सकेटबमको सकस
स्थानीय
केही माओवादी कार्यकर्ताबाहेक अछामको तुर्माखाँद
बजारमा छापामार नदेखिएको तीन साताजति भइसकेको थियो
। मङ्सिरको तेस्रो साता चल्दै थियो । तीन-चार जना
छापामार त्यही बजार हुँदै कतै जाँदै थिए । उनीहरू
हातहतियार र कम्ब्याटमा थिएनन् । सायद उनीहरू होटलकी
साहुनीसँग पहिलेदेखि नै परिचित थिए । र, खाना खान
त्यहाँ रोकिएका थिए । छापामारको सानो दस्तालाई भेटेपछि
साहुनीको अनुहारमा खुसीका रेखाहरू दौडिए । उनीहरूलाई
देखेपछि तिनले ठूलै बोझबाट मुक्ति पाएको अनुभूति
गरिन् । भएको के रहेछ भने तीन साताअघि एक जना माओवादी
छापामारले उनको पसलमा केही गि्रनेड र सकेटबम छाडेछन्
। ती छापामारले दुई-चार दिनमै लिएर जान्छु भनी वाचा
पनि गरेका रहेछन् । तर, तीन साता बितिसक्दा पनि
लिन नआएपछि साहुनीलाई ती सकेटबमले सकसमा पारेछ ।
घरमा राखिएको पड्कने सामग्रीको
त्रासदीबाट छुटकारा पाइने भइयो भनेर उनको मन हलुको
भएको रहेछ त्यस दिन । उनी विस्फोटक पदार्थ लैजान
छापामार समूहलाई अनुरोध गर्दै थिइन् । भन्दै थिइन्,
"मेरा स-साना बच्चा छन् । तपाईंका साथीले छाडेको
विस्फोटक पदार्थ तपाईंहरूले नै बुझिदिनुपर्यो ।"
त्यसो त छापामारहरूले पनि 'हुन्छ हामी लिएर जाउँला'
त भने । तर, छदिने तुर्माखाँद बसाइमा ती साहुनीको
होटलमा राखिएको गि्रनेडको पोको कसैले जिम्मा लिएको
देखिएन । माओवादीको यो लापरबाही देखेर दिक्क मान्दै
अछामकै अर्को गाउँ ढकारीतर्फ हाम्रो यात्रा अघि
बढ्यो ।
नयाँ ँमुड’ मा प्रचण्ड
माओवादीका
अध्यक्ष प्रचण्डका विभिन्न 'मुड' का नयाँ तस्बिर
सार्वजनिक भइरहेका छन् । सुदूरपश्चिमका जिल्लाहरू
घुम्दा उनको एउटा अर्को तस्बिर हेर्ने अवसर मिल्यो
। प्रेसमा आएका अघिल्ला तस्बिरको दाँजोमा सशस्त्र
फौजका सर्वोच्च कमान्डरको सो तस्बिर शालीन मुडको
रहेछ । सिनित्त पारेर कोरिएको कपाल र तिलचामल जुङ्गा
भएको उनको सो तस्बिरअङ्कित ब्याच माओवादीले बनाएका
रहेछन् । रातो ताराभित्र सजिएको उनको तस्बिरसहितको
ब्याच प्रायःजसो कार्यकर्ताले छातीमा लगाएका थिए
। कैलालीको खिमडीमा भएको सांस्कृतिक कार्यक्रमका
सबैजसो प्रस्तोताहरूले सो ब्याच लगाएका थिए ।
माओवादीहरू प्रचण्डपथका अनुयायी
हुन् । उनीहरूको बोली, भाषण र सङ्गीतमा समेत प्रचण्डपथकै
व्याख्या हुन्छ । तर, छातीमा टाँसिएको प्रचण्डको
तस्बिरको अर्थ के होला ? के त्यो ब्याच पनि प्रचण्डपथको
अनुयायी भएको देखाउने प्रमाण हो ? त्यो देखेर यस्तै
प्रश्नहरू उब्जिए ।
दौरा-सुरुवाल र कोटमा ठाँटिने
सरकारी कर्मचारीले राजाको तस्बिर भएको ब्याच टाँसेर
हिँडेको नदेखिएको होइन । पञ्चायतकालमा त राजा-रानीको
ब्याचको बिगबिगी नै थियो । राजभक्ति प्रकट गर्न
पञ्चहरू त्यस्तो ब्याच लगाउँथे । पूर्वपञ्च र राजभक्ति
प्रदर्शन गर्न खोज्नेहरू अहिले पनि राजाको तस्बिर
भएको ब्याच लगाएर हिँड्छन् ।
माओवादी कार्यकर्ताको छातीमा झुन्डिएको
प्रचण्डको तस्बिरको प्रयोजन र अर्थ यस्तै हो वा
अरू केही हो ? त्यो भने बुझ्न सकिएन ।
माओवादीको मेस
अछामको
तुर्माखाँद र ढकारीमा १० दिनको पर्खाइपछि त्यहाँको
माओवादी नेतृत्वको सम्पर्कमा आउनु भन्ने बेहोराको
चिट्ठी पाइयो । पूरा दुई दिन हिँडेपछि डोटीको पीपलगुन्टा
भन्ने ठाउँमा सम्पर्कमा पुगियो । माओवादीको सम्पर्कमा
जब पुगिन्छ, पत्रकारको खाने-बस्ने व्यवस्था तिनैले
गर्छन् । बास बस्ने ठाउँको प्रबन्ध भइसकेको भए पनि
त्यस साँझको छाकको ठेगान लागिसकेको थिएन । यत्तिकैमा
दुई-तीनवटा टुकीमारासहित एक जना विद्रोहीका 'दूत'
आइपुगे । र, भने, "सरहरू खाना खान जाउ“m, तपाईंहरूलाई
मेस नं १ मा लाने आदेश छ ।"
मेस नं १ सुनेपछि पक्कै पनि नेताहरू
भेटिने भए भन्दै हौसिएर तिनको पछि लागियो । तर,
सो मेस नेताविशेषको मात्रै नभई सबैथरी कार्यकर्ताका
लागि रहेछ । खोलाको तीरैतीर, कहिले खोला तर्दै कम्तीमा
२० मिनेट हिँडेपछि जङ्गलको बीचमा खाना पकाइरहेको
ठाउँमा पुगियो । मेस नं १ पुग्नुअगाडि अरू तीनवटा
छुट्टाछुट्टै मेसमा माओवादीहरू खाना खाइरहेका थिए
। वर्षको एकाधपटक समाचार सङ्कलनका लागि गाउँ जाने
मजस्ता पत्रकारका लागि यी दृश्यहरू अनौठा थिए ।
ती मेसहरूमा काठका फलेक मिलाएर बेन्च बनाइएको रहेछ
। र, तिनमा हार मिलेर माओवादीका छापामार, कार्यकर्ता
खाना खाइरहेका थिए । कोही ठूलठूला भाँडामा खाना
पकाइरहेका थिए । जङ्गलको बीच यति व्यवस्थित किसिमले
मेसहरू तयार भएको देख्दा नौलो अनुभूति भयो ।
खाना खाइरहेका माओवादी कार्यकर्ताको
हारमा हामी पनि मिसियौँ । "सरहरूलाई मीठो भएन
होला, हाम्रो त यस्तै हो," खाना पस्कने माओवादी
भन्दै थिए । टुकीमाराको उज्यालोमा अघाउञ्जी खाइयो,
मोटा चामलको भात, दाल अनि गुन्द्रुकको अचार । खाना
खाएपछि आफ्नो थाल आफैँ माझ्नुपर्ने नियम रहेछ ।
अझ एक जनालाई त माझेको थालमा जुठो निखि्रएको छ कि
छैन भनी जाँच गर्ने जिम्मै दिइएको हुँदोरहेछ । उनले
थाल फेरि धुने आदेश दिए भने पुनः खोला र्फकनैपर्ने
रहेछ । मैले आफूले धोएको थाल तिनलाई बुझाएँ । उनले
ओल्टाइपल्टाई हेरे । र, अरू थालको चाङमा राखे ।
धन्न, फेरि धुने आदेश आएन !
|