मन मिल्नुपर्छ,
जात होइन
विवाह
गर्न लगन जुर्नैपर्ने, पण्डित नै चाहिने र
वरबधू सजातीय हुनैपर्ने नेपालको धार्मिक परम्परा
छ । मुखले जे भने पनि व्यवहारमा धेरैले यही
मानिआएका छन् । तर, तनहुँको पूर्वाेत्तर आँबुखैरेनीकी
गायत्री मिश्र, १८, ले यो प्रथा उखेल्ने प्रयत्न
गरेकी छन् । बाबुआमाले नमान्दा नमान्दै उनले
कथित दलित समुदायका पे्रमी अशोक विक, १८,
लाई मङ्सिर २८ गते पतिका रूपमा स्वीकारेकी
छन् ।
"जातका आधारमा सानो-ठूलो
भन्नु अन्धविश्वास हो," जन्ती, भोजभतेर,
पण्डित र जग्गेबिना नै दुलाहालाई बरमाला लगाइदिएकी
उनले भनिन्, "मैले त यो अन्धविश्वासको
घेरा पार गरेँ । अरू पनि यसै गरून् भन्ने
चाहन्छु ।" अन्तरजातीय विवाह गरिदिन
परिवारले नमानेपछि उनी मङ्सिर ११ गते नै घर
छाडेर अशोकसँग बस्दै आएकी थिइन् । त्यतिबेलै
एकअर्कालाई पतिपत्नीका रूपमा स्वीकारेको भए
पनि कुरीतिविरुद्धको अभियान सशक्त होस् भनेर
सार्वजनिक भएको गायत्रीले बताइन् ।
गायत्रीको साहसबाट उत्साहित
शिक्षिका कमला गुरुङ, २३, ले भनिन्, "समाज
परिवर्तनमा यी दुईको पनि केही न केही योगदान
रहनेछ । म पनि छुवाछूतका विरुद्ध लड्नेछु
।" गायत्रीको साहसले उनमा पनि अन्तरजातीय
विवाह गर्ने रहर पलाएको छ रे !
दुलाहा-दुलही दुवै आँबुखैरेनीस्थित
चन्द्रोदय निमाविको कक्षा ८ का विद्यार्थी
हुन् । विवाहपछि पनि विद्यालय जाने उनीहरूको
योजना छ । उनीहरूबीच विद्यालयमै आपसमा बढेको
आकर्षण पहिले प्रेम र पछि विवाहमा परिणत भएको
हो । नेपाल राष्ट्रिय दलित मुक्ति सङ्गठनको
जिल्ला शाखाले विवाहको आयोजना गरेको थियो
।
घनश्याम खड्का/दमौली
दीपेनको मौलिक रोबोट
इलामको
फिक्कलका दीपेन यल्मु लामा, १८, ले रोबोट
बनाउँछन् भन्दा धेरैले जिब्रो काढ्छन् । दीपेनका
बाबु इलेक्ट्रोनिक्सका सामान बेच्छन् । दीपेनको
चाख भने पढाइमा भन्दा ज्यादा रोबोट र इलेक्ट्रोनिक्समा
छ । यस पङ्क्तिकारको अगाडि दीपेनले रोबोट
प्रदर्शन गर्दा मानिसहरूको घुइँचो थियो ।
दीपेन परतिर बस्छन् र रिमोटकन्ट्रोल दबाउन
सुरु गर्छन् । अनि, रोबोटले भुइँमा रहेको
एउटा ढुङ्गा टिपेर अलि पर रहेको यस पङ्क्तिकारको
हातमा राखिदिन्छ । यो देख्ने सबै चकित पर्छन्
।
सात/आठ वर्षअघि नै उनले
भुइँमा कुदाउने प्लेन र भिडियो गेम बनाइसकेको
दीपेनका बाबु रिचु लामा बताउँछन् । एक स्थानीय
भन्छन्, "काठमाडौँमा बन्दैन भनेर फर्काइदिएको
डिजिटल घडी दुई घण्टामै उसले बनाइदियो ।"
छात्रवृत्ति पाए इन्जिनियर पढ्ने दीपेनको
चाहना छ । यदाकदा टेलिभिजनमा रोबोट प्रदर्शन
गरेको हेर्दा मौका पाए आफूले पनि त्यसभन्दा
राम्रो गर्न सक्ने दीपेन बताउँछन् ।
यसबाहेक आफ्नो अगाडि जो-कोहीलाई
राखेर घण्टाभरमै दुरुस्त चित्र कोर्ने मात्र
होइन, ड्रम, गिटार बजाउँदै सुरिलो स्वरमा
गीतसमेत गाउने दीपेनले झापा, बिर्तामोडस्थित
कलेजका साथीभाइको वाहवाहीसमेत पाइसकेका छन्
। दीपेन हाल हार्डवेयरमा डिप्लोमा गर्दैछन्
। फिक्कलस्थित स्वावलम्बन सामुदायिक अध्ययन
केन्द्रका सचिव मुकुन्द बस्नेत अवसर दिइए
दीपेनले राष्ट्रकै लागि केही गर्नसक्ने बताउँछन्
।
अनिल अधिकारी/फिक्कल
सारङ्गी नै सुरिलो
त्रिभुवन
विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर
गरिरहेका दाङको शान्तिनगर-३ का खुमबहादुर
केसी, २७, ले विगत १२ वर्षदेखि काठमाडौँका
विभिन्न साङ्गीतिक समारोह र दोहोरी रेस्टुराँमा
सारङ्गी बजाउँदै आएका छन् ।
नेपाली कला र संस्कृतिको
मौलिक विधा मानिने गन्धर्व संस्कृतिको महत्त्व
उजागर गर्न लागिपरेका खुमबहादुरको सारङ्गीमोह
बाल्यकालदेखिकै हो । उतिबेला गाउँघरतिर आउने
गन्धर्वले बजाएको सारङ्गीको धुनले उनलाई मोहित
बनायो ।
सारङ्गी बजाउने बढ्दो चाहना
पूरा गराउनका लागि लुकीछिपी स्थानीय लाटो
गाइनेसँग सारङ्गी सिकेको विगत सम्झन्छन् उनी
। "सारङ्गी बजाउनकै लागि हत्ते गरेपछि
आफन्तहरू सकारात्मक भए । अनि, मलाई पनि सजिलो
भयो," उनी भन्छन् ।
आफ्नै लोक संस्कृतिमा हुर्किएका
उनलाई सारङ्गीको धुनले गर्दा यसैमा पोख्त
हुन मन लाग्यो । पढाइ र सारङ्गी वादनलाई सँगसँगै
दौडाउन उनी ०५६ सालतिर काठमाडौँ हान्निए ।
०५१ सालदेखि नै सारङ्गीमा धुन भर्न तल्लीन
भइसकेका उनले धुन तिखार्नकै लागि सङ्गीतकार
प्रकाश गुरुङको सम्पर्कमा रहेर अन्य धुन पनि
सिके । त्यसपछि वरिष्ठ सारङ्गीबादक भरत नेपालीको
दैलोसम्म पुगेर लामो समयसम्म सारङ्गीको धुनमा
दक्षता मिसाएका खुमबहादुर अहिले कुशल सारङ्गी
बादकको दर्जामा पर्छन् । कुपण्डोलको सांस्कृतिक
कला केन्द्रका प्रशिक्षक खुमबहादुर भन्छन्,
"मैले सारङ्गीमा निपूणता बटुलँे र यही
मेरो जीवनको पर्याय बनेको छ ।"
भद्र शर्मा
पूर्वाञ्चल सङ्ग्रहालयको
विविधता
सुरुमा
प्रवेश गर्नेबित्तिकै एउटा कक्ष आउँछ, जहाँ
छिर्नासाथ आगन्तुकले अनौठो महसुस गर्छन् ।
सयौँ वर्ष पुराना लोपोन्मुख दर्जनौँ जनजातिका
दिनचर्या झल्काउने आकृति र तस्बिरहरू । सबै
वस्तु एक सय वर्ष पुराना छन् । बातर, मेचे,
राजवंशी, धिमाल, लेप्चा, चेपाङ्ग, कुसुन्डा,
आठपरियालगायतका जातिले प्रयोग गर्ने धनुकाणदेखि
भाला, फर्सा, तलबार, खरडा, बन्दुक, तिनीहरूले
लगाउने कपडादेखि पूजा गर्ने देउतासम्मलाई
समेटेको छ, धनकुटास्थित पूर्वाञ्चल सङ्ग्रहालयले
।
राणाकालीन बन्दुकदेखि दुई
सय वर्ष पुराना चाँदीका सिक्का सङ्ग्रहालयमा
सङ्ग्रहित छन् । सङ्ग्रहालयमा रहेका विभिन्न
जातजातिका बहुमूल्य गहना भने सुरक्षाका कारण
प्रदर्शनमा राखिएको छैन । थारु जातिका हसुली
-गलामा लगाउने माला) देखि आठपरिया जातिका
महिलाले लगाउने कम्पनी मालासम्मका लाखौँ मूल्य
पर्ने गहना प्रदर्शन गरिएको छैन । "हामीले
सुरक्षाका कारण यी गहना प्रदर्शनमा राख्न
नसकेका हाँै । अब नयाँ भवन बनेपछि देख्न पाइन्छ,"
सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले बताए ।
सङ्ग्रहालयको भित्तामा प्राचीन
जनजातिका चित्र र मूर्ति छन् । तिनीहरूले
प्रयोग गर्ने घरेलु हतियार सोकेसमा छन् ।
बन्दुक, खुँडा, धनुषकाण, भाला, बर्छा, खुर्पाजस्ता
हतियार देख्दा जो-कोहीलाई पनि विगतको सम्झना
आउँछ । सङ्ग्रहालयभित्र पस्दा सुरुङ मार्गमा
पसेझैँ लागे पनि एकै पटकमा देख्न पाइने काँस,
पित्तलकाठ, बाँस, जुट, बेत र माटोका परम्परागत
कलात्मक वस्तु हेरिरहुँजस्तो लाग्छ ।
लीलाबल्लभ घिमिरे/धनकुटा
नवराजको नवउद्यम
दोलखाको
च्यामा गाविस-८ बाट कामको खोजीमा काठमाडौँ
आएका नवराज शर्मा, २६, को जिन्दगीमा उधौलीको
बेला थियो त्यो । "बेरोजगार थिएँ, फोन
गर्ने पैसा पनि थिएन," बोल्दै गरेको
मोबाइल फोन थिचेर गोजीमा हाल्दै उनले भने,
"साथीसँग पैसा मागेर फोन गरेँ ।"
तपाईंलाई अचम्म लाग्यो होला,
कहाँ फोन गर्ने पैसा नभएको कुराको बीचमा मोबाइलको
प्रसङ्ग ? हो, नवराजले उधारोमा गरेको त्यही
फोनबाट उनको जीवनमा बहार आएको छ । त्यतिखेर
नवराजले पोलोकेमिकलको कार्यालयमा फोन गरे
। र, त्यहाँ भएको सम्झौताबमोजिम झोल साबुन,
ऐना-टीभी सफा गर्ने, शौचालय सफा गर्ने तरल
पदार्थको प्याक प्रतिगोटा १० रुपियाँ कमिसन
लिई एक सय रुपियाँमा बेच्न थाले ।
नौ महिनादेखि जारी यस पेसाबाट
उनले ७५ हजार रुपियाँ कमाइसकेका छन् । दुई
छोराका पिता नवराजले यसबीचमा कोठामा ग्याँससिलिन्डर
जोडे, नयाँ पलङ् किने र ४० हजारजति ऋण तिरे
। सुरुमा उनले ती प्याक साइकलमा राखेर बेचे
। तीन महिनाअघि पाँच हजारमा गाडा किने । अहिले
उनी 'एक सय ७५ को एक सय रुपियाँ मात्र' लेखिएको
ब्यानर टाँगेको गाडा गुडाउँदै ग्राहकको खोजीमा
बिहान ११ देखि बेलुकी ८ बजेसम्म खट्छन् ।
दिनको पाँच सय रुपियाँ आम्दानी गर्ने नवराज
मासिक १० हजार रुपियाँसम्म बचत गर्छन् ।

|