मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

कला र शैली»

आँखीझ्यालबाहिर नारी

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक २१ - लस्करै उभिएका युवती । अनुहारभरि गाढा सौन्दर्य प्रसाधन पोतिएका छन् । कोही ऐना हेर्दै, कोही बच्चालाई दुध खुवाउँदै त कोही कपाल कोर्दै । सबैका आँखा ग्राहक आउने दिशातिर प्रतीक्षारत छन् ।

अमेरिकी थोमस केलीको क्यामेराले कैद गरेको यो दृश्य हो मुम्बई कामठीपुरास्थित फकल्यान्ड रोडको एक वेश्यालयमा ग्राहक पर्खिरहेका नेपाली चेलीको । यो तस्बिर यतिबेला बबरमहल स्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा सजिएको छ । राजधानीमा जारी विश्वकला मेलामा राखिएको यो तस्बिरले यौन प्रयोजनका लागि बेचिएका चेलीको मनोदशामात्रै होइन, ग्रामीण समाजमा महिलाको स्थान पनि इंगित गर्छ ।

छेवैमा पश्चिम नेपालको बादी समुदायको घरभित्रको दृश्य छ, एक युवती ग्राहक लोभ्याउन आफूलाई सजाइरहेकी छन् । त्यसपछि थोमसको क्यामेरा पुग्छ सिन्धुपाल्चोकको एउटा गाउँमा, जहाँ तामाङ महिला पसिना चुहाउँदै ढुंगा बोकिरहेका छन् । विश्वभरका महिलाहरूको यथार्थ कस्तो छ त ? सिद्धार्थ आर्ट ग्यालरीले आयोजना गरेको 'सेपरेटिङ मिथस प|mम रियालिटी' -आँखीझ्याल बाहिर) विश्व कलामेलामा अनेक माध्यममार्फत कला व्यक्त भइरहेको छ । दिनहुँ दर्शकहरू धुइरिरहेका छन् । बुधबार स्कुले विद्याथीहरूको एउटा समूह सिद्धार्थ आर्ट ग्यालरीको माथिल्ल्ाो तला उक्लिरहेको थियो, सबैका आँखा पाकिस्तानी कलाकार अमबेर हम्मदको तस्बिर 'मोनालिसा' मा पुगेर रोकिए । तस्बिरमा मोनालिसाजस्तै अनुहारका एक महिला अराजक मुस्कानका साथ कोक र चुरोट पिइरहेका छन् । 'अचेलका मोनालिसा,' भीडमा एक विद्यार्थीले प्वाक्क बोले, सबै गलल हाँसे । हम्मदले डिजिटल पि्रन्टमा साँच्चिकै उपभोक्तावादी बजार संस्कृतिले निल्दै गएको नारी मनोदशा व्यक्त गरेका

थिए ।

सिद्धार्थ आर्ट ग्यालरीमै पाकिस्तानी र भारतीय कलाकारका कृतिसँगै नेपाली युवा चित्रकार सौरगंगा दर्शनधारीको 'नागिन' शीर्षकको चित्र छ, जसले पहिले र अहिलेको नारी र उसको सामाजिक भूमिकालाई व्यंग्य गर्छ । 'समाजमा नारीको भगवती, नागिन र देवीको रूपमा पूजा हुन्छ,' उनले आफ्नो कलाबारे भनेकी छन्, 'तर उसको वास्तविक

भूमिका भने ठीक विपरीत । के बुझ्नुपर्छ भने यो सभ्यता निर्माणमा नारीको पनि पुरुषजत्तिकै हात छ ।'

आर्ट काउन्सिल ग्यालरीको दोस्रो तलामा विभिन्न मुलुकका कलाकारको अनेक प्रतिस्थापन कलासँगै चित्र र तस्बिर सजिरहेका छन् । भारतीय कलाकार अनुपम सुदको 'द्रौपदीज नाउ' -अचेलका द्रौपदी) शीर्षकको इचिङ पेन्टिङले धेरैको मन तान्छ । उनका चित्रमा द्रौपदी वेश्यावृत्तिको मनोदशामा छन् र मोडल भएर र्‍याम्पमा हिँडिरहेकी छन् । सीमा कोहिलले नारीलाई रूखको रूपमा उभ्याएकी छन् पुरुषहरूको हाँगाको रूपमा । फिनल्यान्डकी लिनाले अफगान महिलालाई फोटोग्राफी कलामा उतारेकी छन्, जहाँ क्रान्तिको वाषिर्क उत्सवका लागि नारीहरू उभिएका त छन् तर उनीहरूको अनुहारमा कान्ति छैन । यो तस्बिरले अफगानी नारीहरू कति पछाडि छन् भन्ने औंल्याउँछ । उनले 'द सिमेट्री अफ बेरुत' शीर्षकको तस्बिरमा युद्धमा नारीहरू कसरी पीडित हुन्छन् भन्ने पनि देखाएकी छन् ।

मीना कायस्थले आफ्नो प्रतिस्थापन कलामा काम गरी खाने सडकको नारीलाई उतारेकी छन्, मीन वज्राचार्यले तस्बिरमार्फत सर्कसमा काम गर्ने युवतीहरूको पीडा । दीपेन्द्र वज्राचार्यले चाहिँ रंगकर्मी निशा शर्माको तस्बिरमार्फत 'गान्धीको तीन बाँदर' लाई प्रतीकात्मक रूपमा देखाएका छन् । अमेरिका, बेलायत, अस्ट्रेलिया, अस्टि्रया, क्यानडा, चीन, फिनल्यान्ड, प|mान्सलगायत मुलुकका कलाकर्मी सहभागी मेला ललितकला संस्था -नाफा) नक्साल, पाटन संग्रहालय, काठमाडौं कन्टेम्पोररी आर्ट ग्यालरी र इमेगो डे क्याफे ग्यालरीमा पनि जारी छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा