मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

पुरानो बीउको खोजी

दुर्गालाल केसी

दाङ, २०६६ कार्तिक २१ - महँगा उन्नत जातका बीउबाट अपेक्षित उत्पादन बढ्न नसकेपछि स्थानीय कृषकहरू स्थानीय बीउको खोजी गर्न थालेका छन् ।

उन्नत जातका बीउ किन्नसक्ने अवस्था नभएकाले गाउँमै उपलब्ध नयाँखाले बीउ उत्पादनतर्फ रामपुर गाविसका किसानहरू जुटेका छन् । गाउँघरमा वर्षौंदेखि उत्पादन हुँदै आएका बीउ संकलन गरी त्यसबाट मातृशिशु परीक्षण गरेर शुद्ध बीउ उत्पादन गर्ने गरिएको कृषकहरू बताउँछन् ।

उनीहरूले गाविसमा बीउ बैंक निर्माण गरेका छन् । बीउ बैंकमा विभिन्नथरि स्थानीय बीउ भण्डारण गरी वितरण गर्ने गरिन्छ । 'धेरैथरि बीउहरू आए तर उत्पादन भएन । त्यसैले स्थानीय हावापानी पचाएको र माटो अनुकूल बीउकै खोजी गर्न थालेका छौं,' सुनौलो सामुदायिक बीउ बैंक व्यवस्थापन समितिका अध्यक्ष किशोर पाण्डेले भने ।

कतिपय राम्रो जातका बाली उन्नत जातका नयाँ प्रजातिका कारण ओझेलमा परेको उनको भनाइ छ । 'यहाँको तिल्की चामलको अहिले काठमाडौंमा पनि माग छ तर हामीले पुर्‍याउन सकेका छैनौं,' उनले भने, 'बीउ पाउनै गाह्रो भइसकेको छ । अब बीउ वृद्धि गरेर यसको माग पूर्ति गर्दैछौं ।'

बेग्लै स्वादका स्थानीय उत्पादन हराउन नपाऊन् भनेर विकासे बीउ छोडी पुराना विविधतायुक्त बीउको संरक्षणमा जुटेको कृषकहरूको भनाइ छ । बीउ बैंकका माध्यमबाट पुराना लोप हुँदै गएका उत्पादनको संरक्षण हुने उनीहरूले बताए । स्थानीय जैविक विविधता संरक्षणका लागि धान, मकै, तरकारी, फलफूल, दालजस्ता बालीका विभिन्न प्रजातिहरू संकलन गरिएको छ । प्राप्त विभिन्न प्रजातिमध्ये पनि छानेर राम्रो उत्पादन हुनेलाई बीउका रूपमा विकास गर्ने गरेको रामपुरस्थित शिवशक्ति बीज वृद्धि कृषक समूहका अध्यक्ष हस्तबीर चौधरीले बताए ।

बाली लगाउने समय मिलाउन सकेमा पुरानो बीउमा पनि उत्पादन कमी नहुने किसानहरूको अनुभव छ । रामपुर गाविस कृषिका लागि जिल्लाकै उर्वर क्षेत्र मानिन्छ । रामपुरमा मात्रै स्थानीय विभिन्न प्रजातिका बालीहरू भएकाले स्थानीयस्तरमै बीउ उत्पादन गर्न सजिलो भएको कृषकहरूको भनाइ छ । अहिले रामपुरमा मात्रै परम्परागत ६८ प्रकारका जडिबुटी, ५९ प्रकारका फलफूल, २९ प्रकारका धानबाली, २७ प्रकारका फूल, २४ प्रकारका सागपात, १५ प्रजातिका मकै, ११ प्रजातिका चना, १० प्रजातिका तोरी, ८ प्रकारका सिमी उत्पादन हुँदै आएको छ ।

विकासेभन्दा स्थानीय बीउ बढी अनुकूल र उत्पादनमूलक हुने कृषि क्षेत्रमा क्रियाशील जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल

-लिवर्ड) का परियोजना अधिकृत पुष्प शर्मा पौडेल बताउँछन् । पुराना बीउहरूको खोजीबाट स्थानीय जैविक विविधताको संरक्षण हुनुका साथै किसानहरूले कम लगानीबाट धेरै फाइदा गर्नसक्ने उनको भनाइ छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console