Untitled Document
Kathmandu, Sunday, Dec 25, 2005 (Poush 10, 2062)
Untitled Document
  नेपाल
  सम्पादकीय
  सोझै
  आँखीझ्याल
  पाठकको पत्र
  अलगधार
  आउट अफ प|mेम
  विचार
  प्रहरी
  छोटकरी
  आवरण
  अर्थ/वाणिज्य
  महिला
  लुटपाट
  खेलकुद
  जीवनशैली
  पुस्तक
  समय रेखा
  साहित्य
  कला
  इन्द्रेणी
  नोटबुक
 
  लुटपाट

डकैतीले आक्रान्त सीमावर्ती गाउँहरू

नवलकिशोर यादव

विजेता चौधरी/जनकपुरधाम

२०६० भदौ १० गते सरकार र माओवादीबीचको युद्धविराम भङ्ग भएपछि ग्रामीण क्षेत्रका प्रायः सबै प्रहरी चौकीहरू सदरमुकाममा समेटिए । महोत्तरी सदरमुकाम जलेश्वर, भिट्ठामोड, बर्दीवास, गौशालामा गरी १२ वटा र ग्रामीण क्षेत्रमा २० वटा प्रहरी चौकी थिए । तीमध्ये हाल मटीहानीबाहेकका ग्रामीण क्षेत्रका १९ वटा प्रहरी चौकी अस्तित्वमा छैनन् ।

ग्रामीण इलाकाबाट प्रहरी चौकीहरू सदरमुकाममा समेटिएपछि महोत्तरी तथा धनुषा जिल्लाका सीमाक्षेत्रका गाउँहरूमा डकैती, लुटपाटका साथै बलात्कारका घटनामा वृद्धि भएको छ । हातहतियारसहित आउने डाँकाहरूको समूहले गाउँका गाउँ लुट्नुको साथै काटमार तथा बलात्कारजस्ता जघन्य अपराध गरी नै रहेको छ । तर, डाँका आतङ्कको अगाडि स्थानीय प्रशासन निरीह देखिन्छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका डीएसपी खेनुप्रसाद आचार्य वस्तुस्थिति स्वीकार्दै भन्छन्, "सीमावर्ती गाउँहरूमा डकैती नियन्त्रण गर्न सुरक्षाफौज बढाउनुपर्छ । जसका लागि माथिल्लो निकायसँग पहल भइरहेको छ ।" तर, यहाँ बलात्कारको घटना नभएकोे दाबी उनको छ । जबकि ०६१ कात्तिकको दोस्रो साता बगडा गाविसको डुमटोलमा भएको लुटपाट तथा बलात्कारको घटना आचार्यको दाबीलाई झूटो सावित गर्न पर्याप्त छ । स्थानीय भौचा मल्लिक डुमका अनुसार राती ११ बजे आएको एक दर्जन डाँकाहरूको समूहले दुई जना महिलालाई टोलभन्दा एक सय मिटरको दूरीमा रहेको झाडीमा लगेर पालैपालो बलात्कार गरेका थिए । "तर, गाउँ-समाजमा बदनामी हुने डरले सो घटनाबारे कसैलाई बताइएन," भौचाले भने  ।

कहीँकतै उजुरी गर्दा बलात्कृतप्रति समाजले नराम्रो दृष्टिकोण राखिदिने भएका कारण बलात्कारका घटना प्रकाशमा आउँदैनन् । प्रशासनको निरीहता र सुरक्षा व्यवस्थाउपरको अविश्वासका कारण कतिपय घटनाका बारे प्रहरीसमक्ष उजुरी पनि गरिँदैनन् । ०६२ भदौको तेस्रो साता महोत्तरी जिल्ला बदिया बन्चौरी-४ का आठ घरमा डाँकाहरूले लुटपाट मच्चाउनुका साथै ७५ वषर्ीय रामज्ञान साहको ज्यानै लिए । यस घटनाको रेकर्ड जिल्ला प्रहरी कार्यालय महोत्तरीमा छैन । सो कार्यालयको मुद्दा शाखाका अनुसार सो घटनाबारे जानकारी भए पनि पीडितहरूले उजुरी नगरेकाले विवरण राखिएको छैन ।

सुरक्षा चौकीहरू गाउँबाट हटाइएकाले त्यस्ता घटनाबारे समयमा नै प्रहरीलाई जानकारी गराउन कठिन छ । कदाचित समयमा जानकारी भए पनि प्रहरीले आवश्यक कारबाही गर्न सकेका छैनन्  । ०६१ जेठ १७ गते भिट्ठामोड नाकाभन्दा दुई किलोमिटर उत्तर जलेश्वर नगरपालिका वडा नं १३ मा पर्ने धबौली गाउँमा डकैती भयो । डाँकाहरू घरमा प्रवेश गर्नासाथ पछाडिको ढोकाबाट भाग्न सफल कौशलकिशोर साहले टेलिफोनमार्फत प्रहरीलाई खबर गरे । गाउँनजिकै प्रहरी टोली पुग्दा पनि डाँकाहरू लुटपाट गरिरहेकै थिए । "तर, प्रहरीहरू घटनास्थलसम्म पुग्नै सकेनन्," कौशलकिशोर गुनासो गर्छन् । बाटोमा एम्बुस राखिएको होला भन्दै प्रहरी अगाडि बढ्न नसकेको कौशलले थपे । त्यतिबेला दुई साताभित्र लगातार तीनपटक गरी यस गाउँका झन्डै दुई दर्जन घरमा लुटपाट भएको थियो ।

०६१ कात्तिक महिनाभरि धनुषाको लोहारपट्टीमा लगातार लुटपाटका घटना भए । यस अवधिमा एक करोड रुपियाँभन्दा बढी मूल्य बराबरको धनमाल लुट्नुका साथै गाविसका पूर्वउपाध्यक्ष नसरुद्धीन राईको खुट्टा काटेर अपाङ्ग बनाइदिए । सो घटनापश्चात् लोहारपट्टीका दुई दर्जन परिवार गाउँ छाडेर अन्यत्र गए । डकैतीमा परेका स्थानीय दीपनारायण घटनाबारे प्रहरीमा उजुरी गर्नुको कुनै अर्थ नरहेको बताउँछन् । "उजुरी गरे पनि न सामान फिर्ता हुन्छ, न त डाँका नै प्रकाउ पर्छन् । अनि किन उजुरी गर्ने ?" उनले प्रश्न गरे । डाँका आतङ्ककै कारण लोहारपट्टी-३ मा अवस्थित भूमिहार टोल हाल मानवविहीन अवस्था छ । १५ वटा पक्की घर भएको सो टोल सहरबजारको कुनै टोलजस्तो देखिन्छ । तर, त्यहाँका १२ घरपरिवार विस्थापित भई जनकपुर बस्न थालेका छन् ।

लुटपाटका घटना रोक्न सरकारीतर्फबाट खासै सक्रियता नदेखाइए पनि स्थानीय बासिन्दाहरूले भने प्रयास नगरेका होइनन्  । तर, साधन-स्रोतको अभावमा डकैती रोक्न असफल रहेको गाउँलेहरूको गुनासो छ । गत वर्ष भदौ २१ गते भएको डकैतीको घटनामा धिरापुरका १९ घरपरिवार लुटिनुका साथै डाँकाहरूको प्रतिकारमा २५ वषर्ीय मुबारक अलीको मृत्यु भयो । "सो घटनापश्चात् गाउँलेहरू समूहमा आबद्ध भई गाउँ सुरक्षा गर्न राती गस्ती गर्न थाल्यौँ । तर, हातहतियारधारी भारतीय डाँकासँग हामी निहत्था कसरी भिड्ने ?" उनले प्रश्न गरे । भारतमा पर्ने मुखियापट्टी, रैया, फूलहर, राघोपुरलगायतका गाउँका डाँकाहरू नेपालमा प्रवेश गरी आतङ्क मच्चाउने गरेका छन्  । "या सरकारले सुरक्षाको अनुभूति गराउन सक्नुपर्‍यो, या त हामीलाई हतियार दिनुपर्‍यो," स्थानीय अब्दुल भन्छन् ।

गत कात्तिक २६ गते धनुषा जिल्ला इनरुवा गाविस मल्हनिया टोलका बासिन्दाले तीन जना भारतीय डाँकालाई पक्राउ गरी प्रहरीसमक्ष बुझाए । भारत, जयनगर घर भएका यी तीनै जना हाल जलेश्वर कारागारमा छन् । महोत्तरीका डीएसपी खेनुप्रसाद आचार्य भारतीय डाँका नियन्त्रण सम्बन्धमा भारतीय पक्षसँग समन्वय गरिएको बताउँछन्  ।

०६२ भदौ २७ गतेदेखि लगातार दुई महिनासम्म पाँच-सात दिनको अन्तरालमा धनुषाको दुवरकोट हथलेटवामा डकैती भयो । डाँकाहरूको प्रतिकार गर्दा स्थानीय राजकुमार मारिक यादवको मृत्यु भएको थियो  । स्थानीय दुई महिलालाई बलात्कार गरे, डाँकाहरूले । दुवरकोट हथलेटवा-२ का हरेराम मण्डल भन्छन्, "डकैतीसँगै बलात्कारको घटना यसअघि भएको थिएन ।" सो घटनामा पाँच घरमा डकैती गरी डाँकाहरूले झन्डै तीन लाख मूल्यबराबरको धनमाल लुटेर लगे । त्यसपछि क्रमिक रूपमा घटनाहरू हुनथाले । असोजको पहिलो साता आप\mनोसहित गाउँका १०-१२ वटा घरमा लुटपाट भएको हरेराम बताउँछन् । त्यस घटनामा ३० वषर्ीय राजकुमारको मृत्यु भएको थियो । "यहाँ बस्नु भनेको घाँटीमा तरबार राख्नु हो," राजकुमारकी विधवा रोगहीदेवी भन्छिन् ।

धनुषाका बल्हासघारा, दुवरकोट हथलेटवा, सिङ्ग्याही मरान, इनरुवा, खुजुरीलगायतका सीमावर्ती क्षेत्रमा दिनैपिच्छे डकैतीका घटना हुने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले आर्थिक वर्ष ०६१/०६२ मा जिल्लामा ६६ वटा डकैतीका घटना भएको जनाएको छ । तर, यथार्थमा सो सङ्ख्याभन्दा तीन गुणा बढी डकैतीका घटना भएको देखिन्छ, जसको अभिलेख जिप्रकामा छैन । किनभने, असुरक्षाका कारण कतिपय गाउँमा प्रहरी नै पुग्दैनन्, न त गाउँलेले नै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउँछन् ।
   


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Kantipur Online