Untitled Document
Kathmandu, Sunday, Dec 25, 2005 (Poush 10, 2062)
Untitled Document
  नेपाल
  सम्पादकीय
  सोझै
  आँखीझ्याल
  पाठकको पत्र
  अलगधार
  आउट अफ प|mेम
  विचार
  प्रहरी
  छोटकरी
  आवरण
  अर्थ/वाणिज्य
  महिला
  लुटपाट
  खेलकुद
  जीवनशैली
  पुस्तक
  समय रेखा
  साहित्य
  कला
  इन्द्रेणी
  नोटबुक
 
  आवरण

"ढाडमा टेकेर टाउकोमा हान्ने"

दस वर्षसम्म मुलुकको ग्रामीण क्षेत्रमा विद्रोह मच्चाएका माओवादीहरु अब सहर पस्दैछन् ।

सुधीर शर्मा/रोल्पा, रुकुमबाट फर्केर

२०६२ असोज २३ गते । रुकुम, चुनबाङको चौर । भुइँमा पलेटी कसेर लहरै बसेका माओवादी नेताहरूको मुखमुद्रा गम्भीर देखिन्थ्यो । सामुन्ने अपेरा चल्दै थियो, युद्धमैदानबाट र्फकंदा । लडाइँ लडेर फकर्ंदाको पीडादायी क्षणलाई सजीव ढङ्गबाट उतारेका थिए विद्रोही कलाकारहरूले । अभिनय हेर्दाहेर्दै नेताहरूका आँखा रसाउन थाले । पम्फा भुसाल सुँक्क-सुँक्क गर्न थालिन् । हरिभक्त कँडेल आँसु पुछ्न थाले । टाउकोमा गलबन्दी बाँधेका दीनानाथ शर्मा भावुक बने । उनीसँगै रहेकी हिसिला यमि घुँडामा मुख राखेर हिक्क-हिक्क गर्न थालिन् । दाह्री-जुँगा काटेर सफाचट देखिएका कृष्णबहादुर महरा आफ्नै छोरीसमेतले अभिनय गरेको गीति-नाटक हेर्दाहेर्दै भावविह्वल भए । बाबुराम भट्टराई टोपी नै फुकालेर अनुहार पुछ्न थाले । दिवाकर, बादल, प्रभाकर, विप्लव, देव गुरुङ, अग्नि सापकोटा, रवीन्द्र श्रेष्ठलगायत नरुने नेताहरू कमै थिए ।

माओवादीको ९५ सदस्यीय केन्द्रीय समिति भङ्ग गरिएपछि नवगठित ३३ सदस्यीय सातौँ महाधिवेशन आयोजक समितिको बैठक नबस्दै चुनबाङमा विशेष साङ्गीतिक टोलीले झन्डै एक घण्टा लामो त्यो अपेरा देखाएको थियो । त्यस क्रममा खारा आक्रमणमा आफ्नो पति गुमाएकी दीपाले काखे बच्चालाई बोकी-बोकी अभिनय गर्न थालेपछि त प्रचण्डले पनि खप्न सकेनन् । पहिले त उनी हिक्क-हिक्क मात्र गर्दै थिए, त्यसपछि त उनको आँसुलाई सेतो रुमालले पनि रोक्न गाह्रो भयो ।

युद्ध गरिहिँड्ने मान्छे पनि रुन्छन् र ? रुँदा रहेछन् ! हिंसात्मक 'जनयुद्ध' ले एक दशक पूरा गर्न लागेका बेला माओवादी अगुवाहरूको त्यो रुवाइले के सङ्केत गर्छ त ? के मार्ने र मर्ने सिलसिलाबाट उनीहरू वाक्क-दिक्क भएका

हुन् ? के उनीहरू फेरिएका हुन् ? हो, १० वर्षपछि माओवादीहरू फेरिएका छन् । तर, सशस्त्र राजनीति त्याग्नका निम्ति होइन, गाउँमा आर्जन गरेको शक्तिलाई सहरमा पुर्‍याउन । अब उनीहरूले आफ्ना सबै गतिविधिको केन्द्र काठमाडौँलाई बनाउने योजना निर्धारण गरेका छन् ।

टाउको र ढाड

'दुश्मनको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने,' राजधानीमा प्रवेश गर्ने माओवादीहरूको फौजी रणनीति यही हो । 'जनमुक्ति सेना' का नवनियुक्त 'डेपुटी-कमान्डर' प्रभाकरले रोल्पाको भाबाङबाट घोषणा गरे, "अब हाम्रो समग्र आक्रमण काठमाडौँमा केन्दि्रत हुनेछ । काठमाडौँ भनेको केन्द्रीय राज्यसत्ताको टाउको हो । त्यहाँ प्रहार गर्नका लागि हामी उसकै ढाडमा टेक्छौँ ।"

ढाड भनेको चाहिँ के हो त ? "दुश्मनले जहाँ-जहाँ बाधाहरू खडा गरेर केन्द्रलाई बचाउने काम गरिरहेको छ, त्यसलाई हामीले ढाड भनेका हौँै," माओवादीले आफ्नो राजधानी बनाएको राप्ती क्षेत्र, जसलाई उनीहरूले औपचारिक रूपमा 'केन्द्रीय आधार इलाका' भनेका छन्, त्यहाँका इन्चार्ज विप्लव भन्छन्, "भूगोलमा हेर्दा के देखिन्छ भने सामन्तवादको एउटा ढाड गण्डकमा लम्पसार परेको छ भने अर्को जनकपुरतिर सुतिरहेको छ । अनि, त्यसको टाउकोचाहिँ रावणको जस्तो छ, काठमाडौँमा बसिरहेको । त्यसलाई हामी दुवैतिरबाट 'क्रस' गर्न चाहन्छौँ ।"

माओवादीहरूले अब दूर-दराजका जिल्ला सदरमुकामहरूमा आक्रमण गर्नेभन्दा राजधानीसँग जोडिएका सामरिक अखडाहरूलाई निसाना बनाउने रणनीति लिएको देखिन्छ, ताकि त्यसले सोझै काठमाडौँमा असर पारोस् । गत असोजदेखि कात्तिकसम्म चलेको माओवादी केन्द्रीय समितिको विस्तारित बैठक -प्लेनम) ले फौजी र राजनीतिक दुवै गतिविधि सहरकेन्दि्रत गर्ने निर्णय गरेको थियो । यसलाई उनीहरूले एक वर्ष पहिले थालिएको प्रत्याक्रमण चरणको दोस्रो योजनाका रूपमा अगाडि सारेका छन् । 'रक्षा' तथा 'सन्तुलन' को अवस्था पार गरिसकेको दाबी गर्ने माओवादीहरूका निम्ति 'प्रत्याक्रमण' अन्तिम तथा निणर्ायक चरण हो, जसमार्फत उनीहरूले केन्द्रीय राज्यसत्ता हत्याउने लक्ष्य लिएका छन् ।

माओवादीहरूको पाँचौँ डिभिजनका कमिसार सुदर्शन -हेमन्तप्रकाश ओली) भन्छन्, "हामीले एक वर्ष -प्रत्याक्रमण) को समीक्षा गरेर नयाँ नीति बनाएका छौँ । त्यो भनेको विद्रोहको सृष्टि गर्ने र विद्रोहलाई कब्जा गर्ने हो ।" उनका अनुसार, पहिला माओवादीहरूको नारा हुन्थ्यो ः गाउँको कामलाई प्राथमिकता देऊ र सहरको कामलाई पनि नछोड । अब उनीहरूको नारा छ ः सहरको कामलाई प्राथमिकता देऊ र गाउँको कामलाई पनि नछोड । "के तपाईंहरू सहर पस्न तयार हुनुहुन्छ ?," कम्मरमा पिस्तोल झुन्ड्याएका सुदर्शनले रुकुमकोटको एउटा जनसभामा उत्तेजित शैलीमा भने, "किनभने, अब हामी दुश्मनको नाभीमा हान्नका लागि राजधानीतिर जानु पर्छ ।"

अहिले माओवादीहरूले पश्चिमको शक्ति पूर्वतिर र पूर्वको शक्ति पश्चिमतिर ल्याई राजधानी उपत्यकालाई दुईतिरबाट च्याप्ने नीति लिएका छन् । त्यसअनुसार, मेची-कोसी-सगरमाथा-जनकपुरका छापामारदेखि कार्यकर्तासम्म राजधानीसँग पूर्वतर्फ जोडिएका जिल्लाहरूमा केन्दि्रत हुन थालेका छन् भने सेती-महाकाली-भेरी-कणर्ाली-राप्तीकाहरू राजधानीपश्चिमका जिल्लाहरूमा आउँदैछन् । खासगरी गण्डकी, लुम्बिनी र धवलागिरि अञ्चललाई समेट्ने गण्डक क्षेत्रमा पश्चिमका माओवादीहरूको चलखेल ह्वात्तै बढेको छ ।

सम्बद्ध स्रोतका भनाइमा, माओवादीले नयाँ योजनाअनुसार राजधानीको 'लाइफलाइन' मानिएका इलाकामा फौजी कारबाही गर्ने र राजधानीभित्र चाहिँ सात राजनीतिक दलहरूसँग मिलेर राजनीतिक आन्दोलन चर्काउन कोसिस गर्नेछन् । त्यहीअनुरूप सरकारले नगरक्षेत्रमा गर्न लागेको निर्वाचनलाई जसरी पनि हुन नदिने कदम चाल्न थालेका छन् । उनीहरूले त्यसलाई पूर्णतः असफल बनाउन माघ २३ देखि २९ गतेसम्म नेपाल बन्दको आह्वान गर्नुका साथै उम्मेदवार र निर्वाचन पदाधिकारीविरुद्ध 'विशेष कारबाही' सम्म गर्ने चेतावनी दिएका छन् । सजिलै बुझ्न सकिन्छ, त्यो विशेष कारबाही भनेको 'सफाया' हो । यसबाट प्रस्ट हुन्छ, अब माओवादीले एकतर्फी युद्धविरामको अवधि तेस्रोपटकचाहिँ थप्नेवाला छैनन् । कथम्कदाचित थपे पनि त्यो एक वा दुई साताभन्दा बढीको हुने छैन ।

नयाँ संरचना

माओवादीले आफ्नो नयाँ नीतिसँग मिल्दोजुल्दो हुने गरी साङ्गठनिक संरचनामा पनि हेरफेर गरेका छन् । त्यसअनुसार तत्कालीन मध्य र पश्चिम कमान्डलाई एकीकृत गरी पश्चिम केन्द्रीय कमान्ड खडा गरिएको छ, जसको इन्चार्ज दीवाकर हुन् भने फौजी कमान्डर प्रभाकर । यसैगरी काठमाडौँ उपत्यकालाई पूर्वी कमान्डबाट अलग्याएर विशेष केन्द्रीय कमान्डअन्तर्गत राखिएको छ, जसको इन्चार्ज अनन्त रहेका छन् । यसअघि उनी पूर्वी कमान्डका फौजी कमान्डर थिए । हालको विशेष कमान्डअन्तर्गत पूर्वी, पश्चिम र दक्षिण गरी तीनवटा क्षेत्रीय ब्युरोहरू छन् ।

काठमाडौँमा विद्रोही गतिविधि बढाउने उद्देश्यले विशेष कमान्ड खडा गरिएको हो । यसको स्थापनालगत्तै राजधानीका रैथाने नेवार समुदाय र राजधानीवरिपरिका पहाडमा बस्ने तामाङ जातिहरूको मोर्चा र स्वायत्त सरकारको सम्मेलन गरिनुले माओवादीले यस क्षेत्रलाई दिएको महत्त्व झल्कन्छ ।

माओवादीको पछिल्लो प्लेनमले पूर्व, पश्चिम र विशेष गरी तीनवटा केन्द्रीय कमान्डअन्तर्गत ११ वटा क्षेत्रीय ब्युरोहरू खडा गरेको छ । ती सबै ब्युरोअन्तर्गत एक-एकवटा सैन्य डिभिजन बनाउने लक्ष्य राखिएको छ । तर, हाल सातवटा डिभिजन मात्र निर्माणाधीन छन्, जो तीनवटाबाट विस्तार गरिएको हो । सात डिभिजन कमान्डरमध्ये एक जना सुनील -रोल्पाका किमबहादुर थापा) शाही सेनाको हेलिकप्टर हमलामा मारिइसकेका छन् ।

प्लेनमले चार जना फौजी नेताहरूलाई 'जनमुक्ति सेना' को 'डेपुटी कमान्डर' मा नियुक्त गरेेको छ, जसमा रोल्पाका पासाङ -नन्दकिशोर पुन) र अनन्त -वर्षमान पुन), रुकुमका प्रभाकर -जनार्दन शर्मा) र कपिलवस्तुका बलदेव -चन्द्र खनाल) रहेका छन् । यीमध्ये 'सुपि्रम कमान्डर' प्रचण्डको प्रत्यक्ष मातहतमा 'जनरल हेडक्वार्टर' मा रही काम गर्ने पासाङले नवगठित 'जनसैन्य प्रतिष्ठान' पनि हेर्छन् । यसपटक माओवादीले दुई जना महिला रुकुमकी कमला रोका र गोर्खाकी उमा भुजेललाई बि्रगेड कमिसारको महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् ।

माओवादी प्लेनमले ९५ सदस्यीय केन्द्रीय समितिलाई खुम्च्याएर ३३ सदस्यीय बनाउनुका साथै स्थायी समितिदेखि एरिया कमिटीसम्म सबै नेता-कार्यकर्ताको एक-एक पद घटुवा गर्ने निर्णय गरेको थियो । अर्थात्, राजनीतिक फाँटमा क्रियाशील व्यक्तिहरूलाई 'डिमोसन' गरिएको छ भने उता सैन्य अङ्गलाई चाहिँ विस्तार गरिएको छ । तीन डिभिजन सेनालाई सात डिभिजनमा पुर्‍याउन मुख्यतः राजनीतिक फाँटका कार्यकर्तालाई नै भर्ती गरिने 'डेपुटी कमान्डर' प्रभाकरको भनाइ छ । यसले सङ्केत गर्छ, कतै माओवादी पार्टीको फौजीकरण भइरहेको त होइन ? नेताहरू राजनीति र फौजी अङ्गलाई अन्तरघुलन गरिएको प्रस्टीकरण दिन्छन् ।

यसबाहेक प्लेनमले बाबुराम भट्टराईको नेतृत्वमा रहेको 'संयुक्त क्रान्तिकारी जनपरिषद्' भङ्ग गरी उनकै संयोजकत्वमा २१ सदस्यीय 'बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति' गठन गरेको छ । सो समितिले "निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्ष गरिरहेका सबै राजनीतिक पार्टीहरू, नागरिक समाज, पेसागत समूह आदिसँग संवाद, समझदारी, सहकार्य र संयुक्त आन्दोलनका निम्ति पहल गर्ने र बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनको वातावरण निर्माण गर्दै जाने" निर्णय गरेको छ ।

माओवादीहरूले गरेको सबैभन्दा महत्त्वपूर्ण निर्णय भनेको प्रचण्ड र बाबुराम भट्टराईबीच सिर्जित जटिल विवादलाई निपटारा लगाउनु हो । उनीहरूले लोकतान्त्रिक गणतन्त्रलाई तत्कालीन कार्यदिशाका रूपमा अङ्गीकार गर्दै सात राजनीतिक दलहरूसँग १२ बुँदे समझदारी गरेर अर्को महत्त्वपूर्ण कदम पनि चालेका छन् । माओवादीको अहिलेको सहरकेन्दि्रत रणनीति यिनै पार्टीहरूसँगको सहकार्य कुन हदसम्म कसरी अगाडि बढ्छ भन्ने कुरामा धेरथोर निर्भर छ ।

आवरण तस्बिर ः सुधीर शर्मा


ँआठ दलको सल्लाहबाट बन्दुक खुल्छ’

माओवादीहरूले रोल्पा-रुकुमलगायत राप्तीका पाँच जिल्लालाई पहिलोचोटि 'सुदृढ आधार इलाका' घोषित गरेका छन् । र, त्यो क्षेत्र हेर्ने जिम्मा दिएका छन् केन्द्रीय आधार इलाका ब्युरोलाई, जसको इन्चार्ज हुन् ३७ वर्षे विप्लव अर्थात् नेत्रविक्रम चन्द ।

  • तपाइर्ंहरूको केन्द्रीय समितिले केहीअघि गरेका मुख्य निर्णयहरू के-के हुन् ?

हाम्रो केन्द्रीय समितिको बैठकले पाँचवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । पहिलो, लोकतान्त्रिक गणतन्त्रको कार्यक्रम लागू गर्ने । दोस्रो, अमेरिकी एकधु्रवीय विश्व व्यवस्थाविरुद्ध एउटा राजनीतिक लाइन दिने । तेस्राे निर्णय, हाम्रो पार्टीभित्रको अन्तरसङ्घर्षसम्बन्धी थियो । मान्छेहरू अब हामी मिल्दै मिल्दैनौँ भन्ने कुरामा लगभग निश्चित भइसकेका थिए । अन्तर्राष्ट्रिय अनुभवहरू हेर्दाखेरी यस्तो पार्टी मिलेको पनि पाइँदैन । कम्युनिस्टहरूको कमजोरी नै तब देखिन्छ, जब उनीहरू अन्तरसङ्घर्षमा लड्न थाल्छन् । ती सबै अनुभवहरूलाई हेरेर हामीले पार्टीलाई नयाँ उचाइबाट एकीकृत गर्न सक्यौँ, यो ठूलो सफलता हो ।

चौथो कुरा, हाम्रो आफ्नै नैतिकताको विषयमा छ । वास्तवमा हाम्रो स्पिरिट जनताकै सेवामा डट्ने, जनताकै निम्ति मर्ने हो । तर, विश्वमा कम्युनिस्टहरूको छवि रूढी-रूढी टाइपको, जड-जड टाइपको, एकल-एकल टाइपको, अधिनायक टाइपको पर्न खोजेको छ, जुन गलत हो । विस्तारै हामी आफैँ पनि अलिकति बिग्रन थाल्यौँ । हाम्रा अध्यक्षले हामीलाई भन्नुभएको थियो, तपाईंहरू सबै अलिअलि बिग्रन थाल्नुभयो, पार्टीको लाइनअनुसार चल्ने कुरामा कमी हुन थाल्यो । त्यसैले पार्टीलाई रूपान्तरण गर्नुपर्‍यो । यदि हामी अहिलेदेखि नै सतर्क भएनौँ भने पार्टी यताउता जानसक्छ । त्यसैले हामीले क्रान्तिभित्र क्रान्ति चलाउन थालेका छौँ ।

पाँचौँ निर्णयका रूपमा हामीले जो-जो नेपालको पुरानो राजनीतिक सत्ताबाट नयाँ सत्तामा जान चाहन्छन्, ती सबै शक्तिहरूसँग मिलेर संयुक्त मोर्चा बनाउनुपर्छ भनेर योजना बनाएका छौँ । त्यसलाई हामीले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति भनेका छौँ । त्यसका लागि हामी जति पनि लचकदार हुन तयार छौँ । तर, त्यसको एक मात्र सर्त छ, त्यो सामन्तवाद र निरङ्कुश राजतन्त्रविरुद्ध हुनुपर्छ ।

  • तपाईंहरूको सशस्त्र शक्ति लोकतान्त्रिक आन्दोलनको बाधक हुँदैन ?

यदि सात पार्टीसँगको संयुक्त मोर्चा सत्तामा बदलिने सम्भावना रहन्छ भने जनमुक्ति सेना कुनै पनि हालतमा त्यो आन्दोलनको बाधक बन्ने छैन । यो लोकतान्त्रिक मोर्चा सिर्जना गर्ने कार्यमा पनि जनमुक्ति सेनाका योद्धाहरूको ठूलो योगदान छ । अब हाम्रो सेनाको बन्दुक आठ दलको सल्लाह, सुझावबाट मात्रै खुल्छ । हामीले सबै दलहरूलाई भनेका छौँ, राजनीतिक रूपमा हामी नयाँ ढङ्गबाट सोच्न सक्छौँ भने सेना त राजनीतिक आन्दोलनको एउटा विस्तार न हो, त्यसबारे पनि त नयाँ ढङ्गबाट सोच्न सकिन्छ ।

  • तपाइर्ंहरू एकातिर राजनीतिक निकासको कुरा गर्नुहुन्छ, अर्कोतिर तीन डिभिजन सेनालाई सात डिभिजन बनाउनु हुन्छ । यो अन्तरविरोधी भएन ?

हामीलाई यो अन्तरविरोधी लाग्दैन । लोकतन्त्रलाई तीन डिभिजनको शक्तिले जति सहयोग गर्न सक्थ्यो, त्यसलाई सात डिभिजन बनाइदिँदा त्यसले सम्भावनाका धेरै ढोकाहरू खोल्छ । सडकमा जानेबित्तिकै राजतन्त्रले सत्ता दिइहाल्छ भन्ने भ्रममा हामी पर्नु हुँदैन । यसका लागि एउटा मजबुत ऊर्जा चाहिन्छ । जनमुक्ति सेनाले त्यो ऊर्जा दिन्छ । सात राजनीतिक दलहरू तयार भए भने यस फोर्सलाई नयाँ राष्ट्रिय सेनाका रूपमा परिभाषित गर्न सकिन्छ ।

अर्को कुरामा हामी प्रस्ट छौँ, सात दलसँग संयुक्त मोर्चा हुनुपर्छ तर त्यो भएन वा असफल भयो भने के गर्ने ? हामी कुनै पनि विकल्प छाड्न तयार छैनौँ । कुनै कारणले जनतामाथि धोका हुन खोज्यो भने हामी स्वीकार्नेवाला छैनौँ ।

  • तपाईंहरूको राष्ट्रिय सेनामा शाही सेना हुँदैन ?

माओले चियाङकाई सेकसँग मिलेर राष्ट्रिय सेना बनाउन सक्छन् भने यहाँ हाम्रो शाही सेनासँग एकता हुनै सक्दैन भन्ने होइन । तर, त्यससँग प्रक्रियाको कुरा आउँछ । अहिलेकै अवस्थामा सोलोडोलो दुइटा फोर्सलाई 'एट्याच' गरिहाल्ने ? सायद यो हुँदैन । तर, लोकतान्त्रिक आन्दोलनका क्रममा एउटा यस्तो उत्कर्षको विन्दु आउन सक्छ, जहाँ यो पनि अपवाद नहुन सक्छ ।

  • लोकतान्त्रिक आन्दोलनको स्वरूप के हुन्छ, हिंसात्मक कि शान्तिपूर्ण ?

हामी त्यस आन्दोलनलाई शान्तिपूर्ण ढङ्गबाट लैजान चाहन्छौँ । त्यसमा हाम्रो सेनाले रक्षात्मक भूमिका खेल्छ । आन्दोलन त्यत्तिकै मजासँग उठ्छ भने हाम्रो सेना त्यहाँ मिसिइहाल्नु पर्छ, जुलुसभित्र राइफलका ब्यारेलहरू घुसाइहाल्नुपर्छ, हामी यस्तो ठान्दैनौँ । तर, हाम्रा विरोधीले के गर्छन्, त्यो पनि त छ नि ! उताबाट सडकमा सारा जनतालाई सुताइदिन थालियो भने के गर्ने ? त्यसबेला जनताले के भन्छन् ? ०४६ सालको आन्दोलनमा जब पुलिसले रत्नपार्कमा जनताको लाम लगाइदिन थाल्यो, त्यतिबेला जनताले मागेका थिए, "कहाँ छ बन्दुक, हामीलाई चाहियो ।" एउटा आवेग जन्मेको थियो । त्यस्तो आवेग जन्मन्छ भने त्यतिबेला हामी के ठान्छौँ भने त्यो शान्तिपूर्ण आन्दोलनकै पूरक हो । त्यतिबेला हाम्रो हतियार पड्कियो भने पनि त्यसलाई हामी हिंसात्मक ठान्ने छैनौँ । गोली त चल्नेछ तर त्यसलाई हामी शान्तिपूर्ण नै दाबी गर्नेछौँ । किनभने, त्यो हाम्रो कारणले हुने छैन, उसको कारणले हुनेछ ।

  • तपाईंहरूले ०५७ सालमा लिनुभएको 'जनयुद्ध' र 'जनविद्रोह' बीच 'फ्युजन' गर्ने रणनीतिअन्तर्गत त अहिले सात दलसँग सहकार्य गरिएको होइन ?

संयुक्त आन्दोलन र फ्युजन अलगअलग कुरा हुन् । कमल थापाले पनि भने, माओवादीले 'अर्वन अपराइजिङ्' गर्न खोज्दैछन्, संसदीय दलहरूलाई त्यसको हतियार बनाउँदैछन् । यसलाई हामी भ्रम मात्र ठान्छौँ । संयुक्त आन्दोलन र फ्युजनलाई अलग गरेर हेर्नुपर्छ । तर, 'बाइचान्स' यो 'फ्युजन' भइहाल्यो भने त्यसलाई हामी अस्वीकार पनि गर्ने छैनौँ । त्यो त हाम्रो सौभाग्य नै हुनेछ । तर, अहिले हाम्रो जोड संयुक्त आन्दोलनमै रहेको छ ।

  • भविष्यमा संसदीय दलहरू राजासँग मिलिदिए भने के गर्नुहुन्छ ?

सम्भावनाको दृष्टिबाट हेर्दा यस्तो हुनसक्छ तर प्रवल सम्भावनाको दृष्टिबाट हेर्दाखेरी त्यस्तो सम्भावना छैन । दलहरूले आत्मघाती कदम चाल्ने छैनन् । कथम्कदाचित त्यसो गरे भने दलहरू समाप्त हुनेछन् ।

  • अहिले माओवादीहरू सात दलतर्फ गएका हुन् कि सात दल माओवादीतर्फ ढल्केका हुन् ?

दुइटै हो । हामी -सात दलमा) विलीन भएका पनि हौँ, उनीहरू पनि -माओवादीमा) विलीन भएका हुन् । किनभने, हरेक नयाँ कुरा बन्दाखेरी दुइटा अलग-अलग आ-आफ्ना अस्तित्वहरू पुरानै ढङ्गले रहिरहँदैनन् ।

  • अब संयुक्त आन्दोलन कसरी अगाडि बढ्छ ?

१२ बुँदे समझदारी नै यसको प्रथम आधार हो । अब हामी त्यसबाट पनि अगाडि बढ्न चाहन्छौँ ।

  • अहिले माओवादी जहाा छन्, छँदैछन् । दलहरू पनि जहाँ छन्, छँदैछन् । यसरी हुने आन्दोलन कसरी संयुक्त हुन्छ ?

हाम्रो भावना एक्लाएक्लै भन्दा संयुक्त आन्दोलनमा जाने भन्ने नै हो । त्यसैले हामी १२ बुँदे सहमतिभन्दा अगाडि बढ्न खोज्दैछौँ ।

  • नगरपालिकाको निर्वाचन हुन नदिन के गर्दै हुनुहुन्छ ?

यो चुनाव भनेको राजाको शासन सुदृढ गर्ने पहिलो कदम हो । त्यसैले हामी चुनावलाई पूर्णतः ध्वंस गर्छौं ।

  • यसमा के-के पर्छ ?

ध्वंसभित्र क्याप्चर, एन्हीलेसन, सेबोटेज, एट्याक जे पनि हुनसक्छ ।


ँसात दलको रक्षा हामी गर्छौं’

माओवादीको सेनामा 'सुपि्रम कमान्डर' प्रचण्डमुन्तिर चार जना 'डेपुटी-कमान्डर' हरू नियुक्त गरिएका छन्, जसमध्ये एक हुन् प्रभाकर अर्थात् जनार्दन शर्मा । रुकुमका यी ४३ वर्षे नेता आफ्नो फौजी रणनीति अब सहरकेन्दि्रत हुने बताउँछन् ।

  • अब तपाईंहरूको सैन्य रणनीति कस्तो हुन्छ ?

हामीले १० वर्षसम्म गाउँहरूमा लड्यौँ र सफल पनि भयौँ । केन्द्रीय आधार इलाका निर्माण गर्ने स्तरसम्म पुग्यौँ । यहाँ आइपुगेपछि हामी नयाँ ढङ्गबाट लड्दैछौँ । अब हाम्रो सैन्य रणनीति ढाडमा टेकेर टाउकोमा हान्ने हो । टाउको भनेको सहर हो, केन्द्रीय राज्यसत्ता हो । त्यसैले अब हामी काठमाडौँमा प्रहार केन्दि्रत गर्दैछौँ । त्यहाँ प्रहार गर्नका लागि कतै टेक्नुपर्ने हुन्छ । जहाँ टेकिन्छ, त्योचाहिँ ढाड हो ।

  • अर्थात् तपाईंहरू बन्दुककै बाटोमा जोड दिनुहुन्छ ?

बन्दुक त संयुक्त आन्दोलनको सहयोगी मात्र हो । त्यसले काठमाडौँमा गएर आन्दोलनको लिड गर्दैन । सात दलले जब बन्दुकलाई अगाडि ल्याउनुपर्‍यो भनेर माग गर्छन्, त्यतिबेला मात्रै त्यो अगाडि जान्छ । जहिलेसम्म माग हुँदैन, त्यो पछाडि ढाडमै उभिइरहन्छ । पहिले ढाडलाई 'ड्यामेज' गर्ने अनि मात्रै टाउकोमा हानेर केन्द्रीय अङ्गलाई नै सिध्याउने हाम्रो रणनीति छ ।

  • त्यसो भए जिल्ला सदरमुकाममाथि हमला गर्ने पक्षमा हुनुहुन्न ?

हामी ७५ वटै जिल्ला सदरमुकाम मुक्त गर्ने पक्षमा छौँ तर एक-एकवटा गर्दै जाने पक्षमा छैनौँ । हामीले डोल्पा, अर्घाखाँची, जुम्लालगायत थुप्रै सदरमुकाम कब्जा गरेका पनि हौँ तर दुश्मनले फेरि -शक्ति) ल्याएर त्यहाँ पूर्ति गर्दै गयो । भर्खरै पिलीमा आक्रमण गर्‍यौँ, उसले फौज राखिरह्यो । त्यसैले यो प्रक्रियाबाट होइन, अब हामी ८० प्रतिशत भूगोलका जनता र सात दलसहितको बलमा केन्द्रीय राज्यसत्ता कब्जा गर्न जाँदैछौँ । जब सिंहदरबारमाथि हाम्रो कब्जा हुनेछ अनि त्यहीँबाट आदेश दिएर ७५ वटै सदरमुकाम मुक्त गरिनेछ । अहिले सुन्दा तपाईंहरूलाई यो कुरा अनौठो लाग्ला । तर, यो सम्भव छ ।

  • केन्द्रीय सत्ता हत्याउने योजना 'ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने' तपाईंहरूको रणनीतिसँग जोडिएको छ कि सात दलसँगको संयुक्त आन्दोलनसँग ?

यो हाम्रो रणनीतिसँग जोडिएको प्रश्न पनि हो । नेपालमा दुई सय ३७ वर्ष पुरानो राजतन्त्र अहिलेजस्तो चरम सङ्कटमा कहिल्यै थिएन । यसबेला विद्रोह पैदा हुने हामीले देखेका छौँ । त्यसलाई हामी समात्न चाहन्छौँ । यदि आफैँ विद्रोह पैदा भएन भने हामी सचेत प्रयत्नद्वारा विद्रोह गराउँछौँ । संयुक्त आन्दोलनले नै कब्जा गर्छ सिंहदरबार । त्यस आन्दोलनलाई र सात राजनीतिक पार्टीलाई हाम्रो जनमुक्ति सेनाले रक्षा गर्छ । भोलि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो, दलहरू भूमिगत हुनुपर्‍यो भने त्यतिबेला पनि उनीहरूको रक्षा हामी गछार्ंै ।

  • त्यसो भए अब काठमाडौँवरिपरि तपाईंहरूको फौजी गतिविधि बढ्छ, होइन ?

हामी अहिले पश्चिमबाट पूर्व-दक्षिण र्फकदैछौँ । पूर्वबाट पनि पश्चिम-दक्षिण र्फकन्छौँ । अब हामी संयुक्त आन्दोलनलाई सहरतिर केन्दि्रत गर्दैछौँ । काठमाडौँमा लैजादैछौँ । यसरी आन्दोलनलाई अगाडि बढ्ाउँदै लगेर अन्त्यमा टाउकोमा आक्रमण गर्ने हो ।

  • तपाईंहरू सर्वपक्षीय सम्मेलनको माग गर्नुहुन्छ, सात दलहरू प्रतिनिधिसभाको पुनःस्थापनाको, कुरा कहाँनेर मिल्छ ?

प्रतिनिधिसभा पुनःस्थापना गर्ने कुरामा पनि हाम्रो सहमति छ । तर, सिंहदरबारको ग्यालरी बैठकमा गएर होइन । सांसदहरू जनताको बीचमा जाने र प्रतिनिधिसभा पुनःस्थापित भएको घोषणा गर्ने, त्यसले यो सरकारलाई अवैध घोषणा गर्ने र नयाँ सरकारको निर्वाचन गर्ने कुरामा हाम्रो सहमति हुन्छ । तर, सिंहदरबारमा गरिने संसद् पुनःस्थापनालाई हामी मान्दैनौँ ।

  • संविधानसभाको निर्वाचनमा २०, ३० सिट मात्र पाउनुभयो भने तपाईंहरूलाई त्यो मान्य हुन्छ ?

हामी संविधानसभाको निर्वाचनमा गणतन्त्रको मुद्दा नै लिएर जान्छौँ । तर, मानौँ हाम्रो पक्षमा मत आएन भने पनि हामी जनताको फैसला मान्छौँ । हाम्रो विश्वास- जनताको फैसला जनताकै पक्षमा हुन्छ, राजाका पक्षमा हुँदैन भन्ने हो ।

  • गल्ती सुधार्दैछौँ भन्नुहुन्छ, तपाईंहरूबाट त्यस्ता के गल्ती-कमजोरी भएका हुन् ?

माओवादी पार्टीमा पनि थोरै विकृति-विसङ्गतिहरू देखापर्न थाले भनेर हाम्रा अध्यक्ष कमरेडले केन्द्रीय समितिको बैठकमा एउटा प्रस्ताव ल्याउनु भयो, त्यसका आधारमा निर्णय गरियो । कम्युनिस्टहरूको विशेषता नै हो, ऊ आफ्नै कमजोरीप्रति निर्मम बन्नसक्छ । १० वर्षसम्म हामी लड्दा स्थानीय सत्ता हाम्रो हातमा आयो । सत्ता आइसकेपछि हामीमा थोरै शासकीय मानसिकता जन्मियो । त्यसबाट केही विकृति र असङ्गतिहरू देखापरे । युद्धको चापले गर्दा कतिपय विषयमा राजनीतिक प्रशिक्षण दिन पनि सकिएन । यी दुइटा कारणले कमजोरीहरू हुन गए भन्ने निष्कर्ष हामीले निकालेका छौँ । त्यसले गर्दा कहिलेकाहीँ केन्द्रीय आदेशहरू पनि उल्लङ्घन भएका छन् । चितवनको माडीलगायतका ठाउँहरूमा दुर्भाग्यपूर्ण घटनाहरू भए ।


नयाँ फौजी रणनीतिबारे प्रचण्ड

"दस वर्षसम्म हामी जसरी लड्यौँ, गाउँबाट सहर घेर्ने तरिका अपनायौँ । यसपटकदेखि त्यसलाई उल्टायौँ र गाउँलाई ध्यान र सहरलाई जोड दिने अवस्थामा हामी पुग्यौँ । एउटा 'ग्रेट लिप' भयो । -अब) सैन्य संरचना, पार्टी संरचना र भौगोलिक संरचना सबै सहर, राजधानीलाई किच्नेतिर उद्धत रहन्छ । यो तरिका माओको दीर्घकालीन जनयुद्धको तरिकाभन्दा बाहिर छ । माओको तरिका आधार इलाका सुदृढ गर्दै सञ्चार, विकास र प्रविधि विकास गर्दै, अन्तमा आमविद्रोह सिर्जना गर्ने थियो । हामीले त्यसभन्दा बाहिरबाट सुरुदेखि नै जनयुद्ध र आमसशस्त्र विद्रोहको 'फ्युजन' भनिराखेकै हौँ तर त्यो 'फ्युजन' वास्तविक रूपमा त्यति धेरै विस्तार गरेको स्थितिचाहिँ होइन ।

खासगरी जुम्लापछि हामी घुम्याजस्तो, पछि हट्याजस्तो, अलि नयाँ तरिकाले लड्नुपर्छ कि नत्र सकिन्न कि भनेजस्तो स्थितिबाट आएकै हो । अब हाम्रो रणनीति कता गयो भने ढाड भाँच्ने, टाउको फुटाउने अर्थात् ढाडमा टेकेर टाउकोमा हान्ने भनेको उसको रणनीतिक महत्त्वको क्षेत्र धराशायी पार्ने भन्ने हो । यतिबेला नितान्त नयाँ सैन्य रणनीति विकास भयो र हामीले जनमुक्ति सेनाको पूरै संरचनालाई, कारबाहीको पूरै दिशालाई अहिलेसम्मको भन्दा भिन्नै बनाएका छौँ ।

गाउँलाई ध्यान दिने र सहरलाई जोड दिने रणनीतिमा पुगियो । अब प्रत्याक्रमणमा यसलाई उल्टाएर प्रयोगमा जानुपर्छ । त्यसले ढाडमा टेकेर टाउकामा हान्छ । अहिले त हामीले तीन डिभिजनको सेनालाई सात डिभिजनमा पुर्‍यायौँ । त्यसलाई पूरा गर्न तुरुन्तै पार्टी सङ्गठनबाट ५० प्रतिशत पूरा गर्छौं । एमालेनिकट प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपाली काङ्ग्रेसनिकट तरुण दल र नेविसङ्घ सबै आउनुपर्छ । निरङ्कुशताका विरुद्ध लड्नका लागि अन्यत्र ठाउँ छैन, पछि गएर जनताको ठूलो हिस्सा र शाही सेनाका जवानहरू सबै आउँछन् । त्यसका निम्ति पनि सैन्य संरचना ठूलो बनाउनैपर्छ । यही रणनीतिअनुसार ठीक ढङ्गले ठीक ठाउँमा प्रहार गर्न सके उसको रणनीतिक ठाउँमा चोट पुर्‍याउँछौँ, जसले विद्राेहको स्थिति कसरी अघि बढ्छ भन्ने कुरासँग सम्बन्ध राख्छ ।

हाम्रो सेनाको बलमा, जनपरिचालनको बलमा विद्रोह सिर्जना गर्ने प्रयत्न हुन्छ । देशमा विद्रोहको स्थिति प्रबल छ । राजनीतिक अन्तरविरोध पनि तीव्र छ, अन्तर्राष्ट्रिय रूपमा पनि यो पुरानो सत्ता अलगथलग परेको छ । यही स्थितिमा हामी निर्धारित लक्ष्यमा पुग्न सक्छौँ । यही रणनीतिले हामीलाई विजयको ग्यारेन्टीमा पुर्‍याउँछ, सर्वहारा वर्गको फौजी विजयको ग्यारेन्टीमा पुर्‍याउँछ । यस अर्थमा यो दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको 'फ्युजन' को सही प्रयोगले सफलतामा पुर्‍याउँछ । माओको दीर्घकालीन जनयुद्धको 'ट्रयाक' बाट हिँड्दाखेरी जसरी 'फेल' हुँदै जाने भएको थियो, संसारभरि नै फेल हुँदै गएको त्यस स्थितिबाट नेपाली क्रान्तिलाई सैन्य रणनीतिका हिसाबले पनि बचायौँ भन्ने विश्वास हामी नयाँ आयोजक समितिलाई भएको छ ।"

-माओवादी प्रमुख प्रचण्डले पार्टीको प्लेनमपछि गत कात्तिकमा 'संयुक्त क्रान्तिकारी जनपरिषद्' को भेलासमक्ष दिएको मन्तव्यको अंश

राजनीतिसँगै फौजी अभ्यास

सात राजनीतिक दलसँग माओवादी नेतृत्वले गरेको १२ बुँदे समझदारीप्रति सुदूरपश्चिमका अछाम, डोटी र कैलालीका माओवादी कार्यकर्ता के सोच्छन् ?

राजाराम गौतम

अछाम ढाकुकी कमला चलाउने, २०, सानैदेखि जिज्ञासु थिइन् । सायद त्यसैले हुनुपर्छ, माओवादी पार्टीभित्र उनको भूमिगत नाम नै जिज्ञासा रह्यो ।

कुनै समय माओवादी भनेपछि डराउने उनी अहिले अछामको तुर्माखाँद क्ष्ाेत्रको 'इन्चार्ज' भएकी छन् । मङ्सिरको दोस्रो साता सो ठाउँमा भेटिएकी जिज्ञासामा पार्टीको नयाँ निर्णय थाहा पाउने उत्सुकता अनि त्यसैको प्रतीक्षा थियो । खास गरी उनी नेतृत्वले सात दलसँग गरेको समझदारीका आधारहरू जान्न चाहन्थिन् । उनी भन्छिन्, "हामी नेतृत्वले पठाउने सर्कुलरको प्रतीक्षामा छौँ । हामीलाई बैठकमा उठेका छलफल, त्यहाँभित्र हुने अन्तरविरोध र निर्णयका आधारहरू विस्तृत रूपमा सर्कुलर हुन्छ ।" पार्टीको आन्तरिक सर्कुलर नपाई सात दलसँगको समझदारीका बारेमा आफूले विस्तृत कुरा गर्न नसक्नेसमेत उनले बताइन् । उनले यति मात्रै भनिन्, "पार्टी नेतृत्वले सकारात्मक ठानेर नै समझदारी गरेको हुनुपर्छ ।"

गत कात्तिकमा रुकुमको चुनबाङमा सम्पन्न नेकपा माओवादीको विस्तारित बैठकले बहुलवादलाई स्वीकार्दै दलहरूसँगको सहकार्यलाई अपरिहार्य ठानेको थियो । उसले आफ्नो 'जनवादी गणतन्त्रात्मक राज्य व्यवस्था' स्थापनाको राजनीतिक एजेन्डाको ठाउँमा 'लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था' को कार्यनीति सोही बैठकबाट लिएको माओवादी सूत्रले बताएको छ । सोही बैठकका निर्णयहरूउपर अहिले माओवादी पङ्क्तिभित्र छलफल, बहस चलिरहेको छ । माथिल्लो कमिटीले निर्णयहरू क्रमशः आफू मातहतका कमिटीमा सर्कुलर गर्ने र निर्णयहरूबारे तल्लो तहका कार्यकर्तामा प्रस्ट पार्दै लाने नीति सो पार्टीले लिएको छ । अछामका जिल्ला 'जनसरकार' उपप्रमुख सशक्त भन्छन्, "पार्टीको पछिल्ला निर्णयहरूका सवालमा क्षेत्रीय ब्युरोस्तरसम्म छलफल भइसकेको बुझिएको छ । अब जिल्ला तह हुँदै क्षेत्र, गाउँ र वडासम्मका कार्यकर्ताबीच छलफल हुनेछ ।" उनले थपे, "त्यसपछि हामी पार्टीको पछिल्लो नीति जनतामाझ लानेछौँ ।"

अछामका विभिन्न गाउँमा भेटिएका माओवादीहरू निकै हतारोमा देखिन्थे । अछामको तुर्माखाँदकी 'एरिया इन्चार्ज' जिज्ञासा बजारमा दुई दिन मात्रै देखिइन् । तेस्रो दिन महत्त्वपूर्ण काम पर्‍यो भन्दै उनले बजार छोडिन् । जिल्ला 'जनसरकार' उपप्रमुख सशक्त पनि आएको भोलिपल्टै गायब भए । त्यसको दुई दिनपछि अछामको ढकारी क्ष्ाेत्रका इन्चार्ज प्रकाशले महत्त्वपूर्ण बैठक भएको बताउँदै साँझपख गाउँ छाडे । कारण के रहेछ भने, अछाममा जिल्ला तहका माओवादीहरू 'हेडक्वार्टर' रामारोसनतर्फ बैठक गर्न लस्केका थिए । स्थानीय अरू माओवादी कार्यकर्ताका अनुसार, उनीहरू सबै जना पार्टीको नयाँ रणनीति र योजनाबारे छलफलमा जुटेका थिए । ढकारीको सञ्चारपोस्टमा बस्ने एक जना माओवादी भन्छन्, "त्यो बैठक सकिएपछि एरिया इन्चार्जहरूले आ-आफ्नो क्ष्ाेत्रमा त्यस्तै बैठक गर्छन् ।"

अहिले माओवादीहरू आन्तरिक राजनीतिक प्रशिक्ष्ाण, फौजी तयारी र स्थानीय जनसभाका कार्यक्रमहरूमा व्यस्त छन् । राजनीतिक प्रशिक्ष्ाणमा मूलतः सात दलसँगको समझदारी र लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिका मुद्दालाई मुख्य प्राथमिकता दिइएको छ । सुदूरपश्चिमका अछाम, दैलेख, डोटी, कैलालीमा भेटिएका वडा, क्षेत्र, जिल्ला, क्षेत्रीय ब्युरो हुँदै केन्द्रीय तहसम्मका नेता-कार्यकर्ताको बोलीमा यस विषयलाई लिएर एक किसिमको एकरूपता भेटिन्छ । उनीहरूमा सात दलसँगको सहकार्यको कार्यनीति नभाँडियोस् भन्ने भावना प्रबल छ ।

चार वर्षदेखि माओवादी पार्टीमा आवद्ध अछाम, भैरवस्थानका लालबहादुर बुढा, ३५, गाउँमा दलहरू आएकोमा खुसी छन् । सोही गाउँका 'गाजस' प्रमुखसमेत रहेका लालबहादुर उर्फ उपेन्द्र भन्छन्, "अहिले गाउँमा यो दल वा ऊ दल भन्ने छैन । सबै मिलेर निरङ्कुशताविरुद्ध लड्ने कुराले महत्त्व पाएको छ ।" भैरवस्थानकै अर्का माओवादी कार्यकर्ता सुवासको पनि यस्तै विचार छ । भन्छन्, "हाम्रो पार्टी नेतृत्वले दलसँग जसरी सहकार्य गर्छ, तल्लो तह पनि त्यहीअनुरूप अघि बढ्छ । कसैको मनोगत ढङ्गले जान मिल्दैन ।"

अछामकै ढकारी क्षेत्रका माओवादी इन्चार्ज प्रकाश अरू कार्यकर्ताको तुलनामा अलि बढी खुलेर कुरा गर्छन् । दलित पृष्ठभूमिका उनी पहिले एमाले समर्थक थिए । ०५८ सालअघिसम्म सिकर्मी काम गर्ने उनी त्यसयता माओवादी पार्टीसँग आवद्ध भएका छन् । दल र आफ्नो पार्टीबीच भएको समझदारी सकारात्मक हिसाबले अगाडि बढोस् भन्ने उनको कामना छ । उनको विचारमा दल-माओवादी सहकार्यले सबैभन्दा बढी राहत जनतालाई मिलेको छ । उनी भन्छन्, "राजा ज्ञानेन्द्रसँग जनता आक्रोशित छन् । माओवादीसँग पनि जनता भयभीत थिए । समझदारीका कुराले जनतामा साहस बढेको छ ।"

डोटीको मेल्टामा भेटिएका माओवादी कार्यकर्ता वसन्त भने अरूभन्दा कडा मिजासका थिए । भर्खर २१ वर्ष पुगेका उनी माओवादीमा लागेको चार वर्ष भएछ । उनको खास घर कालीकोट हो । तर, केही महिनायता पार्टीले उनलाई डोटी खटाएको रहेछ । ५ कक्षामा पढ्दापढ्दै 'बुर्जुवा शिक्षा बहिष्कार' भनेर माओवादीमा लागेका उनी पार्टी नेतृत्वले लिएका सबै निर्णय मान्ने बताउँछन् । तर, नेतृत्वले राजतन्त्रको सवालमा कुनै सम्झौता गर्‍यो भने त्योचाहिँ नमान्ने उनको आफ्नै अडान छ । सात दल-माओवादीबीचको सहकार्यले राज्यसत्तामा कुनै परिवर्तन भए आफूहरू नेतृत्वमा जानैपर्छ भन्ने महत्त्वाकाङ्क्षा नभएको बताउँदै उनले भने, "तर, हाम्रो जनसरकारका नीतिहरू लागू हुनुपर्छ, नेतृत्वमा जो आए पनि हुन्छ ।"

माओवादीको माथिल्लो तहमा रहेका नेता-कार्यकर्ताको विषय-प्रस्तुतिको शैली र मिजास तल्लो तहका कार्यकर्ताभन्दा अलि पृथक हुन्छ । आठ वर्षदेखि सुदूरपश्चिमको माओवादी विद्रोहमा लागेका 'क्षेत्रीय ब्युरो सदस्य' शरदसिंहको सात दलसँगको समझदारीका बारे टिप्पणी यस्तो छ, "हाम्रो सिद्धान्तअनुरूपको व्यवहार प्रदर्शन गरिएको हो ।" आफूहरू युद्धबाट नथाकेको बताउँदै उनले थपे, "अन्तर्राष्ट्रिय परिस्थिति र आमजनताको शान्ति पुनर्वहालीप्रतिको चाहनाको सम्मान गर्दै शान्तिपूर्ण राजनीतिलाई कार्यनीति बनाइएको हो ।"

०४८ सालदेखि नै पूर्णकालीन भएर लागेका 'सेती-महाकाली क्षेत्रीय ब्युरो' सदस्य पारसमणि पनि वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण आफूहरूले नयाँ कार्यनीति अगाडि सार्नुपरेको बताउँछन् । भन्छन्, "चीन या रुसको भन्दा नेपालको क्रान्ति भिन्न छ । हाम्रो राष्ट्रिय परिवेश र अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई विश्लेषण गरेर हामीले लोकतान्त्रिक गणतन्त्रलाई मिलनविन्दु बनाएका हौँ ।"

आशय यही तर शैली र भाषा मात्रै फरक छ 'सेती-महाकाली क्षेत्रीय ब्युरो इन्चार्ज' लेखराज भट्टको । उनी भन्छन्, "राजदरबार हत्याकाण्डपछि नै हामीले दलसँग सहकार्य गरेर लोकतान्त्रिक गणतन्त्रतर्फ जाने कुरा बताएका थियौँ । अहिले निरङ्कुशतन्त्र जसरी हावी हुँदैछ, सहकार्यको अपरिहार्यता र आवश्यकता पनि बढेको छ ।"

माओवादी नेता-कार्यकर्ताको बोलीमा जुन लचकता छ, तिनका छापामारमा त्यस्तो राजनीतिक लचकता छैन । उनीहरूको बोलीमा गोली हावी भएको देखिन्छ । कैलालीको खिमडीमा परेड खेलिरहेका एक जना २१ वषर्ीय छापामार अथक युद्धविराम, शान्तिपूर्ण राजनीति, सहकार्यका कुरा राजनीतिक फाइदाका लागि गरिएका अभ्यास भएको बताउँछन् । उनी भन्छन्, "पार्टी नेतृत्वले दलसँग सहकार्य गरेर सरल अवतरणको कुरा गरिरहेको छ । यसको अर्थ हामी कमजोर भएको भन्ने होइन । हामी निरङ्कुशतन्त्रलाई बन्दुकले परास्त गर्न सक्छौँ ।"

"मेरो नाम उद्गम, म जनमुक्ति सेना सातौँ डिभिजनको मान्छे ।" अर्का एक छापामारले आफ्नो परिचय यति मात्रै दिए । उनले आफ्नो वास्तविक नाम, घर बताउन चाहेनन् । उनको बोल्ने शैली र पहिरन हेर्दा छापामारभित्र उनी राम्रै तहमा भएको अनुमान लगाउन सकिन्थ्यो । कम्मरमा पिस्तोल भिरेका ती छापामारले भने, "युद्धविराम र शान्तिपूर्ण समाधानका कुरा रक्तपातविहीन राजनीति हो भने युद्ध भनेको रक्तपातसहितको राजनीति हो । हामी अहिले रक्तपातविहीन राजनीतिमा छौँ ।" उनको बोलीले माओवादीहरू कुनै प्रकारको राजनीतिक सहमतिमा आउने सङ्केत गर्दैनथ्यो । उनी भन्थे, "राजतन्त्रको समूल नष्ट भएर नयाँ राज्यसत्ता स्थापना नभएसम्म हामी लड्छौँ ।" अछामको विनायक हुँदै कालीकोटको पिलीसमेत गरी १३ वटा आक्रमणमा लडेका लोकबहादुरको पनि युद्ध लड्ने नै मनसाय छ । सात वर्षअघि 'जनसेना' मा भर्ती भएका उनी भर्खर २२ वर्षका भए । पन्डौन भिडन्तमा लुटिएको अमेरिकी राइफल एम-१६ भिरेका ती छापामारले भने, "उत्पीडित वर्गको मुक्तिका लागि लडाइँबाहेको विकल्प छैन ।"

सुर्खेतका सङ्गीन, ३०, को बोलीमा चाहिँ केही लचकता थियो । छ वर्षदेखि छापामार भएका सङ्गीनले शान्तिपूर्ण राजनीतिलाई नै जोड दिए । उनले भने, "हामी नेपाली जनताको अधिकारका निम्ति लडिरहेका छौँ । शान्तिपूर्ण निकाससहित जनतालाई अधिकार दिन पुरानो राज्यसत्ता तयार हुन्छ भने हामीले रगतै बगाउनुपर्छ भन्ने छैन ।" उनी थप्छन्, "तर, पुरानो सत्ताले हामीलाई फेरि युद्धमै फर्काउन चाहेको छ ।" दलसँगको समझदारीलाई निरङ्कुशतन्त्रबाट नेपाली जनतालाई मुक्त गर्न गरिएको अभ्यास भएको बताउँदै उनले भने, "देश १० वर्षदेखि गृहयुद्धबाट प्रभावित छ । यदि सरल तरिकाबाट जनता अधिकारसम्पन्न हुन्छन् भने किन थप रगत बगाउने भनी हामीले सहकार्यको अभ्यास गरिरहेका छौँ ।" उनले अगाडि भने, "यदि सत्तापक्ष निरङ्कुशतातर्फ अझै अघि बढ्छ भने हतियार उठाउनु हाम्रो बाध्यता हो ।"

सङ्गीनले भनेझैँ हतियार उठाउनु माओवादीको बाध्यता मात्रै हो वा चाहना, आवश्यकता या अरू केही, त्यसमा फरक-फरक विश्लेषण हुन सक्छ । तर, एउटा सत्य के हो भने युद्धविरामको समयलाई माओवादीहरूले जति राजनीतिक चलखेल र गतिविधि बढाउन उपयोग गरिरहेका छन्, त्यति नै भावी युद्धको तयारीमा पनि लगाएका छन् । माओवादी पकड इलाकाहरू घुम्दा यसको प्रस्ट आभास पाइन्छ ।

कैलालीको पन्डौन गाविसअन्तर्गतको खिमडीमा माओवादीले मङ्सिरको चौथो साता सातौँ डिभिजनको घोषणा गरे । माओवादी सैन्य स्रोतका अनुसार, लिस्ने-गाम स्मृति बिग्रेड, बहुवीर योद्धा स्मृति बिग्रेड र लोकेश स्मृति बिग्रेड मिलाएर सातौँ डिभिजन बनाइएको हो । सो डिभिजनका कमान्डर प्रज्ज्वल भएको उनीहरूले बताएका छन् । जङ्गलको बीचमा गरिएको सो आन्तरिक कार्यक्रममा नवप्रवेशीहरूलाई हातहतियार चलाउन पनि सिकाइएको एक जना सहभागीले बताएका थिए ।

छ महिनाअघि ८ कक्षामा पढ्दै गरेका १५ वषर्ीय विपीन पनि सोही घोषणापछि 'जनसेना' मा भर्ती भएका हुन् । छ महिनाअघिदेखि उनी माओवादीको सांस्कृतिक टोलीमा थिए । अभिभावकको अनुमतिबिना नै विद्रोहमा लागेका विपिन भन्छन्, "देशको यो अवस्था देख्दा चुप लागेर बस्न नसकेकाले बन्दुक समाउन पुगेको छु ।" उनले केही समयअघिदेखि एसएलआर चलाउन सिकिरहेको पनि बताए ।

विद्रोही माओवादीले कैलालीको खिमडी र डोटीको पीपलगुन्टालाई आधार बनाएर मङ्सिरभरि नै राजनीतिक तथा फौजी प्रशिक्षण गरे । मङ्सिरको तेस्रो साताको अन्त्यतिर यो प्रतिनिधि त्यहाँ पुग्दा ठूलो सङ्ख्यामा छापामार र माओवादी कार्यकर्ताको उपस्थिति थियो । उनीहरू भन्थे, "हाम्रा धेरै आन्तरिक कार्यक्रमहरू भएकाले यहाँ भेला भएका छौँ ।" सो भेलामा उपस्थित हुने ठूला नेतामा 'सेती-महाकाली ब्युरो इन्चार्ज' लेखराज भट्ट थिए । महिला कार्यकर्ता र छापामारहरूको ओहोर-दोहोर र उपस्थिति बाक्लै थियो । एक जना छापामार ठट्यौली शैलीमा भन्दै थिए, "अब ढाडमा टेकेर टाउकोमा आक्रमण गर्ने हो ।" माओवादीको यो पछिल्लो सैन्य रणनीतिबारे ब्युरो इन्चार्ज लेखराज भट्टले त मुख फोरेनन् । तर, एक जना जिल्लास्तरीय नेताले भने सो भनाइलाई व्याख्या गर्दै भने, "अब युद्धविराम तोडिएपछि पोखरालाई आधार बनाएर राजधानी आक्रमण गर्ने रणनीतिलाई हामीले ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गरेका छौँ ।" त्यसो त कात्तिकमा सम्पन्न माओवादी केन्द्रीय समितिको विस्तारित बैठकले सैन्य संरचनामा व्यापक विस्तार गर्ने निर्णय गरेको थियो । सूत्रका अनुसार, माओवादीले सातवटा सैन्य डिभिजन खडा गरेको छ, जबकि यसअघि उसले पश्चिम, मध्य र पूर्वमा गरी तीनवटा मात्रै डिभिजन भएको खुलासा गरेको थियो । माओवादीभित्र बढ्दो सैन्य संरचनालाई ख्याल गर्दै 'सुपि्रम कमान्डर' प्रचण्डपछि चार जना 'डेपुटी कमान्डर' नियुक्त गरिएको कुरा पनि खुलासा भइसकेको छ । जसमा अनन्त, प्रभाकर, बलदेव र पासाङ रहेका छन् । यहाँसम्म कि सो विस्तारित बैठकले जनसैन्य प्रतिष्ठान गठन गरेको र त्यसको जिम्मेवारी पासाङ र प्रभाकरलाई दिइएको समेत बताइएको छ ।

भनिन्छ, हरेक युद्धविरामलाई विद्रोहीले भावी युद्धको तयारीका रूपमा प्रयोग गर्छन् । नेपालका विद्राेहीले पनि यसअघि जस्तै युद्धविरामलाई फौजी तयारीका लागि उपयोग गर्न चुकेका छैनन् । उनीहरूले दाबी गरेको सैन्य संरचनामा भएको विस्तारले नै यसको पुष्टि गर्छ । युद्धविराममा युद्धको तयारी कत्तिको गरियो त ? छापामारहरू आफैँ पनि युद्धविराममा युद्धको अभ्यास गरेको स्वीकार्छन् । खिमडीमा भेटिएका छापामार उद्गम घुमाउरो पारामा भन्छन्, "राज्यसत्ताको टुङ्गो नलागेसम्म त्यस किसिमका गतिविधि रोकिँदैनन् ।"

साथमा हरिहरसिंह राठौर


ँसहकार्य हाम्रो कार्यनीति हो’

मेहन्दी लगाएको रातो कपाल, गोरो मोहडाको अनुहार, 'पीएलए' लेखेको 'कम्ब्याट ड्रेस' अनि कम्मरमा पिस्तोल भिरेका उनी माओवादी छापामार दस्ताका ठूलै कमान्डरझैँ देखिन्थे । मङ्सिरको अन्तिम साता डोटीको पीपलगुन्टामा भेटिएका उनी माओवादी नेता लेखराज भट्ट थिए । यी तिनै भट्ट हुन्, जो २०४८ को आमनिर्वाचनमा कैलालीबाट तत्कालीन संयुक्त जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका थिए । माओवादीको साङ्गठनिक संरचनाअनुसार उनी अहिले सेती-महाकाली क्षेत्रीय ब्युरो इन्चार्ज र पार्टीको केन्द्रीय सदस्य हुन् । र, हालै माओवादीले गठन गरेको 'बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति' का सदस्य पनि । प्रस्तुत छ, नेपाल सँग भट्टको कुराकानीको संक्षेप ः

  • तपाईंहरूलाई सात दलसँग सहकार्यको आवश्यकता किन पर्‍यो ?

देशमा अहिले निरङ्कुशतन्त्र हावी हुँदैछ । अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा पनि साम्राज्यवादले शोषण, उत्पीडन अगाडि बढाइरहेको छ । राजाको फासीवाद, सामन्तवाद र वैदेशिक साम्राज्यवादसँग लड्न त्यसका विरोधी शक्तिहरूसँग एकाकार नगरी अगाडि बढ्न नसक्ने देखियो । त्यसकारण सात दलसँग सहकार्य गरेर नै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सकिने देखिएकाले यस्तो आवश्यकता परेको हो ।

  • हिजोचाहिँ दलका कार्यकर्तालाई गाउँबाट लखेट्ने, अहिले सहकार्यको आवश्यकता देख्ने, सामन्तवाद र साम्राज्यवादविरुद्ध त्यतिबेला लड्नुपरेको थिएन र ?

हिजो दललाई हामीले लखेटेको होइन । त्यसबेला दलहरू सत्तापक्षको रूपमा आएका थिए । आमजनतालाई शोषण गर्ने र हाम्राविरुद्ध सुराकी गर्ने मात्रै लखेटिएका हुन् । राजनीतिक संस्कार भएका दलका कार्यकर्ता लखेटिएका छैनन् । त्यतिखेरै हामीले गाउँमा शोषण गर्नेहरूलाई जनतासँग माफी मागेर र स्थानीय नीति-नियम मानेर बस्नेलाई घर फर्किन आह्वान गरेका थियौँ । अहिले पनि गाउँ फर्किन आग्रह गरिरहेका छौँ ।

खास गरी ०५८ जेठ १९ को राजदरबार हत्याकाण्डपछि हाम्रो पार्टी नेतृत्वले सामन्तवादका विरुद्ध सहकार्य गरेर जानुपर्छ भन्दै आएको छ । त्यसकारण हिजोदेखि नै हाम्रो प्रयास भनेको दलसँग सहकार्य गरेर लोकतान्त्रिक गणतन्त्रतर्फ जाने भन्ने थियो । अहिले त्यो आवश्यकता अरू बढेको छ ।

  • ०५२ सालमा विद्रोह सुरु गर्दा 'जनवादी राज्यसत्ता स्थापना गर्ने' भन्ने माओवादीको लक्ष्य अहिले फेरिएको हो ?

रणनीतिक लक्ष्य प्राप्तिका लागि विभिन्न मोड र घुम्ती पार गर्नुपर्ने हुन्छ । कहीँ पनि हामीले हाम्रा सिद्धान्त, विचार र रणनीतिक लक्ष्यलाई छोड्ने कुरा आउँदैन । हामीले छोडेका पनि छैनौँ । विभिन्न घुम्ती पार गर्दा विभिन्न कार्यनीति अपनाउनुपर्ने हुन्छ ।

  • त्यसो भए दलसँगको सहमति रणनीति हो कि कार्यनीति ?

अहिले नेपाली जनताको मागअनुरूप दलसँगको सहकार्य हाम्रो कार्यनीति हो । जनताले १० वर्ष लामो युद्धपछि शान्ति, स्वतन्त्रता खोजेका छन् । त्यसो भएकाले जनताको मूलभूत मागलाई पूरा गरेर निकास दिने उद्देश्य र आवश्यकताअनुसार हाम्रा कार्यनीति तय भएका छन् ।

  • हिजो एमालेले बहुदलीय जनवादलाई कार्यनीति बनाएजस्तै तपाईंहरूको पनि यो नीतिगत संशोधन त होइन ?

हाम्रो नेतृत्वभित्र सिद्धान्तमा दृढता र व्यवहारमा लचकता छ । त्यही बाटोमा हामी हिँड्ने हो ।

  • प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिको सवालमा माओवादीको भनाइ के हो ?

प्रतिस्पर्धात्मक राजनीति भनेको सर्वहारा अधिनायकत्वअन्तर्गत नै हो । पुँजीवादी विश्वले माओवादीलाई निरङ्कुश, एकदलीय हुन् भन्ने भ्रम बाँडिरहेको छ । उसले विश्वका मध्यमवर्गीय तप्कालाई यस्तो भ्रम दिने कोसिस गरिरहेको छ । त्यस भ्रमलाई चिरेर सामन्तवाद र साम्राज्यवादविरोधी शक्तिलाई प्रतिस्पर्धात्मक रूपमा अघि बढ्न दिनुपर्छ भन्ने हो । हाम्रा स्थानीय सत्ता, स्वायत्त प्रदेशका चुनावमा हामीले त्यो अभ्यास गरेका छौँ ।

  • दलसँग सहकार्य नै हुने कुरामा चाहिँ माओवादी नेतृत्व कत्तिको विश्वस्त छ ?

विश्वस्त भएर नै १२ बुँदे समझदारी भएको हो । दलका उच्चस्तरीय नेताहरूसँग हाम्रो नेतृत्वको छलफल, अन्तरक्रिया भइरहेको छ । केन्द्रभन्दा तल्लो तहका दलका नेता-कार्यकर्तासँग पनि निरङ्कुशताको विरोधमा जाने सवालमा छलफलहरू भइरहेका छन् ।

  • दलसँगको सहकार्यबाट प्राप्त हुने परिवर्तनले माओवादीले हिजोदेखि माग गर्दै आएको सबै कुरा प्राप्त गर्छ ?

अहिले सबै कुरा पाइन्छन् र सारा समस्या हल हुन्छन् भन्ने होइन । मूल कुरा सामन्तवादका विरुद्धमा जाने भन्ने नै हो । निणर्ायक आन्दोलनमा जाने कुरामा सबै निरङ्कुशताविरोधी शक्तिलाई एकै ठाउँमा ल्याउने कुरा हो । कति कुरा प्राप्त गरिन्छ भन्ने कुरा भोलि हुने आन्दोलनले तय गर्छ ।

  • तपाईंहरूले राजतन्त्र