Untitled Document
Kathmandu, Sunday, Dec 25, 2005 (Poush 10, 2062)
Untitled Document
  नेपाल
  सम्पादकीय
  सोझै
  आँखीझ्याल
  पाठकको पत्र
  अलगधार
  आउट अफ प|mेम
  विचार
  प्रहरी
  छोटकरी
  आवरण
  अर्थ/वाणिज्य
  महिला
  लुटपाट
  खेलकुद
  जीवनशैली
  पुस्तक
  समय रेखा
  साहित्य
  कला
  इन्द्रेणी
  नोटबुक
 
  जीवनशैली

राम्री राम्रो देखिने रहर

सुन्दरतामा महिलाको मात्र सरोकार रहेन ।

दीपक अधिकारी

वातानुकूलित, सफा र चिटिक्क परेको फराकिलो कोठाको एउटा कुनामा रिसेप्सन । अन्डाकार सिसाअघिल्तिर आरामदायी कुर्सी । छेवैको टेबुलमा भाउ देखि स्टारडस्ट सम्मका चिल्ला, रङ्गीन पत्रिका । यी पत्रिका पढ्दै वा कफीको मीठो चुस्की लिँदै तपाईं रामि्रदै हुनुहुन्छ  ।

अत्याधुनिक र सुविधासम्पन्न 'बार्बर सप' मा तपाईंलाई स्वागत छ । सुन्दरता महिलाको मात्र रोजाइ हो भन्ठानिरहनुभएको छ भने यस धारणामा परिवर्तन गर्नुपर्ने बेला आएको छ । अब पुरुषहरू पनि राम्रो देखिने, चिटिक्क पर्ने र 'मेकअप' प्रयोग गर्ने दौडमा सामेल भएका छन् । र, पुरुषहरूको यही चाहनालाई परिपूर्ति गर्न ब्युटीपार्लरले पुरुषका लागि 'बार्बर सप' थपेर युनिसेक्स सलुनको अवधारणा अगाडि ल्याएका छन् । पुरुष 'फेयरनेस क्रिम' को अभावमा महिलाका लागि उत्पादित 'फेयर एन्ड लभ्ली' ले चित्त बुझाउने पुरुषहरूले अहिले बजारमा 'फेयर एन्ड ह्यान्डसम' क्रिम सजिलै प्राप्त गर्न सक्नेछन् ।

ललितपुर कुपण्डोलका शैलेन्द्रप्रसाद श्रेष्ठ, ३५, चार वर्षअघिसम्म परम्परागत हजामकैमा गएर कपाल काट्थे । तर, पुतलीसडकमा एक्सक्लुसिभ सलुनमा पाइला टेकेपछि कपालसँगै उनको पुरुष सौन्दर्यको चेतनामा समेत बदलाव आयो । "बदलिँदो समयअनुसारको कुरा पनि हो यो," हाल कपाल काट्न जाउलाखेलस्थित रपुञ्जेल हेयर एन्ड ब्युटी सलुन जाने गरेका उनी भन्छन्, "पछि-पछि कपाल कटाइसँगै सफासुग्घर, गफ गर्ने वातावरण भएको र सन्तुष्टि दिनसक्ने बार्बर सपतर्फ आकषिर्त भएँ ।" पेसाले व्यापारी शैलेन्द्र तीन-चार महिनामा एकपटक 'फेसियल' समेत गर्छन् । यस्ता सलुनमा कायम गरिने सरसफाइ, तालिमप्राप्त हेयरड्रेसर र व्यक्तिपरक सेवा आकर्षणका प्रमुख कारण हुन् ।

पार्टी, प्रेमिकासँगको भेट -डेटिङ्), कार्यालय, विवाहभोज आदिमा जाँदा युवाहरू साैन्दर्यप्रशाधनको बढी प्रयोग गर्ने आउटरिच नेपालका प्रबन्ध-निर्देशक उजय शाक्य बताउँछन् । महिलाहरूको तुलनामा पुरुषहरू धेरैजसो समय घरबाहिरको काममा हुने भएकाले पुरुषका लागि 'क्रिम' आउनु जरुरी भइसकेको उनी बताउँछन् । उजयका अनुसार, महिलाको तुलनामा पुरुषको छाला तीन गुणा बढी घाममा 'एक्स्पोज' हुन्छ । त्यस्तै, पाँच गुणा ज्यादा प्रदूषित हुने गर्छ । "यसबाहेक अहिलेका सहरिया पुरुषहरू आफ्ना साथीभाइभन्दा 'स्मार्ट' देखिन चाहन्छन्," उनी भन्छन्, "त्यसैले गर्दा पुरुष सौन्दर्य प्रशाधनको बजार बढिरहेको छ ।" नेपालमा क्रिमको मात्र वाषिर्क बजार ५० करोड रुपियाँको रहेको उनको अनुमान छ । यसभित्र 'फेयर एन्ड लभ्ली' देखि पुरुषले अनुहार घामले नडढोस् भनेर लगाउने सन क्रिम, हेयर जेल, फिक्सर आदि पनि पर्छन् । अलि धनाढ्य वर्गले लोरियाल, क्लारिन्सजस्ता महँगा 'क्रिम' किनेर लगाउँछन् । यसअघि महिलालाई मात्र लक्षित सौन्दर्य प्रशाधन कम्पनीले राम्राे देखिने लालसा राख्ने पुरुषमा नयाँ ग्राहक भेटेका छन् । "पुरुषलाई अहिले चारैतिरबाट सुन्दर हुन दबाब पर्न थालेको छ । तपाईंको अनुहारबाटै तपाईंप्रति गरिने व्यवहार निर्दिष्ट हुन्छ," उजय भन्छन्, "तपाईं कार्यालयको कामले वा कुनै नयाँ मान्छे भेट्न जानुस्, तपाईंको व्यक्तित्व आकर्षक छ भने आधा काम फत्ते हुन्छ ।"

ग्रीक दार्शनिक हेराक्लिटस -इसापूर्व ५४०-४८०) ले भनेका थिए, "चेन्ज इज कन्स्ट्यान्ट ।" अर्थात्, परिवर्तन स्थायी हो । अढाइ दशकदेखि महिलालाई र एक दशकयता पुरुषलाई सिङ्गारिरहेकी कुपण्डोलस्थित सियाम ब्युटी पार्लरकी कमला श्रेष्ठ हेराक्लिटसको कथन गुरुमन्त्रझैँ दोहोर्‍याउँछिन् । "चाहे त्यो पुरुष होस् या नारी, 'चेन्ज' खोज्छ," सियामकी सञ्चालिका श्रेष्ठ भन्छिन् । सियाममा कपाल काट्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शङ्कर शर्मा, पूर्वराजदूत डा मोहनमान सैँजुदेखि अभिनेता राजेश हमाल, रमेश उप्रेतीसम्म पुग्छन् । "स्वस्थ देखिनु सुन्दर हुनु पनि हो," ब्युटिसियन कमला भन्छिन् ।

पुरुषहरूको सुन्दर देखिने चाहनाका पछिल्तिर महिलाको हात हुने गरेको कमला स्वीकार्छिन् । "झुत्रेझाम्रे लोग्नेमान्छे कसलाई मनपर्छ र !" उनी नहिच्किचाई भन्छिन्  । आजकलका युवाहरूको रोजाइ बढीजसो बाङ्गोटिङ्गो, ठाडो, रेजरकट, रङ्गीन कपाल हुने गरेको उनको अनुभव छ । तर, सबैजना चिरिच्याँट्ट पर्नकै लागि मात्र सुविधासम्पन्न सलुन धाउँछन् भन्ने छैन । पि्रस्टन कन्स्ट्रक्सन एन्ड कम्पनीका प्रबन्ध-निर्देशक योगेन्द्र तामाङकै कुरा गरौँ न ! अनुहारभरि डन्डीफोर आएका कारण धेरै क्लिनिक धाएका योगेन्द्रको यात्रा सियाममा पुगेर टुङ्गियो । दुई वर्षअघिदेखि उनी त्यहाँ 'फेसियल' गर्दैछन् । "केही सुधार आएको छ," फेसियल गरिसक्ने बित्तिकै नेपाल लाई प्रतिक्रिया दिँदै उनले भने ।

राजधानीमा 'हेयरस्टाइल' को राम्रो बजार देखेरै हुनुपर्छ- बेलायत, अमेरिकामा शाखा खोलिसकेको 'हबिब्स' को सलुन काठमाडौँमा डेढ वर्षअघि खुल्यो  । त्यसयता 'फेसन कन्सस' हरेक युवकयुवतीको मुखमा झुन्डिएको छ हबिब्स । दुई महिनाअघि मात्र ललितपुरको कुमारीपाटीमा अर्को शाखा खुल्नुले यसको लोकपि्रयता दर्शाउँछ । हबिब्समा सात वर्ष काम गरिसकेका भारत कोलकाताका हेयर स्टाइलिस्ट सन्तोष सिलले ब्युटिसियन रमा सिंहसँग मिलेर जाउलाखेलमा खोलेको रपुन्जेल का ग्राहकमा गायकहरू नीमा रुम्बा, अरुण कार्कीदेखि व्यापारिक घरानाहरू दुगड र खेतानसम्म पर्छन् । भारतको मुम्बई र दार्जीलिङका युवकयुवती बढी 'फेसनेबल' हुने गरेको अनुभव सङ्गालेका सन्तोष नेपाली पनि कम नभएको बताउँछन्  । "नेपालीमाझ हेयर कलरिङ् पि्रय छ," सन्तोष भन्छन्, "अचेल जसलाई पनि राम्रो देखिनुपरेको छ ।"

टीभी सिरियल हेर्दाहेर्दा वाक्क भएर हबिब्सकहाँ ब्युटिसियन तालिम लिन पुगेकी रमाले सन्तोषसँगको साझेदारीमा १० लाख रुपियाँमा पाँच महिनाअघि रपुन्जेल नामक युनिसेक्स सलुन खोलिन्  । सुरुमा महिला मात्रै आउलान् भन्ठानेकी उनले आँखीभौँ मिलाउने, कपाल घुम्राउने, दाग हटाउने, हात-खुट्टाका औँला सफा राख्न 'पेडिक्योर', 'म्यानिक्योर' गर्ने, 'फेसियल' गर्ने पुरुष आउन थालेपछि मात्र पुरुषहरूको सौन्दर्यचेतको हेक्का पाइन् । "विवाहको सिजनमा त झनै व्यस्त भइन्छ । बेहुला-बेहुली नै आउँछन्," उनी भन्छिन्  । पुरुषहरू अरू दिन काममा केन्दि्रत हुने भएकाले शनिबार आउने गरेको उनले बताइन् । "युवाले त गर्थे नै, ४० नाघेका पनि आउँछन्," उनी भन्छिन्, "प्रायः व्यापारीहरू कपाल अलिकति बढ्नेबित्तिकै मिलाउन आइहाल्छन् ।"

त्यस्तै अनुभव छ, काठमाडौँ प्लाजास्थित युअर्स ब्युटी पार्लर एन्ड बार्बर सपकी सञ्चालिका अञ्जु क्षेत्रीको पनि । एक वर्षअघि ब्युटीपार्लर मात्र खोलेकी अञ्जुले वरिपरिका ब्याङ्कलगायतका कार्यालयमा कार्यरत पुरुषहरूले सोधीखोजी गर्न थालेपछि बार्बर सप पनि थपिन् । "अहिले त केटीभन्दा केटा बढी आउँछन्," अञ्जु भन्छिन् । आफ्नो सलुनमा २५ देखि ५० वर्षसम्मका पुरुष आउने गरेको उनले बताइन् । उनका धेरैजसो ग्राहक काठमाडौँ प्लाजाभित्रकै विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी हुन्, जो सुन्दर हुने तृष्णा 'लन्च ब्रेक' का दौरान मेट्छन्  । यस्ता युनिसेक्स सलुन काठमाडौँ उपत्यकामा कति छन् भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग नभए पनि सहरका कुनाकाप्चा सबैतिर छ्याप्छ्याप्ती देखिन्छन् ।


ठाँटिन चाहनुहुन्छ भने ...

कपाल काट्ने ः

८० देखि चार सय रुपियाँसम्म ।

फेसियल -अनुहार चम्काउने) ः

चार सयदेखि पूरै 'टि्रटमेन्ट' को एक हजार पाँच सय रुपियाँसम्म ।

पेडिक्योर -हातका नङ सफा गर्ने) ः

तीन सय रुपियाँ

म्यानिक्योर -खुट्टाका औँला सफा गर्ने) ः

दुई सय ५० रुपियाँ

कपाल रङ्गाउने ः

पाँच सयदेखि एक हजार रुपियाँसम्म ।

कपाल ठाडो पार्ने ः

एक हजारदेखि एक हजार पाँच सय रुपियाँसम्म ।

पर्मिङ् -कपाल घुम्राउने) ः

आठ सयदेखि एक हजार दुई सय रुपियाँसम्म ।
   


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Kantipur Online