डकैतीले
आक्रान्त सीमावर्ती गाउँहरू
नवलकिशोर यादव
विजेता चौधरी/जनकपुरधाम
२०६०
भदौ १० गते सरकार र माओवादीबीचको युद्धविराम भङ्ग भएपछि ग्रामीण
क्षेत्रका प्रायः सबै प्रहरी चौकीहरू सदरमुकाममा समेटिए । महोत्तरी
सदरमुकाम जलेश्वर, भिट्ठामोड, बर्दीवास, गौशालामा गरी १२ वटा
र ग्रामीण क्षेत्रमा २० वटा प्रहरी चौकी थिए । तीमध्ये हाल मटीहानीबाहेकका
ग्रामीण क्षेत्रका १९ वटा प्रहरी चौकी अस्तित्वमा छैनन् ।
ग्रामीण इलाकाबाट प्रहरी चौकीहरू सदरमुकाममा
समेटिएपछि महोत्तरी तथा धनुषा जिल्लाका सीमाक्षेत्रका गाउँहरूमा
डकैती, लुटपाटका साथै बलात्कारका घटनामा वृद्धि भएको छ । हातहतियारसहित
आउने डाँकाहरूको समूहले गाउँका गाउँ लुट्नुको साथै काटमार तथा
बलात्कारजस्ता जघन्य अपराध गरी नै रहेको छ । तर, डाँका आतङ्कको
अगाडि स्थानीय प्रशासन निरीह देखिन्छ । जिल्ला प्रहरी कार्यालय,
महोत्तरीका डीएसपी खेनुप्रसाद आचार्य वस्तुस्थिति स्वीकार्दै
भन्छन्, "सीमावर्ती गाउँहरूमा डकैती नियन्त्रण गर्न सुरक्षाफौज
बढाउनुपर्छ । जसका लागि माथिल्लो निकायसँग पहल भइरहेको छ ।"
तर, यहाँ बलात्कारको घटना नभएकोे दाबी उनको छ । जबकि ०६१ कात्तिकको
दोस्रो साता बगडा गाविसको डुमटोलमा भएको लुटपाट तथा बलात्कारको
घटना आचार्यको दाबीलाई झूटो सावित गर्न पर्याप्त छ । स्थानीय
भौचा मल्लिक डुमका अनुसार राती ११ बजे आएको एक दर्जन डाँकाहरूको
समूहले दुई जना महिलालाई टोलभन्दा एक सय मिटरको दूरीमा रहेको
झाडीमा लगेर पालैपालो बलात्कार गरेका थिए । "तर, गाउँ-समाजमा
बदनामी हुने डरले सो घटनाबारे कसैलाई बताइएन," भौचाले भने
।
कहीँकतै उजुरी गर्दा बलात्कृतप्रति समाजले
नराम्रो दृष्टिकोण राखिदिने भएका कारण बलात्कारका घटना प्रकाशमा
आउँदैनन् । प्रशासनको निरीहता र सुरक्षा व्यवस्थाउपरको अविश्वासका
कारण कतिपय घटनाका बारे प्रहरीसमक्ष उजुरी पनि गरिँदैनन् । ०६२
भदौको तेस्रो साता महोत्तरी जिल्ला बदिया बन्चौरी-४ का आठ घरमा
डाँकाहरूले लुटपाट मच्चाउनुका साथै ७५ वषर्ीय रामज्ञान साहको
ज्यानै लिए । यस घटनाको रेकर्ड जिल्ला प्रहरी कार्यालय महोत्तरीमा
छैन । सो कार्यालयको मुद्दा शाखाका अनुसार सो घटनाबारे जानकारी
भए पनि पीडितहरूले उजुरी नगरेकाले विवरण राखिएको छैन ।
सुरक्षा चौकीहरू गाउँबाट हटाइएकाले त्यस्ता
घटनाबारे समयमा नै प्रहरीलाई जानकारी गराउन कठिन छ । कदाचित
समयमा जानकारी भए पनि प्रहरीले आवश्यक कारबाही गर्न सकेका छैनन्
। ०६१ जेठ १७ गते भिट्ठामोड नाकाभन्दा दुई किलोमिटर उत्तर जलेश्वर
नगरपालिका वडा नं १३ मा पर्ने धबौली गाउँमा डकैती भयो । डाँकाहरू
घरमा प्रवेश गर्नासाथ पछाडिको ढोकाबाट भाग्न सफल कौशलकिशोर साहले
टेलिफोनमार्फत प्रहरीलाई खबर गरे । गाउँनजिकै प्रहरी टोली पुग्दा
पनि डाँकाहरू लुटपाट गरिरहेकै थिए । "तर, प्रहरीहरू घटनास्थलसम्म
पुग्नै सकेनन्," कौशलकिशोर गुनासो गर्छन् । बाटोमा एम्बुस
राखिएको होला भन्दै प्रहरी अगाडि बढ्न नसकेको कौशलले थपे । त्यतिबेला
दुई साताभित्र लगातार तीनपटक गरी यस गाउँका झन्डै दुई दर्जन
घरमा लुटपाट भएको थियो ।
०६१ कात्तिक महिनाभरि धनुषाको लोहारपट्टीमा
लगातार लुटपाटका घटना भए । यस अवधिमा एक करोड रुपियाँभन्दा बढी
मूल्य बराबरको धनमाल लुट्नुका साथै गाविसका पूर्वउपाध्यक्ष नसरुद्धीन
राईको खुट्टा काटेर अपाङ्ग बनाइदिए । सो घटनापश्चात् लोहारपट्टीका
दुई दर्जन परिवार गाउँ छाडेर अन्यत्र गए । डकैतीमा परेका स्थानीय
दीपनारायण घटनाबारे प्रहरीमा उजुरी गर्नुको कुनै अर्थ नरहेको
बताउँछन् । "उजुरी गरे पनि न सामान फिर्ता हुन्छ, न त डाँका
नै प्रकाउ पर्छन् । अनि किन उजुरी गर्ने ?" उनले प्रश्न
गरे । डाँका आतङ्ककै कारण लोहारपट्टी-३ मा अवस्थित भूमिहार टोल
हाल मानवविहीन अवस्था छ । १५ वटा पक्की घर भएको सो टोल सहरबजारको
कुनै टोलजस्तो देखिन्छ । तर, त्यहाँका १२ घरपरिवार विस्थापित
भई जनकपुर बस्न थालेका छन् ।
लुटपाटका घटना रोक्न सरकारीतर्फबाट खासै सक्रियता
नदेखाइए पनि स्थानीय बासिन्दाहरूले भने प्रयास नगरेका होइनन्
। तर, साधन-स्रोतको अभावमा डकैती रोक्न असफल रहेको गाउँलेहरूको
गुनासो छ । गत वर्ष भदौ २१ गते भएको डकैतीको घटनामा धिरापुरका
१९ घरपरिवार लुटिनुका साथै डाँकाहरूको प्रतिकारमा २५ वषर्ीय
मुबारक अलीको मृत्यु भयो । "सो घटनापश्चात् गाउँलेहरू समूहमा
आबद्ध भई गाउँ सुरक्षा गर्न राती गस्ती गर्न थाल्यौँ । तर, हातहतियारधारी
भारतीय डाँकासँग हामी निहत्था कसरी भिड्ने ?" उनले प्रश्न
गरे । भारतमा पर्ने मुखियापट्टी, रैया, फूलहर, राघोपुरलगायतका
गाउँका डाँकाहरू नेपालमा प्रवेश गरी आतङ्क मच्चाउने गरेका छन्
। "या सरकारले सुरक्षाको अनुभूति गराउन सक्नुपर्यो, या
त हामीलाई हतियार दिनुपर्यो," स्थानीय अब्दुल भन्छन् ।
गत कात्तिक २६ गते धनुषा जिल्ला इनरुवा गाविस
मल्हनिया टोलका बासिन्दाले तीन जना भारतीय डाँकालाई पक्राउ गरी
प्रहरीसमक्ष बुझाए । भारत, जयनगर घर भएका यी तीनै जना हाल जलेश्वर
कारागारमा छन् । महोत्तरीका डीएसपी खेनुप्रसाद आचार्य भारतीय
डाँका नियन्त्रण सम्बन्धमा भारतीय पक्षसँग समन्वय गरिएको बताउँछन्
।
०६२ भदौ २७ गतेदेखि लगातार दुई महिनासम्म पाँच-सात
दिनको अन्तरालमा धनुषाको दुवरकोट हथलेटवामा डकैती भयो । डाँकाहरूको
प्रतिकार गर्दा स्थानीय राजकुमार मारिक यादवको मृत्यु भएको थियो
। स्थानीय दुई महिलालाई बलात्कार गरे, डाँकाहरूले । दुवरकोट
हथलेटवा-२ का हरेराम मण्डल भन्छन्, "डकैतीसँगै बलात्कारको
घटना यसअघि भएको थिएन ।" सो घटनामा पाँच घरमा डकैती गरी
डाँकाहरूले झन्डै तीन लाख मूल्यबराबरको धनमाल लुटेर लगे । त्यसपछि
क्रमिक रूपमा घटनाहरू हुनथाले । असोजको पहिलो साता आप\mनोसहित
गाउँका १०-१२ वटा घरमा लुटपाट भएको हरेराम बताउँछन् । त्यस घटनामा
३० वषर्ीय राजकुमारको मृत्यु भएको थियो । "यहाँ बस्नु भनेको
घाँटीमा तरबार राख्नु हो," राजकुमारकी विधवा रोगहीदेवी
भन्छिन् ।
धनुषाका बल्हासघारा, दुवरकोट हथलेटवा, सिङ्ग्याही
मरान, इनरुवा, खुजुरीलगायतका सीमावर्ती क्षेत्रमा दिनैपिच्छे
डकैतीका घटना हुने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । जिल्ला
प्रहरी कार्यालय, धनुषाले आर्थिक वर्ष ०६१/०६२ मा जिल्लामा ६६
वटा डकैतीका घटना भएको जनाएको छ । तर, यथार्थमा सो सङ्ख्याभन्दा
तीन गुणा बढी डकैतीका घटना भएको देखिन्छ, जसको अभिलेख जिप्रकामा
छैन । किनभने, असुरक्षाका कारण कतिपय गाउँमा प्रहरी नै पुग्दैनन्,
न त गाउँलेले नै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउँछन् ।
|