Untitled Document
Kathmandu, Sunday, Dec 25, 2005 (Poush 10, 2062)
Untitled Document
  नेपाल
  सम्पादकीय
  सोझै
  आँखीझ्याल
  पाठकको पत्र
  अलगधार
  आउट अफ प|mेम
  विचार
  प्रहरी
  छोटकरी
  आवरण
  अर्थ/वाणिज्य
  महिला
  लुटपाट
  खेलकुद
  जीवनशैली
  पुस्तक
  समय रेखा
  साहित्य
  कला
  इन्द्रेणी
  नोटबुक
 
  नोटबुक

राजाराम गौतम

सकेटबमको सकस

स्थानीय केही माओवादी कार्यकर्ताबाहेक अछामको तुर्माखाँद बजारमा छापामार नदेखिएको तीन साताजति भइसकेको थियो  । मङ्सिरको तेस्रो साता चल्दै थियो । तीन-चार जना छापामार त्यही बजार हुँदै कतै जाँदै थिए । उनीहरू हातहतियार र कम्ब्याटमा थिएनन् । सायद उनीहरू होटलकी साहुनीसँग पहिलेदेखि नै परिचित थिए । र, खाना खान त्यहाँ रोकिएका थिए । छापामारको सानो दस्तालाई भेटेपछि साहुनीको अनुहारमा खुसीका रेखाहरू दौडिए । उनीहरूलाई देखेपछि तिनले ठूलै बोझबाट मुक्ति पाएको अनुभूति गरिन् । भएको के रहेछ भने तीन साताअघि एक जना माओवादी छापामारले उनको पसलमा केही गि्रनेड र सकेटबम छाडेछन्  । ती छापामारले दुई-चार दिनमै लिएर जान्छु भनी वाचा पनि गरेका रहेछन् । तर, तीन साता बितिसक्दा पनि लिन नआएपछि साहुनीलाई ती सकेटबमले सकसमा पारेछ ।

घरमा राखिएको पड्कने सामग्रीको त्रासदीबाट छुटकारा पाइने भइयो भनेर उनको मन हलुको भएको रहेछ त्यस दिन । उनी विस्फोटक पदार्थ लैजान छापामार समूहलाई अनुरोध गर्दै थिइन् । भन्दै थिइन्, "मेरा स-साना बच्चा छन् । तपाईंका साथीले छाडेको विस्फोटक पदार्थ तपाईंहरूले नै बुझिदिनुपर्‍यो ।" त्यसो त छापामारहरूले पनि 'हुन्छ हामी लिएर जाउँला' त भने । तर, छदिने तुर्माखाँद बसाइमा ती साहुनीको होटलमा राखिएको गि्रनेडको पोको कसैले जिम्मा लिएको देखिएन । माओवादीको यो लापरबाही देखेर दिक्क मान्दै अछामकै अर्को गाउँ ढकारीतर्फ हाम्रो यात्रा अघि बढ्यो ।


नयाँ ँमुड’ मा प्रचण्ड

माओवादीका अध्यक्ष प्रचण्डका विभिन्न 'मुड' का नयाँ तस्बिर सार्वजनिक भइरहेका छन् । सुदूरपश्चिमका जिल्लाहरू घुम्दा उनको एउटा अर्को तस्बिर हेर्ने अवसर मिल्यो  । प्रेसमा आएका अघिल्ला तस्बिरको दाँजोमा सशस्त्र फौजका सर्वोच्च कमान्डरको सो तस्बिर शालीन मुडको रहेछ । सिनित्त पारेर कोरिएको कपाल र तिलचामल जुङ्गा भएको उनको सो तस्बिरअङ्कित ब्याच माओवादीले बनाएका रहेछन् । रातो ताराभित्र सजिएको उनको तस्बिरसहितको ब्याच प्रायःजसो कार्यकर्ताले छातीमा लगाएका थिए  । कैलालीको खिमडीमा भएको सांस्कृतिक कार्यक्रमका सबैजसो प्रस्तोताहरूले सो ब्याच लगाएका थिए ।

माओवादीहरू प्रचण्डपथका अनुयायी हुन् । उनीहरूको बोली, भाषण र सङ्गीतमा समेत प्रचण्डपथकै व्याख्या हुन्छ । तर, छातीमा टाँसिएको प्रचण्डको तस्बिरको अर्थ के होला ? के त्यो ब्याच पनि प्रचण्डपथको अनुयायी भएको देखाउने प्रमाण हो ? त्यो देखेर यस्तै प्रश्नहरू उब्जिए ।

दौरा-सुरुवाल र कोटमा ठाँटिने सरकारी कर्मचारीले राजाको तस्बिर भएको ब्याच टाँसेर हिँडेको नदेखिएको होइन । पञ्चायतकालमा त राजा-रानीको ब्याचको बिगबिगी नै थियो । राजभक्ति प्रकट गर्न पञ्चहरू त्यस्तो ब्याच लगाउँथे । पूर्वपञ्च र राजभक्ति प्रदर्शन गर्न खोज्नेहरू अहिले पनि राजाको तस्बिर भएको ब्याच लगाएर हिँड्छन् ।

माओवादी कार्यकर्ताको छातीमा झुन्डिएको प्रचण्डको तस्बिरको प्रयोजन र अर्थ यस्तै हो वा अरू केही हो ? त्यो भने बुझ्न सकिएन ।


माओवादीको मेस

अछामको तुर्माखाँद र ढकारीमा १० दिनको पर्खाइपछि त्यहाँको माओवादी नेतृत्वको सम्पर्कमा आउनु भन्ने बेहोराको चिट्ठी पाइयो । पूरा दुई दिन हिँडेपछि डोटीको पीपलगुन्टा भन्ने ठाउँमा सम्पर्कमा पुगियो । माओवादीको सम्पर्कमा जब पुगिन्छ, पत्रकारको खाने-बस्ने व्यवस्था तिनैले गर्छन् । बास बस्ने ठाउँको प्रबन्ध भइसकेको भए पनि त्यस साँझको छाकको ठेगान लागिसकेको थिएन । यत्तिकैमा दुई-तीनवटा टुकीमारासहित एक जना विद्रोहीका 'दूत' आइपुगे । र, भने, "सरहरू खाना खान जाउ“m, तपाईंहरूलाई मेस नं १ मा लाने आदेश छ ।"

मेस नं १ सुनेपछि पक्कै पनि नेताहरू भेटिने भए भन्दै हौसिएर तिनको पछि लागियो । तर, सो मेस नेताविशेषको मात्रै नभई सबैथरी कार्यकर्ताका लागि रहेछ । खोलाको तीरैतीर, कहिले खोला तर्दै कम्तीमा २० मिनेट हिँडेपछि जङ्गलको बीचमा खाना पकाइरहेको ठाउँमा पुगियो । मेस नं १ पुग्नुअगाडि अरू तीनवटा छुट्टाछुट्टै मेसमा माओवादीहरू खाना खाइरहेका थिए  । वर्षको एकाधपटक समाचार सङ्कलनका लागि गाउँ जाने मजस्ता पत्रकारका लागि यी दृश्यहरू अनौठा थिए । ती मेसहरूमा काठका फलेक मिलाएर बेन्च बनाइएको रहेछ  । र, तिनमा हार मिलेर माओवादीका छापामार, कार्यकर्ता खाना खाइरहेका थिए । कोही ठूलठूला भाँडामा खाना पकाइरहेका थिए । जङ्गलको बीच यति व्यवस्थित किसिमले मेसहरू तयार भएको देख्दा नौलो अनुभूति भयो ।

खाना खाइरहेका माओवादी कार्यकर्ताको हारमा हामी पनि मिसियौँ । "सरहरूलाई मीठो भएन होला, हाम्रो त यस्तै हो," खाना पस्कने माओवादी भन्दै थिए । टुकीमाराको उज्यालोमा अघाउञ्जी खाइयो, मोटा चामलको भात, दाल अनि गुन्द्रुकको अचार । खाना खाएपछि आफ्नो थाल आफैँ माझ्नुपर्ने नियम रहेछ । अझ एक जनालाई त माझेको थालमा जुठो निखि्रएको छ कि छैन भनी जाँच गर्ने जिम्मै दिइएको हुँदोरहेछ । उनले थाल फेरि धुने आदेश दिए भने पुनः खोला र्फकनैपर्ने रहेछ । मैले आफूले धोएको थाल तिनलाई बुझाएँ । उनले ओल्टाइपल्टाई हेरे । र, अरू थालको चाङमा राखे । धन्न, फेरि धुने आदेश आएन !
   


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Kantipur Online