क्याबिन
नामको कालकोठरी
क्याबिन रेस्टुराँका
महिला कामदारहरू आफ्नै घरपरिवारबाट तिरस्कृत हुँदैछन् ।
सन्तोष बराइली/जनकपुरधाम
गरिबीबीच हुर्किएकी झापा, बिर्तामोडकी रक्षा,
२५, राम्रो लगाउने, मीठो खाने र सुखले जीवन बिताउने महत्त्वाकाङ्क्षा
पालेर क्याबिन रेस्टुराँमा काम गर्न पुगेकी हुन् । तर, उनको
यस महत्त्वाकाङ्क्षाले छ वर्ष बितिसक्दा पनि मूर्त रूप लिन सकेको
छैन, उल्टै घरपरिवारबाट तिरस्कृत हुनुपरेको छ अहिले । धनुषाको
ढल्केवरस्थित जलपरी रेस्टुराँ एन्ड बियरवारमा कार्यरत उनी भन्छिन्,
"विवाह मात्रै दुई जनासँग गरँे । दिगो एउटै भएन । पहिलो
श्रीमान्पट्ट िएक छोरी र दोस्रोपट्ट िदुई छोरा गरी तीन सन्तान
छन् । मासिक दुई हजार रुपियाँ तलबले जसोतसो छोराछोरी पाल्दैछु
।" श्रीमान्हरूले छाडेपछि दुःख बिसाउने एउटै चौतारी माइतीघर
थियो । तर, क्याबिन रेस्टुराँमा काम गरेर माइतीको इज्जत माटोमा
मिलाएको भन्दै उनका निम्ति माइतीपट्टकिाहरूले तीन वर्षअघि नै
सदाका लागि माइतीघरको ढोका बन्द गरिदिएका छन् ।
रक्षा
मात्रै होइन, मध्यतराईमा बग्रेल्ती खुलेका क्याबिन रेस्टुराँहरूमा
कार्यरत अधिकांश महिलाहरूलाई त्यहाँ काम गरेकैले घरपरिवारले
ढोका बन्द गरिसकेका छन् । उडेक नामक गैरसरकारी संस्थाको तथ्याङ्कअनुसार
सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा क्याबिन रेस्टुराँमा काम
गर्ने महिलाहरूको सङ्ख्या तीन सय १५ छ । यसमा ७३ प्रतिशतचाहिँ
दलित महिला रहेको उल्लेख छ । उडेकका अध्यक्ष शम्भु पोखरेल भन्छन्,
"घरपरिवारबाट तिरस्कृत हुनेहरूको सङ्ख्याचाहिँ दुई सय ८०
छ ।" यी जिल्लामा ४९ वटा क्याबिन रेस्टुराँहरू रहेको उडेकले
जनाएको छ ।
यसरी तिरस्कृत अधिकांश युवतीहरू बाध्य बनेरै क्याबिन रेस्टुराँमा
काम गर्न थालेको बताउँछन् । दुव्र्यसनमा फसेका श्रीमान्को चार
वर्षअघि मृत्यु भएपछि तीन छोराहरूलाई पढाउन बाध्य बनेरै क्याबिन
रेस्टुराँमा काम गर्न पुगेकी हुन् बारा, सिमराकी सपना, २७, पनि
। क्याबिनको मासिक दुई हजार पाँच सय रुपियाँ तलबले जेनतेन छोराहरू
पढाइरहेकी त छन् । तर, सपनालाई पनि उनका घरपरिवार र माइतीले
बिर्सिसकेका छन् । ढल्केवरस्थित सहारा बियर एन्ड बारमा कार्यरत
सपनाले पीडा सुनाइन्, "क्याबिनमा काम गर्नु मेरो विवशता
हो तर घरपरिवार र माइतीले मलाई 'क्याबिनमा काम गर्ने तँ वेश्या
होस्' भन्दै तिरस्कार गरे ।"
यसपालि दसैँ-तिहार मनाउन घर गएका बेला क्याबिन रेस्टुराँमा काम
गरेकै कारण घरको आँगनबाटै फर्काइएकी खोटाङकी आकृति, २०, र उदयपुर,
लेखानीकी बीना, २३, ले पनि बाध्य बनेरै क्याबिन रेस्टुराँ रोजेका
थिए । बाबु-आमाबाट आफ्ना सामान्य आवश्यकताहरू पूरा नभएपछि एक
वर्षअघिदेखि क्याबिन रेस्टुराँमा काम गर्न थालेकी आकृति भन्छिन्,
"घरबाट लुगा धुने साबुनसमेत किनिदिन छाडेपछि क्याबिनमा
काम गर्न थालेकी हुँ ।" आकृति सिरहाको मिर्चैयास्थित डायमन्ड
रेस्टुराँमा काम गर्छिन् भने बीना धनुषाको जनकपुर, क्याम्पस
चौकस्थित सार्क रेस्टुरेन्ट एन्ड बियरवारमा ।
घरपरिवारबाट तिरस्कृत हुनुपर्दाको पीडा जति छ, त्यसभन्दा बढी
रेस्टुराँ मालिक र ग्राहकहरूको व्यवहारबाट पाउने गरेका छन् उनीहरूले
। ग्राहकहरूलाई खुसी तुल्याएर बढी रुपियाँको बिल उठाउनुपर्ने
मालिकको उर्दी र यौनतृष्णा मेट्नकै लागि ग्राहकहरूले गर्ने हिंस्रक
व्यवहार कम पीडादायी हुँदैन, उनीहरूलाई । जनकपुर, जिरोमाइलस्थित
हिमालय रेस्टुराँमा कार्यरत महोत्तरी, गौशाला घर बताउने कमला,
२३, भन्छिन्, "ग्राहकलाई खुसी पारेर बढी बिल नउठाए साहूले
तलब काटिदेला भन्ने चिन्ता हुन्छ ।" क्याबिन रेस्टुराँका
अधिकांश ग्राहक सेना र प्रहरी हुने उनीहरू बताउँछन् ।
ग्राहकलाई खुसी नपारेकै आरोपमा जनकपुरस्थित साङ्गि्रला रेस्टुराँकी
अरुणा, २२, लाई तीन महिनाको तलब नै नदिइएपछि उनले तलब उठाउन
माइती नेपाल, धनुषाको सहयोग लिनुपरेको थियो । माइती नेपाल, धनुषाकी
संयोजक उषा कार्की भन्छिन्, "हामीकहाँ दिनहुँजसो तलब दिलाइदिन
आग्रह गरिएको निवेदन पर्छ ।"
रेस्टुराँमा युवतीहरूलाई वेटर अथवा कुक भनेर राखिए पनि उनीहरूको
कामचाहिँ ग्राहकहरूलाई 'खुसी' पार्ने नै हुन्छ । जनकपुर-७ स्थित
प्याराडाइज रेस्टुराँकी सम्झना श्रेष्ठ परिचय कार्ड देखाउँदै
भन्छिन्, "मलाई वेटर भनेर राखिएको हो तर मेरो काम ग्राहकहरूलाई
रिझाउनु नै हो ।"
क्याबिन रेस्टुराँमा बढ्दै गएको विकृति रोक्न स्थानीय प्रहरी,
प्रशासन र सामाजिक सङ्घसंस्था सम्मिलित अनुगमन समितिले बेलाबेलामा
विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । तर, ती कार्यक्रमहरू
महिला कामदारहरूका लागि फलदायी हुन सकेका छैनन् । अनुगमन समितिमा
रहेका क्षेत्रीय प्रहरी एकाइ कार्यालय, जनकपुरका प्रहरी नायब
उपरीक्षक कृष्णप्रसाद तिवारी भन्छन्, "हामीले सकेसम्म त
क्याबिन रेस्टुराँका महिला कामदारहरूको समस्या पहिचान गरी समाधानसमेत
गर्ने कोसिस गरिरहेका छौँ ।" अनुगमन समितिले थालेका कार्यक्रमहरू
समितिकै निष्त्रिmयताले व्यवहारमा कार्यान्वयन हुन नसकेको पीडितहरूको
दाबी छ । जनकपुरस्थित हिमालय रेस्टुराँकी एक महिला कामदार भन्छिन्,
"हाम्रा हक-अधिकार रक्षा गर्छौं भनेर अनुगमन समितिमा बसेकाहरू
हरेक रात हामीमाथि नै यौन शोषण गरिरहेका हुन्छन् ।"
रोजगारका अन्य विकल्प भेटे रेस्टुराँ छाड्ने मनस्थितिमा छन्
उनीहरू । केही त पेसा परिवर्तन गर्नकै लागि सीपमूलक तालिमहरू
पनि लिइरहेका छन् । सिलाइबुनाइको तालिम लिइरहेकी नीलु थप्छिन्,
"नारी हकहितका पक्षमा काम गर्छौं भनेर फूर्ति हाँक्ने सङ्घसंस्थाले
हामीलाई लक्षित गरेर सीपमूलक तालिमहरू दिए पनि त हुन्थ्यो ।"
१० कक्षा पढेकी नीलु सौतेनी आमाको व्यवहार सहन नसकी चार वर्षअघिबाट
क्याबिन रेस्टुराँमा काम गर्न थालेकी हुन् ।
-माथि उल्लिखित नामहरू परिवर्तन गरिएको छ ।)
|