अर्यालले यही
पुस ४ गते अवकाश पाएका हुन् ।
रिक्त हुन गएको एआईजीपी पदको प्रतिस्पर्धामा
यतिबेला छ जना डीआईजीपीहरू छन् । प्रहरीको जेष्ठताक्रमअनुसार
डीआईजीपी रूपसागर मोक्तान एक नम्बरमा छन् भने त्यसपछि क्रमशः
डीआईजीपीहरू कुमार कोइराला, ज्ञानेन्द्रविक्रम महत, शेरबहादुर
शाह, हिमबहादुर गुरुङ र कृष्ण बस्नेत रहेका छन् । यद्यपि, यी
सबै २ असोज ०३५ मा प्रहरी सेवा प्रवेश गरी ३ चैत ०५७ मा डीआईजीपीमा
बढुवा भएका थिए । छ जना डीआईजीपीमध्ये कोइराला र महत स्नातकोत्तर
र बाँकी चार स्नातक उत्तीर्ण छन्, जसमध्येबाट एक जना एआईजीपीका
लागि छानिने छन् भने पाँच जना डीआईजीपी पदमा बहाल रहन पाउने
पाँचवर्षे कार्यकाल पूरा भई ३ चैतमा अवकाश पाउने छन् ।

अर्का एआईजीपी डा गोविन्दप्रसाद थापाले पनि आफ्नो ३२ वर्षे सेवाअवधि
पूरा गरी ३ चैतमै अवकाश पाउँदै छन् । र, सरकारले दुई एआईजीपी
पदमा एकैसाथ नियुक्ति गर्नका लागि चैतसम्म पर्खन सक्छ । तर,
छ जना जेष्ठ डीआईजीपीहरू र एआईजीपी डा थापा एकै दिन पदमुक्त
हुने भएकाले प्रहरी नियमावलीअनुसार यो प्रक्रिया अलिक जटिल छ,
यसका लागि डा थापाले एक-दुई दिनअगाडि नै राजीनामा दिनुपर्ने
हुन्छ वा सरकारले त्यसअगावै उनलाई अन्य कुनै निकायमा नियुक्ति
दिई एआईजीपीबाट बिदा दिनुपर्ने हुन्छ । यसो भएमा मात्र जेष्ठ
छमध्ये दुई डीआईजीपीहरूका लागि अगाडि बढ्ने ढोका खुल्न सक्छ
।
यसपटकको नियुक्तिमा शक्तिकेन्द्रहरूको चलखेल
बढी हुने एक वरिष्ठ प्रहरी अधिकारी बताउँछन् । "माघ १९
पछि सबैभन्दा बढी प्रहरी सङ्गठन दरबारको छायाँमा परेको छ,"
ती अधिकारी भन्छन्, "स्वाभाविक छ, रिक्त आईजीपी नियुक्तिमा
पनि दरबारको भूमिका अहम् हुनेछ ।" शक्तिको दौडमा जो अगाडि
हुन्छ र जसले दरबारलाई रिझाउन सक्छ, त्यही एआईजीपी हुने उनी
बताउँछन् ।
एआईजीपी पदको लाइनमा बसेका मध्ये मोक्तान पूर्व
प्रहरी महानिरीक्षक डीबी लामाका छोरीज्वाइँ हुन् । आफ्नो कार्यकालमा
दरबारलाई खुसी पार्न लामाको मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी
गिरीसँग पनि विशेष सम्बन्ध रहेको जानकारहरू बताउँछन् । त्यसैगरी
एआईजीपी पदका अर्का उम्मेदवार महत पनि पञ्चायतकालमा नारायणी
अञ्चलमा अञ्चलाधीश रहेका नन्दबहादुर मल्लका छोरीज्वाइँ हुन्
। र, नन्दबहादुर मानार्थ शाही पाश्र्ववर्ती शान्तकुमार मल्लका
सहोदर काका हुन् ।
शक्तिको दौडमा हाल पश्चिम क्षेत्रीय प्रहरी
कार्यालय पोखराका प्रमुख रहेका डीआईजीपी शेरबहादुर शाह यी दुईभन्दा
पनि अगाडि देखिन्छन् । शेरबहादुर हालै मात्र आफूभन्दा थुप्रै
वरिष्ठ अधिकारीहरूलाई पछि पार्दै नेपाल विद्युत् प्राधिकरणको
निर्देशक बन्न सफल हरिश्चन्द्र शाहका सहोदर भाइ हुन् । कुमार
मोहनबहादुर शाहीका बहिनीज्वाइँ हरिश्चन्द्र तिनै हुन्, जसले
मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको ठेक्का प्रकरणमा
अनियमितता भएको भन्दै शाही आयोगमा उजुरी गरेका थिए । र, पूर्वप्रधानमन्त्री
शेरबहादुर देउवालगायतलाई जेलको बाटो देखाएका थिए ।
अन्य तीन भने शक्तिको दौडमा निकै पछाडि देखिन्छन्
। वरियताक्रममा दोस्रो र प्रहरी सङ्गठनमा 'एकेडेमिक' व्यक्तित्व
मानिए पनि कुमार कोइरालाका लागि उनको प्रजातान्त्रिक छवि अगाडिको
बाटोका लागि बाधक बन्न सक्छ । एआईजीपीको प्रतिस्पर्धामा रहेकामध्ये
हिमबहादुर गुरुङमा नेतृत्व कुशलताको अभाव रहेको र कृष्ण बस्नेतलाई
मीनभवन घटनाले अगाडि जाने बाटो बन्द गरिदिएको जानकारहरू बताउँछन्
। मीनभवनमा मङ्सिर १७ गते सवारी गाडी झडपमा परेको विषयमा आईजीपी
थापाले गठन गरेको छानबिन समितिले उपत्यका प्रहरी प्रमुख बस्नेतलाई
दोषी ठहर्याएको थियो । यद्यपि, त्यसबेला उनी कुनै कारबाहीमा
परेनन् ।
प्रहरीमा गत भदौदेखि दुईवटा डीआईजीपी पद पनि
रिक्त छन्, जसका लागि जेष्ठताका आधारमा कृष्णप्रसाद श्रेष्ठ,
दीपककुमार श्रेष्ठ, कृष्णबहादुर राना, देवीलाल तामाङ, रमेशचन्द
ठकुरी, रवीन्द्रप्रताप शाह, मदनबहादुर खड्का र प्राविधिकतर्फ
इन्जिनियर प्रकाशकुमार रञ्जित गरी आठ वरिष्ठ प्रहरी उपरीक्षक
-एसएसपी) हरू प्रतिस्पर्धामा छन् । अहिले दुई र ३ चैतमा छ पद
रिक्त हुने हुँदा १७ चैत ०५७ मा एसएसपी भएका यी आठ जना नै बिनाअवरोध
डीआईजीपी हुन पाउने छन् । एसएसपीद्वय कल्याणकुमार तिम्सिना र
किरणकुमार गौतम भ्रष्टाचारको अभियोगमा निलम्बनमा रहेको र अर्का
एसएसपी मानबहादुर रावलले २९ फागुनमा आफ्नो ३२ वर्षे सेवाअवधि
पूरा गरी अवकाश पाउन लागेकाले पनि यी आठ एसएसपी बिनाप्रतिस्पर्धा
डीआईजीपी हुन पाउने भएका हुन् । तर, अगाडिको बढुवालाई ध्यानमा
राखी डीआईजीपीको पदपूर्ति दुई चरणमा हुने प्रशासन विभागका एक
अधिकारी बताउँछन् ।
जेष्ठता क्रममा अगाडि भए पनि उपत्यका ट्राफिक
प्रहरी प्रमुख रहेका एसएसपी राना पनि मीनभवन घटनाको कोपभाजनमा
परेका छन् । सो घटनाको छानबिन समितिले दोषी ठहर्याएका कारण
उनी पहिलो चरणमा बढुवा हुन पाउने छैनन् । प्रहरी प्रशासन विभाग
स्रोतका अनुसार एसएसपी रमेशचन्द ठकुरी र रवीन्द्रप्रताप शाह
पहिलो चरणमा डीआईजीपी हुने लगभग निश्चित भएको छ । हाल प्रहरीका
प्रवक्ता रहेका चन्द सङ्गठनभित्र आईजीपी थापाका अत्यन्त पि्रय
र विश्वास पात्र मानिन्छन् । अहिले प्रहरीको प्रतिआतङ्कवाद सेलका
प्रमुख रहेका एसएसपी शाहचाहिँ पूर्व निर्वाचन आयुक्त स्व विष्णुप्रताप
शाहका सहोदर भाइ हुन् ।
प्रशासन विभागका अनुसार एसएसपीका नौ, प्रहरी
उपरीक्षक -एसपी) का तीन र प्रहरी नायब उपरीक्षक -डीएसपी) का
३० भन्दा बढी पद पनि विगत आठ महिनादेखि रिक्त रहेका छन् । आईजीपी
थापाले साङ्गठनिक कामभन्दा पनि शक्तिकेन्द्रहरूको चाकडीमा बढी
समय दिने भएकाले ती रिक्त पदहरूमा समयमै पदपूर्ति हुन नसकेको
एक एआईजीपीको आरोप छ । "सवारी गाडी झडपमा परेको विषयमा
आफँैले गठन गरेको छानबिन समितिको प्रतिवेदन नआउँदै प्रहरी अधिकारीमाथि
कारबाही गर्ने तर सङ्गठनको नियमित काम-कारबाहीप्रति उदासिनता
देखाउनु यसैको उदाहरण हो," मीनभवन घटनालगत्तै काठमाडौँका
प्रहरी प्रमुख इन्द्र न्यौपाने र अन्य दुई प्रहरी निरीक्षक सुरेन्द्र
मैनाली तथा भवेश रिमाललाई निलम्बन गरेको प्रसङ्ग उल्लेख गर्दै
ती एआईजीपी भन्छन्, "पालो आएर पनि झन्डै एक वर्षसम्म बढुवा
हुन नपाउँदा सम्बन्धित प्रहरीहरूमा वितृष्णा त जाग्छ नै यसले
एउटा 'जेनेरेसन ग्याप' पनि हुन्छ ।"
काठमाडौँमा को ?
जिल्ला प्रहरी कार्यालय -जिप्रका) काठमाडौँका
प्रमुख एसपी इन्द्र न्यौपाने मीनभवन घटना छानबिन समितिको प्रतिवेदन
आउनुअघि नै मङ्सिर १९ गते निलम्बनमा परे । र, मङ्सिर २० गते
उनको स्थानमा उपत्यका अपराध अनुसन्धान विभागका प्रमुख केशबहादुर
शाहीलाई कामचलाउ रूपमा लगियो । शाहीको स्थानान्तरणपछि यता उपत्यका
अपराध अनुसन्धान विभाग पनि प्रमुखविहीन भएको छ ।
शक्तिको केन्द्र मानिने काठमाडौँको प्रमुखका
लागि धेरै प्रहरी अधिकारीको हानथाप नै चल्ने गर्छ । खासगरी यहाँ
रहँदा उच्च प्रहरी नेतृत्व र शक्तिकेन्द्रसँग नियमित भेट हुने
हुँदा उनीहरूलाई रिझाउने अवसर पाइने भएकाले पनि काठमाडौँ प्रहरी
प्रमुखको जिम्मेवारी सबैको आकर्षण बनेको हो । तर, पछिल्लो समय
कोपभाजनमा परेपछि यो अस्थिरताको पद बनेको छ । बितेका डेढ वर्षमा
मात्रै काठमाडौँ प्रहरीमा चार जना प्रमुखहरू फेरिइसकेका छन्
। १४ भदौ ०६१ मा सोल्टी होटलमा माओवादीहरूले दुईवटा बम विस्फोटन
गराएपछि एसपी दीपक रञ्जितलाई प्रहरी मुख्यालयमा बोलाई एसपी नारायण
वस्ताकोटीलाई प्रमुख बनाइयो । सोल्टी होटल राजाका सहयोगी प्रभाकरशमशेरको
भएकाले रञ्जितमाथि तत्काल 'एक्सन' लिइएको थियो । तर, वस्ताकोटी
चार महिना पनि टिक्न सकेनन् । राजाको सवारीका बेला अनुपस्थित
रहेको भन्दै माघ ४ गते वस्ताकोटीलाई पनि हटाइयो । त्यसयता एसपी
न्यौपानेले सम्हाल्दै आएका थिए । मङ्सिर १९ गते राजपरिवारको
सुरक्षाकै प्रश्नमा न्यौपानेलाई निलम्बन गरी शाहीलाई कामचलाउ
नियुक्त गरियो ।
यसरी बारम्बार कोपभाजनमा परेकाले शाही काठमाडौँ
प्रमुखको कामचलाउ नेतृत्व छाडेर आफ्नो दरबन्दी रहेको उपत्यका
अपराध अनुसन्धान विभागमा र्फकन चाहेको स्रोतको दाबी छ, त्यसैले
अहिले अन्य नियुक्तिका साथै काठमाडौँ प्रमुखको नेतृत्व कसलाई
सुम्पने भन्ने बारेमा पनि प्रहरीभित्र चलखेल सुरु भएको छ । जानकारहरूका
अनुसार एसपी विज्ञानराज शर्मालाई काठमाडौँ प्रहरी प्रमुखमा ल्याइने
सम्भावना बढी छ । हाल जिप्रका सुनसरीको प्रमुख रहेका शर्मा नवनियुक्त
गृहमन्त्री कमल थापाका खास मानिस मानिन्छन् । त्यसैगरी आईजीपीको
लाइनमा रहेका एआईजीपी राजेन्द्रबहादुर सिंह पनि शर्माको पक्षमा
भएकाले उनको नियुक्ति लगभग पक्का भएको एक वरिष्ठ प्रहरी अधिकृत
बताउँछन् ।
|