
नाकमा गोबर
एक दर्जनको हत्या र १९ जना घाइते बनाउने त्रासदीपूर्ण
नगरकोट हत्याकाण्डले सम्पूर्ण देशवासीलाई स्तब्ध र भावविह्वल
बनाएको छ -नगरकोटमा नरसंहार, १० पुस) । यसले सेनाको नाकमा
गोबर पनि लगाइदिएको छ । हुन त कुनै एक-दुई व्यक्तिबाट
भएको जघन्य अपराधलाई लिएर सिङ्गै सेनालाई मुछ्नु उचित
हुँदैन तर जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने सैनिकबाट
त्यस्तो क्रूर घटना हुनुको कारण विश्लेषण गर्नैपर्छ ।
बिनागस्ती, बिनाड्युटीका जवानबाट यसरी हतियार दुरूपयोग
हुन दिनु ठूलो लापरवाही हो, जसले बन्दुकको उन्माद र जनताप्रतिको
असंवेदनशीलतालाई प्रस्ट्याएको छ । गाउँघरमा हुने यस्ता
पूजाआजा, नाचगान तथा मेला-पर्वहरूमा सैनिकहरूले नगरकोट
घटनाबाट पाठ सिकेर आफ्नो व्यवहार परिवर्तन गर्छन् कि गर्दैर्नन्,
हेर्न बाँकी नै छ ।
दीपेन्द्र रिजाल ँअकेला’
साङ्कोस- १, धादिङ
ँडायोग्नोसिस’ को उपाय
डायोग्नोसिस तब गलत हुन्छ, जब रोगीले आफ्नो रोगसम्बन्धी
यथार्थ डाक्टरसँग लुकाउन खोज्छ -डायोग्नोसिस नै गलत, ३
पुस) । डाक्टरले पनि धैर्यपूर्वक रोगीका सबै कुरा सुन्नुपर्छ
। अतः गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था
र समाज कल्याण परिषद्ले पनि यसैअनुरूप आ-आफ्नो भूमिका
निर्वाह गर्नुपर्दछ ।
सुव्रत स्वार, सुयश स्वार
पोबनं ५०३, काठमाडौँ
सही मूल्याङ्कन होस्
भूतपूर्व
प्रधानमन्त्री शेरबहादुर देउवाको जेल जीवनबारे प्रकाशित
सामग्री यथार्थभन्दा बढी मनगढन्ते भावनाले सुसज्जित लाग्यो
-देउवाको दैनिकी, ३ पुस) । देउवाको दैनिकी भन्ने तर काल्पनिक
र तरङ्गमा लेख्ने ? एउटा पङ्क्ति मात्र होइन, धेरै पङ्क्तिहरू
पङ्क्तिकारको भावनामा बगेको देखियो यसमा ।
कुनै पनि सामग्री प्रकाशनमा आइसकेपछि सम्बन्धित व्यक्तिबाट
खेद प्रकट गर्नुपर्ने बाध्यता सिर्जना हुनु राम्रो होइन
। 'आइ हेट रिड एन्ड राइट' भन्ने भनाइ उल्लेख गरेपछि पनि
धेरै हरफहरू विभिन्न पुस्तक एवम् पत्रिकाको नाम उल्लेख
गर्न खर्चिएको छ र देउवा अध्ययनको क्रममा हुनुहुन्छ भन्ने
आशय व्यक्त गरिएको छ, जसले माथि उल्लिखित पङ्क्तिकारको
भनाइलाई आफैँ काट्छ । त्यसैले आशा छ, भविष्यमा यस्ता द्वैध
चरित्रचित्रण गर्ने खालका सामग्री प्रकाशित हुने छैन ।
सुन्दर तिवारी ँआवाज’
बालिङ-३, स्याङ्जा, हाल ः काठमाडौँ
-देउवासँग भएको प्रत्यक्ष कुराकानीका
आधारमा उक्त सामग्री प्रकाशन गरिएको हो । पछि उहाँले कहीँकतै
प्रकट गर्नुभएको खेदसँग हाम्रो सरोकार छैन । -सम्पादक)
छेकिन्न लोकतन्त्र
नेपालीहरू
रैति, प्रजाबाट नागरिक हुने सुनिश्चित गरेको छ -जाग्दैछन्
जनता, २६ मङ्सिर) । लोकतन्त्रको पक्षमा हजारौँको सङ्ख्यामा
सडकमा उत्रिएका जनताको लगाव अब त्यसै खेर जाँदैन, यसले
निरङ्कुशतालाई जरैदेखि उखेलेर फाल्ने निश्चित छ ।
प्रशासनको अवरोधको पर्वाह नगरी आन्दोलनमा उपस्थित हुने
सबै नागरिक सच्चा लोकतन्त्रवादी हुन् । त्यहाँ कोही पनि
रमाइलो गर्न र अशान्ति फैलाएर रिसइवी साध्न उपस्थित भएका
होइनन् भन्ने कुरा आन्दोलन शान्तिपूर्ण हुनुले नै प्रस्ट
पार्छ । त्यसैले अब यस्तो शान्तिपूर्ण आन्दोलन दबाउन निरङ्कुश
सत्तालाई कारणको अभाव हुनेछ ।
यस आन्दोलनको रापले निरङ्कुशता खरानी हुनेछ, जसबाट नयाँ
लोकतान्त्रिक नेपालको स्थापना हुनेछ । यो लोकतान्त्रिक
आन्दोलनमा सबै मनमुटाव बिर्सेर सक्रियतापूर्वक सहभागी
हुनु सचेत नेपालीको दायित्व हो ।
वाईपी ँविनय’
रानिचुरी- ७, सिन्धुली
एउटै उद्देश्य मन्त्री हुने
नेपालको राजनीतिक वृत्तमा शाही मन्त्रिमण्डल हेरफेर हुने
चर्चासँगै केही व्यक्तिहरू उम्लिन थालेका थिए । उनीहरू
राजाका आशक्तझैँ हाउभाउ गर्दै थिए र एउटै उद्देश्य थियो,
मन्त्री हुने । उनीहरूले देश र जनताको भन्दा राजाको कदमको
समर्थन गरेर मात्र मन्त्री पद पोल्टोमा पारे । झरेपछि
खाउँला भनेर कुरी बसेका तिनलाई हार्दिक बधाई । तर, ती
राजाका निजी मन्त्री मात्र हुन्, जनताका होइनन् । उनीहरूको
काम राजाको समर्थनमा अन्धभक्त भएर ताली पिट्नु र जनतालाई
हो भन्न लगाउनु मात्र हो । टीके मन्त्री धेरै दिन टिक्दैनन्,
खालि गुलाम मात्र हुन्छन् भन्ने कुरा विगतमा पनि देखिएकै
हो । अहिलेलाई बधाई दिए पनि, आउँदा दिनमा सावधान रहन अनुरोध
गर्छु । किनभने, आउँदा दिन निरङ्कुशताको होइन, जनताको
हो ।
गगन नेपाल
पोखरा-१८, कास्की
माली दलित होइनन्
दलितसम्बन्धी
आलेख विश्लेषणात्मक र विचारोत्तेजक भए पनि यसले केही भ्रम
पनि सिर्जना गरेको छ -कहिलेसम्म दोस्रो दर्जामा ?, १९
मङ्सिर) । दलित जातिहरूको समूहमा माली जातिको पनि प्रयोग
भएकोमा हाम्रो ध्यानाकर्षण भएको छ । लेखकले कुन जिल्ला,
अञ्चल वा देशका माली जाति दलित हुन्, स्पष्ट रूपमा उल्लेख
गरेको भए उचित हुन्थ्यो ।
नेपाल मण्डल
-काठमाडौँ उपत्यका) का आदिवासी र यहाँबाट बसाइँ सरेर देशका
विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायको एक जाति हो,
माली । इतिहासको कुनै कालखण्डमा पनि यो जातिलाई दलित भन्ने
गरेको पाइँदैन । माली जातिलाई नेपाल खाल्डोको किराँतकालीन
जातिका रूपमा स्वीकार गरिएको छ । यस जातिलाई दलित जातिको
श्रेणीमा राखिनु हामीलाई अशोभनीय र आपत्तिजनक लाग्यो ।
तीर्थनारायण माली
सभापति, नेपाल माली समाज,
काठमाडौँ
|