मिसन
अफगानिस्तान
संयुक्त
राष्ट्र सङ्घअन्तर्गत बोस्निया र सियरालियोनमा शान्ति
स्थापनामा खटिइसकेका देवेन्द्र सुवेदी राष्ट्रसङ्घकै
अगुवाइमा यसै साता 'युएन असिस्टेन्स मिसन अफगानिस्तान'
अन्तर्गत अफगानिस्तान पुग्दैछन् । नेपाल प्रहरीतर्फ
प्रहरी उपरीक्षक रहेका सुवेदीको चयन राष्ट्रसङ्घको
मुख्यालय न्युयोर्कबाट भएपछि उनलाई यस्तो 'हाई प्रोफाइल'
अवसर जुरेको हो । अफगानिस्तानमा एक वर्ष रहँदा उनले
छ सदस्यीय राष्ट्रसङ्घीय टोलीअन्तर्गत कार्य गर्ने
छन् ।
"द्वन्द्व झेलेका मुलुकहरूमा
कार्य गर्नु एउटा चुनौतीपूर्ण अवसर हो," सुवेदीको
ठहर छ, "मुलुकैपिच्छे द्वन्द्वका प्रकृति पनि
फरक हुने गर्छन् । जस्तो, बोस्नियामा द्वन्द्वका
पछाडि जातीय कारण रहे भने सियरालियोनमा चाहिँ प्राकृतिक
सम्पदा । त्यसैले पनि तीन महादेशका तीन प्रकृतिका
द्वन्द्व झेलेका मुलुकमा कार्य गर्न पाउँदा म ज्यादै
हौसिएको हुँ ।" सुवेदी संलग्न टोलीले अफगानिस्तानको
पुनः निर्माण/संरचनाको राष्ट्रसङ्घीय प्रयासलाई
सघाउनेछ । "यसको मुख्य कार्य 'पोलिसिङ्' हो
। किनभने, यसो गरिँदा दिगो शान्ति स्थापना गर्न
सकिन्छ," सुवेदी बताउँछन् ।
२०४५ सालमा प्रहरी निरीक्षकबाट
सेवा प्रवेश गरेका सुवेदी 'फोर्स' एवम् दौतरीमाझ
अध्ययनशील एवम् बौद्धिक व्यक्तिका रूपमा चिनिन्छन्
। फुर्सदको सयममा संसार बदल्न सक्ने व्यक्तित्वहरूका
आत्मकथा पढ्न रुचाउने उनी कुनै दिन स्वयम् पनि पुस्तक
लेखी छाड्ने सुरसारमा छन् ।
अमेरिकी स्वास्थ्यमाथि
शोध
विख्यात्
अमेरिकी उद्यमी हेनरी फोर्डले भनेका छन्, "असफलता
फेरि बुद्धिमत्तापूर्वक प्रयास गर्ने एउटा अवसर
पनि हो ।" विराटनगरमा जन्मिएर बूढानीलकण्ठको
स्कुले पढाइ हुँदै त्रिभुवन विश्वविद्यालय, शिक्षण
अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका सञ्जीव
सापकोटाको जीवनमा फोर्डको भनाइ लागू हुन्छ । अमेरिकाको
एटलान्टास्थित सेन्टर फर डिजिज कन्ट्रोल -सीडीसी)
का मेडिकल इपिडेमोलोजिस्ट सञ्जीवको नेतृत्वको टोलीले
गत मङ्सिर १६ गते प्रकाशित गरेको अमेरिकी वयस्कसम्बन्धी
प्रतिवेदनले अमेरिकामा व्यापक चर्चा पायो । हेल्थ
डे, एबीसी न्युज जस्ता सञ्चारसंस्थाद्वारा प्रकाशित
सो प्रतिवेदनमा ५४.१ प्रतिशत वयस्क अमेरिकी शारीरिक
गतिविधि कम गर्नाले उच्च तौलका भएको उल्लेख थियो
।
फिनल्यान्डको युनिभर्सिटी अफ कुओपीओबाट
जनस्वास्थ्यमा स्नातकोत्तर गरेका सञ्जीवले सीडीसीको
इपिडेमिक इन्टिलिजेन्स सर्भिस अफिसर -ईआईएस) हुने
मौका पाए, जुन उनको 'मेडिकल करिअर' मा कोसेढुङ्गा
सावित भयो । नेपाल सँगको 'इवार्ता' मा उनी भन्छन्,
"सम्भवतः म पहिलो नेपाली ईआईएस अफिसर हुँ ।"
सन् २००३ देखि २००५ सम्म धेरैखाले रोग र स्वास्थ्यसँग
सम्बद्ध घटनाहरूको अन्वेषण गरेपछि अहिले उनीमाथि
'मेडिकल इपिडेमोलोजिस्ट' को जिम्मेवारी थपिएको छ
। नेपालमा छँदा एक वर्ष नेपाल मेडिकल स्टुडेन्ट्स
सोसाइटीको अध्यक्ष भएका उनी इन्टरनेसनल फेडेरेसन
अफ मेडिकल स्टुडेन्ट्स एसोसिएसनको अध्यक्ष चुनिने
पहिलो एसियाली भए । दुई वर्ष उनले विश्व स्वास्थ्य
सङ्गठनको जेनेभास्थित मुख्यालयमा प्राविधिक अधिकृतको
कार्यभार पनि सम्हाले ।
"पहिलोपटकको प्रयासमै सफल
भइन्छ भन्ने छैन । मेरा धेरैजसो दोस्रोपटकका प्रयास
सफल भएकाले सफल नहुन्जेल कोसिस गरिरहनुपर्छ भन्ने
मान्यता राख्छु," सञ्जीवले सुझाए । सञ्जीवको
सफलताको कथा सुनेको भए सायद फोर्ड पनि फुलेल हुने
थिए ।
टेलिभिजनका सेतु शलभ
ँनेपाली
तारा’ को आयोजनापछि बेफुर्सदी बनेका सञ्चारकर्मी
राजेन्द्र शलभको अहिले नयाँ जिम्मेवारी बनेको छ,
नेपाली टेलिभिजन । अहिले बेलायतबाट प्रसारण सुरु
भएको नेपाली टेलिभिजन र नेपालबीचको सेतु भएर शलभले
काम गरिरहेछन् । जिम्मेवारीसँगै शलभको व्यस्तता
पनि बढेको छ । 'दृश्य', 'स्टुडियो फोर' र 'ध्वनि
रेकर्डिङ् स्टुडियो' जस्ता सङ्कायहरू अहिले उनीद्वारा
नै सञ्चालित छन् ।
काठमाडौँमा यसै दसैँताका सम्पन्न
गैरआवासीय नेपालीहरूको सम्मेलनमा आएका बेला बेलायतका
सुशील थापा र विजय थापाले शलभलाई भेटेका थिए । नेपाली
टेलिभिजन का सञ्चालक थापाद्वयले त्यही भेटपछि शलभलाई
आप\mनो प्रोजेक्टमा समावेश गरेका हुन् । नेपालमा
छ जना कर्मचारीसहित शलभले काम सुरु गरिसकेका छन्
। अहिले हरेक दिन एउटा कार्यक्रम निर्माण भइरहेको
छ ।
परीक्षण प्रसारण सुरु भइसकेको
नेपाली टेलिभिजन युरोपबाहेक मध्यपूर्वी मुलुकमा
पनि हेर्नसकिन्छ । च्यानलमा हाल टेलिसिरियल, गीत,
वृत्तचित्र र अन्य मनोरञ्जक कार्यक्रम प्रसारण भइरहेको
छ । आगामी दिनमा प्राविधिक व्यवस्थापन भइसकेपछि
समाचार पनि प्रसारण हुने जानकारी शलभ दिन्छन् ।
१५ घण्टा प्रसारण हुने नेपाली
टेलिभिजन तत्काललाई दर्शककै मासिक शुल्कमाथि निर्भर
रहनुपर्ने अवस्था छ । यसले बेलायतका स्थानीय गैरअङ्ग्रेजी
च्यानलमध्ये भारतीय च्यानलसँग पनि प्रतिस्पर्धा
गर्नुपर्ने हुन्छ । त्यसैले सोचेजस्तो सजिलो नरहेको
शलभ बताउँछन् । जनवरी २००६ देखि नियमित प्रसारण
हुने नेपाली टेलिभिजन लाई इन्टरनेटमा राख्ने तयारीसमेत
चलिरहेको छ ।
परम्पराको प्रतिविम्ब
भक्तपुर
कटुन्जेका आशुराम खैजु उमेरले कच्चा भए पनि कामले
पक्का लाग्छन् । दुई दर्जन सामूहिक प्रदर्शनी र
कार्यशालामार्फत सार्वजनिक भइसकेका आशुराम यसपटक
एकल प्रदर्शनी लिएर कलापारखीमाझ उपस्थित भएका छन्
।
लाजिम्पाटस्थित पार्क ग्यालरीमा
सञ्चालित 'रिफ्लेक्सन अफ भक्तपुर सिटी' शीर्षक प्रदर्शनीमा
काठमाडौँ र पाटनका समेत परम्परागत दृश्य समेटिएका
छन् । भक्तपुरको ब्यासी, छोछेँ, ललितपुरको खोकना,
प्यागाउँ, काठमाडौँको असन । यस्ता टोल र गल्लीहरूलाई
त्यहाँको रहनसहनसमेत झल्कने गरी आशुरामले पानी रङको
शैलीमा तर एक्रेलिक माध्यमले क्यानभास सजाएका छन्
।
कुन उमेरमा चित्र बनाउन थालियो,
आशुरामलाई पत्तो छैन । भन्छन्, "स्कुलमा एकपल्ट
पुरस्कार जितेपछि म पनि पेन्टिङ् गर्दोरहेछु भन्ने
लाग्यो ।" दशकअघि ललितकला क्याम्पसमा आईएफए
पढ्न थालेपछि उनी कलामा एकोहोरिएका हुन् । बीचमा
अमूर्त शैली पनि उनले नअपनाएका होइनन् । "मूर्त
अभिव्यक्ति नै दर्शकसँग सम्बन्ध राख्न सहज लाग्न
थाल्यो," उनी भन्छन्, "अनेक घुम्ती आउने
भए पनि बाटोचाहिँ भेट्टाएँजस्तो लाग्छ ।" आशुरामले
आधा दर्जन बढी पुरस्कारहरू हात पारिसकेका छन् ।
"साधकको हिसाबमा जिन्दगी जिउन ठीक छ,"
कलायात्राबारे आशुरामको मूल्याङ्कन छ, "पैसा
मात्र लक्ष्य हो भने यसबाट आनन्द लिन सकिँदैन ।"
दुईहप्ते प्रदर्शनीमा रहेका आकर्षक
आकारका चित्राकृतिहरू तीन महिनाबीच बनेका हुन् भने
तिनको मूल्य सात हजार पाँच सयदेखि १६ हजार रुपियाँसम्म
तोकिएको छ । यसै साता कला कार्यशालाका लागि आशुराम
बङ्गलादेश प्रस्थान गरेका छन् ।
|