कला र शैली»
संगीत
काठमाडौं, २०६६ कार्तिक २१ - साहित्यकारको एल्बम
काठमाडौं -कास)- साहित्यका विविध विधामा कलम चलाउदै आएका विवश वस्ती गीति एल्बम लिएर श्रोतामाझ आएका छन् । जन्मथलो सिन्धुलीको रसिलो जुनारबाट मोहित भएका उनले एल्बमको नामै राखेका छन्- 'सिन्धुलीको जुनार' ।
सिन्धुलीको जुनार टिपेरै खाउँ क्यारेे
गढी डाँडा काटेरै जाउँ क्यारे
शनिबारे हाटैमा, माढी फाँटैमा...
सिन्धुलीको भूगोललाई वस्तीले आफ्नो एल्बममा समेटेका छन् । त्यहाँको मनै लोभ्याउने जुनार, काफल, बगिरहने सुनकोसी, मरिण, कमला, ककुरठाकुर, तावा नदी, सिन्धुलीमाडीको फाँट, ऐतिहासिक सिन्धुली गढी, फिक्कल, च्याउकोट, महाभारतलगायतका डाँडा, उत्तरमा देखिने गौरीशंकर हिमाल, दक्षिणको चुरे भावर, सिन्धुलीमाडीमा लाग्ने शनिबारे हाट सबैलाई उनले गीतमा स्मरण गरेका छन् ।
लोकआधुनिक शैलीका गीत समेटिएका एल्बममा 'सिन्धुलीको जुनार,' 'चिसो हावा,' 'लेकै हाँस्यो,' 'घुर्मी-कटारी,' 'फूल फुल्यो वनैमा,' 'उत्तर हेरूँ' लगायतका ७ वटा गीत छन् । चिसो हावा पुरुष-महिला दुवै स्वरमा छ । यी गीतमा बालन्द राई, सन्ध्या राई, सुरेन्द चन्द, सुमन केसी, आदेश गुर्मछान र रजनी राई लगायतले स्वर दिएका छन् । ती गीतलाई बालन्द केशव पौडेल, सुरेन्द र मिलनले संगीत दिएका छन् । परिदृश्य मिडियाले बजारमा ल्याएको एल्बमले श्रोतालाई राम्रो मनोरञ्जन दिनेछ । यसले सिन्धुली जिल्लालाई चिनाउन पनि सघाउनेछ । मायाप्रेमका गीतको संग्रह भए पनि यसमा प्रकृतिको वर्णन पनि त्यत्तिकै छ । वस्तीले यो एल्बममार्फत आफूलाई राम्रो गीतकारका रूपमा उभ्याएका छन् ।
आख्यानमा गीतैगीत
काठमाडौं -कास)- 'बेलाबेला आएको गाडी देख्दा डराएर भाग्ने र अहिले कच्ची बाटो भएकाले सजिलै गाडी नपुग्ने ठाउँमा हुर्किएका थियौं हामी,' सर्लाहीको भित्री गाउँमा जन्मेका चल्तीका नायक निखिल उप्रेती गायक सचिनम गिरीसँग बिताएको बाल्यकाल सम्भिmँदै थिए, 'आज उसैले गीति एल्बम बजारमा ल्याउँदा मनभरि खुसी लागेको छ ।'
रोमान्टिक तथा सेन्टिमेन्टल आठ गीत समाविष्ट 'आख्यान' नामक एल्बम विमोचन क्रममा आइतबार आयोजित समारोहमा नायक उप्रेती गायक गिरीप्रति आत्मीय देखिए । 'सँगसँगै हुर्केको मान्छे हिरो हुँदा म पनि खुसी छु,' पहिलो एल्बम विमोचन भइरहँदा सचिनम निखिलतर्फ फर्किए, 'उहाँकै हातबाट एल्बम सार्वजनिक गर्न पाउनु अझ गर्वको कुरा हो ।'
गीत-संगीतमा सानैदेखि रुचि भए पनि सचिनमले लगातार १० महिना मेहनत गरेर 'आख्यान' एल्बम श्रोतामाझ ल्याएका हुन् । युवा रेकर्डस प्रालिको ब्यानरमा बजारमा आएको यस एल्बममा सचिनमका अतिरिक्त मनोज केसी र सपना केसीले लेखेका गीत पनि समेटिएका छन् । 'म्युजिकल लभ स्टोरी' भनिएको 'आख्यान' का गीतमा गायक स्वयंको संगीत सुन्न पाइनेछ ।












