Untitled Document
Kathmandu, Sunday, Dec 25, 2005 (Poush 10, 2062)
Untitled Document
  नेपाल
  सम्पादकीय
  सोझै
  आँखीझ्याल
  पाठकको पत्र
  अलगधार
  आउट अफ प|mेम
  विचार
  प्रहरी
  छोटकरी
  आवरण
  अर्थ/वाणिज्य
  महिला
  लुटपाट
  खेलकुद
  जीवनशैली
  पुस्तक
  समय रेखा
  साहित्य
  कला
  इन्द्रेणी
  नोटबुक
 
  खेलकुद

राजनीतिको सिकार आईटीएफ

कम्युनिस्ट खेलको आरोपमा आईटीएफले सरकारी मान्यता पाउन सकेको छैन ।

दिनेशजङ्ग शाह

खेलकुद राजनीतिबाट अछुतो छैन । नेपाली राजनीतिका हरेक कालखण्डले खेलकुदलाई आ-आफ्नै किसिमले तरङ्गित गरेका छन्  । खेलकुदलाई तस्करहरूको अखडादेखि मण्डलेहरूको उत्पादनगृह मात्र होइन, चुनावी हारजितको उत्प्रेरकसमेत बनायो, राष्ट्रिय राजनीतिले  । हुँदाहँुदा नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय राजनीतिले समेत प्रभाव पार्न थालेको छ ।

सुन्दा अचम्म लाग्न सक्छ, अन्तर्राष्ट्रिय राजनीतिक माहोलकै कारण संसारकै सबैभन्दा पुरानो मार्सल आर्ट्स विधा मानिने इन्टरनेसनल तेक्वान्दो फेडेरेसन -आईटीएफ) ले नेपालमा राष्ट्रिय मान्यता प्राप्त गर्न सकिरहेको छैन । अर्थात्, नेपाली खेलकुदको सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् -राखेप) मा नेपाल आईटीएफ दर्ता पाउन असफल छ । दर्ताका लागि अनेकौँ प्रयास नभएका पनि होइनन्, विगत एकदशकदेखि  । तर, समस्या जहाँको तहीँ छ । नेपाल आईटीएफका अध्यक्ष कृष्णबहादुर बलालको भनाइम्ाा, "हामीले चालेका सबै कामहरू सफल हुँदै आएका छन्, बाहेक राष्ट्रिय दर्ता ।"

संसारका एक सय ६२ मुलुकमा अस्तित्वमा रहेको यस खेललाई नेपालमा उपेक्ष्ाित गरिनुका पछाडि विभिन्न अदृश्य कारणहरू रहे पनि कम्युनिस्ट राष्ट्र उत्तर कोरियासँगको सम्बन्ध नै मुख्य तगारो बनेको छ । यद्यपि, आईटीएफ पक्षधर भने तेक्वान्दोको सरकारी नेतृत्व आफ्नो एकाधिकार विकेन्द्रीकृत हुने भयले यस्तो हल्ला पि“mजाउन उद्यत रहेको दाबी गर्छ । उता, आईटीएफका आलोचकहरू भने यस खेललाई कम्युनिस्टहरूको खेल ठान्छन् र कुनै हालतमा पनि दर्ता दिन नहुने तर्क राख्छन्  ।

नेपालमा वल्र्ड तेक्वान्दो फेडेरेसन

-डब्लूटीएफ) सँग आबद्ध तेक्वान्दो मात्र सरकारी हैसियतमा सक्रिय छ । जबकि, संसारमा त्यस्ता थुप्रै देशहरू छन्, जहाँ दुवैथरीका तेक्वान्दोले सरकारी हैसियत प्राप्त गरेका छन् । नेपाल आईटीएफका महासचिव गिरप्रसाद बुढाथोकी भन्छन्, "कराँतेका एक दर्जन विधाले राष्ट्रिय मान्यता पाउन सक्छन् भने तेक्वान्दोमा यस्तो एकतन्त्रीय नीतिको अर्थ हामीले बुझ्न सकेका छैनौँ ।"

आईटीएफले दर्ताका लागि पहिलो प्रयास थाल्दा राष्ट्रिय खेलकुद परिषद्मा ३२ वटा खेलसङ्घहरू आबद्ध थिए । अहिले यो सङ्ख्या ५२ पुगेको छ । तर, विडम्बना, आईटीएफ सरकारी मान्यताबाट वञ्चित छ  । एक खेलाडी प्रतिप्रश्न गर्छन्, "यो कस्तो न्याय हो ?"

दक्षिण कोरियामा प्रधान कार्यालय रहेको डब्लूटीएफ तेक्वान्दोका पक्षधरहरू आईटीएफलाई दक्षिण कोरियाको चिरप्रतिस्पर्धी राष्ट्र उत्तर कोरियाको तेक्वान्दो खेल भएको आरोप लगाउँछन् । राष्ट्रिय खेलकुद परिषद्का एक वरिष्ठ प्रशासकको भनाइमा, "दुवै कोरियाबीचको शत्रुतापूर्ण सम्बन्धको कोपभाजनमा नेपाल आईटीएफ परेको छ ।"

उसो त मार्सल आर्ट्सको खेल विधाहरूको उत्पत्ति कोरियाबाट भएको विश्वास गरिन्छ । आईटीएफको गठन सन् १९५५ को अपि्रलमा दक्षिण कोरियामा भएको थियो । आईटीएफका संस्थापक जनरल चोई होङ् हीले उक्त संस्थालाई सरकारी निर्देशनअनुरूप नचलाएपछि दक्षिण कोरिया सरकारले उनलाई देश निकाला गरेको आईटीएफका दस्त्ाावेजहरूले देखाउँछन्  । आईटीएफलाई विभाजित गरेर सन् '७३ मा दक्षिण कोरियाले डब्लूटीएफलाई अस्तित्वमा ल्याएपछि मूल तेक्वान्दोलाई कम्युनिस्टको खेलका रूपमा प्रच्ाारमा ल्याइयो ।

नेपालको परिदृश्य पनि यसै प्रचारको उपज रहेको ठान्छन्, नेपाल आईटीएफका अध्यक्ष बलाल । भन्छन्, "कम्युनिस्टको खेल भएको आरोप सरासर झूट हो । यो दर्ता हुन नदिन चालिएको षड्यन्त्र मात्र हो ।" तर पनि, यस खेलको विकास र विस्तारका लागि उत्तर कोरियाली सरकारको सक्रियता भने उल्लेखनीय रहेको बताउँछन्, बलाल । आईटीएफको प्रधान कार्यालय अस्टि्रयाको भियनामा छ । तर, दक्षिण कोरियाली तेक्वान्दो डब्लूटीएफको नजरमा आईटीएफ अहिले पनि कम्युनिस्टहरूको खेल हो ।

हल्लाको खेती ठूलै भए पनि नेपालमा आईटीएफले सरकारी मान्यता नपाउनुमा सरकार नियन्त्रित तेक्वान्दोका मुख्य प्रशिक्षक दीपराज गुरुङको षड्यन्त्र मुख्य रूपमा जिम्मेवार रहेको बताउँछन्, नेपाल आईटीएफका पदाधिकारीहरू । एक सदस्य भन्छन्, "हरेक परिस्थितिमा राखेपका सदस्य-सचिवलाई प्रभावित पार्न सफल गुरुङकै चक्रब्यूहमा फस्दै आएको छ, आईटीएफ ।"

पदीय हिसाबसँगै विदेशीहरूसँगको चलखेलका लागि गतिलो 'प्लेटर्फम' मानिने तेक्वान्दो सङ्घको नेतृत्वमा राखेप एवम् ओलम्पिक कमिटीका प्रमुख नै बस्ने सुविधामुखी प्रवृत्ति पनि आईटीएफको दर्ता प्रयासमा तगारो बन्दै आएको विश्लेषण एक खेल पदाधिकारीको छ ।

आईटीएफलाई कम्युनिस्टको खेलको आरोप लगाउनेहरूलाई यस खेलको नेपाल प्रवेशको पृष्ठभूमि पनि सहायक भएको देखिन्छ । ०५१ सालको एमालेको नौमहिने शासनकालमा यो खेल नेपाल भित्रिएको थियो, जुन बेला सरकारी सदासयताको आशा राख्दै एमालेका तत्कालीन सांसद रामनाथ ढकाललाई अध्यक्ष बनाइएको थियो । तर, त्यो रणनीति पनि फलदायी बनेन । कारण, एमालेले खासै कुनै रुचि दिएन, आईटीएफको दर्ताका लागि । तत्कालीन खेलकुदमन्त्री विष्णु पौडेलदेखि राखेपका तत्कालीन सदस्य-सचिव केशव स्थापित र जीवनराम श्रेष्ठसमक्ष पनि पुकारा गरियो तर सुनुवाइ भएन ।

काङ्ग्रेस सरकारको पालामा पनि यो प्रयास जारी रह्यो । तर, काङ्ग्रेस र एमालेबीचको चरम प्रतिद्वन्द्विताको स्थितिमा रुक्मशमशेर राणा, विनोदशङ्कर पालिखेजस्ता काङ्ग्रेस समर्थित राखेपका सदस्य-सचिवहरूले आईटीएफलाई तिरस्कृत गर्दै गए । अन्ततः केही नलागेपछि ०५५ साउन २२ गते स्याङ्जा जिल्ला प्रशासन कार्यालयमा सामाजिक सङ्घसंस्थाको हैसियतमा आईटीएफलाई दर्ता गरियो । अध्यक्ष बलाल विगत कोट्याउँदै भन्छन्, "निकै दुःख पाइयो । हाम्रो अस्तित्व नै धरापमा थियो, त्यसबखत ।"

उता आईटीएफ हेडक्वार्टर भियनामा खटाइएका आठौँ डानका प्रशिक्षक किम योङ् चोललाई राखेपको उजुरीमा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का र खेलकुदमन्त्री पूर्णबहादुर खड्काको ठाडो आदेशमा एक महिनामै नेपाल छोड्न बाध्य पारिएको तीतो अनुभव पोख्छन्, नेपाल आईटीएफका सदस्य खेम कनौजे मगर । त्यसताका आईटीएफका कुनै पनि औपचारिक कार्यक्रममा मन्त्रीको हैसियतका प्रमुख अथितिसमेत नपाइने स्थिति पैदा गरियो  । देउवा सरकारका खेलकुद राज्यमन्त्रीद्वय एनपी साउद र बालकृष्ण खाँडले आईटीएफको राष्ट्रिय प्रतियोगितामा प्रमुख अतिथि बनिदिने आग्रहलाई ठाडै अस्वीकार गरे ।

विभिन्न व्यवधानहरूका बाबजुद आईटीएफको विकासको गति भने आफ्नै ढङ्गले बढिरहेको छ । १२ अञ्चलमा विस्तारित नेपाल आईटीएफले चारवटा वल्र्ड च्याम्पियनसिप, तीनवटा वल्र्ड जुनियर च्याम्पियनसिपसँगै एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ । आईटीएफका अनुसार राष्ट्रियस्तरमा यस्ता कार्यक्रमहरूको सङ्ख्या तीन दर्जन रहेको छ । १५ हजार खेलाडी रहेको नेपाल आईटीएफका अध्यक्ष बलाल भन्छन्, "कसैले स्वीकारे पनि, नस्वीकारे पनि आईटीएफ नेपाली तेक्वान्दोको अभिन्न अङ्ग भइसकेको छ ।"

पछिल्लो समय राखेपमा दर्ताका लागि प्रयास गरिएको त छैन । तथापि, थाकेको छैन, आईटीएफ । अध्यक्ष बलाल भन्छन्, "कुनै दिन यस्तो आउनेछ, आईटीएफले राष्ट्रिय दर्ता अवश्य नै पाउनेछ ।" 'माघ १९' पछि खेलकुदमा दरबारियाहरूको बोलबाला रहेको स्थितिमा पनि चाँडै नै दर्ता पहल सुरु गरिने योजनामा छ, आईटीएफ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक रोगको मध्यस्तता अहिले डब्लूटीएफ र आईटीएफको एकीकरणको प्रयास भइरहेको विश्व परिस्थितिमा नेपालमा समेत आईटीएफको सरकारी दर्ता नजिकिएको उनको तर्क छ । सन् २०१२ को लन्डन ओलम्पिकका लागि दुवै तेक्वान्दोको संयुक्त टोली बनाइने प्रयास अहिले गरिँदैछ । ल


घरेलु मैदानमै बाहिर

मुलुककै प्रतिष्ठित गल्फ प्रतिस्पर्धा सूर्य मास्टर्सको १२ औँ संस्करण पनि घरेलु गल्फरहरूका लागि सुखद रहेन । नेपालको व्यावसायिक गल्फका चर्चित अनुहारहरूको प्रदर्शन खासै उत्साहजनक रहेन । दीपक थापामगर र तोरण शाही दुई सय १८ को स्कोर खडा गर्दै संयुक्त रूपमा १९ औँ स्थानमा रहे । यो नै नेपाली गल्फरहरूको उत्कृष्ट प्रदर्शन हो । अर्का व्यावसायिक अनुहार दीपक आचार्य भने दुई सय २० स्कोरका साथ २५ औँ स्थानमा चित्त बुझाउन विवश भए । सिकारु नेपाली गल्फर शिवराम श्रेष्ठ २६ औँ स्थानमा रहे । नेपाली गल्फको व्यावसायीकरण एवम् अन्तर्राष्ट्रियकरणको उद्देश्यका साथ सन् १९९३ देखि सुरु भएको सूर्य मास्टर्सको इतिहासमा नेपाली गल्फर दीपक थापामगरले सन् '९६ को संस्करणमा दोस्रो स्थान हात पारेका थिए, जुन हालसम्मको सर्वाेकृष्ट नेपाली प्रदर्शन हो । सन् २००० मा दीपक आचार्यले चौथो स्थान हात पारेका थिए । सूर्य मास्टर्स नेपालमा घरेलु गल्फरहरूको प्रदर्शन खासै दमदार नरहनुमा नेपाली गल्फको कमजोर व्यावसायिक पक्ष र 'इन्टरनेसनल एक्सपोजर' को अभावलाई नै सबैभन्दा महत्त्वपूर्ण कारक ठान्छन्, गल्फ जानकारहरू ।

उता उपाधिको हकमा विगतकै निरन्तरता देखियो, यसपटकको सूर्य मास्टर्समा पनि । भारतीय गल्फरहरूले नै आफ्नो श्रेष्ठतालाई प्रमाणित गरे  । गुरबाज मानले यसपटकको सूर्य मास्टर्स नेपालको उपाधि हात पारे  । पार ७२ को ला मेरिडिएन काठमाडौँ, गोकर्ण गल्फ रिसोर्टमा सञ्चालित प्रतियोगिताको अन्तिम दिन -पुस २ गते) गुरबाजले पाँच अन्डर ६७ को स्कोर गर्दै तीन लाख तीन हजार सात सय ४४ रुपियाँ हात पारे  । मानले नौ अन्डर दुई सय सातको स्कोर खडा गरेका थिए । गुरबाज गत वर्षको सूर्य मास्टर्स नेपालका उप-विजेता हुन् । प्रोफेसनल गल्र्फस एसोसिएसन अफ इन्डिया

-पीजीएआई) को महत्त्वपूर्ण प्रतियोगिताका रूपमा रहेको सूर्य मास्टर्सको यसपटकको संस्करणमा नगद पुरस्कारतर्फ १९ लाख २० हजार रुपियाँको व्यवस्था गरिएको थियो । सूर्य नेपाल प्रालिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित प्रतियोगितामा भारतीय गल्फरद्वय शिवशङ्करप्रसाद चौरसिया र उत्तमसिंह मुण्डी संयुक्त रूपमा दोस्रो स्थानमा रहे । चौरसिया एम्बी भ्याली पीजीएआई टुरको दोस्रो वरियताका गल्फर हुन् भने मुण्डी सन् '०२ का सूर्य मास्टर्स विजेता हुन् ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Kantipur Online