अर्थ/वाणिज्य»
डडेलधुराबाट हराउँदै सुन्तला
डडेलधुरा, २०६६ कार्तिक २१ - पाँचसात वर्ष अघिसम्म यो जिल्ला र बैतडीका सीमावर्ति क्षेत्रका किसानका बारीमा लटरम्म सुन्तला फलेको देखिन्थ्यो । यतिबेला बोटै छोपिने गरी देखिने पहेंला सुन्तलाले उपभोक्ताको मुखै रसाउँथ्यो । कात्तिक नसकिँदै आउने सुन्तला किसानको पनि आयको मुख्य स्रोत थियो ।
तर यसरी सुन्तला आउन छाडेको पाँच वर्ष नाघिसकेको छ । कृषि प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण यो जिल्लाबाट सुन्तला हराउँदै गएको छ । 'जिल्लाबाटै सुन्तला हराउँदै छ,' कृषि विकास कार्यालयका वरिष्ट कृषि प्राविधिक टेकबहादुर विष्टले भने, 'जलवायु परिवर्तनका कारण यसो भएको हो ।'
यहाँका सुन्तला तराईका कैलाली कन्चनपुरसँगै सीमावर्ति भारतीय बजारसम्म पुग्थे । मुख्यतया सुन्तला उत्पादन हुने क्षेत्र नगरपालिका, बगरकोट, समैजी, कोटेली, बेलापुर, समैजी, गांगखेत रुपाल भागेश्वर लगायतका दर्जनौं गाउँमा सुन्तलाका रूखसमेत बाँचेका छैनन् । 'सुन्तला फल्ने कुरा त परै जावोस् बोट पनि सुकिसके,' बगरकोटका दानबहादुर साउदले भने, 'ऐजेरु उम्रेपछि सुन्तलाका बोट मरेका हुन् ।'
सुन्तला उत्पादनमा ख्याति कमाएको यो जिल्लामा लाखौंको कारोबार हुन्थ्यो । 'सामान्य किसानले पनि २०/३० हजार रुपैयाँका सुन्ताल बेच्थे,' विष्टले भने, 'लोप हुन थालेपछि किसानको आयआर्जनमा नराम्रो असर
परेको छ ।'
कृषि प्राविधिकका कारण तीन कारणले सुन्तला लोप भएका हुन् । 'आधुनिक व्यवस्थापन नहुनु, जलवायु परिवर्तनको असर र रोगका कारणले सुन्तला विस्थापित हँुदै गएको हो,' वरिष्ट कृषि विकास अधिकारी राजेन्द्र मिश्र भन्छन् ।
सुन्तलामा लाग्ने बिक्लाइन रोग पनि लोप हुनुमा अर्को मुख्य कारण हो । 'रोग निदानका साथै परम्परागत पद्धति छाडेर आधुनिक व्यवस्थापनबाट खेती गरे सुन्तला पुरानै अवस्थामा फर्किन सक्छ,' उनले भने ।
सुन्तालमात्र होइन, मौसमी, ज्यामिर, अमिलो, कागती जातका फलफूल निर्यात हुने यो जिल्लामा केही वर्षयता यिनको उत्पादनमा पनि ठूलो कमी आएको कृषि विज्ञले जनाएका छन् ।












