साहित्यिक
अन्वेषणमा शिव
साहित्यिक क्षेत्रको अध्ययन र अन्वेषणमा अथक
लागिपरेका छन्, शिव रेग्मी ।
सिद्ध तिमिल्सिना
साहित्यिक क्षेत्र, त्यसमा पनि अन्वषेणजस्तो
गहन तर मुनाफारहित क्षेत्रमा डटेरै लागिपर्नु चानचुने कुरा होइन
। तर, शिव रेग्मी, ६५, यसका अपवाद हुन् । किन यसरी समर्पित छन्
त साहित्यिक अन्वेषणमा उनी ? "खोज-अनुसन्धान भन्ने चीज
यस्तो रहेछ, जसको गहिराइमा पुग्दा बढी आनन्द आउँछ," रेग्मी
भन्छन्, "नयाँनयाँ तथ्यहरू सार्वजनिक हुने हुँदा यसबाट
सन्तुष्टि प्राप्त हुन्छ ।"
साहित्यिक
अनुसन्धाता रेग्मी काठमाडौँको ठमेलमा मध्यमवर्गीय परिवारमा जन्र्मे-हुर्के
। सानैमा माता-पिताको निधन भएकाले उनले निकै आर्थिक समस्याहरू
झेल्नुपर्यो । "आर्थिक अवस्था कमजोर भएकाले पाठ्यपुस्तक
किन्न पनि गाह्रो हुन्थ्यो," विगत सम्झँदै शिव भन्छन्,
"तर, बाह्य पुस्तक पढ्ने अवसर भने प्राप्त गरेँ ।"
अध्ययनतर्फको आकर्षणले उनमा साहित्यिक क्ष्ाेत्रको रुचि र लगाव
बढाइदियो । स्कुले जीवनदेखि नै आफूमा साहित्यिक तिर्सना बढेको
बताउने रेग्मी पाठ्यपुस्तकको अभावले साहित्यिक कृतिको अध्ययन
२००९/१० सालदेखि नै सुरु गरेको स्मरण गर्छन् । साहित्यिक प्रेरणा-स्रोतबारे
रेग्मी भन्छन्, "वासुदेव -लुइँटेल) माड्साबले जुद्धोदय
स्कुलमा साहित्यिक व्यक्तित्वहरू बोलाएर कार्यक्रम गरिरहनुहुन्थ्यो
। फलस्वरूपः साहित्यसाधनातिर आकषिर्त भएँ ।"
०२२ सालदेखि राजपत्र अनङ्कित द्वितीय श्रेणीबाट सरकारी सेवामा
प्रवेश गरेका उनले जागिरसँगै शैक्ष्ािक योग्यतालाई पनि अगाडि
बढाउँदै लगे । "राजपत्राङ्कित द्वितीय श्रेणी
-उपसचिव) बाट ०५८ सालमा उमेरको हदले अवकाश पाएँ," नेपाली
साहित्यमा स्नातकोत्तर र कानुनमा स्नातक रेग्मी सरकारी सेवाको
अनुभवबारे भन्छन्, "पछिल्लो नौ वर्ष निर्वाचन आयोगमा काम
गरेँ ।"
सरकारी जिम्मेवारीका साथसाथै साहित्यिक क्षेत्रको कामलाई उनले
निरन्तरता दिइरहे । ०३२ सालमा अधिकृत भएर पोखरा जाँदा कस्तो
संयोग पर्यो भने उनी डेरा गरेर बसेको घरमै साझा प्रकाशनको क्षेत्रीय
कार्यालय परेछ । सुनाउँछन्, "दैनिक दुई-चारवटा पुस्तकहरू
लिएर पढ्न थालेँ ।"
यता स्कुले जीवनमै उनले अङ्ग्रेजी साहित्यका प्रसिद्ध कविहरू
वड्र्सवर्थ, शेलीका कविताहरू पढे । र, पढे रवीन्द्रनाथ ठाकुर,
लियो टल्सटायका कथाहरू पनि । अनि स्व तीर्थराज तुलाधर, हरिहर
रेग्मी, रामजीप्रसाद शर्मा र अम्बिकाप्रसाद ढुङ्गेलजस्ता अङ्ग्रेजी
शिक्षकका लगावपूर्ण अध्यापन र निःस्वार्थभावले पनि उनको साहित्यतर्फको
यात्रामा ऊर्जा थप्यो । ०१७ सालदेखि साहित्य लेखनतर्फ लागेका
उनका कथा-कविताहरू ०२१ सालसम्म प्रतिध्वनि, नयाँ सञ्चार, नयाँ
सन्देश आदि पत्रिकाहरूमा प्रकाशित भए । त्यसपछि ०३५ सालसम्म
गोर्खापत्र, रूपरेखा, रचना, मधुपर्क लगायतमा विवेचनात्मक लेखहरू
लेखे । "विवेचनात्मक लेखनलाई मोडेर खोज-अनुसन्धानतिर लाग्नुपर्छ
भन्ने ज्ञान भयो," आफ्नो नयाँ साहित्यिक मार्गको कारण प्रस्ट्याउँदै
उनी भन्छन्, "आफ्नो कृतिका बारेमा लेखाइमाग्ने र प्रशंसा
नै चाहने प्रवृत्ति स्रष्टाहरूमा पाएँ । अनि चर्चामा नआएका,
दिवङ्गत स्रष्टाहरूका कृति/व्यक्तित्वहरूको खोज-अनुसन्धान गरेर
लेख्न थालेँ ।"
साहित्यिक खोज-अन्वेषणका अभियानमा उनले शारदा का सम्पादकीयहरू
बटुले । १९९१-०२० सालसम्म एक सय ८० वटा पूणर्ाङ्क निस्केको उनको
अनुसन्धानको निष्कर्ष छ । जसलाई उनले शारदाका सम्पादकीय विचारहरू
भन्ने शीर्षकमा ०५८ सालमा अनुसन्धानमूलक कृतिको रूप दिएका छन्
। यसै वर्ष उनले नेपालमा आमसञ्चारको विकास नामक अर्को पुस्तक
पनि प्रकाशनमा ल्याए । "नेपाली पत्रकारिताको इतिहास अध्ययनपट्ट
िमलाई रुचि लाग्यो । त्यसैको परिणामस्वरूप यस कृतिको प्रकाशन
सम्भव भएको हो," ०४१ सालदेखि नै नेपाल प्रेस इन्स्िटच्युटमा
सो विषयको अध्यापन गराउँदै आएका रेग्मी भन्छन् ।
उनको अन्वेषणको आयाम विभिन्न अनुसन्धानमूलक कृतिका साथ प्रस्फुटित
हुँदै आएको पनि छ । घुम्ने मेचमाथि अन्धो मान्छे मा नपरेका कविताहरू
समेटेर ०५७ सालमा भूपी शेरचनका कविता नामक कृतिको सम्पादन शिवले
गरे, सङ्ग्रहित हुन बाँकी निबन्धलाई उनकै सम्पादनमा ०५९ सालमा
शङ्कर लामिछानेका निबन्ध को रूपमा पुस्तकाकार दिइयो । यसै वर्ष
उनले अर्को कृतिको समेत सम्पादन गर्ने अवसर पाए, नेपाली कविताको
भूमिकैभूमिका को । नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले प्रकाशन
गरेको यस कृतिमा मोतीराम भट्टका कविताको भूमिकादेखि आधुनिक कविताका
भूमिकासम्म समेटिएको उनको कथन छ ।
०६० सालमा गोर्खापत्र एक सय वर्ष पुगेको अवसरमा प्रकाशित गोर्खापत्रका
एक सय एक निबन्ध र कथाहरू छुट्टाछुट्टै दुई कृतिको सहसम्पादनको
जिम्मेवारीसमेत रेग्मीले पूरा गरे । उता प्रज्ञा-प्रतिष्ठानबाट
प्रकाशित मोतीराम भट्ट र सङ्सर्गी कवि नामक कृतिको सङ्कलन/सम्पादनमा
पनि उनको अग्रणी भूमिका रह्यो ।
पछिल्लो समय नियमित खोज-अनुसन्धानका अतिरिक्त रेग्मी कान्तिपुर,
मधुपर्क, गरिमा, समकालीन साहित्य मा अनुसन्धानमूलक लेखहरू लेखिरहन्छन्
। यस वर्ष उनकै अग्रसरतामा अनुसन्धानमूलक अर्को कृतिसमेत प्रकाशनमा
आएको छ । भाषा पद्यसङ्ग्रह नामक उक्त कृतिमा उनले मोतीराम भट्टका
हस्तलिखित कविता र टिपोटहरू जस्ताको त्यस्तै र त्यसको आधुनिक
भाषामा अनुवादसमेत गरी प्रकाशित गरेका छन् । "सम्पूर्ण
पाठक/अध्येताबीच छलफल होस् भन्ने उद्देश्यले यो कृति तयार गरिएको
हो," उनी प्रकाशनको उद्देश्य प्रस्ट पार्छन् ।
आफ्नो रुचिको कार्यक्ष्ाेत्रमा निरन्तर लागिपर्दाको
आत्मसन्तुष्टिले सिर्जनशील कर्मलाई ऊर्जा प्रदान गरिरहने उनको
अनुभव छ । 'अर्काको कल्याण गर्न सक्नुहुन्न भने अकल्याण पनि
नगर्नुहोस्' भन्ने मूल मन्त्रलाई आदर्श बनाउँदै बाँचेका छन्
शिव । अवकाशको जीवनलाई उपयोगी, रचनात्मक र सिर्जनशील बनाउने
दिशामा रेग्मी लागिपरेका छन् । "घरमा कि कापी हुन्छ कि
कलम मेरो हातमा । प्रायः अध्ययन-चिन्तनमै समय बिताउँछु,"
आफ्नो दिनचर्याबारे बताउँदै शिवले कुराको बिट मार्दै भने, "यसबाहेक
अरूतिरचाहिँ मेरो खास रुचि छैन ।"
|