मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

कला र शैली»

कलाकार छाए रंगशालामा

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक २१ - अरू बेला सुटिङमा व्यस्त हुने राजेश हमाल, निखिल उप्रेती, जीवन लुइँटेल, सुनील थापादेखि रेखा थापा, रेजिना उप्रेती, झरना थापा, अरुणिमा लम्सालसम्म शनिबार दशरथ रंगशालामा थिए । अचेल फिल्ममा कमै व्यस्त हुने भुवन केसी, शिव श्रेष्ठ, धीरेन शाक्यदेखि युना उप्रेती, रञ्जना शर्मा, श्वेता खड्का, शुभेच्छा थापा पनि दर्शकहरूको सिठ्ठी फुकाइबीच थिए ।

फिल्मी कामको चटारो भुलेर उनीहरू कलाकार-पत्रकार मैत्रीपूर्ण फुटबलका लागि रंगशालामा ओइरिएका थिए ।

'यतिका कलाकार एकै ठाउँ भेटिएका क्षण थोरै हुन्छन्,' 'मस्ती' फिल्मको सुटिङ हुँदाहुँदै फुटबल खेल्न आइपुगेका नायक निखिल रातो जर्सी लगाइसकेपछि भन्दै थिए, 'कहिलेकाहीँ हुने यस्ता खेलले दर्शकसँग नजिक्याउँदा रैछन् ।'

कलाकार टिमले पत्रकार टिमलाई ३-१ को अन्तरले हराएको खेलमा धीरेन नेतृत्वको कलाकार टिमका तर्फबाट बद्री पंगेनी, शंकर बीसी र सुभाष मेचेले गोल गरेका थिए । पत्रकार टिमबाट दीपेन्द्र लामा पेनाल्टीमा गोल गर्न सफल भए । ९० मिनेटको खेलमा केही बेरका लागि मात्र मैदान प्रवेश गरेका नायक राजेशलाई दर्शकले जोडदार तालीसहित स्वागत गरेका थिए । दर्शकको घेराइले खेल सकिएपछि रंगशालाबाट बाहिरिन राजेश र रेखा थापालाई मुस्किल परेको थियो ।

सिनेस्टार म्यागेजिनको आयोजनामा भएको खेलमा कलाकार टिममा नायिकाबाट शुभेच्छा मात्र खेलेकी थिइन् । ठूलो संख्यामा उपस्थित कलाकारको टिमलाई दर्शकले पनि खुलेर समर्थन गरेका थिए । केही समयअघि सानो गौचरनमा भएको यस्तै मैत्रीपूर्ण फुटबलमा कलाकार र पत्रकारबीच बराबरी भएको थियो । पत्रकार टिमबाट प्रकाश सुवेदी, सुब्रत आचार्य, दयाराम पाण्डे, विकास कार्की, सोभिता सिंखडा, अशोकप्यासी राईसहित मैदानमा थिए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा