मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

सिन्डिकेटको मारमा यात्रु

कुम्भराज राई

ओखलढुंगा, २०६६ कार्तिक २१ - घरमा आमा बितेको खबर पाएर काठमाडौंबाट हतारमा घर हिँडेका खोटाङ दुर्छिमका सन्तकुमार राई सिद्धिचरण राजमार्गमै दुई दिन रोकिनुपर्‍यो । कारण थियो गाडीको । एकैछिनमा गइहाल्छ भन्दै गाडी पर्खिन थालेका उनको  दुई दिन त्यहीं बित्यो । उनीजस्तै सोलुखुम्बु, ओखलढुंगा र खोटाङका हजारौं यात्रुले दिनहुँ यस्तै समस्या भोगिरहेका छन् ।

उदयपुरको कटारी घुर्मी हुँदै ओखलढुंगासम्मको सिद्धिचरण राजमार्गमा ३५ जना यात्रु नपुगेसम्म बसधनीले बस नचलाउने हुँदा वर्षौंदेखिको यात्रुले समस्या भोग्दै आएका छन् । दुर्छिमका सन्तकुमारले भने, 'अब फर्किए पनि हुने भयो । घरको  काम छुटिसक्यो ।' उनले यातायात व्यवसायीको आफूखुसी नियमले यात्रुलाई समस्या भएको बताए । देशभरि सिन्डिकेट प्रणालीको अन्त्य भए पनि सिद्धिचरण राजमार्गमा भने कायमै छ । सिन्डिकेट प्रणालीले यातायात व्यवसायीलाई फाइदा  भए पनि व्यापारी तथा यात्रु भने मारमा पर्ने गरेका छन् ।

राजमार्गमा यात्रुहरूले तोकिएको भाडाभन्दा दोब्बर तिरेर गाडी रिजर्भ गरेर लान खोज्दासमेत यातायात व्यवसायीले चलाउन नदिने गरेको ओखलढुंगाकै यात्रु जीवन काफ्लेले बताए । उनले भने, 'व्यवसायीले कम नाफा पाउने भएकाले  हामीलाई रिजर्भ गर्न दिँदैनन् ।'

सिन्डिकेटकै कारण समयमा यातायातको साधन नपाइने भएपछि सवारीमा व्यवसायीले क्षमताभन्दा बढी यात्रु चढाउने गरेका छन् । यसले गर्दा राजमार्गमा दुर्घटनासमेत बढेको छ । राजमार्गको हर्कपुर-ओखलढुंगा सडक खण्डमा मात्रै ६ दजर् न ट्रक र २० वटा बस सञ्चालनमा रहेको माथिल्लो सगरमाथा यातायात व्यवसायी संघका उपाध्यक्ष रत्न कट्टेलले बताए । व्यवसायीको लगानी डुब्ने भएकाले सिन्डिकेट लगाउनुपरेको उनले बताए ।

यात्रु र व्यापारीले भने यो प्रणालीको अन्त्य हुनुपर्ने माग राख्दै आएका छन् । राजमार्गको हर्कपुर ओखलढुंगाको ४४ किलोमिटर सडक खण्डमा मात्रै प्रतिव्यक्ति २ सय ३० रुपैयाँ व्यवसायीले लिँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी  फणीन्द्रमणि पोख्रेलले यात्रुको गुनासो आए प्रशासनले यस विषयमा छलफल गर्ने बताए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console